Sushanta Poudel सुशान्त पाैडेल
 

चिल्लो शरीर र बैंशालु यौवन त्यागेर
भिल्ल भेषमा तिम्रा पछाडि
लुखुर लुखुर
‘नयाँ समाज बनाउन’
हिँडेको म आज
थिचिँदैछु तिनै चिल्ला आश्वासनकाे बोझले,
परिवारका चिल्ला आवश्यकता अनि
समाजको चिल्लो रुपले ।
भासिँदैछु म आज
तिनै चिल्ला सपनाको दलदलमा,
मेटाइँदैछु म आज
तिनै चिल्ला राता नोटबुकका पानाबाट ।
तर,
मलाई तिनै चिल्ला महत्त्वाङ्काक्षा जगाउने
चिल्लाे भनिएको भविष्य देखाउने
तिमी आज
लागेछौ आफै चिल्लो हुन,
शरीर, प्रतिष्ठा अनि रुपको चिल्लो
यौन, बजार अनि प्रयोगको चिल्लो,
पसेछौ चिल्ला महलमा ।
अनि,
हुइँकिदै गर्दा तिमी चिल्ला गाडीमा
म आफ्नो शरीरमाथि
बुख्याँचालाई जस्तै पहिराइएका
कपडाका टुक्राभित्र लुकेका
गोलीका खाटा अनि
बमका छर्रा महशुस  गर्दै
सोचिरहेछु,
कामरेड तिमीलाई अब के गर्ने !
अनेकौं रङ्गिन सपना सजाएर
मेरा निम्ति
आएकी जहानलाई
श्याम श्वेत वास्तविकता सम्झाएर
बा’ले देखेको सपनालार्इ
रीसको झोँकमा लत्त्याएर
घर छाडेको म
आज
भोग्दैछु रङ्गिन सपना देख्नुको परिणाम
सिक्दैछु रङ्गिन हुन
र, पोलिँदैछु तिनै रङ्गिन
लप्काबाट
तर मलाई रङ्गिन सपनाको भारी बोकाएर
हिँडेको तिमी
आज
लागेछौ आफ्नै रङ्गिनतातर्फ
सम्पत्ति, परिवार अनि पदको रङ्गिनता
भ्रष्टाचार, दुराचार, अनि नीजिको रङ्गिनता
तर आज म
यिनै रङ्गिन सपना देखेको मस्तिष्कमा
आफ्नो श्याम श्वेत
अस्तित्त्व सम्झँदै सोचिरहेछु
अाज म,
कामरेड तिमीलाई अब के गर्ने !
मलाई विचारको तन्ना ओडाएर
आफ्ना फाटेका सपना
टाल्ने मोहमा
तिमीले आफैतर्फ हुत्ताएको
सम्झँदा पनि
खस्छु म छाँगाबाट पटक पटक
र,
यिनै अन्तर कुन्तरमा रहेका विचारका बाछिटाले
पोल्छ मलाई
विचारको भूतले पिरोल्छ मलाई
तर,
मलाई विचारको थाङ्नोमा सुताउने तिमी
आज आफै विचारबाट विचलित भएको देख्दा
मलाई सँस्कृतिको पाठ पढाउने तिमी
आज आफै स्खलित भएको देख्दा
यिनै बाङ्गा छिटालाई नै साक्षी राखेर
सोध्छु म,
कामरेड तिमीलाई अब के गर्ने !

याे पनि पढ्नुहाेस्ः  नायक र खेल – क. निमानन्द रिजाल 

याे पनि पढ्नुहाेस्ः  अयोग्यताकाे प्रमाणपत्र – क. रीता पाैडेल

याे पनि पढ्नुहाेस्ः  कमरेडलार्इ अन्तिम चिठ्ठी ! – क. बलराम तिमल्सिना ‘विप्लव’

२०७४/१२/२४
भरतपुर, चितवन ।