DB Karki डी.बी. कार्की
 

तिन सय पैँसठ्ठी दिनमा नयाँ वर्ष आउँछ,
दुई-चार जना मोज गर्छन् अरूलाई रूवाउँछ।
जब आउँछ नयाँ वर्ष हाम्रै उमेर घट्छ।
यमराजले बहिखातामा एउटा अङ्ग थप्छ।

नयाँ राम्रो नयाँलाई, पुरानाको भाउ,
चल्ला माथि जान्छु भन्छ, मारेर नै माउ।
बाउलाई फाल्ने डोको राख्न भन्छ जब नाति,
बाउको बल्ल होस् खुल्छ, भविष्यलाई सम्झी।

विगतमा यस्तै हुँदै यहाँसम्म आयो,
थाहा पाउलान् घमण्डीले, बाँचेर को रह्यो ?
समय त रोकिँदैन, काल के को रोक्ने,
न रोकियो विगतमा, न कोही सक्छ छेक्न ।

मृत्यू कुर्दै बसिरहेछन्, जीवनधारी सारा,
ढिलो चाँडो जानै पर्छ, समय गर्दै पार ।
काल नआर्इ कोही पनि जाँदैन यमको घर,
तर पनि बाँचुञ्जेल किन मान्छन् डर?

हाँसी हाँसी बाँच्नु पर्छ, रमाई रमाई नाच्नु,
व्यर्थ छ यही , दुनियाँलाई पीडा दिई बाँच्नु ।
नयाँ वर्ष सबैको हितमा सेवा गर्न पाऊँ,
मर्नु भन्दा अघि जनको दिलमा बस्न जाऊँ।

मानव भर्इ मानव र कल्याण गरौ जीवको,
कलम र मसीसँगै महत्त्व छ नीमको ।
मानवताको सेवा गर्दा जानु परे नर्क,
विभिषिका जन्माएर बैरी नासी फर्क।

नयाँ वर्ष सबै जनमा सुख शान्ति छाओस्,
गरिबका झोपडीमा समाजवाद आओस् ।
गफाडिको गफजस्तो, नहोस् समाजवाद,
श्रमजीवी किसानको चल्न सकोस् राज !

नबनोस्, समाजवाद,पराइको भरमा पर्ने
पराइको घरमा गई योग्य सन्तान मर्ने ।
सुख अनि समृद्धिकाे जग बस्दै जाअाेस्,
गरिबी र अनिकालले छिट्टै विदा लिओस् ।

यही मेरो कामना छ, जनता अनि देशलार्इ,
शुभ साथ दिऊँ अब वामपन्थीको रेसलाई!
साथ दिँदै वामपन्थीको सहयोगमा लागौँ,
घात गरे पाँच वर्षमै सबै मिली फालौं !

याे पनि पढ्नुहाेस्ः  मेरा बा किसान हुन् – हेम प्रभास 

याे पनि पढ्नुहाेस्ः एकताका लागि त्याग गर – क. डि.बि. कार्की 

याे पनि पढ्नुहाेस्ः  एकदेव आले, तिमीलाई सयबार सलाम – क. राेहित

याे पनि पढ्नुहाेस्ः  एमाले-माकेकृत समृद्ध समाजवादका नाऊँमा – क. शरद पाैडेल

मच्छेगाउँ, काठमाडाैँ

२०७५ बैशाख १ गते