Sushanta Poudel सुशान्त पाैडेल
 

ए सुन्दरी !

न तिम्रा आँखामा सजिएकाे छ
सुन्दर भविष्यकाे परिकल्पना
न तिम्रो निधारमा देखिन्छ
स्वतन्त्रताको कान्ति
न गाँउछन् तिम्रा ओठहरू
मुक्तिका गीत
न फुत्किन खोजे तिम्रा हात
उपभोगका काखबाट
बजारको मोहमायामा रुमल्लिएकी तिमी
आफै बेचिन तयार छौ
बजाउँदै आफ्नै लिलामीमा ताली
तब त तिमी कसरी सुन्दरी ?

लिपिस्टिक र पाउडरको दलदलम भासिँदै
सजाउँदै गर्दनमा दासताको जन्जिर
लगाउँछौ ताज
आफ्नै वर्वादीकाे
बिर्संदै समाजको चित्र
सज्दै, सजाउँदै शरीर
रित्ताउँदै अत्तरका बोतल
तिमी हिँड्दा
छ्या गनाउँछ उदण्डताको गन्ध
तब तिमी कसरी सुन्दरी ?

कुनै बहुराष्ट्रिय कम्पनिको गुडिया
बन्न तयार
नाप्दै नपाउँदै
आफ्नो शरीर
हिँडिरहेकी छौ, आत्महत्याको बाटो
खुसीले रमाउँदै, नाच्दैछौ
बजारको तालमा
रित्तो बनाउँदै
कला, योगदान र जीवनको मूल्य
यौन पिपासु स्यालका अगाडि
रत्तिँदै जवानीमा
सिध्याउँदै बाँच्नुको सार
आफूलार्इ केवल वस्तु बनाएर
मेटाउँदैछौ आफ्नै धरातल
तब तिमी कसरी सुन्दरी ?

एक पटक दिमागबाट
निकाली हेर त
सन्नी लियोनीकाे नग्न तस्विर
एक पटक विचारबाट मेटाइदेऊ त
नग्न सम्पन्नता
सोचबाट हटाऊ त लिविडो
अनि
राखेर त हेर भ्यालेन्टिना तेरेस्कोभा आफ्नो सोचमा
वेस्टफ्यालिन आफ्नो विचारमा
कल्पना चावला आफ्नो कर्ममा
अनि
मिल्इभा आइन्सटाइन
आफ्नो मस्तिष्कमा
अनि पो बल्ल
तिमी सुन्दरी,
“ए सुन्दरी” ।

याे पनि पढ्नुस्ः    ए बजार सुन्दरी – क. बलराम तिमल्सिना ‘विप्लव’

याे पनि पढ्नुस्ः   अयोग्यताकाे प्रमाणपत्र – क. रीता पाैडेल

याे पनि पढ्नुस्ः   एमाले-माकेकृत समृद्ध समाजवादका नाऊँमा – क. शरद पाैडेल