Ram Prasad Sapkota 'Deepshikha'
 

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को युवा संगठनका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले खुल्ला हृदय र विना पूर्वाग्रह सहकार्य गर्न सार्वजनिक आह्वान गरेका छन् ।

नेकपाको दुई युवा संगठनको एकीकृत नेतृत्वको जिम्मेवारी पाउँदै संयोजक बनेपछि उनले संगठनका सबै नेता कार्यकर्तालाई सार्वजनिक रुपमा सहकार्य गर्न आह्वान गरेका हुन् ।

आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफूलाई शुभकामना र बधाई खबरदारी लाग्ने गरेको बताउँदै इमान र गति नमार्न गरेको यस्तो स्नेह आफ्ना लागि सँधै प्रेरणा हुने बताएका छन् ।

उनले फेसबुकमा भनेका छन् , “मलाई जहिल्यै शुभकामना र वधाई खवरदारी लाग्यो र लागिरहने छ । इमान र गति नमार्न गरेको यस्तो स्नेह मेरा लागि सँधै प्रेरणा हुनेछ ।”

आफू नेतृत्वको कुरा एक पटक र कार्यकर्ता, जनताको कुरा १० चोटि सोच्ने, हेर्ने र काम गर्ने गरेको बताउँदै आन्दोलनप्रति सँधै जवाफदेही र कर्तव्यनिष्ट रहेको बताएका छन् । “म हेर्दा, हिँड्दा र चल्दा माथितिर १ चोटि तर तलतिर १० चोटि हेर्ने गर्छु । यसको अर्थ यस्तो होइन कि पार्टी, नेतृत्व र आन्दोलनप्रति म सँधै जवाफदेही र कर्तव्यनिष्ट छैन ।”

नेकपाका केन्द्रीय सदस्य समेत रहेका दीपशिखाले आफू सामान्य किसान परिवारमा जन्मेको स्वाभिमानी सिकर्मी बाउको छोरो भएको बताएका छन् । उनले संयुक्त युवा संगठन र आन्दोलनको यत्रो ठुलो अभिभारा एक्लैले बेहोर्न सक्ने सामर्थ्य जो कोहीसँग पनि नहुने भन्दै सबैको साथ, सहयोगको अपेक्षा गरेको बताएका छन् ।

“सामान्य किसान परिवारमा जन्मेको स्वाभिमानी सिकर्मी बाउको छोरो हुँ । संयुक्त युवा संगठन र आन्दोलनको यत्रो ठुलो अभिभारा म एक्लैले बेहोर्नसक्ने मेरो सामर्थ्य छैन भन्ने मलाई थाहा छ,” –उनले फेसबुकमा भनेका छन् ।

उनले दुवै संगठनका नेतादेखि समर्थकसम्म सहकार्य गर्ने बताएका छन् । उनले लेखेका छन्, “म दुवै संगठनको केन्द्रदेखि गाउँसम्मका सम्पूर्ण नेतादेखि समर्थकसम्म सहकार्य नगरी यो जिम्मेवारीलाई सम्पन्न गर्न सकिन्छ भन्ठान्दिन । यसर्थ खुल्ला ह्रदय र विना पूर्वाग्रह सहकार्यको सार्वजनिक आव्हान गर्दछु । यो जिम्मेवारी पार्टीका आदरणीय नेतादेखि हिजोका दुवै संगठनका कमरेडहरू र मलाई माया गर्ने तपाईहरूको विश्वास, भरोसा र स्नेहको परिणाम हो । विश्वास, भरोसा र स्नेह नतोड्न यो नयाँ जिम्मेवारी सिपाही भएर भुँई फूलजस्तै पूरा गर्न प्रतिवद्ध छु । बाटो बिराए र भुँई छोडे भने मेरो नाकमाथि उठाउन यहाँहरूसँग चौर औलों छ । यस विषयमा अरू बात अर्कों साल ।”