हामी गरिब छौँ
यो त तिमीलाई थाहा रहेछ ।
मानव अधिकारका मसिहा भन्थ्यौ
सिरियामा चार लाख मर्दा कता गयौ ?
हतियार बनायो भनेर आक्रमण गर्यौ
टाउको छिनाल्ने गरी झुन्डायौ,
इराक तहस नहस पार्यौ
एसियाकै शान्ति खलबलायौ ।
युद्धलाई रोके प्रचण्डले
नेपाललाई खलबलाउन दिएनन्,
आधा रातमा मिल्छन्,
तिमीलाई खबरदारी गर्छन्
हस्तक्षेप नगर,
ओली त गोली छन्
त्यसैले त चम्तकारीका दोस्ती छन् ।
तिमीलाई थाहा छ
तिमीले छुट्टै आकाश सेयर गर्छौ
नेपालीले भन्दा छुट्टै हावामा
सास लिन्छौ होला ।
साइबेरियाका घुमन्ते चराहरु
तिमीले आकाशमै उडाउँछौ होला ।
नेपालमा त तिनीहरु
निर्धक्क विचरण गर्छन् ।
किनकी हामीले त एउटै पृथ्वी सेयर गर्छौ
किनकी आमा र बच्चा अलग्गाउने
घिनलाग्दा खेल खेल्दैनौँ ।
अझै मानवअधिकारका मसिहा बन्छौ
बिहान बेलुका नाम लिन्छौ र
बेइज्जत गर्छौ विश्व समुदायलाई
र आफूलाई शान्तिको मसिहा भन्छौ ।
हामी गरिब छौँ,
तिमीलाई थाहा रहेछ
मलाई पनि थाहा छ ।
धनी कसरी बन्ने ?
पृथ्वी हाम्रो पनि हो,
तिमीलाई हेक्का छ होला
हिजोको गरिब मुलुक चीन,
तिम्रो आकाशमा तिमीले थाहै नपाई
विचरण गर्न सक्छ निर्धक्क ।
भोलि नेपाली पनि गर्न सक्नेछ
फेरि नेपालीले गरिबका पसिना
लुटेको पनि त छैन ।
घर–घरमा रंगभेद ल्याएर
निहत्था अफ्रिकीहरु वा अरु देशलाई
सुनको चिडिया भनेर
लुटेको पनि त छैन,
त्यसैले त ऊ गरिब छ ।
हामीसँग हिसाब किताब छ
कति लुट्यौ, कति चोर्यौ,
त्यो हिसाब किताब गर्ने दिन त
आउदै छ ।
यही हिसाब किताब रोक्न
फुटाउने प्रपञ्च गर्छौ,
भाइ–भाइ लडाउँछौ
एक छिमेकीबाट अर्कोलाई फुटाउँछौ ।
नेताहरु किन्छौ,
नभए सफाया गर्छौ,
आफू मानवअधिकारको खोल ओड्छौ
अरुको आँङमा जुम्रो देख्छौ,
आफनो आँङमा भैँसी देख्दैनौ ।
नेपाली गरिब छ,
काम खोज्छ, खान्छ
लुट्न जान्दैन, लुट्दैन ।
शान्तिको सन्देश दिन्छ,
आफ्नै आँगनमा रमाएको छ,
सोरठी र सालेजोमा रमेको छ,
खस–आर्य, ब्राह्मण, मगर, गुरुङ मिलेर बस्छ ।
ल्होसार, दशैँ, उभौँली रमेर नाच्छ
तिमीलाई यो मन पर्छ र ?
किनकि तिम्रो लुटको
स्वर्ग थाम्न गाह्रो भइसकेको छ ।
त्यही साम्राज्य, बन्दुक दिएर
सुन लाने दिन आउँछ कि भन्ने सपनामै छौ ।
दास बनाएर विशाल हीरा भण्डार
कति लुट्यौ होला
मानवलाई दाँत हेरेर
मोल तोल गर्ने फेरि
मण्डी सजिन्छ कि,
सपना देख्दै हौला
हैन र ?
स्वयम् अफ्रिकासँग
अमेरिकाको लुट कति छ ?
हिसाब त होला नि
घानाले हिसाब राखेकै होला,
तिम्रो गोल्डकोस्टको हिसाब
आनफ्रो हिलको केपक्यासल
तिमीलाई अहिले तर्साउँछ होला ?
