Xi-Jinping and Vidya Devi Bhandari in Beijing
 

बितेको ९८ बर्षदेखि अस्तित्वमान भएको चिनियाँ कम्युनिस्ट पार्टी चीनको सत्तामा विगत दशकदेखि निरन्तर कायम छ । हुन पनि विगतमा अनेक उतार चढावका संघर्षहरुको बिचबाट गुज्रेको चीनलाई सामन्ती र साम्राज्यवादी शोषण उत्पीडनबाट मुक्त गर्ने महाअभियानमा चिनियाँ जनतालाई गोलबन्द गर्ने माओ त्सेतुुङ्ग विचारधाराले १९४९ र त्यसपछि पनि सफलता हासिल गरेको हुनाले नै त्यस जगमा टेकेर आज विश्वमै चीन सबैभन्दा शक्तिशाली राष्ट्र बन्दै गएको हो ।

यो कुरा सी चिनफिङको नेपाल भ्रमणको बेला पनि सीले प्रष्टसँग व्यक्त गरे । उनले भने — हिजो संघर्ष गरेर मात्र आजको चीन बनेको होइन, त्यसपछि पनि हामी निरन्तर जनतासँग जोडिएका छौ र निरन्तर जोडिइरहने छौँ, जनताप्रति समर्पित राजनीति मात्र टिकाउ हुन्छ, शासन गर्ने राजनीति होइन ।

यसरी विश्व मानव समुदायको विकासमा लामो र प्राचीन सभ्यता बोकेको र आज अत्याधुनिक विकासको उच्च चरणबाट गुज्रिरहेको शक्तिशाली चीनका राष्ट्रपति सी चिनफिङले गएको असोज महिनाको अन्तिम साता अर्थात असौज २५ र २६ गते नेपालको दुई दिने राजकीय औपचारिक भ्रमण गरे । त्यसयता विविध कोणबाट त्यो भ्रमणको चर्चा परिचर्चाको शिखरमै अहिले पनि चलिरहेकै छ । जुन बिल्कुलै अस्वभाविक पनि होइन ।

एउटा विश्वमै वेगवान गतिले विकासको बाटोमा लम्किरहेको र एकपछि अर्को सफलता हासिल गर्दै रहेको छिमेकी राष्ट्र चीनका राष्ट्रपतिको यो नेपाल भ्रमण बितेको २३ बर्ष यताकै पहिलो र उच्च स्तरीय भ्रमण थियो । अनि सी चीनको राष्ट्रपति भएपछि नेपालमा यो उनको पहिलो ऐतिहासिक महत्त्वको भ्रमण पनि थियो । त्यसमा पनि वितेको यो २३ बर्षकै मात्र कुरा गर्ने हो भने चीनले आफ्ना वरिपरिका छिमेकी देशहरु र विश्व समुदायका अरु देशहरुसँग सम्बन्ध बिस्तार र सुदृढीकरणको प्रष्ट नीति अख्तियार गरेको छ र त्यस दिशामा निरन्तरअघि बढिरहेको छ । नेपाल भ्रमण पनि त्यसै नीतिको एक अभिन्न अंग बाहेक अरु केही होइन । त्यसैलाई ‘रणनीतिक साझेदारी’ भनिएको कुरा बुझेर पनि बुझ पचाउनुको कुनै अर्थ छैन । तीब्र गतिमा विकसित हुँदै गएको छिमेकी देशको नाताले नेपालसँग चीनका सहयोगका थप विशिष्ठ आयामहरु हुनु पनि बर्तमान सन्दर्भमा कुनै अनौठो कुरा नभएर स्वभाविककै कुरा हो । जुन व्यापक ‘कनेक्टीभिटी’ अर्थात ‘बृहत सम्पर्क सञ्जाल’ हुदै अघि बढ्ने कुरा यसमा अन्तरनिहित छ ।

