जनै पूर्णिमा, रक्षाबन्धन र क्वाँटीसम्बन्धी नहेन्द्र खड्काको आलेखको फिचर तस्बिर, पृष्ठभूमिमा धानखेत, किसान, क्वाँटी र रक्षासूत्र
 

आज भदौ १२, २०८३। नेपालभर एउटै पूर्णिमाको दिनलाई विभिन्न समुदायले आ–आफ्नै परम्परा, आस्था र सांस्कृतिक स्मृतिसहित जनै पूर्णिमा, ऋषितर्पणी, रक्षाबन्धन, राखी, गुन्ही पुन्ही र क्वाँटी पुन्हीका नाममा  मनाइरहेका छन्।

नेपालको विविधताले भरिएको देश हो । हिमालदेखि तराईसम्म फैलिएको यस देशमा भूगोल मात्र फरक छैन; भाषा, जातीय समुदाय, भोजन, पोशाक, धार्मिक आस्था, उत्पादन प्रणाली र पर्व मनाउने शैलीसमेत फरक छन्। त्यसैले एउटै पूर्णिमाले फरक ठाउँमा फरक अर्थ बोकेको छ।

नाम फरक छन्। विधि फरक छन्। ऐतिहासिक र धार्मिक अर्थ पनि सबैका लागि उस्तै छैनन्। तर यी विविध परम्पराको गहिराइमा पुगेर हेर्ने हो भने एउटा साझा धागो भेटिन्छः परिवार, पुस्ता, समुदाय, भोजन, प्रकृति, भूमि र किसान बिचको सम्बन्ध।

हरेक वर्ष यस दिन नेपालले केवल जनै, धागो वा रक्षासूत्र मात्र नवीकरण गर्दैन; नातेदारी, पारिवारिक आत्मीयता र सामाजिक सम्बन्धका धागाहरू पनि फेरि कसिलो बनाउँछ ।

जनै धारण गर्ने समुदायमा आज पुरानो जनै परिवर्तन गरी नयाँ जनै लगाउने धार्मिक परम्परा छ । पहाडी भेगका कतिपय समुदायमा यस दिन ज्वाइँ ससुराली जाने र ससुराको हातबाट जनै फेर्ने परम्परा रहिआएको छ । यससँगै छोरी माइती पुग्छिन्, ज्वाइँको स्वागत हुन्छ, परिवार भेटिन्छ, ठुलाबडाको आशीर्वाद लिइन्छ र सँगै भोजन गरिन्छ । यसरी एउटा धार्मिक संस्कार परिवार पुनर्मिलनको सामाजिक अवसर पनि बन्छ ।

ऋषितर्पणीका रूपमा पुर्ख्यौली आध्यात्मिक परम्परा र ऋषिहरूको स्मरण गरिन्छ। कतै पुरोहितले हातमा मन्तरेको डोरो वा रक्षासूत्र बाँधिदिन्छन्, यसलाई कतै ताओ, तागो वा धागो पनि भनिन्छ । रक्षासूत्र बाँध्दा सुरक्षा, शुभकामना र आशीर्वादको कामना गरिन्छ।

नहेन्द्र खड्का
लेखक

तराई–मधेसका परिवारमा दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँधेर सुस्वास्थ्य, दीर्घायु, सुख र समृद्धिको कामना गर्छन्। परिवारहरू भेट्छन्, ठुलाबडाबाट आशीर्वाद लिइन्छ । श्रद्धालुहरू गोसाइँकुण्ड, कुम्भेश्वर, पशुपतिनाथलगायत विभिन्न धार्मिक स्थल, नदी, कुण्ड र मन्दिर पुग्छन् ।

काठमाडौँ उपत्यकाको नेवार समुदायमा यही पूर्णिमा गुन्ही पुन्हीका रूपमा आफ्नै समृद्ध परम्परासहित मनाइन्छ। घरघरमा अंकुरित गेडागुडीको क्वाँटी पाक्छ।

पहिलो दृष्टिमा यी सबै अलग–अलग चलन र परम्पराजस्ता देखिन सक्छन्। तर अलि गहिरिएर हेर्दा त्यहाँ अर्को कथा लुकेको छः बिउ र ऋतुको कथा, वर्षा र माटोको कथा, भोजन र परिवारको कथा, किसान र जैविक विविधताको कथा।

