काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका केन्द्रीय सदस्य एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा भएको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको सचिवालय बैठकले मृतक सबैप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक संतप्त परिवारजनमा समवेदना प्रकट गरेको हो ।
बैठकले मन्त्री अधिकारीलगायत यति एयरलाइन्सका प्रबन्ध निर्देशक तथा स्थापित पर्यटन उद्यमी आङ छिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अङ्गरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
तीन दिनसम्म पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय पनि भएको छ । पार्टी केन्द्रीय कार्यालयका तर्फबाट यही फागुन २३ गते केन्द्रीय श्रद्धाञ्जली सभाको आयोजना गर्ने निर्णय गरिएको छ । बैठकले दुर्घटनामा परेर निधन भएका व्यक्तिको परिवारको आर्थिक स्थिति र आवश्यकतासमेत हेरेर उपयुक्त सहयोग गर्न सरकारलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।

विद्यार्थी संगठन र जनसांस्कृतिक महासंघ नेपालद्वारा संयुक्त शोक वक्तव्य जारी
मन्त्री रविन्द्र अधिकारी लगायत सात जनाको ज्यान जाने गरी भएको हवाई दुर्घटनाप्रति नेकपाका भातृ संगठनहरुले दुःख व्यक्त गरेका छन् ।
अखिल र अखिल (क्रान्तिकारी) तथा जनसांस्कृतिक महासंघ नेपालले बिहिबार दुई छुट्टाछुट्टै शोक वक्तव्य जारी गर्दै उक्त घटनामा ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।
अखिल र अखिल (क्रान्तिकारी) का अध्यक्षद्वय नविना लामा र रञ्जित तामाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘अब उहाँ हामी बीच भौतिक रुपमा रहनुभएन । अल्पआयुमा भएको उहाँको अप्रत्यासित निधनबाट मुलुकका लाखौँलाख युवा विद्यार्थीहरुको एउटा आशाको दियो निभेको छ । जनताले आफ्नो प्रिय नेता गुमाएका छन् । पार्टीको एउटा भरोसायोग्य खम्बा ढलेको छ ।’

त्यसैगरी, जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष सरल सहयात्री र संयोजक खगेन्द्र राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ – ‘उहाँ नेकपाका केन्द्रीय सदस्य तथा नेपालको एकजना उदयमान विकासप्रेमी नेता हुनुहुन्थ्यो । उहाँबाट नेपाली जनताले ठूलो आशा र भरोसा राखेका थिए ।’ विज्ञप्तिमा अगाडि भनिएको छ – ‘उहाँको यस असामयिक निधनले सम्पूर्ण देशवासी नै मर्माहत भएका छन् ।’














