काठमाडौँ । देशभर “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने नारासहित २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ मनाइरहेका बेला अखिल नेपाल किसान महासंघ ले नेपाली किसानका आधारभूत समस्याको तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) र अखिल नेपाल किसान महासंघ बिच एकतापश्चात अखिल नेपाल किसान महासंघ नामाकरण गरिएको नेपाली कम्युनिष्ट पार्टीको प्रभावकारी जनवर्गीय संगठन किसान महासंघले सोमवार पहिलो पटक प्रेस वकतव्य सार्वजनिक गरेको छ ।
महासंघले राष्ट्रिय धान दिवसको अवसरमा सम्पूर्ण किसान, कृषि मजदुर, महिला किसान, युवा किसान, आदिवासी जनजाति समुदाय, कृषि प्राविधिक, वैज्ञानिक तथा कृषि क्षेत्रसँग सम्बन्धित सबैमा शुभकामना व्यक्त गर्दै धान नेपालको सभ्यता, संस्कृति, अर्थतन्त्र, खाद्य सुरक्षा, खाद्य सम्प्रभुता र राष्ट्रिय आत्मनिर्भरताको आधार भएको उल्लेख गरेको छ ।
हजारौँ वर्षदेखि नेपाली किसानले आफ्नो श्रम, सीप र अनुभवका आधारमा धान उत्पादन गर्दै राष्ट्रको कृषि तथा समग्र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्। त्यसैले राष्ट्रिय धान दिवस किसानको श्रम, पसिना र योगदानप्रति सम्मान व्यक्त गर्ने दिन भएको महासंघले जनाएको छ।
कृषि प्रधान देश नेपालमा किसान अझै पनि गुणस्तरीय मल, बीउ, सिँचाइ, कृषि औजार, सहुलियतपूर्ण ऋण, बजार तथा उत्पादनको उचित मूल्यको अभावमा संघर्ष गर्न बाध्य रहेको महासंघको भनाइ छ। खेतीयोग्य जमिनको तीव्र खण्डीकरण, अनियन्त्रित प्लटिङ, बढ्दो खाद्यान्न आयात, जलवायु परिवर्तनको असर, उत्पादन लागतमा भएको वृद्धि तथा कृषि क्षेत्रमा राज्यको अपर्याप्त लगानीका कारण नेपाली कृषि गम्भीर संकटमा परेको महासंघले जनाएको छ।
महासंघले सरकारसँग किसानलाई समयमै गुणस्तरीय मल, उन्नत तथा स्थानीय बीउ, सिँचाइ सुविधा तथा आवश्यक कृषि सामग्री उपलब्ध गराउन माग गरेको छ। त्यसैगरी धानसहित सम्पूर्ण कृषि उपजको वैज्ञानिक उत्पादन लागतका आधारमा लाभ सुनिश्चित हुने न्यूनतम समर्थन मूल्य (एमएसपी) निर्धारण गरी प्रभावकारी सरकारी खरिद प्रणाली लागू गर्नुपर्नेमा जोड दिएको छ।
खेतीयोग्य जमिनको संरक्षण, कृषि भूमिको अनियन्त्रित खण्डीकरण तथा गैरकृषि प्रयोजनमा हुने प्रयोग रोक्न, स्वदेशी बीउ तथा स्थानीय धानका जातको संरक्षण, जैविक विविधता प्रवर्द्धन तथा जलवायुमैत्री कृषि कार्यक्रमलाई प्राथमिकता दिन पनि महासंघले सरकारलाई आग्रह गरेको छ।
यसका साथै कृषि बीमा, सामाजिक सुरक्षा, सहुलियतपूर्ण कृषि ऋण तथा बजार व्यवस्थालाई प्रभावकारी बनाउन, सिँचाइ, कृषि अनुसन्धान, यान्त्रीकरण, भण्डारण, प्रशोधन, कृषि प्रसार तथा पूर्वाधारमा सार्वजनिक लगानी उल्लेखनीय रूपमा वृद्धि गर्नुपर्ने माग पनि महासंघले अघि सारेको छ।
महासंघले संविधानले सुनिश्चित गरेको खाद्य अधिकार, किसानको अधिकार तथा खाद्य सम्प्रभुतालाई व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्दै किसान समृद्ध भए मात्र राष्ट्रको खाद्य सुरक्षा र समृद्धि सुनिश्चित हुने उल्लेख गरेको छ।
राष्ट्रिय धान दिवसको अवसरमा महासंघले देशभरका किसानलाई उत्पादन वृद्धि, कृषि भूमिको संरक्षण, स्वदेशी बीउको संवर्द्धन, जलवायुमैत्री कृषि प्रविधिको प्रयोग तथा किसान अधिकारको आन्दोलनलाई अझ सशक्त बनाउन आह्वान समेत गरेको छ।
प्रेस वक्तव्यको पूर्णपाठः