lok narayan subedi
लेखक

आजको चीनको विश्व नीतिलाई सर्सरी मात्र हेर्दा पनि प्रष्ट देखिन्छ कि बर्तमान विश्व परम्परागत र गैर परम्परागत दुबै खाले सुरक्षाका समस्याबाट आक्रान्त छ । पछिल्लो समयका समस्याहरुको उल्लेखै गर्ने हो भने ‘इबोला भाइरस’को महामारी, ‘आतंकवाद’, ‘पुनरोत्पन्न भएको इराक तथा सिरियाली युद्ध’ र ‘युक्रेनी संकट’ आदिले बर्तमान विश्वका ज्वलन्त समस्याहरुलाई दर्शाउँदछन् । आज विश्वका सबै देशहरुले यस्ता सहमत हुन नसकिने परिवेशका बिचमा बिकासको बाटो खोज्न र रोज्न संघर्ष गरिरहेको अवस्था विद्यमान छ ।

विश्वको यस प्रकारको परिप्रेक्ष्यमा चीन आजको विश्वको सापेक्षतामा दिगो किसिमले एउटा तीब्र विकासको बाटोबाट गुज्रिरहेको देश हो र यसले आफ्नो विकासको बाटो निर्णय गर्ने आफ्नै उचित कारणहरु पनि छन् । त्यसैले समेत चीन आफूले के गर्ने र के नगर्ने भन्ने कुरामा यतिबेला अझ बढी सजग रहेको पनि देखिन्छ । यसबाट चीन विश्वका प्रति कत्तिको गम्भीर र जिम्मेवार छ भन्ने कुराको पनि संकेत मिल्दछ । चीनले के गर्ने भन्ने सन्दर्भमा – विश्वका साझा समस्या समाधान गर्ने तथा विश्व शान्ति र विकासलाई योगदान दिने – कुरामा सक्रिय रहने साझा सरोकारका विश्वका समस्यासँग यो सम्वन्धित छ ।

यसैले चीन यही पृष्टभूमिमा आफ्नो सफलता, सबलता र अन्तर्राष्ट्रिय हैसियतमा आधारित भएर आफ्नो जिम्मेवारी बहन गर्न चाहन्छ । यहाँ उल्लेख गर्नै पर्छ कि पछिल्लो समयमा चीन नै त्यस्तो पहिलो देश बनेको थियो जसले इबोलाको महामारीले आक्रान्त अफ्रिकी देशहरुलाई २३ मिलियन अमेरिकी डलरको संकटकालीन नगद आर्थिक अनुदानकासाथ खानेकुरा र अरु त्यस सम्बन्धी चीजबीजहरुकासाथै चिकित्सक र औषधीहरु पनि लाइबेरिया र सिरियालिओनमा पठाएको थियो । त्यसपछि पुनः यो महामारीका विरुद्ध थप सहयोग पनि चीनले गर्दै आएको छ । यसका अतिरिक्त संयुक्त राष्ट्र संघको विश्व स्वास्थ्य संगठन र अफ्रिकन युनियनलाई पनि २ मिलियन अमेरिकी डलर बरोबरको नगद सहयोग पनि चीनले दिएको थियो ।

अनि यसैगरी चीन आतंकवादका विरुद्ध अन्तर्राष्ट्रिय प्रयासहरुमा पनि सक्रियतापूर्वक लागिरहेको छ । यस क्रममा संयुक्त राष्ट्र संघ सुरक्षा परिषदका सान्दर्भिक प्रस्तावहरुलाई समर्थन गरेर क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्तिका पक्षमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । हालसालै आतंकवाद विरोधी चीनको अभियानलाई विश्वका ५४ देशहरुले त खुल्लै समर्थन पनि गरिसकेका छन् । यस सन्दर्भमा चीनले मानवीय सहयोगका लागि इराकलाई ६० मिलियन अमेरिकी डलर दिने तथा शांघाई सहयोग संगठनका सदस्यहरुसँग मिलेर १००० भन्दा बढी आतंकवादी हमलाहरुलाई रोक्ने काम गरिरहेको छ ।

