नेपाली कम्युनिष्ट पार्टीको निर्वाचन परणाम र इतिहासको जिम्मेवारी - नहेन्द्र खड्का
 

नेपालको समसामयिक राजनीतिक परिस्थितिमा निर्वाचन परिणामलाई लिएर विभिन्न प्रकारका प्रतिक्रिया आएका छन्, जुन स्वाभाविक छ । साँचो कम्युनिस्टका लागि एउटा निर्वाचनको परिणाम कुनै अन्तिम निर्णय होइन; यो जनताको मनोविज्ञान, राजनीतिक चेतना र वर्गीय सन्तुलनको एउटा क्षणिक अभिव्यक्ति हो। हामी कम्युनिस्टहरू जनतालाई इतिहासका वास्तविक निर्माता मान्छौँ। आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमा निर्वाचन परिणाम जे आए पनि त्यसलाई जनताको अभिमतका रूपमा स्वीकार गर्नु नै सच्चा कम्युनिस्टहरूको कर्तव्य हो। विभिन्न कुतर्क वा बहानाद्वारा निर्वाचन परिणामलाई अस्वीकार गर्ने वा जनतालाई दोषारोपण गर्ने प्रवृत्ति मार्क्सवादी होइन। तसर्थ जनताको निर्णयलाई सम्मान गर्दै त्यसबाट शिक्षा लिनु, आफ्ना कमजोरीहरूलाई सच्चाउँदै वर्ग पक्षधरता र वर्गसंघर्षमा आधारित सर्वहारा वर्गीय पार्टी निर्माण तथा सुदृढीकरण गर्नु क्रान्तिकारी राजनीतिको आधार हो।

निर्वाचन परिणामपछि देखिने प्रवृत्तिहरू

निर्वाचन परिणामपछि राजनीतिक वृत्तमा विभिन्न प्रकारका टिप्पणी र विश्लेषणहरू आउनु स्वाभाविक हो । पार्टीभित्र र बाहिरबाट गम्भीर प्रतिक्रियाहरू आउनेछन् । कतिपय विश्लेषणहरू वास्तविक सामाजिक, राजनीतिक, आर्थिक र वर्ग धरातलमा आधारित हुँदै राष्ट्र, पार्टी र क्रान्तिको चिन्तासहित आउने छन् । तिनलाई स्वागत र सम्मान गर्नु पर्छ । कैयौँ पूर्वाग्रहयुक्त सतही विश्लेषणमा सीमित हुनेछन् ।

हामी माओवादीहरू इमान्दार भएकाले कहिलेकाहीँ भावुक हुन्छौँ र राजनीतिक घटनाक्रमले हामीलाई तरङ्गित बनाउँछ। लामो संघर्ष, त्याग, तपस्या र बलिदानबाट निर्माण भएको पार्टीले सोचे जस्तो सफलता हासिल गर्न नसक्दा आम रूपमा इमान्दार नेता-कार्यकर्ताहरूमा चिन्ता, आवेग र आक्रोश उत्पन्न हुनुलाई स्वभाविक मान्न सकिन्छ ।  यस्तो समयमा पार्टीभित्रैका केही व्यक्तिहरू “सर्वज्ञानी”, “दुधले नुहाएका” वा “अति क्रान्तिकारी” बनेर प्रस्तुत हुनेछन् । उम्मेदवारी नपाएको, संगठनभित्र अपेक्षित स्थान नपाएको वा व्यक्तिगत असन्तुष्टि बोकेका व्यक्तिहरूले पनि यस्तो परिस्थितिलाई भडास पोख्ने र परिस्थितिलाई उत्तेजित बनाउने अवसरको रूपमा प्रयोग गर्ने सम्भावना पनि रहन्छ ।

वास्तविकतामा आधारित नभई सामाजिक सञ्जालको प्रतिक्रियाका आधारमा पार्टी नेतृत्वलाई शिक्षा दिने “ब्रह्मज्ञानी”हरूको भीड लाग्नेछ । यस्तै भीड र घेराबन्दीले पार्टी नेतृत्वलाई वास्तविक वर्गीय धरातलमा उभिएका किसान, मजदुर, सुकुम्बासी, दलितसहितका आधारभूत वर्ग, सहिद परिवार, घाइते, बेपत्ता योद्धा परिवारबाट टाढा पुर्‍याउने खतरा रहनेछ । पार्टीमा रहेर एक दिन पनि पार्टी नीति र नेतृत्वको पक्षमा चुँइक्क नबोल्ने र लेबी तिरेर पार्टी सदस्यता नवीकरण नगर्नेहरू संगठन बिग्रनुका कारणहरूको ब्याख्याता र विश्लेषक बन्न थाल्नेछन् ।