त्यसैले नेपालीहरूका लागि जनै पूर्णिमा केवल एउटा धार्मिक पर्व मात्र होइन। यसका अनेक परम्पराभित्र कृषि उत्पादन, किसानको जीवन, सामाजिक सम्बन्ध र खाद्य संस्कृतिको इतिहाससँगै नेपालको कृषिप्रधान समाजको जीवित स्मृति पनि सुरक्षित छ।

एउटा पर्व, अनेक सम्बन्ध

जनै पूर्णिमाको सबैभन्दा सुन्दर पक्षमध्ये एउटा यसको विविधता हो। नेपालका सबै समुदायले यसलाई एउटै तरिकाले मनाउँदैनन्, र मनाउनुपर्छ भन्ने पनि छैन।

कसैका लागि धार्मिक शुद्धीकरण र जनैको नवीकरण प्रमुख छ। कसैका लागि रक्षासूत्र। कसैका लागि दिदीबहिनी–दाजुभाइको राखी। कसैका लागि पारिवारिक भेटघाट। नेवार समुदायका लागि गुन्ही पुन्ही र क्वाँटीको आफ्नै सांस्कृतिक संसार छ।

तथापि यी सबैमा कुनै न कुनै रूपले ‘सम्बन्ध’ केन्द्रमा आउँछः मानिस र मानिस बिचको सम्बन्ध, छोरी र माइती बिचको सम्बन्ध, ज्वाइँ र ससुराली बिचको सम्बन्ध, दिदीबहिनी र दाजुभाइ बिचको सम्बन्ध, गुरु र शिष्य बिचको सम्बन्ध, पुरानो पुस्ता र नयाँ पुस्ता बिचको सम्बन्ध। र, अझ कम देखिने एउटा ठुलो सम्बन्ध छः मानिस र उसलाई जीवन दिने प्रकृति बिचको सम्बन्ध।

हाम्रो राष्ट्रिय जीवनको सुन्दरता पनि यही हो। विविध परम्पराहरू आफ्नो मौलिकता जोगाउँदै एउटै समाजभित्र सहअस्तित्व गर्न सक्छन्। एकता भनेको सबैलाई एउटै बनाउनु होइन। फरक पहिचानको सम्मान गर्दै साझा सम्बन्ध निर्माण गर्नु हो।

क्वाँटीः एउटा कटौराभित्र समेटिएको बिउको संसार

जनै पूर्णिमाको कृषि अर्थ सायद सबैभन्दा स्पष्ट रूपमा एक कटौरा (कचौरा) क्वाँटीमा देखिन्छ।

क्वाँटी सामान्यतः विभिन्न प्रकारका गेडागुडी भिजाएर अंकुरित गरी पकाइएको परिकार हो। प्रायः नौ प्रकारका गेडागुडीको चर्चा गरिन्छ, यद्यपि परिवार, समुदाय, स्थान र उपलब्धताअनुसार यसको मिश्रण र संख्या फरक हुन सक्छ।

यही विविधता नै क्वाँटीको सौन्दर्य हो। एउटा परम्परागत क्वाँटी एकै प्रकारको बिउबाट बन्दैन। एउटा गेडा कालो छ, अर्को हरियो। एउटा सानो छ, अर्को ठुलो। स्वाद फरक छ। पोषण गुण फरक छन्। खेती गर्ने तरिका फरक हुन सक्छ। र, प्रत्येक बिउसँग कुनै न कुनै किसान परिवार, खेत, बारी र स्थानीय इतिहास जोडिएको हुन्छ।

किसान, बिउ र खाद्य प्रणालीको बहसमा लामो समयदेखि संलग्न हुँदै आएकाले मेरा लागि क्वाँटीले एउटा गहिरो शिक्षा दिन्छः विविधता अव्यवस्था होइन; विविधता प्रतिरोधी क्षमता पनि हो।

यो कुरा समाजको हकमा पनि लागु हुन्छ ।  कृषिमा अझ प्रत्यक्ष रूपमा लागु हुन्छ।

केही सीमित बाली वा जातमा अत्यधिक निर्भर कृषि प्रणाली रोग, किरा, जलवायुजन्य विपत्ति, बजार संकट वा पारिस्थितिकीय असन्तुलनबाट छिटो प्रभावित हुन सक्छ।

