समाजवाद र नेपालको परराष्ट्र नीतिबारे विचार प्रस्तुत गर्दै क. वामदेव गौतम
 

अहिले विश्वमा संयुक्त राष्ट्रसंघमा आबद्ध भएका १९५ राष्ट्रहरू छन् । यिनमा दुई राष्ट्रहरू प्यालेष्टाइन र भेटिकन पर्यवक्षक सदस्यको हैसियतमा रहेका छन् ।

यीमध्ये नेपालको १८२ राष्ट्रहरूसँग दौत्य सम्बन्ध कायम छ। संयुक्त राष्ट्र संघ आवद्ध विभिन्न संरचनाहरूमा क्रियाशील रहँदा सबै १९५ सदस्य राष्ट्रहरूसँग कुनै न कुनै किसिमको कूटनीतिक सम्बन्ध कायम रहने गरेको छ ।

संयुक्त राष्ट्रसंघ सम्बद्ध भएर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल संसारका विभिन्न युद्धरत मुलुकहरूमा शान्ति स्थापनार्थ दशकौँ पहिलेदखि संलग्न हुँदै आएका छन् । संयुक्त राष्ट्र संघ नेपाल जस्ता कम विकसित, विकासोन्मुख राष्ट्रहरूका निम्ति भरोसायुक्त अन्तर्राष्ट्रिय संस्था हो ।

नेपालमा १० वर्षसम्म चलेको माओवादी सशस्त्र संघर्षलाई सुरक्षित अवतरण गरी शान्तिपूर्ण अवस्था कायम गर्न नेपाल सरकारको अनुरोधमा संयुक्त राष्ट्रसंघ सक्रियतापूर्वक संलग्न रहेको थियो ।

नेपाल दुई ठुला महाशक्ति राष्ट्र चीन र भारतका बिच भूपरिवेष्ठित अवस्थामा रहेको मुलुक हो । शक्ति र समृद्धि विकासका निम्ति छिमेकी मुलुकहरू प्रतिस्पर्धात्मक अवस्थामा छन् । यी दुवै मुलुकको हार्दिकता र सहयोगी भूमिका कसरी प्राप्त गर्न सकिन्छ भन्ने समस्या सयौँ वर्षदेखि नेपालले अनुभव गर्दै आएको छ। अहिलेसम्म समस्या समाधान गरी हाल्न नसकेको भए पनि नेपालले गिजोलिने गरी समस्यामा फस्नु परेको छैन ।

संसार विज्ञान र प्रविधिको विकासले गर्दा घर परिवारभित्र सांघुरिदै गएको आभाष हुन्छ। तर पनि नेपालको भूपरिवेष्ठित अवस्थाका कारण विज्ञान र प्रविधिको विकासबाट जति उपलब्धि प्राप्त गर्नुपर्ने हो, त्यो भएको छैन ।

अहिले पनि नेपाल राष्ट्र र भारतीय एकाधिकार पुँजीवादका बिच अन्तरविरोध रहेको छ । भारतको राज्यसत्तामा श्रमजीवी वर्गको हस्तक्षेपकारी भूमिका नगण्य प्राय छ । ब्रिटिश उपनिवेशबाट मुक्त भएदेखि अहिलेसम्म भारत सरकारसित नेपालको औपचारिक सम्बन्ध मित्रतापूर्ण छ । तर नेपालको कालापानी क्षेत्र लगायत नेपाल-भारत सिमानामा भारतले निरन्तर हस्तक्षेपकारी व्यवहार गरेको छ ।

अहिलेसम्म नेपालको राज्यसत्ताको नेतृत्वमा रहने गरेका सबै राजनीतिक शक्ति र तिनका नेताहरूले भारतका सत्ताधारीहरूलाई खुसी नबनाउने हो भने नेपालको अरू बढी नोक्सानी हुन्छ भनेर शिर निहुराउने व्यवहार गरिरहेका छन । त्यसको परिणाम नेपाल र भारतका बिच रहेका विभिन्न अन्तरविरोधहरू परस्पर सम्मान र लाभका आधारमा समाधान हुन सकेका छैनन्‌ । तर पनि अहिले नै शत्रुतापूर्ण अवस्थामा छैनन्‌ । त्यस्तो अवस्थामा जान पनि दिन हुँदैन ।

नेपालले संसारका सबै मुलुकहरूसँग पञ्चशीलका आधारमा स्वतन्त्र, तटस्थ र असंलग्न परराष्ट्र नीति दृढतापूर्वक अवलम्बन गर्दै आएको छ । नेपाली भूमि कुनै पनि मित्रराष्ट्रका विरुद्ध प्रयोग गर्न नदिने नीतिमा दृढ छ । नेपालले दौत्य सम्बन्ध कायम भएका संसारभरका मुलुकहरूसँग भाइचारा सम्बन्ध अझ सुदृढ गर्दै लैजाने नीति भविष्यमा पनि निरन्तर अवलम्बन गर्दै जाने छ । साथै मित्रराष्ट्र भारत, जनवादी गणतन्त्र चीन र संयुक्त राज्य अमेरिकासँग पारस्परिक हितका आधारमा घनिष्ट सम्बन्ध कायम राखिरहने नीति अवलम्बन गरिरहनेछ ।

भारत र चीन दुवै महाशक्ति राष्ट्रहरू हुन । तर यिनीहरूका बिच मित्रतापूर्ण सम्बन्ध विकसित नहुँदा नेपालले दुवैका तर्फबाट शंकाको व्यवहार बेहोर्न परिरहेको छ। नेपालले दुवै छिमेकी मुलुकहरूसँग नझुकी आफ्नो मित्रतापूर्ण सम्बन्ध विकसित गर्दै आएको छ । भविष्यमा पनि यसलाई जारी राखिरहने छ ।

नेपालले आफ्नो विकासमा दुवै मुलुकहरूको सकारात्मक योगदानको चाहना राख्नु पर्दछ । नेपालको संसारभरका स्वतन्त्र मुलुकहरूसँग परस्पर सम्मानका आधारमा सम्बन्ध विकसित भएको छ। यसरी सम्बन्ध विकसित भएका सबै मित्र राष्ट्रहरूसँग घनिष्ट सम्बन्ध कायम गर्दै आर्थिक कूटनीतिलाई पनि अगाडि बढाइनु पर्छ। अहिले हामी एक्काइसौँ शताब्दीको नयाँ नेपाल निर्माण गर्दैछौँ र कहिल्यै कसैको उपनिवेश हुन नपरेको आफ्नो गौरवगाथामा अरू थप योगदान हुने गरी अगाडि बढ्न चाहन्छौँ।

(साभारः नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधान एवम् गृहमन्त्री क. वामदेव गौतमको प्रस्तुत लेख उहाँको ‘समाजवाद निर्माणको हाम्रो योजना’ नामक पुस्तकबाट साभार गरिएको हो – सं. ।)