नेपाली कम्युनिष्ट पार्टी र आन्दोलनका विरोधीहरूका लागि यो निर्वाचन परिणाम सुवर्ण अवसर बनेर आएको छ । उनीहरू हामीलाई कमजोर भएको देखेर खुच्चिङ गर्ने, खिसिट्यौरी गर्ने र अपमानित गर्ने प्रयास गर्नेछन्।

वामविश्लेषकको रूपमा चर्चित तर सीमित आर्थिक वा व्यक्तिगत स्वार्थको आधारमा राजनीतिक मूल्याङ्कन गर्ने “खामविश्लेषक”हरू सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा यत्रतत्र छाउनेछन् । तिनले हाम्रो पार्टी र नेतृत्वका विरुद्ध गर्ने विषवमन हेरिसाध्य हुने छैन ।

माओवादी पार्टी विभाजनबाट बाहिर रहेकाहरू र एकता प्रक्रियामा समावेश नभएकाहरू मध्ये देशभक्त र क्रान्तिकारीहरूले चिन्ता व्यक्त गर्नेछन् र एकतातर्फ हात बढाउनेछन् भने अवसरवादी, देशी-विदेशी प्रतिक्रियावादीहरूबाट परिचालितहरू भने नेपाली कम्युनिष्ट पार्टी कमजोर भएकोमा साह्रै खुसी हुने छन् ।

विगतमा माओवादी वा वामपन्थी आन्दोलनमा इमानदारीपूर्वक योगदान गरेका तर पछि विभिन्न कारणले विचलित भई पार्टी छोडेकाहरूको एउटा पंक्ति आफू संसारको सबैभन्दा ठुलो क्रान्तिकारी भएको दाबी गर्न, आफू बाहेकका सबै खराब भएको ब्याख्या गर्न र आन्दोलनमा निशर्त खटिइरहेका सबै इमानदार नेता-कार्यकर्तालाई दास वा मुर्ख साबित गर्न कम्युनिष्ट विरोधी सञ्चार माध्यमहरूमा मच्चिइमच्चिई अन्तरवार्ता दिन थाल्नेछन् । कतिपय “भौतिकवादी ज्योतिषहरू” पनि देखा पर्नेछन्, जसले सबै गल्ती पार्टी नेतृत्व र सीमित व्यक्तिहरूमाथि थोपर्दै महाधिवेशन गरेर नेतृत्व परिवर्तन गरेपछि सबै समस्या समाधान हुने सरल र सतही निष्कर्ष निकाल्ने प्रयास गर्नेछन्।

केही दिनका लागि नेपाली कम्युनिष्ट पार्टीका नेता-कार्यकर्ताका लागि अपमान र अवहेलनाको बोकिनसक्नुको भारी प्राप्त हुनेछ । पाइला पाइलामा दम्भ, घमण्ड र अहंकारको सामना गर्नुपर्ने अवस्था आउने छ । धेरैका धेरै कुरा सुन्नुपर्ने छ तर जवाफ फर्काउँदा फर्काउँदा हैरान हुनेछ ।

विगतमा शक्तिको दम्भ देखाउँदै आफूबाहेक सबैलाई नामेट पारेर नेपालमा दुई दलीय व्यवस्था ल्याउन खोज्नेहरू, महान् जनयुद्ध र सहिदहरूलाई अपमान गर्नेहरू र एउटै पार्टीको दुईतिहाइको सरकारसमेत भत्काउनेहरू, कम्युनिष्ट पार्टीको नाममा काण्डै काण्ड घटाउनेहरू पनि अब आफू त्यही प्रवृत्तिको शिकार हुनेछन् । उनीहरूले जे रोपेका थिए, त्यही फल प्राप्त गर्नेछन् । दम्भ, घमण्ड र अहंकार देखाउने पात्रहरू फेरिने छन्, तर प्रवृत्ति उही रहने छ ।