परम्परागत किसान परिवारले यसलाई वैज्ञानिक शब्दावलीमा व्याख्या नगरे पनि व्यवहारमा राम्ररी बुझेका थिए । त्यसैले उनीहरूको खेतबारीमा एउटै मात्र बाली थिएन। अन्न र मसला थियो। दलहन र तेलहन थियो। तरकारी र फलफुल थियो । घाँस र जडिबुटी थियो। पशु चौपाया र पन्छीहरूको समेत उपस्थिति थियो ।

कुनै बाली परिवारको मुख्य खाना थियो। कुनै प्रोटिनको स्रोत। कुनै पशुको आहार। कुनै माटोका लागि उपयोगी। कुनै प्रतिकूल मौसममा पनि टिक्न सक्ने। कुनै चाडपर्व र संस्कारसँग जोडिएको।

आज हामी यसलाई कृषि जैविक विविधता (Agrobiodiversity) भन्छौँ। तर किसानका लागि यो कुनै आधुनिक सिद्धान्त थिएन। यो जीवन धान्ने प्रणाली थियो।

परम्परागत ज्ञान र आधुनिक विज्ञानको भेट

क्वाँटीको अर्को रोचक पक्ष यसको तयारीमा छ। गेडागुडीलाई भिजाइन्छ। त्यसलाई केही समय अंकुराउन दिइन्छ। त्यसपछि मात्र पकाइन्छ र उपभोग गरिन्छ ।

आज खाद्य विज्ञानले अंकुरणको क्रममा बिउभित्र अनेक जैवरसायनिक प्रक्रिया सक्रिय हुने देखाएको छ। अंकुरणले केही गेडागुडीमा फाइटिक एसिड तथा अन्य पोषणरोधी यौगिकहरू ( antinutritional compounds) घटाउन सक्छ, प्रोटिनको पाचनयोग्यतामा सुधार ल्याउन सक्छ र केही पोषक तत्त्व शरीरले उपयोग गर्न सक्ने अवस्थालाई अनुकूल बनाउन सक्छ।

तर हाम्रो भान्सामा स्थान पाउँदा यो प्रक्रिया कुनै वैज्ञानिक शोधपत्र पढेर सुरु गरिएको थिएन । मानिसहरूले अनुभवबाट सिके। कुन गेडा भिजाउने? कति समय भिजाउने? कसरी अंकुराउने? कुन ऋतुमा खाने? कसरी पकाउँदा स्वादिलो र सुपाच्य हुन्छ?

यस्तो ज्ञान वर्षौँ होइन, पुस्तौँको अनुभवबाट बनेको हो। हाम्रा पूर्वजसँग आधुनिक प्रयोगशाला थिएन होला। तर उनीहरूसँग जीवनको प्रयोगशाला थियो। खेत थियो, भान्सा थियो। अनुभव थियो, अवलोकन थियो। गल्ती थियो, सुधार थियो। र, एउटा पुस्ताबाट अर्को पुस्तामा ज्ञान हस्तान्तरण गर्ने प्रक्रिया थियो।

यसको अर्थ सबै परम्परागत विश्वास वैज्ञानिक रूपमा स्वतः सही हुन्छन् भन्ने पक्कै पनि होइन। तर आधुनिक विज्ञान आएपछि समुदायले पुस्तौँदेखि निर्माण गरेको सम्पूर्ण पुरानो ज्ञान असान्दर्भिक भयो भन्ने पनि होइन।

विज्ञानले परम्परागत ज्ञानलाई परीक्षण गर्न सक्छ। परम्परागत ज्ञानले विज्ञानलाई नयाँ प्रश्न दिन सक्छ । भविष्यको खाद्य प्रणालीलाई वैज्ञानिक कठोरता र पुस्तौँको अनुभवप्रतिको सम्मान दुवै चाहिन्छ।

मनसुनसँग जोडिएको पर्व

जनै पूर्णिमा नेपालको कृषि पात्रोको कुन समयमा आउँछ भन्ने कुरा पनि महत्त्वपूर्ण छ।

यो मनसुनको समय हो। देशका अधिकांश धान उत्पादन क्षेत्रमा किसानले यस बेलासम्म वर्षको अत्यन्त कठिन श्रममध्ये एउटा पार गरिसकेका हुन्छन्। बिउ राख्ने, ब्याड तयार गर्ने, खेत जोत्ने, धानको बेर्ना उखेल्ने कामसहित रोपाइँ भइसकेको हुन्छ। किसान घण्टौँ हिलो र पानीमा उभिइसकेको हुन्छ ।

तर खेती किसानको श्रमले मात्र हुँदैन। उसले आकाश पनि पढ्नुपर्छ। वर्षा समयमै भयो कि भएन? एकैचोटि धेरै पानी त परेन? खेतमा पानी पुग्यो कि पुगेन? बाढी आयो कि? पहिरो खस्यो कि? कुलो चल्यो कि? रोग–कीरा लाग्यो कि? मनसुनले समयको लय समात्यो कि गुमायो?

