Balram Timalsina 'Biplab'
 

धेरै पहिलाको कुरा हो, जतिबेला
कमरेडले सिकाउनु भएको थियो –
“शासकहरू आगोसँग डराउँछन् ”
हिजो आज मेरो कमरेड
डराउँन थाल्नु भएको छ आगोसँग
म असमन्जसमा छु,
आगो प्रतिकृयावादी भयो अचेल
या कमरेड शासकमा बदलिनु भयो ?

त्यति बेलैको कुरा हो , जतिबेला
यिनै कमरेडले सिकाउनु भएको थियो-
“शासकहरू आन्दोलनसँग डराउँछन् ”
ढुङ्गामा लेखिएजस्तै छन् यादहरू
सडकमा सानो जुलुस निस्के पनि
मेरो कमरेड सिरक ओढ्नु हुन्छ अहिले
म फेरि अलमलमा परेको छु
आन्दोलन पश्चगामी भयो अचेल
या मेरो कमरेड सत्ताको नोकर बन्नु भयो ?

मैले ढाँटेको हैन साथी
यिनै कमरेड हुन् हिजो
मलाई भन्थे –
“यी हेर ! यी हम्म दारी जुँगा भएका बुढाहरू
एउटा मार्क्स हुन्, अर्का एङ्गेल्स हुन्
यी बोकेदारी भएको मानिस लेनिन हुन्
घोप्टे जुँगा भएको
आर्मीजस्तै अनुहारको मानिस स्टालिन हुन्
अनि यी तालु खुइलिएका मानिस चाहिँ
हाम्रै हिमालपारिका माओ हुन्
यिनीहरू हाम्रा मुक्तिदाता हुन् ।”

म पागल प्रेमीले झैं
लोभिँदै हेर्थें र चुम्ने गर्थें ती तस्विरहरू
ती कमरेड पनि त्यसै गर्थे ।

समयको क्रुर सुरुङ्गबाट निस्केपछि अचेल
पुराना तस्वीरहरू कुनामा लुकाएर
मेरो कमरेडले कोठामा
टाँग्नु भएको छ सन्नि लियोनको तस्वीर
मादक आँखाले हेर्दै छिल्लिँदै
मेरो कमरेड चुमिरहेका देख्छु दैनिक
त्यही सन्नि लियोनको तस्वीर ।

म लगभग पागल बनेर सोच्दै छु –
सन्नि लियोन क्रान्तिकारी बनिन्
या मेरो कमरेड सेक्सी बन्नु भयो ?

दक्षिणी हावाले घर उडाएको यो मौसममा
मेरो कमरेड आँगनमा निस्केर
छमछमी नाचिरहेछन्
मानौं वर्षौंको कमरेडको सपना पूरा भएको छ ।

मेरो सपनाको चिहानमाथि
मेरै कमरेड नाँच्न थालेपछि
मेरो मन पटक्कै थिरमा छैन
म गौर गरेर सोच्दै छु
को बहुलायो यथार्थमा –
मेरो कमरेड कि म ?

२०७४|१२|०७
फूलचोकी

याे पनि पढ्नुहाेस्ः ए बजार सुन्दरी !

याे पनि पढ्नुहाेस्ः कमरेडलार्इ अन्तिम चिठ्ठी !