Mobile Phones (Cell Phones)
 

यो मोबाइल पनि के किनिएछ जिन्दगीमा । स्विच अन गर्दा पनि गाली खानु, अफ गर्दा पनि गाली नै खानु । गाली खानकै लागि मोबाइल चाहिएला भन्ने त पहिले कल्पनै गरेको थिइनँ ।

सुरुमा मोबाइल भनेपछि कत्रो तिर्सना । सायद एउटा हिन्दी सिरियलमा पहिलो चोटि मैले मोबाइल देखेको थिएँ । दुई जना प्रेमीहरु गफ गर्दै एउटै चोकमा आइपुगेका र बोल्दाबोल्दै आपसमा ठोक्किएका । एउटा रमाइलो लागेको थियो त्यसबेला र आम्मै कस्तो जमाना आयो भनेर आश्चर्य लागेको पनि हो । त्यसपछि मैले चिनेका मान्छेहरुमा मोबाइल बोक्ने पहिलो मान्छे प्रकाश सायमी । कीर्तिपुरबाट फोन गरेको पोखरामा छु भोलि आउँछु भन्ने जबाफ पाउँदा मलाई साँच्चै रमाइलो लागेको थियो र मोबाइलवाला मान्छेलाई आफूले चिनेकोमा गौरव पनि लागेको ।

आज पनि रमाइलो लाग्छ, गाउँघरमा मोबाइलमा फोन गरेर खेताला बोलाउन थालिएछ । पहिले वनमा घाँस काट्न जाँदा डाँडाबाट चिच्याएर भारी पुग्यो भनेर कराउँथ्यौँ अहिले कति मुठा पुग्यो भनेर मोबाइलमा म्यासेज पठाउँदा रहेछन् । यो पनि एउटा मजै छ ।

पहिले मोबाइल सम्पत्ति लाग्थ्यो, अहिले बल्छी जस्तो लाग्छ । माछालाई लोभ देखाई देखाई च्याप्प समातेर उफ्रिन्छ कि भनी झ्याप्प थिच्ने । एउटा आश सधैँ लाग्ने, कुनै काम पाइन्छ कि ? कसैले कुनै फाइदाका लागि तुरुन्तै कतै बोलाइहाल्छ कि ? यस्तो कसैले भन्न नपाओस् कि एउटा राम्रो काम मिलेको थियो, तँलाई कत्ति प्रयास गरेँ तर भेट्न नसकेपछि अर्कैले लग्यो, के गर्नु अब फेरि भएछ भने केही गरुँला । यस्तो जबाफ आयो भने त बर्बाद हुन्छ । यही सोचेर मोबाइल चेपेर हिँड्यो तर आउने होइन । कहिलेकाहीँ यस्तो कुनै काम हुन्छ पनि फेरि । त्यही सानो लोभले गर्दा अर्काको दास भएर हिँड्नु परेको छ । मोबाइल खोल्यो कि त यसो गर्नुपर्ने भ्याउँछस्, आइज न है, मलाई असाध्यै गारो भो । मोबाइल बोकेपछि प्रायः अकैको सेवामा तयार रहनुपर्ने । कानमा कुरा परेपछि नटेरुँ पनि कस्तो कस्तो हुने, टेरुँ आफ्नो भने घाम कति छिटै डुब्छ डुब्छ । यस्तो धेरै भएको छ ।

Madhav Dhungel
लेखक

बाटामा पनि सुख छैन । काँ आइपुगिस्, छिटो गर् न । छिटो गर्ने नाउँमा मोटरसाइकल दुर्घटना भयो भने कोही जिम्मा लिनेवाला छैन । मैले गर्दा खुट्टा भाँच्यो भनेर कसैले भन्नेवाला छैन । राम्ररी चलाउनु पर्दैन ? सबैले गर्ने गाली नै हो । हतार गर्न खोज्दा ट्राफिकले समात्छ, पछुताउनुभन्दा अर्को कुरा छैन । फलानोलाई यस्तो भयो हस्पिटलमा छ, जानु परिगो । कानमा परेपछि त जानु पर्यो नि । मलाई सारै गारो पर्यो अलिकति तैँले दिन्थिस् कि ? नत्र त मेरो बर्बादै हुने भो । मानौँ यो मोबाइल अरुलाई पैसा बुझाउनका लागि हो ।

एउटा काम यस्सो थाल्यो, मानसिक रुपमा तयार हुँदै गयो, तँ काँ छस् तुरुन्तै एउटा बैठक बस्नु पर्यो, फलानोले भनेको । काम छोड् र कुद् भाइ अब बैठकमा । बैठकमा जा र नम्बर आदान प्रदान गर् ।

