काठमाडौं, उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले लगानी सम्मेलनमा आएका चीन, कोरिया, र अष्ट्रियाका लगानीकर्ताहरुसँग भेटवार्ता गर्नुभएकाे छ ।
सिंहदरवारस्थित उर्जा मन्त्रालयमा शनिबार भएको भेटवार्तामा नेपालको जलविद्युत क्षेत्रमा लगानीको सम्भावना र अवसरको वारेमा छलफल भएको मन्त्री पुनको सचिवालयले जानकारी दिएको छ ।
मन्त्री पुनले शनिबार उर्जा क्षेत्रमा लगानी गर्न इच्छुक कम्पनीका उच्च अधिकारीहरुसँग पाँच घण्टे छलफलमा नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेको भन्दै उहाँले उर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएकाे थियाे ।
मन्त्रालयले विदेशी लगानीकर्तालाई आवश्यक सहजीकरण गर्ने उहाँको भनाइ छ । मन्त्री पुनले पावर चाइनाका अध्यक्ष सोङ डोंगसोङसँगको भेटमा जलविद्युत क्षेत्रका लागि आफूले आन्तरिक र बाह्य बजार बनाउने भन्दै नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएकाे थियाे । उहाँले पावर चाइनाले लगानी गर्न चाहे सरकार सहजीकरण गर्न तयार रहेको बताउनुभयाे ।
भेटमा पावर चाइनाका अध्यक्ष डोंगसोङले पावर चाइनाले नेपालका २५ वटा परियोजना बनाउने तयारी गरिरहेको बताउनुभएकाे थियाे । उहाँले भन्नुभयाे, ‘तल्लो अरुण, किमाथाङ्का र आँधीखोलाजस्ता परियोजनामा हामी लगानी गर्न चाहन्छौँ, त्यतिमात्र होइन हामी अफ ग्रिड पावरको क्षेत्रमा पनि काम गर्न ईच्छुक छौं ।’
उहाँले सरकार, सरकारी कम्पनी र नीजि क्षेत्रसँग मिलेर परियोजना निर्माण गर्ने भन्दै त्यसका लागिआफूलाई सरकारको सहयोग आवश्यक रहेको बताउनुभयाे । डोंगसोङले पछिल्लो एक वर्षमा उर्जा क्षेत्रमा भएको नीतिगत सुधारको प्रशंसा गर्दै नेपाल दक्षिण एसियाकै उर्जा हब वन्न सक्ने बताउनुभयाे ।
नेपालमा सहुलियतपूर्ण ऋण, बुट र पीपीपी मोडेलमा नेपालमा लगानी गर्न पावर चाइना ईच्छुक रहेको उहाँले बताउनुभयाे । चाइना नेशनल हेवी मेसिनरी कर्पोरेशनका उपाध्यक्ष वाङ वेईगाओले पनि मन्त्री पुनसँग भेट गर्नुभएकाे छ ।
भेटमा उपाध्यक्ष वेईगाओले नेपालको प्रसारण लाईनमा लगानी गर्न आफ्नो कम्पनी इच्छुक रहेको बताउनुभयाे । उहाँले सरकारको प्राथमिकता रहेको आयोजनाबारे पनि चासो व्यक्त गर्नुभएकाे थियाे ।
जवाफमा मन्त्री पुनले उर्जा मन्त्रालयले प्रसारण लाईनको गुरुयोजना सार्वजनिक गरेको भन्दै त्यसैअनुसार काम गर्न आग्रह गर्नुभयाे । ‘हामीले केही समयअघि मात्र प्रशारण लाईनको ४० वर्षे गुरुयोजना सार्वजनिक गरेका छौ, न्यू बुटवल–कैलाली, मैनतारा–त्रिवेणीजस्ता परियोजना पनि हामीसँग छन्, तपाईंहरुको विज्ञता र लगानी यसमा लगाउनुहोस्, हामी सहयोग गर्न तयार छौ’, मन्त्री पुनले भन्नुभयाे ।
उहाँले नलगाड र जगदुल्लाजस्ता आयोजनामा पनि लगानीको अवसर रहेको बताउनुभएकाे थियाे । माथिल्लो त्रिशुली १ मा लगानी गरिरहेको कोरियाली कम्पनी कोरिया साउथ–ईष्ट पावरका प्रतिनिधी र उर्जामन्त्री पुनबीच समेत भेटवार्ता भएको छ ।
भेटमा कम्पनीका प्रतिनिधीले उर्जा मन्त्रालयले गरेको सहजीकरणप्रति धन्यवाद व्यक्त गर्दै परियोजना तोकिएकै समयमा निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले आगामी अक्टोवरमा कम्पनीले निर्माण कार्य सुरु गर्ने जानकारी समेत मन्त्री पुनलाई दिए ।
त्यसैगरी लगानी सम्मेलनकै लागि भारतबाट काठमाडौं आएका अष्ट्रियन दुतावासका महावाणिज्यदुत रोवर्ट लकले शनिबार नै उर्जामन्त्री पुनसँग भेटवार्ता गर्नुभयाे ।
रोबर्टले मन्त्री पुनसँगको भेटमा अष्ट्रीयाले नेपालको उर्जा क्षेत्रमा सहकार्य गर्न खोजेको भन्दै सम्झौताका लागि एमओयूको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयाे ।
मन्त्री पुनले शुक्रवार लगानी सम्मेलनपछि म्यानमारका लगानी र वैदेशिक आर्थिकक सम्बन्ध हेर्ने मन्त्री यु थाउंग टुन, भारतीय कम्पनी जिएमआरका प्रतिनिधी र एडिवीका उपाध्यक्ष चेन चेनसँग समेत भेटवार्ता गर्नुभयाे ।
म्यानमारका मन्त्री टुनले उर्जा क्षेत्रका अनुभव आदान–प्रदान गर्नुपर्ने भन्दै आगामी जुनमा म्यानमारले आयोजना गर्न लागेको विमस्टेकको मन्त्रीस्तरीय वैठकमा भाग लिनको लागि निम्तो समेत प्रदान गर्नुभयाे ।
एडिबीका उपाध्यक्ष चेनले मन्त्री पुनसँगको भेटमा नेपालको उर्जा क्षेत्रमा एडिबीले लगानी गरिरहेको भन्दै आगामी दिनमा लगानी बिस्तार गर्न खोजेको जानकारी दिनुभयाे । उहाँले ६०० मेगावाट क्षमता भएको दुधकोशी जलाशययुक्त आयोजनामा ७० अर्ब लगानी गर्न तयार रहेको बताउनुभयाे ।