एउटा राष्ट्र र कम्युनिष्ट पार्टीको राजनीतिक जीवनमा यस्तो स्थिति नयाँ होइन । इतिहासमा जब-जब क्रान्तिकारी शक्तिहरू कमजोर भएका छन्, तब-तब अवसरवादी, संशोधनवादी र व्यक्तिगत महत्वाकांक्षाले प्रेरित तत्त्वहरू सक्रिय भएका उदाहरणहरू प्रशस्त छन्।

यस्ता सबै परिस्थितिहरूलाई भावनात्मक प्रतिक्रियाबाट होइन, दृढ राजनीतिक चेतना, वर्ग पक्षधरता र धैर्यका साथ सामना गर्नु आवश्यक छ। जनताको अगाडि शिर निहुराएर र विरोधीहरूको अगाडि शिर ठाडो पारेर हामीले यो अवस्थालाई स्वीकार गर्दै शान्त, विवेकपूर्ण र वैज्ञानिक विश्लेषणसहित अगाडि बढ्नुपर्छ।

यस प्रक्रियाको एउटा सकारात्मक पक्ष पनि छ। यस्तो कठिन समयमा हाम्रा वास्तविक मित्रहरू र अवसरवादीहरू पहिचान गर्ने अवसर प्राप्त हुन्छ। कसले आन्दोलनप्रति इमानदार चिन्ता व्यक्त गरिरहेका छन् र कसले व्यक्तिगत स्वार्थका लागि आलोचना गरिरहेका छन् भन्ने कुरा स्पष्ट हुन्छ। र, हामीलाई आफू सच्चिनका लागि सुलौलो अवसर प्राप्त हुनेछ ।

द्वन्द्वात्मक भौतिकवादी विश्लेषणको आवश्यकता

यतिबेला हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर विश्लेषण गर्नु आवश्यक छ । इतिहासका अनुभव र वर्तमानको यथार्थलाई आधार बनाएर कुनै पनि घटना वा परिस्थितिमा आन्तरिक र बाह्य परिस्थितिको भूमिका रहने तर आन्तरिक कुरा प्रधान हुने तथ्यलाई मनन् गर्दै द्वन्द्वात्मक भौतिकवादी तरिकाले विश्लेषण गरौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई सबै दोष दिने र आफू चोखिने वा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको कुनै भूमिका नभई सबै कुरा पार्टी, नेतृत्व वा जनताले गल्ती गरेको भन्ने सतही विश्लेषण गर्ने दुबै तरिका मार्क्सवादसम्मत छैनन् ।

पार्टी र जनवर्गीय संगठनमा जिम्मेवारी सम्हालेका हामी सबैले आफ्ना-आफ्ना भूमिकाबारे गम्भीर आत्मसमीक्षा गरौँ । भूगोलका मात्र नभई किसान, मजदुर, युवा, विद्यार्थी, महिला, सुकुम्वासी, दलित, शिक्षक, कर्मचारी, पत्रकार, कलाकार, अधिवक्ता, बुद्धिजीवीसहित सबै जनवर्गीय सङ्गठनहरूले पनि आफ्ना मातहतका संगठन कति बनायौँ, कति प्रशिक्षण कार्यक्रमहरू चलायौँ ? विरोधीले फैलाएका भ्रमहरूलाई कति चिर्‍यौँ? संस्थागत समीक्षा गरौँ ।

प्रचारप्रसार, प्रकाशन, प्रवास र अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा जिम्मेवारी लिएकाहरूले आफ्नो कार्यको समीक्षा गरौँ । पार्टीका अन्य विभागीय भूमिका र जिम्मेवारीमा रहेकाहरूले पनि त्यसरी नै समीक्षा गरौँ।

त्यसैगरी संविधानसभादेखि संघीय तथा प्रदेश संसद, सरकार, स्थानीय तह, आयोग, कुटनीतिक नियोग, प्रतिष्ठान, संस्थान आदि विभिन्न निकायमा निर्वाचित, राजनीतिक जिम्मेवारी वा नियुक्ति प्राप्त गरेका सबैले आ-आफ्ना भूमिका, योगदान र सीमा-कमजोरीहरूको गम्भीर समीक्षा गरौँ । विगतमा त्यस्ता निकायहरूमा स्थान प्राप्त गरेकाहरूमध्ये कति मानिसहरू अहिले पनि हाम्रो पार्टीमा छन् र कति छैनन् ? नभएकाहरू कहाँ छन्? त्यसको समीक्षा गरौँ, कारण खोजौँ र गल्ति नदोहोराऊँ ।