आज “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने नाराका साथ देशभर २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ मनाइँदैछ। यस ऐतिहासिक अवसरमा अखिल नेपाल किसान महासंघको तर्फबाट हामी देशभरका सम्पूर्ण किसान, कृषि मजदुर, महिला किसान, युवा किसान, आदिवासी जनजाति समुदाय, कृषि प्राविधिक, वैज्ञानिक तथा कृषि क्षेत्रसँग सम्बन्धित सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
हामी नेपालीहरूका लागि धान केवल एउटा बाली होइन। यो नेपालको सभ्यता, संस्कृति, अर्थतन्त्र, खाद्य सुरक्षा, खाद्य सार्वभौमिकता र राष्ट्रिय आत्मनिर्भरताको आधार हो। हजारौं वर्षदेखि नेपाली किसानले आफ्नो श्रम, सीप र अनुभवद्वारा धान उत्पादन गर्दै राष्ट्रको कृषि तथा कूल राष्ट्रिय गार्हस्थ उत्पादनमा महत्त्वपूर्ण योगदान दिएका छन्। त्यसैले राष्ट्रिय धान दिवस किसानको श्रम, पसिना र योगदानप्रति सम्मान प्रकट गर्ने दिन पनि हो।
तर विडम्बना, कृषि प्रधान देश नेपालमा किसान अझै पनि मल, बीउ, सिँचाइ, कृषि औजार, सहुलियतपूर्ण ऋण, बजार र उत्पादनको उचित मूल्यको अभावमा संघर्ष गर्न बाध्य छन्। खेतीयोग्य जमिनको तीव्र खण्डीकरण र विनाश, अनियन्त्रित प्लटिङ, बढ्दो खाद्यान्न आयात, जलवायु परिवर्तनका असर, उत्पादन लागतमा भएको अत्यधिक वृद्धि तथा कृषि क्षेत्रमा राज्यको अपर्याप्त लगानीले नेपाली कृषि गम्भीर संकटतर्फ धकेलिएको छ। देशमा धान दिवस मनाइरहँदा किसानका यी आधारभूत समस्याहरू समाधान नहुनु गम्भीर चिन्ताको विषय हो।
अखिल नेपाल किसान महासंघको तर्फबाट हामी नेपाल सरकारसँग निम्न माग गर्दछौः
♦ किसानलाई समयमै गुणस्तरीय मल, उन्नत तथा स्थानीय बीउ, सिँचाइ सुविधा र आवश्यक कृषि सामग्री सहज रूपमा उपलब्ध गराइयोस्।
♦ धानसहित सम्पूर्ण कृषि उपजको वैज्ञानिक उत्पादन लागतका आधारमा लाभ सुनिश्चित हुने न्यूनतम समर्थन मूल्य निर्धारण गरी प्रभावकारी सरकारी खरिद प्रणाली लागु गरियोस्।
♦ खेतीयोग्य जमिनको संरक्षण गर्दै कृषि भूमिको अनियन्त्रित खण्डीकरण तथा गैरकृषि प्रयोजनमा हुने प्रयोग रोकियोस्।
♦ स्वदेशी बीउ, स्थानीय धानका जातहरूको संरक्षण, जैविक विविधता, जलवायुमैत्री कृषि तथा कृषिमा आत्मनिर्भरताका कार्यक्रमलाई प्राथमिकता दिइयोस्।
♦ कृषि बीमा, सामाजिक सुरक्षा, सहुलियतपूर्ण कृषि ऋण तथा बजार व्यवस्थालाई प्रभावकारी बनाइयोस्।
♦ सिँचाइ, कृषि अनुसन्धान, यान्त्रीकरण, भण्डारण, प्रशोधन, कृषि प्रसार तथा पूर्वाधारमा सार्वजनिक लगानी उल्लेखनीय रूपमा वृद्धि गरियोस्।
♦ संविधानले प्रत्याभूत गरेको खाद्य अधिकार, किसानको अधिकार र खाद्य समप्रभुतालाई व्यवहारमा कार्यान्वयन गरियोस्।
नेपालको समृद्धि किसानको समृद्धिसँग जोडिएको छ। किसान कमजोर हुँदा राष्ट्रको खाद्य सुरक्षा कमजोर हुन्छ। त्यसैले कृषि र किसानलाई राष्ट्रिय विकासको केन्द्रमा राखी उत्पादनमुखी, आत्मनिर्भर र न्यायपूर्ण कृषि प्रणाली निर्माण गर्नु आजको आवश्यकता हो।
यस राष्ट्रिय धान दिवसको अवसरमा अखिल नेपाल किसान महासंघको तर्फबाट हामी देशभरका सम्पूर्ण किसानहरूलाई उत्पादन वृद्धि, कृषि भूमिको संरक्षण, स्वदेशी बीउको संवर्द्धन, जलवायुमैत्री कृषि प्रविधिको प्रयोग तथा किसान अधिकारको संघर्षलाई अझ सशक्त बनाउन हार्दिक अपिल गर्दछौँ ।
क्रान्तिकारी अभिवादनहसित ।
चित्रबहादुर श्रेष्ठ
संयोजक
रामकुमार ज्ञवाली
सहसंयोजक
मिति: १५ असार २०८३





















