Balram Timalsina 'Biplab'
 

प्यारी छोरी !
भात फाल्नुअघि
सुन एउटा कुरा भन्छु
भात फाले पनि त्यसपछि फाल्नू !

यो पृथ्वीमा बस्छन सात अरब मानिस
झण्डै एक अरब मानिस भोकै सुत्छन
कम्तिमा दस करोड मानिसहरू
अरुले फालेको भात खाएर बाँच्छन्  ।

भोकै सुत्ने एक अरबमा
कम्तिमा छन् पच्चिस करोड बच्चाहरू
जो दैनिक भात भन्दै भन्दै रुन्छन्
र दैनिक रुँदै भोकै निदाउँछन्
ती पच्चिस करोड बच्चाहरू
कहिलै भात फाल्दैनन्
तिनीहरूसँग फाल्ने भात हुँदैन ।

कम्तिमा पाँच करोड बच्चाहरू
दैनिक अरुले फालेको भात टिप्न
कुकुरसँग झगडा गर्छन्
कैले कुकुरले जित्छ, बच्चा भोकै हुन्छन्
कैले बच्चाले जित्छन्, कुकुर भोकै बस्छ !

प्यारी छोरी सुन,
यो पृथ्वीमा कस्तो छ
दैनिक पच्चिस करोड कुकुरहरू
मासु भात खान्छन्
स्याम्पुले नुहाउँछन्
र गलैंचामा सुत्छन्
त्यतिनै मानिसहरू
फालेको भात खान्छन्
आँसुले नुहाउँछन्
र सडकमा सुत्छन्
मनिसहरूको जीवन
कुकुरको भन्दा तल छ छोरी !

एकातिर भोकमरीले मान्छे मर्छन्
अर्कातिर समुद्रमा चामल फालिन्छ
एक पैसा भाऊ घट्दैन भोकमरीमा
एक दाना अन्न बाँडिन्न भोकमरीमा
एक पैसा सस्तो बेच्नुभन्दा
बरु समुद्रमा फालिन्छ चामल
यो भात फाल्ने चलन नि छोरी
तिनै चामल फाल्नेबाट आएको हो
के तिमी चामल फाल्नेकी छोरी हौ त ?

प्यारी छोरी !
सरी भन्नु पनि पर्दैन
कान समाउँनु झन् पर्दैन
यती सानी मान्छेलाई
त्यत्रो ठूलो जरिवाना गर्नै हुन्न ।
बरु यता सुन
यो कुरा सबै साथीलाई भन
र आजदेखि भात फाल्दिन भन
भात फाल्नेहरू नट्टी गर्लहरू हुन्
मेरी छोरी नट्टी गर्ल हैन नि है
भोलिबाट भात नफाल्ने
मेरी छोरी गुड गर्ल हुने !

यो पनि पढ्नुहोस्ः दिदीले छोरो भर्ना गरिन् – क. सुशान्त पाैडेल

यो पनि पढ्नुहोस्ः लेनिन हराएकाे खबर (कविता) – क. बलराम तिमल्सिना ‘विप्लव’

यो पनि पढ्नुहोस्ः मध्य मैदानी प्रदेश – क. जोसे मारिया सिसोँ