पार्टीभित्र र जनतासमक्ष स्वस्थ आलोचना र आत्मालोचनाको विधिलाई बलियो बनाउनु अहिलेको महत्त्वपूर्ण कार्य हो । नेकपाका सबै तहका नेता-कार्यकर्ताहरूले यस अवस्थामा अरूको आलोचना गर्नुभन्दा आफ्ना कमीकमजोरीको समीक्षा र आत्मालोचनामा जोड दिनु आवश्यक छ। यही प्रक्रियाले संगठनलाई बलियो बनाउँछ।

अवसरवादको चुनौती

जब पार्टी र आन्दोलन कमजोर देखिन्छ, अवसरवादी शक्तिहरू सक्रिय हुन्छन्। उनीहरू गालीगलौज, भ्रम र नकारात्मक प्रचारमा उत्रन्छन्। तिनलाई चिन्ने सही अवसर पनि यही हो।

राजनीतिक परिस्थितिको परिवर्तनसँगै पार्टीभित्र भागदौडको स्थिति देखिन सक्छ। विभिन्न पार्टीहरू मिलेर बनेको ठुलो राजनीतिक संरचना स्थायी रूपमा टिकिरहने र सत्ता निकट रहने आशामा आएका केही अवसरवादीहरू कठिन परिस्थितिमा पार्टी छोडेर जान सक्छन्।

यस्तो अवस्थालाई पनि स्वाभाविक प्रक्रियाका रूपमा स्वीकार गर्नुपर्छ। बरु यसले संगठनलाई स्पष्ट,  इमानदार र वर्गपक्षधरतामा आधारित बनाउन सयोग पुग्छ ।

विभिन्न पार्टीबाट ध्रुवीकृत भएर पार्टी एकतामा जोडिएका इमानदार कार्यकर्ताहरूलाई प्रशिक्षण दिने, उनीहरूलाई सच्चा कम्युनिस्ट कार्यकर्ताका रूपमा विकास गर्ने, पुराना त्याग, तपस्या गरेका साथीहरूलाई पुनः जोड्ने र सम्मानजनक पार्टी जिम्मेवारी दिने, सबै माओवादी शक्तिहरूलाई एकीकृत गर्ने प्रयासलाई तीव्र बनाउनुपर्छ।

पार्टी एकतालाई अनावश्यकरूपमा अति मूल्याङ्कन वा न्यून मूल्याङ्कन गर्ने दुवै प्रवृत्ति गलत छन् । पार्टी एकताको क्रममा भएका अस्वभाविक संगठनात्मक जिम्मेवारी र असमान वृत्ति-विकासलाई समेत वैज्ञानिक रूपमा समायोजन गर्नुपर्छ । कतै एकताका नाममा भुईँबाट टपक्क टिपेर शिरमा पुर्‍याउने र कतै जीवनभर दुःख, त्याग, तपस्या र बलिदान गरेर हिँडेका योद्धाहरू छिँडिको बास हुनुपर्ने अवस्थालाई सच्चाउनु पर्छ । एकातिर आफ्ना कार्यकर्ता अपमानित हुने गरी एकता स्वीकार्य  हुन सक्दैन वा भए पनि त्यो टिक्दैन भने अपमानित हुनका लागि कोही पनि पार्टी एकता वा प्रवेश  गर्दैन । यी दुवै कुरालाई हेक्का राख्नुपर्छ ।

विचारको आधारमा कम्युनिस्ट एकता

आगामी दिनहरूमा कम्युनिस्ट र क्रान्तिकारी शक्तिहरू बिचको एकता र ध्रुवीकरणलाई थप तीव्रता दिनुपर्छ तर त्यो वर्ग पक्षधरता, सिद्धान्त र विचारमा आधारित हुनुपर्छ ।

इतिहासले देखाएको छ, यदि विचार सही छ भने संगठन, शक्ति र जनसमर्थन सबै प्राप्त गर्न सकिन्छ। त्यसैले विचारको प्रश्नमा कुनै सम्झौता गरिनु हुँदैन ।

