भेनेजुएला भूकम्प २०२६ पछि भग्नावशेषमा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी तथा उद्धार टोली।
 

काठमाडौँ, असार १२ (जुन २६) । भेनेजुएलाले आफ्नो आधुनिक इतिहासकै सबैभन्दा विनाशकारी प्राकृतिक विपत्तिमध्ये एकको सामना गरिरहेको छ। उत्तरी भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पका कारण व्यापक जनधनको क्षति भएको छ भने हजारौं नागरिक प्रभावित भएका छन्। आवासीय भवन, अस्पताल, विद्यालय, सडक, पुल तथा अन्य सार्वजनिक पूर्वाधारमा ठुलो क्षति पुगेको छ।

भेनेजुएला सरकारद्वारा सार्वजनिक गरिएको आधिकारिक विवरणअनुसार हालसम्म २३५ जनाको मृत्यु भएको छ भने करिब ४ हजार ३०० जना घाइते भएका छन्। भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

बुधवार एक मिनेटभन्दा कम अन्तरमा क्रमशः ७.२ र ७.५ रेक्टर स्केलका दुई शक्तिशाली भूकम्प गएका थिए । राजधानी काराकास, ला गुआइरा, काराबोबो, मिरान्डा लगायत उत्तरी भेनेजुएलाका विभिन्न राज्यहरूमा तीव्र कम्पन महसुस गरिएको थियो। त्यसपछि आएका पराकम्पनका कारण हजारौँ नागरिक घर छाड्न बाध्य भएका छन्।

सरकारद्वारा राष्ट्रिय आपतकाल घोषणा

भूकम्पलगत्तै भेनेजुएला सरकारले राष्ट्रव्यापी आपतकाल घोषणा गर्दै व्यापक उद्धार तथा राहत अभियान सुरु गरेको छ।

कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले नागरिक सुरक्षा निकाय, अग्निनियन्त्रण सेवा, स्वास्थ्यकर्मी, उद्धार टोली तथा बोलिभारियन राष्ट्रिय सशस्त्र बललाई पूर्ण रूपमा परिचालन गर्न निर्देशन दिएकी छन्।

उनले सरकारको पहिलो प्राथमिकता मानव जीवनको रक्षा भएको स्पष्ट पार्दै सबै उपलब्ध राष्ट्रिय स्रोतसाधन उद्धार कार्यमा केन्द्रित गरिएको बताइन्। प्रभावित क्षेत्रहरूमा अस्थायी आश्रयस्थल स्थापना गरिएको छ भने अस्पतालहरूलाई आकस्मिक सेवामा रूपान्तरण गरिएको छ। क्षतिग्रस्त भवन, सडक, पुल, विमानस्थल तथा अन्य संरचनाको प्राविधिक परीक्षण पनि सुरु गरिएको छ।

सरकारले नागरिकहरूलाई क्षतिग्रस्त भवनमा प्रवेश नगर्न, सरकारी निर्देशन पालना गर्न तथा सम्भावित पराकम्पनप्रति सतर्क रहन आग्रह गरेको छ।

उद्धार तथा राहत अभियान जारी

देशभर हजारौँ उद्धारकर्मी, चिकित्सक, स्वयंसेवक तथा बोलिभारियन राष्ट्रिय सशस्त्र बलका सदस्यहरू चौबीसै घण्टा उद्धार कार्यमा खटिएका छन्।

भग्नावशेष हटाउने, जीवित व्यक्तिको खोजी गर्ने, घाइतेहरूको उपचार गर्ने, विस्थापित परिवारलाई अस्थायी आवास उपलब्ध गराउने तथा प्रभावित क्षेत्रमा विद्युत, खानेपानी, सञ्चार र यातायात सेवा पुनः सञ्चालन गर्ने कार्य तीव्र गतिमा भइरहेको छ।

भूकम्पका कारण आवासीय भवन, अस्पताल, विद्यालय, सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठान, सडक, पुल तथा अन्य सार्वजनिक पूर्वाधारमा ठुलो क्षति पुगेको प्रारम्भिक सरकारी मूल्याङ्कनले देखाएको छ। आर्थिक क्षति अर्बौँ डलर पुग्ने अनुमान गरिएको छ।