दिनभरि हैरान भएर जिउ दुखेको हुन्छ, निद्रा पर्दैन । यस्सो आँखा के लाग्न थाल्छ, ट्यार्र गर्छ मोबाइल फोन । त्यसका बाजे, निद्रा चट् । अनि रिसाउँदै थिचेर हेलो भन्यो, उताबाट चेपारो पार्छ, खाना खानु भो ? अरे भाइ, म त्यति कङ्गाल भइसकेको छैन कि बेलुकाको खानाकै समस्या होस् । भोलि के होला तर आजसम्म त म खाएरै सुत्न सक्ने अवस्थामा छु । अनि उसको एउटा अनुरोध हुन्छ, भोलिको फलानो पत्रिकामा एउटा लेख छापिँदै छ, पढेर प्रतिक्रिया दिनुस् है । त्यसैका लागि फोन गरेको । थुक्क जिन्दगी !

के म प्रतिक्रिया दिनकै लागि बाँचेको हुँ ? के म ताली बजाउनैका लागि जन्मेको हुँ ? पुस्तक विमोचन छ, आउनुस् है । ३ बजे कार्यक्रम छ, आउनुस् है । फलानाको उद्घाटनमा जसरी पनि है । अनि म त्यहाँ जाऊँ र अरुका घमन्ड सुनेर ताली बजाऊँ । बस्, यही मेरो जिन्दगी हुनुपर्ने । अझ गोजीमा पैसा भए डिस्काउन्टमा पुस्तक किनेर लेखकलाई प्रोत्साहन गरिदिनु पर्ने । पुस्तकको समीक्षा गरिदिनु पर्ने ।

हैन भने अर्कोथरी फोन आउँछ– सर, एउटा पुस्तक निकाल्ने रहर गरेको । तपाईंले एकचोटि हेरि मात्रै दिनुभए हुन्थ्यो भनेर फोन गरेको । हेर्नु भनेको प्रुफ हेर्नु, हेर्नु भनेको भाषा हेर्नु, विषय हेर्नु र सम्पादन गर्नु । साथीको काम यति त गर्नु पर्यो नि । प्रकाशित भएपछि यसो गर्नुपर्ने, उसो गरेको भए हुन्थ्यो भन्नुको अर्थ के र ? अनि दुई दिन बितेको हुँदैन फेरि फोन– सर, कहिलेसम्म भ्याइएला भनेर फोन गरेको । मानौँ उसकै सेवा गर्नका लागि म यस धरतीमा छु र हावा खाएर बाँच्छु ।

काठमाडौँमा सडक जाम हुने मोबाइलका कारणले हो । घर पुग्न आँटेको हुन्छु, ल तपाई तुरुन्त आउनु पर्यो । फेरि फर्की र सडकमा कुद् । हामी यहाँ छौँ, तँ कहाँ छस्, जहाँ भए पनि आधी घन्टामा फलानो ठाउँमा आइज । बस्, मान्छेहरुको अनावश्यक कुदाकुद गराउने त मोबाइल नै रहेछ ।

बाटामा हिँड्दै हुन्छु, फलानोको नम्बर छ कि ? उसलाई त्यो नम्बर दिएर फेरि हिँड्न के खोजेको हुन्छु, मलाई चिन्नु भो भनेर फोन आउँछ । नम्बर सेभ भए भो चिन्नु, अब कसरी चिन्नु ? चिनिनँ त भन्यो, ए भैगो उसो भए । खत्रक्क राख्छ । आफ्नो फोन सेभ गरेको रहेनछ, महत्त्व दिएको रहेछन् भनेर त्यो रिसाएको हुनुपर्छ । अरे भाइ, तँ रिसाइकै राम्रो । तँ जस्ता मान्छे चाहिएन पनि । मिस कल गर्छन् । पाँच चोटिसम्मको मिस कल नउठाएपछि छैटौँ चोटि फोनै गर्छ र रिसाउँदै सोध्छ, मेरो नम्बर सेभ छैन कि क्या हो ?

यसरी मिस कल गर्नेमा एउटा नेता पनि छन् । बारम्बार मिस कल गर्छन् र केही सिप नलागेपछि फोनै गरेर यत्ति भन्छन्– मेरोमा ब्यालेन्स भएन, उताबाट गर् त । जब मैले फोन गर्छु अनि त्यसमा उनी राजनीतिक बहस झिक्छन् । हे राम, मेरो मोबाइलबाट फोन गरेर उनका तर्कहरु सुनिदिनु पर्ने । राखौँ है भनेर दस चोटि भन्छु, अहँ, राख्ने त छेकछन्दै छैन । यस्ता पनि नेता । नेता भएपछि त लुट्नु नि । थर्काउनु, फकाउनु, ठेक्कापट्टा मिलाउनु । कसैको काम मिलाइदिनु, अलिकति कमिसन लिनु । पैसा नहुने नाथेले यो देशमा के राजनीति गर्नु ?

