Balram Timalsina 'Biplab'
 

आफ्नै जन्म दिन पारेर
भृकुटीमण्डपको बुर्जुवा मुख्यालयबाट
एकाएक बेपत्ता भए लेनिन
हो साँच्चै बेपत्ता भए लेनिन !

आफ्नो हुर्मत लुटिने थाहा पाएपछि
पुँजीवादको बजारबाट
भाग्दै गरेका लेनिनलाई
समाए केही हुल्याए ठिटाहरूले
झ्यानाकुटु पार्दै ल्याए र
झुड्याइदिए देब्रे भित्तामा !

मनमोहनकोभन्दा कम
मदन भण्डारीकोभन्दा कम
सराद्धेकाे सालोजस्तै
तिहारको ज्वाइँजस्तै
खिस्रिक्क पारेर लेनिनलाई
जब झुण्याइयो अपमानसहित
उदण्ड झुण्ड चिच्यायो-
ह्याप्पी बर्थ डे, लेनिन ब्रो !

त्यहाँ लेनिनको आत्मा थिएन
थियो त केवल एक उपेक्षित आकृति
मानौँ सभा कुनै बजार मेला हो
र लेनिन राखिएका छन् बेच्न !

यसरी बजारमा बिक्न नमानेर
लेनिन एकाएक गायव भए
लेनिनका व्यापारीहरू
होहल्ला सके र फर्किए
सहरभरी हल्ला चल्यो –
लेनिन हराए ! लेनिन हराए !

बागबजारमा कसैले ढोका ढक्ढक्यायो
ढोका खुलेपछि
हस्याङफस्याङ गर्दै
असिन पसिन बन्दै
भित्र पसे लेनिन
र भने-” प्लिज साथीहरू
मलाई बेचिनबाट बचाऊ
सुनेको थिएँ तिमीहरूको देशमा
छोरीहरू बेचिन्छन्
आज झण्डै मलाई बेचे !”

एकछिन सन्नाटा छायो
बागबजारको कोठामा
जवाफ आयो –
प्रिय कमरेड !
हामी तपाईंलाई बेचिन दिने छैनौँ
लेनिन मुसुक्क मुस्कुराए
कोठाका सबैले आत्मगौरव गर्दै
एकै स्वरमा भने-
वैज्ञानिक समाजवाद – जिन्दावाद !

यता सहरभरी
लेनिन हराएको खबर
भुसको आगोझैँ फैलँदै थियो !

याे पनि पढ्नुहाेस्ः   एउटा विशाल नदी थियो बग्दाबग्दै सुक्यो – क. बलराम तिमल्सिना ‘विप्लव’

याे पनि पढ्नुहाेस्ः    नयाँ समाजवाद – क. शरद पाैडेल

याे पनि पढ्नुहाेस्ः    भ्लादिमिर इल्यिच लेनिनको संक्षिप्त जीवनी

२०७५|०१|०९
ढल्को, काठमाडाैँ