Sushanta Poudel सुशान्त पाैडेल
 

 

मेरा मित्र
जब मडारिन्छन्
तिम्रा काला
बम बर्षकहरु
मेरो स्वतन्त्र आकाशमा,
म सोच्छु
आखिर तिमी किन
ताक्दैछौ मेरा छाती,
सिध्याउन मेरो सभ्यता,
रेट्दै गला मेरो स्वाधीनता र स्वाभिमानको ।
मेरा मित्र
जब देख्छु म शक्तिको मातमा
हुत्तिरहेका
तिम्रा मिसाइल,
म सोच्छु
के का लागि यो निर्ममता
मेटाउँदै मेरो स्वत्व
पुँजीको बजारमा लठ्ठिएका
तिमी
कमिलाले जस्तै निकाल्दै छौ
साम्राज्यवादका पँखेटा ।
मेरा मित्र
मेरो भुमिमाथि गरिरहँदा तिम्रा फौजले
निरन्तर बलत्कार,
म सोच्छु
सनकको भरमा किन उद्दत छौ
तिमी अस्विकार गर्न
मेरो अस्तित्त्व
शोषणको पर्याय तिमी
आज डराउँदै मेरा विचारले
अतालिँदै मेरा आदर्शले
हिँड्दै छौ
चिहानको बाटो ।
मेरा मित्र
आफ्ना एटमबमसँग सम्भोग गर्न छाडेर
आऊ त एकै धरातल
ड्रोनसँगको रोमान्सलार्इ रोकेर
हिँड्न देऊ त मलार्इ
आफ्ना फाइटरलाइ थन्काएर
ह्याङ्गरमा
निर्धक्क नियाल्न देऊ त
मलार्इ मेरो सगर
डुबाइदेऊ न आफ्ना पन्डुब्वी
ज्ञानको समुन्द्रमा
अनि भरिने छन्
तिम्रा हावार्ड र स्टान्फोर्डहरु
म जस्ताले ।

यो पनि पढ्नुहोस्ः  ए बजार सुन्दरी – क. बलराम तिमल्सिना ‘विप्लव’

यो पनि पढ्नुहोेस्ः ए सुन्दरी – क. सुशान्त पाैडेल

यो पनि पढ्नुहोस्ः  इयु ! हामी गरिब छौँ, तर लुटेरा हौइनौँ – क. निमानन्द रिजाल