पर्यावरणीय संरक्षणको हिसाबले हेर्ने हो भने पनि चीनले २००५ देखि २०१३ का बिचमा कार्बन डाइअक्साईड उत्सर्जनको ३० प्रतिशत अंश कम गरिसकेको छ । अनि आउँदो बर्ष २०२० सम्ममा यो कार्बन उत्सर्जनमा २००५ को कार्बन उत्सर्जनको ४० प्रतिशत थप अंश अझ कम गर्ने लक्ष्य पनि उसले अघि सारेको छ ।

प्रायः निरन्तर शान्तिपूर्ण सह अस्तित्वका पञ्चशीलका पाँच सिद्धान्तको अबलम्बन गर्दै र संयुक्त राष्ट्र संघको बडापत्र तथा अन्तर्राष्ट्रिय कानुनहरुको अनुसरण गर्दै आएको चीनले दक्षिण चीन सागरमा सम्बन्धित सबै पक्षसँग वार्ता र सम्वादका माध्यमद्वारा समस्याको सही समाधान खोज्न तयार रहेको र तत्परता निरन्तर देखाइरहेको पनि छ ।

भन्नै पर्दछ कि चीनले कुनै पनि स्वाधीन देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको पनि छैन । चीन सबै देशका जनताको नागरिक स्वतन्त्रता र उनीहरुको हक अधिकारको सम्मान गर्दै आएको छ । सबै स्वाधीन देशहरुले आफूले स्वतन्त्र किसिमले विकासको बाटो तय गर्ने कुराको चीनले पूर्ण समर्थन जनाउँने गर्दै आएको छ । वास्तवमा यसैले चीनले निरन्तररुपमा विकासशील देशहरुको आवाज बुलन्द गर्दै आइरहेको भन्न सकिन्छ र अन्तर्राष्ट्रिय संगठन र मञ्चहरुमा लगातार तिनको पहुँच र अपेक्षाको जोडदार वकालत पनि गर्दै आएको देखिन्छ । जसका लागि विकासशील देशहरुले सहृदय नै चीनको समर्थन पनि गरिरहेका छन् ।

नेपालको सन्दर्भमा त चीनले नेपालको स्वाधीनता, सार्वभौमिक अखण्डता र स्वतन्त्राको पक्षमा दृढ वकालत गरेको कुराप्रति बारम्बार उल्लेख गर्ने गरेको छ । अनि नेपालले एक चीन नीतिको अनुसरण गरिरहोस् र तिब्बतमा नेपालको तर्फबाट अवाञ्छित घुसपेठ हुने कुराप्रति सतर्क रहोस् भन्ने कुरा बारम्बार आग्रह गरिरहेको छ । नेपालले लिपु लेकको हाम्रो जमिन र भौगोलिक अखण्डता सम्बन्धमा चीनसँग कुरा राखे नराखेको कुरा प्रकाशमा आएको छैन । सही कुरा राखेपछि चीन त्यस मामिलामा पनि सही निष्कर्षमा पुग्ने विश्वास गर्न सकिने आधारहरु पनि छन् । चीनसँग विवाद भएका सीमाका कुराहरु पहिले पनि सच्चिएका छन् र अब पनि कुनै भए सच्चिने विश्वास गर्न सकिने विगतका अनुभवहरु छन् ।

वास्तवमा चीन अरु सबै देशहरुसँग जीत–जीतको सहकार्यको महत्त्वपूर्ण नीति अपनाउँदै आएको छ । यसरी चीनले अमेरिकासहित विश्वका प्रमुख शक्तिशाली देशहरुसँग नयाँ नमूनाको सम्बन्ध विकसित गर्न चाहेको देखिन्छ । यसले चीन र अमेरिका समेत विश्वका अरु देश र जन समुदायहरुको पनि स्वार्थ, चाहना र अपेक्षको प्रतिनिधित्व गर्दछ भनेमा सायद अत्युक्ति नहोला । अहिलेको दुई महाशक्ति राष्ट्रको ‘व्यापार युद्ध’को हल पनि चीनले यसरी नै खोज्न चाहेको देखिँदैछ ।