आधुनिक जीवनले हामीलाई धार्मिक पात्रो, सामाजिक जीवन र कृषि पात्रो अलग–अलग हुन् भन्ने अनुभूति दिन सक्छ। तर हाम्रा पुर्खाको जीवनमा ती यति अलग थिएनन्। आकाश, वर्षा, बाली, परिवार र पर्व एउटै जीवनचक्रका अङ्ग थिए।

त्यसैले मनसुनको बिचमा आउने पूर्णिमा धार्मिक दिन मात्र थिएन। यो कृषि ऋतुको पनि एउटा सामाजिक क्षण थियो।

भ्यागुता र पर्वको सम्बन्ध

गुन्ही पुन्हीसँग जोडिएको एउटा अत्यन्तै रोचक परम्परा होः ब्यान-जा नकेगु, अर्थात् भ्यागुतालाई भोजन वा भात चढाउने चलन।

सहरी जीवनबाट हेर्दा यो एउटा अनौठो कर्मकाण्डजस्तो लाग्न सक्छ। तर यसलाई मनसुनको धान खेतभित्र राखेर हेर्नुस्। यसको गम्भीर अर्थ छ ।

भ्यागुता वर्षासँग आउँछ। पानी परेपछि उसको आवाज सुनिन्छ। ऊ पोखरी, सिमसार, कुलो र धानखेतको जीवित संसारको हिस्सा हो।

धानखेत केवल धान उत्पादन गर्ने कारखाना होइन। वर्षायामको धानखेत एउटा अस्थायी जलपारिस्थितिक प्रणाली पनि हो। त्यहाँ माटो छ। पानी छ। सूक्ष्मजीव छन्। किरा छन्। चराहरू छन्। भ्यागुता छन्। धान छ। र, मानिस अर्थात् किसान छ । ती सबै पूर्ण रूपमा अलग छैनन्।

आधुनिक पारिस्थितिकी विज्ञानले खाद्य संञ्जाल (food web), जैविक विविधता (biodiversity), पारिस्थिकीय प्रणाली र सन्तुलन (ecosystem and ecological balance) जस्ता शब्द प्रयोग गर्छ।

पुराना किसान समुदायले यिनै सम्बन्धलाई अर्कै भाषामा अभिव्यक्त गरेका हुन सक्छन्‌ः कथा, विश्वास, पर्व, निषेध, पूजा वा कृतज्ञताको संस्कारमार्फत।

हरेक पुरानो संस्कारलाई आधुनिक विज्ञानसँग जबर्जस्ती बराबर राख्नु उचित होइन। तर ती परम्पराभित्र रहेको पारिस्थितिकीय स्मृतिलाई उपेक्षा गर्नु पनि उचित हुँदैन।

धानको खेतमा बसेको भ्यागुताले हामीलाई सम्झाउँछः प्रकृतिबिना खेती हुँदैन।

पर्व देखिन्छ, श्रम अदृश्य रहन्छ

क्वाँटी तयार भएर थालमा आएपछि हामी त्यसको स्वाद लिन्छौँ। तर त्यो यहाँसम्म कसरी आइपुग्यो?

कसैले बिउ छान्यो। कसैले रोप्यो। कसैले गोडमेल गर्‍यो। कसैले काट्यो। कसैले सुकायो। कसैले भण्डारण गर्‍यो। कसैले अर्को वर्षका लागि बिउ छुट्यायो। कसैले विभिन्न गेडागुडी जुटायो। कसैले भिजायो। कसैले अंकुर पलाएको हेर्‍यो। कसैले मसला तयार गर्‍यो। कसैले चुलो बाल्यो। कसैले पकायो। कसैले पस्कियो।

पर्वमा अन्तिम परिकार देखिन्छ। तर त्यसको पछाडिको लामो श्रम प्रायः देखिँदैन।

हाम्रो कृषिसंस्कृति र खाद्य ज्ञान जोगाउन महिलाहरूले पुस्तौँदेखि खेलेको भूमिका अझै पर्याप्त रूपमा लेखिएको छैन।