बाठाले अरुलाई जिस्काउँछ, लाटाले बाबुआमा जिस्काउँछ भन्थे, यी नेता हामीलाई जिस्काएर रमाउलो मान्छन् ।

एक दिन त सारै झोक चल्यो र अफ गरिदिएँ मोबाइलको भाँडो । अफ गरिस् भनेर रिसाए रिसाऊन्, मरेछन् नै भने पनि मरुन् बरु । तिनले पनि मेरो महत्त्व बुझून् न । म नभएर छटपटाउन् र मेरो खोजीका लागि अलिकति परिश्रम गरुन् । मोबाइल अफ गरेर सरासरी घरमा गएँ र सुतेँ दिउँसै चार घन्टासम्म । त्यसपछि उठेँ तर मोबाइल अन गरिनँ । जतिबेलासम्म मोबाइल अफ भयो, त्यतिबेलासम्म मेरो समय नै समय । जे गरे पनि भयो । हैन, समय नै नभएको त हैन रहेछ नि । समय त चौबिस घन्टा अहिले पनि छ । पैसा खान्छ भन्ने ठानेको थिएँ मोबाइलले । मोबाइलले ब्याट्री र पैसासँगै समय पनि खाँदो रहेछ । मान्छेको आयु खाने मोबाइल रहेछ, मान्छेको सिर्जना खाने, परिवार खाने, काम खाने, मान्छेको जीवन नै खाने त मोबाइल रहेछ ।

कुनै दिन थियो, मोबाइल सम्पन्नताको परिचायक थियो । आज पनि म बजारमा डबल सिमवाला सेट किन्दै गरेको देख्छु । कसैकसैले त तिन ओटासम्म नम्बर लिएको देखेको छु । एउटा मोबाइलले त यस्तो गरिब बनाइदिएको छ । तिन ओटा मोबाइल बोक्नेको के हालत होला ? कति घन्टा निदाउलान् ती सन्तोषपूर्वक ? तिनको दिमागमा कसकसको मात्रै कुरा खेल्दो हो ? मस्तिष्कको कति प्रतिशत तिनले आफ्नो लागि भनेर बचाएका होलान् ? आफ्नै जिन्दगी पनि आफनो नभएपछि, आफ्नै समय पनि आफ्नो नभएपछि, तनाबले मुटु फुटेर असामयिक मृत्यु मरेनन् भने पक्कै पनि ती बुढा हुनेछन् । आफनो दौडधुपको समीक्षा गर्नेछन् । आफूसँग भएको एउटा जिन्दगी कसका लागि मैले बिताएछु । पक्कै पनि एउटा मूल्याङ्कन गर्लान् । बुढेसकालमा कति पछुताउलान् ती ? कतिसम्म गरिब होलान् बिचाराहरु ।

तपाईंले पनि अनुभव गर्नुभएको होला । मोबाइल अन, तनाब अन । मोबाइल अफ, हतारो अफ । अफ भएपछि दुष्ट मोबाइल, गजबको निद्रा आउँछ अँध्यारामा । फुर्सद, मनोरञ्जन र रमाइलो शान्ति । अब तपाईं देख्नुस् कल्पनाको संसार । अब हेर्नुस्, घरमा दिउँसै सिनेमा । जे गर्नुस, जे सोच्नुस्, जहाँ पुग्नुस्, जस्तो कल्पना गर्नुस । रात परेपछि छतमा उक्लनुस् र तारा हेर्नुस् , जून हेर्नुस् वा शीतल हावा खानुस् । जब ओछ्यानमा आउनुहुन्छ, मजाले निदाउनुस् र सपनामा डुल्नुस् । सपना साँच्चै रमाइलो हुन्छ । त्यो आफ्नो हो, आफ्नो भन्नु नै त्यही मात्रै त हो । सपनाकोे यात्रा, स्वतन्त्र यात्रा । सपनामा डुलेको थकाइ लाग्दैन । भोलिको काममा लागि फ्रेस हुनुस्, थकाइ मार्नुस् । म पनि एकछिन शान्तिको निद्रा सुत्न चाहन्छु ।

यी पनि पढ्नुहोस्ः

लोकप्रियता – क. माधव ढुङ्गेल

राति बास्ने कुखुरो – काअो यु-पाअो