आन्तरिक रुपमा चीनले आफ्नो सुधार कार्यक्रमलाई अझ गहिराइकासाथ अघि बढाउन चाहेको छ र यो सुधारबाट प्राप्त उपलब्धिहरुलाई सबै देशहरुसँग बाँडचुँड गर्न चीन चाहन्छ । यसै क्रममा चीनले ‘ब्रिक्स विकास बैंक’को स्थापना एकातिर गरेको छ भने अर्कोतिर ‘एसियाली पूर्वाधार लगानी बैंक’ अर्थात ‘ऐब’ को पनि स्थापना गरिसकेको छ । चीनले उदीयमान देशहरुको पारस्परिक सहयोगलाई यसरी उच्च चरणमा उठाउन पनि खोजिरहेको छ । चीनले ‘एक क्षेत्र, एक बाटो’ परियोजनाको पहल पनि तदारुकताकासाथ गरिरहेको छ । यसले सम्बद्ध क्षेत्र र त्यस बाटोमा पर्ने देशहरुका लागि सुनौलो अवसर प्रदान गर्ने र चुनौतिहरु पनि खडा गरिदिनेछ नै ।

यी कुराहरुलाई गम्भीर रुपमा ध्यानमा राखेर चीनले पार्टीको नेतृत्व निर्माण, पार्टी निर्माण, भ्रष्टाचार विरुद्ध सशक्त अभियान, ठोस र प्रभावकारी रुपमा लक्षित समुदाय र समूहको गरिबी निवारण, पर्यावरणको संरक्षण र सम्बर्द्धन, दिगो आर्थिक विकास तथा जन जीविकाको सुधार र प्रगतिलाई उच्च प्राथमिकता दिएको छ । वास्तवमा चीन जस्तो विशाल भूभाग र जनसंख्या भएको मुलुकका लागि यी कम महत्त्वका कुराहरु होइनन् ।

अझ महत्त्वपूर्ण र उल्लेखनीय अर्को पक्ष के छ भने चीनले शान्तिलाई नोक्सान पुग्ने र यसलाई धम्क्याउने काम कहिले पनि नगर्ने दृढ प्रतिबद्धता जाहेर गरेको छ । ‘अरुले आफूलाई जस्तो व्यवहार गरुन् भन्ने सोचिन्छ त्यस्तै व्यवहार अरुलाई पनि गर्ने’ सिद्धान्त चीनले लिएको प्रष्ट देखिँदै अएको छ । त्यसैले चीनले आफ्नो प्रतिरक्षा नीति पनि प्रतिरक्षात्मक नै लिएको छ र जहिले पनि कुनै प्रभुत्ववादी शक्ति र शक्ति केन्द्रको राजनीतिका विरुद्ध रहँदै आएको छ । यथार्थतः यसरी चीन आफूले के गर्ने र के नगर्ने भन्ने कुरामा एकदमै स्पष्ट छ । यसले के दर्शाउँछ भने चीन सबै साना ठूला देशहरुसँग नयाँ समान सम्बन्ध राख्ने र त्यसलाई अझ विकसित गर्ने निक्कै बुद्धिमत्तापूर्ण बाटोमा निरन्तर अग्रसर छ ।

