काठमाण्डाैं, गत असोज ३ गते संविधान दिवसको अवसरमा घोषणा गरिएका मानपदवी र विभुषण नयाँ वर्षको अवसरमा प्रदान गरिने भएको छ । विभिन्न क्षेत्रका गरेर ३४२ जनालाई मानपदवी र विभूषण प्रदान गर्न लागिएको हो ।
राष्ट्रपति कार्यालयमा ‘विभुषण सुशोभन समारोह’ आयोजना गरेर मानपदवी प्रदान गरिने गृहमन्त्रालयले जनाएको छ । नेपाल रत्न, महाउज्ज्वल राष्ट्रदीप, सुप्रसिद्ध प्रवल जनसेवाश्री, उज्ज्वल कीर्तिमय राष्ट्रदीप, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवा श्री, प्रवल जनसेवा श्री र जनसेवा श्री लगायत विभूषण तथा मान सम्मान प्रदान गर्न लागिएको गृहमन्त्रालयले जनाएको छ ।
समारोहमा सहभागी हुनका लागि गृहमन्त्रालयले तोकिएको पाेशाकमा उपस्थित हुन सूचना जारी गरेको छ । सूचनाअनुसार नेपाली पोशाक लगाएर मानपदवी प्राप्तकर्ता बिहान ०८ः३० भित्र पुग्नु पर्ने छ । पुरुषका लागि लबेदा सुरुवाल, कोट र टोपी तथा महिलाका लागि सारी चोलो र जुत्ता लगाएर आउन आग्रह गरिएको छ ।
त्यस्तै, हिमाल पहाड तराईमा प्रचलनमा रहेका धर्म संस्कृति अनुसारका पोशाक लगाउन पनि सकिने गृहमन्त्रालयले जानकारी दिएको छ । मानपदवी अनुसार नेपालरत्न मरणोपरान्त नेकपाका संस्थापक पुष्पलाललाई प्रदान गरिएको छ ।
सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम) पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई प्रदान गर्न लागिएको छ । सुप्रवल जनसेवा श्रीबाट ८६ जनालाई सम्मान गर्न लागिएको छ । त्यस्तै किर्तिमय राष्ट्रदीप साहित्यकार झमक कुमारी घिमिरेलाई दिइने भएको छ ।
प्रवल जनसेवा श्री पदवी १६० जनालाई दिइने भएको छ । त्यस्तै जसेवाश्री(पञ्चम श्रेणी) ७४ जनालाई प्रदान गर्न लागिएकाे छ । गृह मन्त्रालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १ गते बिहान शीतल निवासमा आयोजना गरिने बिशेष समरोहबीच यी मानपदवी प्रदान गर्ने कार्यक्रम रहेको छ ।
विभुषण तथा मान-पदक प्राप्त गर्नेहरूको नामावलीका लागि यहाँ क्लिक गर्नुस् ।