धनकुटा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (माअाेवादी केन्द्र) र नेकपा (एमाले) बिच २०७५ बैशाख ९ गते नै पार्टी एकता हुने बताउनु भएकाे छ ।
धनकुटाको पाख्रिबासमा मङ्गलबार कृषि तथा विज्ञान विश्वविद्यालय, कृषि संकाय अन्तर्गत कृषि विज्ञानकाे स्नातक कक्षाको उद्घाटन तथा भवन शिलान्यास गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो –‘हाम्रो पूरै प्रयास छ कि वैशाख ९ गते नै विशाल जनसमुदायको अगाडि एउटा एकीकृत पार्टीको घोषणा गरौं । देशलाई विकास, समाजवाद र सामाजिक न्यायको नयाँ युगतिर लैजाऔं ।’
आगामी वैशाख ९ गते नेकपा एमाले र माओवादी केन्द्रबिच एकता गरी नेपाल कम्युनिष्ट पार्टी बन्ने छ, उहाँले भन्नुभयो, “समाजवादको लक्ष्यसम्म पुग्न समृद्धिको बाटो सहज बनेका कारण अब विकास र सुशासनको युग स्थापित गरी सामाजिक न्यायका माध्यमबाट समाज परिवर्तन गर्न सरकारको जिम्मेवारी बढेको छ ।”
अध्यक्ष प्रचण्डले स्थिरता र समृद्ध नेपाल निर्माणको अवसर सदुपयोग गर्न राष्ट्रिय एकताका लागि सबैलाई आह्वान समेत गर्नुभयो । ‘यस्तो अवसर सधैँ आउँदैन, देशभरि विभिन्न सशस्त्र र शान्तिपूर्ण आन्दोलन र संघर्षको प्रतिफल स्वरुप अहिले हामी स्थिर र समृद्ध नेपाल निर्माणको संघारमा छौं, उहाँले भन्नुभयो ‘यो अवसर गुम्यो भने नेपाल निकै ठूलो दुर्घटनामा पर्छ, त्यसकारण हामीले राष्ट्रिय एकताको प्रदर्शन गर्दै सबै मिलेर नयाँ नेपाल निमार्ण गर्ने एउटा संकल्प गरौं ।’
अध्यक्ष प्रचण्डले देशलाई समृद्ध बनाउन चीन र भारतबाट रेल ल्याउने र मध्यपहाडि लोकमार्गलाई पूरा गर्ने तयारी गरिएको बताउनु भयो । नेपालमै खानी उत्खनन् गरी उद्योग स्थापना गर्ने योजना बनिरहेको पनि अध्यक्ष प्रचण्डले खुलासा गर्नुभयो ।
‘अस्ति भर्खर प्रधानमन्त्री, म र सम्बन्धित मन्त्रालय बसेर केही खनिज पदार्थहरू फलाम, स्टिल उद्योग हामीले आफैं बनाउन सक्छौं भन्ने कुरा भएको छ’, उहाँले भन्नुभयो, ‘हामीकहाँ ठूला–ठूला बहुमूल्य धातु छन् । त्यसलाई राम्रोसँग सदुपयोग गर्न सक्यौं भने ८/१० वर्षभित्र नै नेपाललाई विकासको गतिमा अगाडि बढाउन सक्छौं । आम नेपाली जनताले यहीं रोजगारी प्राप्त गर्ने र विदेश गएकाहरुलाई पनि फर्काउने अवस्था आउँछ ।’
शैक्षिक बेराेजगार उत्पादन गर्ने शिक्षाकाे अन्त्य गरिनेः अध्यक्ष प्रचण्ड
साेही कार्यक्रममा सम्बाेधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो– “शैक्षिक बेरोजगार उत्पादन गर्ने अहिलेको शिक्षा प्रणालीलाई अन्त्य गरी स्वरोगारमूलक शिक्षा प्रदान गर्ने नीति सरकारको छ ।”
अध्यक्ष प्रचण्डले प्राविधिक शिक्षामार्फत नै मुलुकको विकास र समृद्धि गर्ने बताउँदै व्यावसायिक शिक्षा प्रदान गर्ने गरी प्राकृतिक सम्पदाको प्रयोग गर्ने शिक्षाका रुपमा प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पस स्थापना भएकोमा खुशी व्यक्त गर्नुभयो ।
कृषि तथा विज्ञान विश्वविद्यालयमा सञ्चालित पशु विज्ञान, कृषि विज्ञान र वन विज्ञान मध्य सेमेस्टर प्रणालीअन्तर्गत चारवर्षे कृषि विज्ञानअन्तर्गतको कृषि विज्ञान स्नातक तह पहिलाे वर्षकाे कक्षा सुरू भएकाे छ । क्याम्पस सञ्चालनका लागि पाख्रिबास नगरपालिकाका स्थानीय समुदायले १०५ रोपनी जग्गा निशुल्क प्रदान गरेका छन् ।
याे पनि पढ्नुहाेस्ः महान् अक्टोबर समाजवादी क्रान्तिबारे केही कुरा – क. स्वनाम साथी
याे पनि पढ्नुहाेस्ः नेपाली कृषिकाे आत्मनिर्भरता र भैंसीपालन – क. दधिराम खतिवडा
याे पनि पढ्नुहाेस्ः अब कृषिमा लगानी गरी देशलाई समृद्ध बनाइने छ : अध्यक्ष प्रचण्ड