कुनै सुन्दरी प्रतियोगितामा
तरुनी चेलीको
जोखिमपूर्ण शरीरको प्रदर्शनमा
निम्ता आएको भए
तिमी दौडेर पुग्थ्यौ होला !
या कुनै बहुराष्ट्रिय कम्पनीले
सन्नी लियोनको आगमन साँझ
घोषणा गरेको भए
टिकट काटेर छिर्थ्यौ होला !
या त्यस्तै कार्यक्रममा
अमिताभ बच्चन
या सलमान खान आउने भएको भए
तीन दिनदेखि नसुती
टिकट बोकेर बस्थ्यौ होला !
मैले गरेको निमन्त्रणा बेग्लै हो
आठ मार्च
श्रमिक महिला दिवस
प्रवचन गोष्ठी
यहाँ महिला मुक्तिको कुरा हुन्छ
तिम्रै जिन्दगीको कुरा हुन्छ
यहाँ आउन त गाह्रै होला नि सुन्दरी ?
दिमागभरि दासताको भारी बोकेर
लाली घसेर, पाउडर घसेर
परेला मिलाउँदै
कपाल खेलाउँदै
खुल्ला उम्मेदवार बनेर यौनको
बजारतिर हिड्दै गरेकी
ए बजार सुन्दरी !
एकछिन रोकिऊ
एता सुन
के तिमीलाई मुक्ति मन पर्छ ?
हत्तेरिका लाटी !
मुक्ति कुनै केटाको नाम हैन क्या
किन नाम थर र वतन सोधेकी मुक्तिको ?
तिमीलाई समानता मन पर्छ ?
यो पनि कुनै संभावित वरको नाम होइन ।
बजारबाट फर्क्यौ भने दुरुस्तै
या घाइते भए पनि जीवितै
तिमीसँग बात मार्नु छ
के तिमीसँग गम्भीर हुन समय छ ?
याे पनि पढ्नुहाेस्ः कमरेडलार्इ अन्तिम चिठ्ठी !
याे पनि पढ्नुहाेस्ः मध्य मैदानी प्रदेश – क. जोसे मारिया सिसोँ
२०७४|११|२३
ढल्को, काठमाडाैँ ।