बिउ छनोट, खाद्य संरक्षण, पशुपालन, घरबारी व्यवस्थापन, प्रशोधन, अंकुरण, किन्वीकरण (fermentation), भोजन तयारी । यस्ता थुप्रै काम र ज्ञान महिलाको श्रम र स्मृतिबाट अगाडि बढेका छन्। तर हामी परिकारको प्रशंसा गर्छौँ, पकाउने र उत्पादन गर्ने हातलाई बिर्सन्छौँ।

हामी जैविक विविधताको कुरा गर्छौँ, तर त्यसलाई खेतमा जोगाउने किसानले उचित मूल्य पायो कि पाएन भनेर सोध्दैनौँ।

हामी स्थानीय बिउको प्रशंसा गर्छौँ, तर त्यो बिउ जोगाइरहेको परिवारको युवा किन खेती छोडेर विदेश जान बाध्य भयो भन्ने प्रश्न गर्दैनौँ।

यही हाम्रो समयको एउटा ठुलो विरोधाभास हो।

किसानबिना पर्वको आत्मा बाँच्छ?

नेपाल तीव्र परिवर्तनबाट गुज्रिरहेको छ।

गाउँबाट ठुलो संख्यामा युवाहरू बाहिरिएका छन्। कतिपय ठाउँमा खेतीयोग्य जमिन बाँझो छ। कतै कृषिभूमि खण्डीकरण भइरहेको छ। कतै अव्यवस्थित सहरीकरणले उर्वर जमिन खाइरहेको छ ।

खानाको थालमा आयातित वस्तुको हिस्सा बढिरहेको छ। स्थानीय बाली बदलिँदो बजार र उपभोग संस्कृतिको दबाबमा छन्। जलवायु परिवर्तनले किसानले पुस्तौँदेखि बुझ्दै आएको वर्षाको लयलाई अस्थिर बनाइरहेको छ।

यसको अर्थ संस्कृति र कृषि पुरानै अवस्थामा स्थिर रहनुपर्छ भन्ने होइन।

किसान आफै इतिहासका महान् प्रयोगकर्ता हुन्। उनीहरूले नयाँ बिउ अपनाएका छन्। बाली र बिउबिजन साटेका छन्। औजार बदलेका छन्। प्रविधि अपनाएका छन्। नयाँ स्वाद स्वीकार गरेका छन्।

परिवर्तन सधैँ भएको छ। त्यसैले वास्तविक प्रश्न ‘परिवर्तन हुने कि नहुने’ होइन।

प्रश्न होः परिवर्तनको दिशा कसले तय गर्छ? लाभ कसले पाउँछ? मूल्य कसले चुकाउँछ? के हराउँछ? र, समुदायले आफ्नो खाद्य प्रणालीबारे निर्णय गर्ने शक्ति र अधिकार राख्छ कि राख्दैन?

हामी भविष्यमा पनि बजारबाट नौ प्रकारका गेडागुडी किनेर वर्षमा एकपटक क्वाँटी पकाउन सक्छौँ । तर यदि ती गेडागुडी उत्पादन गर्ने किसान हराउँदै गए भने? स्थानीय जात हराए भने? बिउ जोगाउने ज्ञान हरायो भने? खेत बाँझो भयो भने? पानीका स्रोत सुक्दै गए भने? त्यस अवस्थामा हामीले पर्वको रूप पक्ष बचाएका हुनेछौँ, तर त्यसको भौतिक आधार गुमाइसकेका हुनेछौँ।

संस्कृति मन्दिर वा दरबारको बन्द कोठामा जन्मँदैन। नेपालको ठुलो सांस्कृतिक सम्पदा जन्मिएको ठाउँ होः खेत, बारी, वन, चरन, कुलो, गोठ र भान्सा। सामान्य किसानको घर पनि सभ्यताको अभिलेख हो।

रक्षाबन्धनको ‘रक्षा’लाई फराकिलो बनाऔँ

‘रक्षाबन्धन’ शब्द आफैँले ‘संरक्षण’को अर्थ बोकेको छ।

दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्दा स्नेह, शुभकामना, उत्तरदायित्व र सुरक्षाको भाव प्रकट हुन्छ । पुरोहितले बाँधिदिने गाओ, तागो, धागो वा रक्षासूत्र पनि आशीर्वाद र सुरक्षाको प्रतीक हो।