निकोलास मादुरोद्वारा राष्ट्रिय एकताको आह्वान

अमेरिाकाद्वारा गैरकानुनीरूपमा हिरासतमा राखिएका भेनेजुएलाका संवैधानिक राष्ट्रपति निकोलस मादुरो मोरोसले सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै सम्पूर्ण भेनेजुएली नागरिकलाई “राष्ट्रिय एकता, शान्ति र प्रेम” का साथ विपत्तिको सामना गर्न आह्वान गरेका छन्।

उनले उद्धारकर्मीहरूलाई सहयोग गर्न, बालबालिका, ज्येष्ठ नागरिक तथा घाइतेहरूको हेरचाह गर्न र देश पुनर्निर्माणका लागि सबै नागरिक एकजुट हुन आग्रह गरेका छन्। उनले भेनेजुएला यस कठिन परीक्षाबाट पनि ऐक्यबद्धता र दृढताका साथ पार हुने विश्वास व्यक्त गरेका छन्।

अन्तर्राष्ट्रिय ऐक्यबद्धता र सहयोग

भूकम्पपछि विश्वका विभिन्न मुलुक, अन्तर्राष्ट्रिय संस्था तथा मानवीय सहायता निकायहरूले भेनेजुएलाप्रति गहिरो समवेदना व्यक्त गर्दै सहयोगको प्रतिबद्धता जनाएका छन्।

चीन सरकारले भेनेजुएला सरकार र जनताप्रति गहिरो समवेदना व्यक्त गर्दै आवश्यकताअनुसार मानवीय सहायता उपलब्ध गराउन तयार रहेको जनाएको छ। चीनका विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भेनेजुएली जनता सरकारको नेतृत्वमा यस विपत्तिबाट सफलतापूर्वक बाहिर निस्कने विश्वास व्यक्त गरेका छन्।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले भूकम्पप्रति गहिरो दुःख व्यक्त गर्दै ब्राजिल सरकारलाई भेनेजुएलासँग समन्वय गरी मानवीय सहायता उपलब्ध गराउन निर्देशन दिएका छन्।

विभिन्न अन्तर्राष्ट्रिय मानवीय सहायता संस्थाहरूले पनि उद्धार सामग्री, औषधि, चिकित्सकीय उपकरण, आपतकालीन राहत सामग्री तथा प्राविधिक सहयोग परिचालन गर्न थालेका छन्।

यसै बिच नेपाल–भेनेजुएला मैत्री संघले पनि कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजलाई ऐक्यबद्धताको सन्देश पठाएको छ। उक्त सन्देशमा भूकम्पका कारण दिवंगत परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुका साथै भेनेजुएला सरकार र जनताप्रति ऐक्यबद्धता प्रकट गरिएको, उद्धारकर्मी तथा स्वास्थ्यकर्मीहरूको योगदानको उच्च प्रशंसा गरिएको, विपतको यो घडीमा भेनेजुएलामाथि लगाइएको एकपक्षीय प्रतिबन्ध तत्काल हटाउन तथा संवैधानिक राष्ट्रपति निकोलास मादुरो मोरोसको बिना शर्त रिहाइको माग गरिएको संघका अध्यक्ष नहेन्द्र खड्काले बताएका छन्।

पुनर्निर्माण राष्ट्रिय प्राथमिकता

उद्धार कार्य जारी रहे पनि सरकारले पुनर्निर्माणको दीर्घकालीन योजना पनि अघि बढाउन थालेको छ। आवास, अस्पताल, विद्यालय, सार्वजनिक पूर्वाधार तथा आर्थिक गतिविधि पुनःस्थापना गर्न राष्ट्रिय प्रतिबद्धता र अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने सरकारी अधिकारीहरूले बताएका छन्।

भेनेजुएला सरकारले सबै नागरिकलाई एकताबद्ध भएर विपत्तिको सामना गर्न, राहत तथा पुनर्निर्माण अभियानमा सहयोग गर्न तथा राष्ट्रिय पुनःनिर्माणमा सहभागी हुन आह्वान गरेको छ।