हाम्रो विचार अस्वीकार गर्नेहरूलाई मनाउन वा अस्थायी एकताका नाममा सिद्धान्त कमजोर बनाउनु अन्ततः आन्दोलनकै लागि घातक हुन्छ । सच्चा कम्युनिस्ट एकता सिद्धान्त, विचार र वर्गीय दृष्टिकोणको आधारमा मात्र सम्भव हुन्छ।

राष्ट्रिय परिस्थिति र ऐतिहासिक जिम्मेवारी

निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि नेपाली कम्युनिष्ट पार्टी र आन्दोलन पूर्ण रूपमा समाप्त भएको छैन, हुने छैन । जति सिट आउनेछ, त्यो कुनै गठबन्धन बिना आफ्नै पार्टीको बलमा प्राप्त उपलब्धि हुनेछ । राष्ट्रिय राजनीतिमा नेपाली कम्युनिष्ट पार्टीको विशिष्ट भूमिका र महत्त्व कायम मात्र छैन, वदलिएको परिस्थितिमा अझै बढ्ने छ र महत्त्वपूर्ण हुनेछ ।

आजको परिस्थितिमा एउटा गम्भीर प्रश्न केवल पार्टीको अवस्था मात्र होइन, देशको भविष्य पनि हो । नेपाल भूराजनीतिक रूपमा अत्यन्त संवेदनशील अवस्थामा छ। अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। यस्तो अवस्थामा राष्ट्रिय स्वाधीनता र स्थिरता कमजोर भएमा देश बाह्य रणनीतिक खेलको शिकार बन्न सक्छ। नेपाललाई सिक्किम वा युक्रेन हुनबाट जोगाउनु छ ।

आजको चुनौती केवल पार्टी सुदृढीकरण मात्र होइन, देशलाई अस्थिरता र बाह्य हस्तक्षेपबाट जोगाउने जिम्मेवारी पनि हो । यसकारण निराशा वा ध्वंसात्मक मानसिकताबाट होइन, बरु पार्टी र क्रान्तिप्रतिको अटुट आस्थासहित सिर्जनात्मक ढंगले सोच्न आवश्यक छ।

एकअर्कामाथि अस्वस्थ आरोप–प्रत्यारोप गर्ने, भावनात्मक प्रतिक्रिया दिने, तरङ्गित हुने वा अफवाह फैलाउने प्रवृत्तिले आन्दोलनलाई कमजोर बनाउँछ। यसको सट्टा तथ्यका आधारमा सत्य पत्ता लगाउँदै गल्ती कमजोरीहरू सच्चाउँदै पार्टीलाई सुदृढ बनाउने दिशा लिनुपर्छ।

निष्कर्ष: संघर्ष जारी छ

इतिहास कहिल्यै स्थिर हुँदैन। राजनीतिक संघर्ष पनि सीधा र सरल हुँदैन। एक चुनावी परिणामले समग्र कम्युनिष्ट आन्दोलनको भविष्य निर्धारण गर्दैन। संघर्षको यात्रामा उतारचढावहरू आउँछन्। “एक पुसले जाडो जाँदैन” भन्ने नेपाली उखानजस्तै इतिहासको चक्र निरन्तर घुमिरहेको छ, घुमिरहने छ।

त्यसैले निराश नभई, खरानी टकटकाउँदै, अनुभव र कमजोरीबाट शिक्षा लिँदै देश, पार्टी र क्रान्तिलाई बचाउने जिम्मेवारी पूरा गर्न हामी अघि बढ्नुपर्छ। यो निर्वाचन परिणामलाई हामीले पार्टीलाई वर्गीय राजनीतिमा आधारित हुँदै रूपान्तरणसहित शक्ति आर्जन गर्ने अवसरमा बदल्नु जरुरी छ ।

आज हाम्रो काँधमा इतिहासको गम्भीर जिम्मेवारी आएको छ। यो जिम्मेवारीलाई आत्मसात गर्दै पार्टी र जनसंगठनलाई बलियो बनाउने, जनतासँग सम्बन्ध सुदृढ गर्ने र विचारको स्पष्टतासहित जनसंघर्षलाई अगाडि बढाउने समय आएको छ।

क्रान्ति जारी छ । संघर्ष निरन्तर चलिरहेको छ, चलिरहने छ । इतिहास अन्ततः जनताको पक्षमा नै अगाडि बढ्नेछ। भविष्य हाम्रो हुनेछ ।