आजको समयमा ‘रक्षा’को अर्थलाई अझ व्यापक बनाउन सकिन्छ।

परिवारको रक्षा गरौँ, तर त्यो परिवारलाई खाना दिने किसानको पनि रक्षा गरौँ। परम्पराको रक्षा गरौँ, तर परम्परा सम्भव बनाउने बिउको पनि रक्षा गरौँ।

पवित्र नदीको सम्मान गरौँ, तर नदी, मुहान, जलाधार र सिँचाइ प्रणालीलाई प्रदूषण र विनाशबाट जोगाऔँ। जैविक विविधताको प्रशंसा गरौँ, तर त्यसलाई खेतमा जीवित राख्ने किसान र समुदायको जीवन सुरक्षित गरौँ।

खाद्य संस्कृतिमा गर्व गरौँ, तर प्रत्येक नागरिकको पर्याप्त, पौष्टिक र सांस्कृतिक रूपमा स्वीकार्य खाना पाउने अधिकार सुनिश्चित गरौँ। कृषिको महत्त्वबारे भाषण गरौँ, तर किसानले आफ्नो श्रमको सम्मानजनक प्रतिफल पाउने व्यवस्था पनि बनाऔँ।

हातमा बाँधिएको धागो एउटा वाचा हो, प्रतिबद्धता हो । आज हाम्रो पुस्तालाई त्यसभन्दा ठुलो वाचा चाहिएको छः विकासका नाममा मानिसको जीवन धान्ने माटो, पानी, बिउ, जैविक विविधता, किसान र संस्कृतिको विनाश स्वीकार नगर्ने वाचा र, किसानको पक्षमा उभिने प्रतिबद्धता ।

पर्वभित्रको खाद्य सम्प्रभुताको प्रश्न

क्वाँटीको एउटा कटौराले हामीलाई खाद्य सम्प्रभुतासम्म पनि पुर्‍याउँछ।

हामी के खान्छौँ? त्यो कसले उत्पादन गर्छ? कुन बिउबाट उत्पादन हुन्छ? किसानको बिउमाथि कति अधिकार छ? किसानले के उत्पादन गर्ने भन्ने निर्णय कति स्वतन्त्रतापूर्वक गर्छ? उसले आफ्नो उत्पादनको उचित मूल्य पाउँछ कि पाउँदैन? स्थानीय बजार र स्थानीय खाद्य संस्कृतिले बाँच्ने अवसर पाउँछन् कि पाउँदैनन्?

यी प्रश्न केवल कृषि अर्थशास्त्रका प्रश्न होइनन्। यी खाद्य सम्प्रभुताका प्रश्न हुन्।

क्वाँटी केवल स्वाद होइन। यो बिउको कथा हो। स्थानीय उत्पादनको कथा हो। महिलाको ज्ञानको कथा हो। किसानको श्रमको कथा हो। बजारको कथा हो। र, हामीले आफ्नो खाद्य प्रणालीमाथि कति नियन्त्रण राख्छौँ भन्ने प्रश्नको कथा हो।

अंकुरित बिउले दिने शिक्षा

एउटा सुख्खा बिउलाई हातमा राख्दा त्यो स्थिर देखिन्छ। तर त्यसलाई पानी दिनुस्। उपयुक्त तापक्रम दिनुस्। समय दिनुस्। त्यो फुट्छ। सानो जरा निस्कन्छ। अंकुर बाहिर आउँछ। जीवन अगाडि बढ्छ ।

क्वाँटीको अंकुरित बिउभित्र आजको पर्वको अर्को सुन्दर सन्देश लुकेको छः सम्भावना सधैँ हुन्छ, तर त्यसलाई वास्तविकतामा बदल्न उपयुक्त परिस्थिति चाहिन्छ।

बिउलाई पानी, माटो र तापक्रम चाहिन्छ। किसानलाई जमिन, पानी, बिउ, ज्ञान, प्रविधि, बजार र उचित मूल्य चाहिन्छ। बालबालिकालाई शिक्षा र पोषण चाहिन्छ। मानिसलाई सम्मान र अवसर चाहिन्छ। संस्कृतिलाई जीवित रहन त्यो संस्कृति निर्माण गर्ने समुदायको जीवन्त उपस्थिति चाहिन्छ।