चीनको आजको यस विश्व–नीतिको ठोस परिप्रेक्ष र उसको यस दिशामा निरन्तर बढ्दो अग्रसरताको पृष्ठभूमिमा नै नेपालसँगको चीनको सम्बन्धलाई हेरिनु र हेक्का राखिनु पर्दछ । मञ्जुश्री, बुद्ध, अरनिको, भृकुटी, ह्वेन साङ्ग, फाहियानहरुले बनाएको दुई देश बिचको प्राचीन सम्बन्धको जगमा विकसित भएको दौत्य सम्बन्धलाई आज पनि हामीले बिर्सनु हुदैन । अनि नेपाल र चीनको स्वायत्त प्रदेश तिब्बतसँग केरुङ्गको बाटो भएर व्यापारिक आदान प्रदान, तिब्बतमा चल्ने गरेको नेपाली सिक्का ‘महेन्द्र मल्ली’ दुई देशका बिच युद्ध हुँदा हतियार र रसदपानी ओसार पसारमा समेत गर्न चालु रहेको त्यो आवत जावतको मूलबाटो निरन्तर पछि किन रहेन भन्ने कुरातिर पनि ध्यान दिनु पर्दछ । किन कम गुलजार हुने सानो क्षमतामा मात्र सीमित रहने किसिमले अरनिको राजमार्गमा हाम्रो देश गयो या लगियो यो पनि एकदमै विचारणीय पक्ष छ । यद्यपि यतिबेला त्यो पहिलेकै केरुङ्ग नाका चीन नेपाल आवात–जावतको मूलबाटो बन्ने र नेपाल चीन सीमा क्षेत्रमा अरु नाकाहरुबाट पनि क्षेत्रीय स्तरमा मार्गहरु खोल्ने कुराकानी भइरहेको सन्दर्भमा अरनिको राजमार्गको उपादेयता पनि रहन्छ नै । यसले चीनसँगको सतह मार्ग अझ व्यापक हुने कुरा छँदैछ । त्यसका साथै अब हवाई र सामुद्रिक मार्ग तथा सञ्चारका सम्पर्कको बिस्तारबाट पनि नेपाल जडित हुने स्थिति बन्ने देखिन्छ । त्यसैले नेपाललाई भू–जडित राष्ट्र बनाउने कुरा राष्ट्रपति सी आएको बेलामा पनि विशेष चर्चाको विषय बन्यो । यसले नेपालको परम्परागत सीमित देशमा भरपर्ने र एकतर्फीरुपमा परामुखापेक्षी भइरहने स्थितिबाट नेपाल मुक्त हुने दिशामा अग्रसर हुन सक्ने स्थिति विकसित हुने सम्भावना प्रबल रहेको छ । तर यसलाई व्यवहारमा खरो उतार्न व्यापक गृहकार्य गर्न र तयारी गर्न अत्यावश्यक छ ।

हुन पनि दुइ देश बिच परस्पर विश्वासको बातावरण बन्नु मात्र पर्याप्त हुँदैन त्यो विश्वास व्यवहारमा परिणत हुनु नितान्त जरुरी हुन्छ । अन्यथा सम्वन्ध मैत्रीपूर्ण र विश्वसनीय छ भनेर जसरी विगतदेखिका दशकौं दशक गुज्रिए फेरि पनि त्यसै प्रवृत्तिले निरन्तरता पायो भने नेपाल–चीन सम्बन्धले २१औँ शताब्दी सुहाउँदो गति लिन सक्तैन र चीनले खोजे जस्तो राष्ट्रहरु बिचको जीत–जीतको स्थिति पनि विकसित हुुन सक्तैन ।

नेपालले चीनसँगको सम्बन्ध, सम्पर्क र सम्भावनालाई के कसरी व्यापक र उपलब्धिमूलक तुल्याउन सकिन्छ भन्ने बारेमा विगतका अनुभवका आधारमा समेत गहन, गहिरो र गम्भीर अध्ययनकासाथ अघि बढ्ने सार्थक प्रयत्न गर्नै पर्दछ । आत्मर्भिर बन्ने र सम्मानपूर्ण तथा सार्थक अन्तरनिर्भरताको बाटो र आजको आवश्यकता नै यही हो ।

यसका लागि नेपालले साँच्चै नै व्यवहारबाटै सबै छिमेकी देशहरु र विश्वभरिका राष्ट्र समुदायसँग सममैत्री सम्बन्धको मान्यतालाई दृढतापूर्वक अघि बढाउन चीनसँगको सम्बन्धलाई अझ उचाईमा लाने र सुदृढ पार्ने कुरालाई गम्भीरताकासाथ लिनु र आत्मसात गर्नु पर्दछ । नेपालको समुन्नति शान्ति र स्थिरताका लागि निश्चय नै यो आजको प्रबल राष्ट्रिय आवश्यकता र अपेक्षा पनि हो ।

(लेखक नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष हुनुहुन्छ – सम्पादक।)