खुब तर्सन्छौ है,
बतात्कृत महिलाहरुको चित्कार
तिम्रो कानमा गुञ्जन्छ होला ?
दासता नेपालीलाई अप्रिय छ,
तिमीलाई यसले पनि,
तर्साउँछ होला ।
साम्राज्य ठुलो डेनमार्क र नर्वेको
अफ्रिका, एसिया र अमेरिका पुगेका ।
लुटको साम्राज्य गर्लम्मै जाने डरले
मानवअधिकारको खोल ओढेका
हिसाबकिताब त लामो छ,
आर्तनादका स्वरहरुले
बारंबार तर्सिरहेका
अस्थिरताको सिर्जनामा लुटको
हिसाब किताबबाट पन्छने सपना देखेका
गरिबहरुलाई चारो फालेर,
द्वन्द्व भड्काउने काम गरेका ।
डच, बेलायती तिमीले रोपेको रंगभेद
काला जातिले कसरी खेपे ?
मण्डेला २७ बर्ष बिताए जेल ।
गान्धी तिमीले झारीदियौ रेलबाट ।
कति आततायी थियौ,
कसरी बिर्सिए होलान् उन्ले
बिताएका दासताका जीवनहरु ।
उनीहरुको छाती ठूलो छ ।
तर इतिहासले हिसाब त माँग्ने गर्छ ।
यसैले त तिमी खलबलाएका छौ,
लुटको स्वर्ग कायम राख्न
राम्रो भएको ढवाङ रच्छौ,
स्वतन्त्रताको ढवाङ रच्छौ,
इतिहासले चिना लेख्ने गर्छ
के यसको हेक्का राखेका छौ ?
मानव इतिहासमा पोतेको
कलङ्कको के हिसाब तिर्न सक्छौ ?
मम्मीहरुले रातमा तर्साउँछन् होला
पसिनै पसिना हुने गर्छौ
त्यसैले तिमी साना बालकदेखि पनि
आतङ्कित बन्ने गर्छौ ।
स्वतन्त्र र शान्तिको सन्देश
ब्रहमाण्डमय बनाउने नेपालीलाई
द्वन्द्वको नाममा फसाउने चक्कर चालेका
प्रमाणसहित पेश गर्दा
आफ्नो कालो अनुहार छोप्न
मानवअधिकारको खोल ओडेका ।
दासता नेपालीलाई अप्रिय छ,
तिमीलाई यसले पनि तर्साउँछ होला ।
ढलिरहेको लुटको साम्राज्य जोगाउने
एउटा केन्द्र इयु त होला ।
असत्य बोकेर हिँड्दै
खस आर्य प्रोपागाण्डा यसैले त
गरेको होला ।
हिजो एउटा साम्राज्यसँग
जुध्ने शक्ति थियो ।
भिमसेन, बलभद्र महिला विराङ्गाना
बुद्घ, ब्यास र पाणिनी पनि
यही माटोका सन्तान थिए ।
विपरीत ध्रुव पनि मिल्छन् यहाँ
तिम्रो परिकल्पना भन्दा
बाहिरका कुरा हुन्छन् जहाँ ।
आफनो लुटको स्वर्ग थाम्न
नयाँ नयाँ जाल फ्याँक्छौ ।
दासता नेपालीलाई अप्रिय छ,
धारिलो छ इतिहास,
स्पातिलो छ इतिहास ।
यही काफी छ,
तिम्रो प्रपञ्च काट्न ।
फेरि भन्छौँ हामी
दासता नेपालीलाई अप्रिय छ ।
बलभद्रका लाखौ सन्तान छन् यहाँ,
हजाराैँ नालापानी तोड्न
तमतयार छन् जहाँ,
त्यसैले हामी दोहराई तेहराई भन्छौ
दासता नेपालीलाई अप्रिय छ ।
त्यसैले,
हाम्रै विशेषताको स्वतन्त्रतामा
रम्ने गर्छाैँ ।
याे पनि पढ्नुहाेस्ः नायक र खेल – क. निमानन्द रिजाल
याे पनि पढ्नुहाेस्ः किमलाई चिठ्ठी – क. बलराम तिमल्सिना ‘विप्लव’
तीन घरे, काठमाडौँ ।
चैत्र १५, २०७४