क्वाँटीजस्तै नेपाल

क्वाँटीका सबै गेडागुडी एउटै छैनन् । त्यसैले क्वाँटी स्वादिलो हुन्छ।

नेपाल पनि एउटै रङको छैन। त्यसैले नेपाल पनि नेपाल हो। यहाँ हिमाल छ। पहाड छ। तराई–मधेश छ। अनेक भाषा छन्। अनेक जातीय समुदाय छन्। अनेक धर्म र आस्था छन्। अनेक खानाका परम्परा छन्। अनेक सांस्कृतिक स्मृति छन्। यो विविधतालाई समस्याका रूपमा होइन, साझा सम्पदाका रूपमा हेर्न सक्नुपर्छ।

फरक हुनु विभाजित हुनु होइन। समान सम्मानका साथ सँगै रहन नसक्नु विभाजन हो।

जनै लगाउनेले जनै फेर्न पाओस्। राखी बाँध्नेले राखी बाँधोस्। गुन्ही पुन्ही मनाउनेले आफ्नो सांस्कृतिक परम्परा जोगाओस्। क्वाँटी पकाउनेले बिउ र भोजनको इतिहास सम्झियोस्। तीर्थ जानेले आफ्नो आस्था व्यक्त गरोस्। र, यीमध्ये कुनै धार्मिक अभ्यास नगर्नेले पनि यसभित्र रहेको नेपालको सामाजिक, कृषि र पारिस्थितिकीय इतिहास बुझ्न सकोस्।

यही बहुलता नेपालको शक्ति हो।

धागो नटुटोस्

आज हामी जनै फेर्छौँ। तागो वा रक्षासूत्र बाँध्छौँ। राखी बाँध्छौँ। ज्वाइँहरू ससुराली पुग्छन्। छोरीहरू माइती भेट्छन्। परिवार एक ठाउँमा बस्छ। क्वाँटी पाक्छ। आशीर्वाद साटिन्छ।

तर यी देखिने धागोसँगै केही नदेखिने धागो पनि सम्झनुपर्छः बिउलाई माटोसँग जोड्ने धागो। माटोलाई पानीसँग जोड्ने धागो। पानीलाई खेतीसँग जोड्ने धागो। खेतीलाई किसानसँग जोड्ने धागो। किसानलाई भोजनसँग जोड्ने धागो। भोजनलाई संस्कृतिसँग जोड्ने धागो। संस्कृतिलाई समुदायसँग जोड्ने धागो। र एउटा पुस्तालाई अर्को पुस्तासँग जोड्ने धागो।

यदि हामीले यी सम्बन्ध बचायौँ भने जनै पूर्णिमा, रक्षाबन्धन, गुन्ही पुन्ही र क्वाँटी पुन्ही केवल वर्षमा एक दिन दोहोरिने कर्मकाण्ड बन्ने छैनन्। तिनीहरू जीवित संस्कृति बनेर रहिरहने छन्।

तर यदि किसान हरायो, बिउ हरायो, माटो कमजोर भयो, पानी सुक्यो, जैविक विविधता घट्यो र गाउँले आफ्नो उत्पादन क्षमता गुमायो भने पर्वको बाहिरी रूप बाँकी रहे पनि त्यसको आत्मा क्रमशः कमजोर हुन सक्छ।

त्यसैले आजको पर्व शुभकामना उत्सवमा मात्र सीमित नहोस्। यो एउटा सामाजिक संकल्प पनि बनोस्ः किसानलाई सम्मान गरौँ। बिउ जोगाऔँ। माटो र पानी जोगाऔँ। जैविक विविधता जोगाऔँ। महिलाको श्रम र ज्ञानलाई सम्मान गरौँ। स्थानीय खाद्य संस्कृतिलाई जीवित राखौँ। र, नेपालको विविधतालाई समानता र सहअस्तित्वको शक्तिमा बदलौँ।

जनै पूर्णिमामा हामीले बाँध्ने धागो कुनै दिन खोलिन्छ। तर बिउ, माटो, किसान, भोजन, परिवार, प्रकृति र संस्कृतिलाई जोड्ने धागो कहिल्यै नटुटोस्।

जनै पूर्णिमा, ऋषितर्पणी, रक्षाबन्धन, राखी, गुन्ही पुन्ही तथा क्वाँटी पुन्हीको हार्दिक शुभकामना।

शुभ जनै पूर्णिमा तथा रक्षाबन्धन।

(लेखक राष्ट्रिय किसान सञ्जाल नेपाल (निया) का संयोजक, जैविक प्रविधिज्ञ तथा किसान नेता हुनुहुन्छ ।)