काठमाडौं, केही साता अघिदेखि मात्र राजनीतिक मुलधारमा आएका डा. सिके राउत नेतृत्वको राष्ट्रिय परिषद बैठक सकिएको छ। आइतवारदेखि जारी वैठकमा पार्टीको नाम ‘जनमत पार्टी’नामाकरण गर्दै सोमवार सकिएको हो। बैठकले ३५ सदस्यीय कार्यकारिणी समिति बनाएको छ ।
सिरहा जिल्लाको लहान ७ मा बसेको राष्ट्रिय परिषद् बैठकले स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारको बीचमा २०७५फागुन २४ गते भएको ११ बूँदे सहमतिलाई ऐतिहासिक तथा मधेशी जनताको लागि अभूतपूर्व उपलब्धि भएको घोषित गर्दै सहमतिलाई स्वागत गरेको छ। विभिन्न जिल्लाबाट १५० भन्दा बढी प्रतिनिधिहरु बैठकमा सहभागी थिए।
त्यसैगरी बैठकले जनताको हक र अधिकारका लागि सङ्घर्ष गर्न नेपालको संविधानभित्र रहेर पार्टी स्थापना गरी अगाडि बढ्ने निर्णय गरेको छ। पार्टीको झण्डामा क्रमशः रातो, सेतो र हरियो रंगको ठाड़ो धर्का (स्ट्रीप) बीचमा बीचको सेतो स्ट्रीपमा रातो रंगको ‘अष्टदल’ रहने निर्णय गरेको छ। पार्टीको चुनाव चिन्हमा ‘अष्टदल’लाई राख्ने गरी निर्वाचन आयोगमा निवेदन दिने निर्णय पनि बैठकले गरेको छ।
को को परे ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा
पार्टीको अध्यक्षमा डा.सिके राउत, केन्द्रीय सदस्यहरुमा महोत्तरीवाट सञ्जय यादव, कैलाश महतो र चन्दन सिंह, सिरहावाट सतिला यादव र राजकुमार यादव, बर्दियावाट अब्दुल खान, सप्तरीवाट बबिता इसर, झापावाट कौशिला महतो, मोरङवाट परमेश्वर मुर्मु, सुनसरीवाट सीताराम पण्डित र आशा मेहता, धनुषावाट इन्द्रजीत यादव, सर्लाहीवाट नरेश कुशवाहा, रौतहटवाट वीरेन्द्र साह बारावाट दिनेश यादव, पर्सावाट सञ्जय साह, नवलपरासीवाट दुर्गा चौहान र ध्रुव गौड, रुपन्देहीवाट भोपेन्द्र यादव, कपिलवस्तुवाट हकिकुल्ला खान, दाङवाट राधा यादव, बाँकेवाट इरफान अहमद शेष र कैलालीवाट महेन्द्र प्रसाद चौधरी रहेका छन्।
बाँकी १० जना सदस्यहरुमध्ये महिला, दलित, जनजाति, अल्पसंख्यक सहितको प्रतिनिधित्व हुने गरी मनोनित गर्न जिम्मेवारी सर्वसम्मतिले पार्टीका अध्यक्षलाई दिइएको छ।
त्यसैगरी बैठकले स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारको बीचमा यहीँ फागुन २४ गते भएको ११ बूँदे सहमतिलाई कार्यान्वयनमा ल्याउँदै स्वतन्त्र मधेश गठबन्धनका समर्थकहरुमाथि लगाइएका मुद्दाहरु अविलम्ब फिर्ता लिनका लागि छिटो पहल गर्ने निर्णयका साथ श्री चन्दन सिंहको संयोजकत्वमा ३ सदस्यीय सहमति कार्यान्वयन समितिलाई बनाउको छ ।
त्यसका साथै प्रहरी हिरासतमा मारिएका बाँके जिल्ला संयोजक राम मनोहर यादवको परिवारलाई सरकारसँगको सहमति अनुसार क्षतिपूर्ति तथा परिवारका एक जनालाई रोजगारी उपलब्ध गराउने पहल अविलम्ब थाल्न पनि सोही समितिलाई जिम्मेवारी दिइएको छ।
जनमत पार्टीको गठनसँगै जनमत जुटाउन जनता समक्ष जाने र जनमतबाटै संवैधानिक रुपमा नै जनताको समस्या, माग, हकहित र अधिकारको लागि अनवरत समर्पित र निस्वार्थ भावले सङ्घर्षरत रहने बैठकपछि जारी बिज्ञप्तिमा जनाइएको छ ।