काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनले २०८२ फागुन २१ गते तोकिएको निर्वाचन सफल बनाउँदै राजनीतिक शुन्यताको अन्त्य गर्न र देशबाट भ्रष्ट, दलाल तथा प्रतिगामी शक्तिहरूलाई पराजित गर्दै सुशासन र अग्रगमनका पक्षपोषक शक्तिहरूलाई विजयी गराउन अपिल गरेका छन् । आज एघारौँ संविधान दिवसको अवसरमा एक संयुक्त विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् ।
नेकपा (माओवादी केन्द्र) निकट आधारभूत वर्गका चार जनसंगठनहरू – अखिल नेपाल किसान महासंघ (क्रन्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघ – ले जेन-जी पुस्ताको विद्रोही चेतना र आन्दोलनलाई सकारात्मक रूपमा लिँदै उनीहरूले पनि आफ्नो मातृपार्टी नेकपा (माओवादी केन्द्र) र आफूहरूले उठाउँदै आएका भ्रष्टाचारको अन्त्य, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र विज्ञहरूबाट मन्त्री बनाउने जस्ता एजेण्डाहरूलाई महत्त्वका साथ उठाएकोमा जेन-जी पुस्तालाई आभार प्रकट गर्दै सबै मिलेर ती एजेण्डा तथा नाराहरूलाई वास्तविकतामा बदल्न अपिल गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) का प्रभावशाली र जनाधार भएका चार जनसंगठनहरूले नेपाली जनताको दशकौँ लामो संघर्ष, ऐतिहासिक दशवर्षे महान् जनयुद्ध र संयुक्त जनआन्दोलनको प्रतिफलस्वरूप इतिहासमै पहिलो पटक संविधान सभाद्वारा नेपालको संविधान (२०७२) जारी भएको दाबी गर्दै एघारौँ संविधान दिवसको ऐतिहासिक अवसरमा देशभरका किसान, मजदुर, दलित, सुकुम्बासीलगायत सबै नेपाली जनसमुदायमा शुभकामना व्यक्त गरेका छन् ।
चार जनसंगठनका अध्यक्षहरूद्वारा हस्ताक्षरित विज्ञप्तिमा, “नेपालका साहसी किसान, मजदुर, दलित, सुकुम्बासी, युवा, महिला, विद्यार्थी, आदिवासी, जनजाति, मधेसी सहित लाखौँ जनसमुदायको प्रत्यक्ष संलग्नतामा भएको नेपाली जनताको महान् जनयुद्धले सामन्तवाद, राजतन्त्र, पुरानो शोषणकारी वर्णव्यवस्थामा आधारित एकात्मक पितृसत्तावादी संरचनाविरुद्ध देशमा संघीयता, धर्मनिरपेक्षता, समानुपातिकता, समावेशीकरण र सहभागितामूलक लोकतन्त्रसहितको नयाँ युगको द्वार खोलेको”, उल्लेख गर्दै भनिएको छ “त्यही योगदानको जगमा टेकेर देशमा संविधान सभामार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएको हो ।”
विज्ञप्तिमा भनिएको छ, “हाम्रा लागि संविधान दिवस केवल एउटा उत्सव मात्र होइन, संविधानको दृढतापूर्वक रक्षा र यसका अपूर्णताहरूलाई सच्याउँदै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, पहिचानसहितको संघीयता र वैज्ञानिक समाजवाद स्थापनार्थ संविधानले घोषणा गरेका जनताका अधिकारहरूलाई व्यवहारमा कार्यान्वयन गर्दै सामाजिक न्याय, समानता र वर्गीय मुक्तिको हाम्रो अधुरो कार्यभारलाई पूरा गर्ने संकल्पको दिन हो ।”
चार जनसंगठनद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिको पूर्ण पाठः
नेपाली जनताको दशकौँ लामो संघर्ष, ऐतिहासिक दशवर्षे महान् जनयुद्ध र संयुक्त जनआन्दोलनको प्रतिफलस्वरूप इतिहासमै पहिलो पटक संविधान सभाद्वारा नेपालको संविधान (२०७२) जारी भयो । हामी एघारौँ संविधान दिवसको यो ऐतिहासिक अवसरमा देशभरका किसान, मजदुर, दलित, सुकुम्बासीलगायत सबै नेपाली जनसमुदायमा हार्दिक शुभकामनासहित महान् नेपाली जनताको अदम्य संघर्ष, बलिदान र त्यागलाई उच्च सम्मान गर्दछौँ । नेपालका राष्ट्रिय तथा वर्गीय मुक्ति आन्दोलन, संघर्ष, विद्रोह, महान् जनयुद्ध र जनआन्दोलनका क्रममा आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । घाइते योद्धाहरू, सहिद तथा बेपत्ता योद्धाहरूका परिवारजनप्रति उच्च सम्मान प्रकट गर्दछौँ । भर्खरै सञ्चालित जेन-जी पुस्ताको आन्दोलनमा सहादत प्राप्त गर्ने सबै सहिदहरूप्रति श्रद्धाञ्जली तथा घाइतेहरूप्रति उच्च सम्मान र शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।
नेपालका साहसी किसान, मजदुर, दलित, सुकुम्बासी, युवा, महिला, विद्यार्थी, आदिवासी, जनजाति, मधेसी सहित लाखौँ जनसमुदायको प्रत्यक्ष संलग्नतामा भएको नेपाली जनताको महान् जनयुद्धले सामन्तवाद, राजतन्त्र, पुरानो शोषणकारी वर्णव्यवस्थामा आधारित एकात्मक पितृसत्तावादी संरचनाविरुद्ध देशमा संघीयता, धर्मनिरपेक्षता, समानुपातिकता, समावेशीकरण र सहभागितामूलक लोकतन्त्रसहितको नयाँ युगको द्वार खोलेको छ । त्यही योगदानको जगमा टेकेर देशमा संविधान सभामार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएको हो । यो ऐतिहासिक उपलब्धि हासिल गर्न हजारौँ सहिदहरूले आफ्नो प्राण आहुति दिए, हजारौँ घाइते, बेपत्ता र पीडित बने । हामी ती सबै योद्धाहरूको योगदानलाई स्मरण गर्न चाहन्छौँ ।
हाम्रा लागि संविधान दिवस केवल एउटा उत्सव मात्र होइन, संविधानको दृढतापूर्वक रक्षा र यसका अपूर्णताहरूलाई सच्याउँदै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, पहिचानसहितको संघीयता र वैज्ञानिक समाजवाद स्थापनार्थ संविधानले घोषणा गरेका जनताका अधिकारहरूलाई व्यवहारमा कार्यान्वयन गर्दै सामाजिक न्याय, समानता र वर्गीय मुक्तिको हाम्रो अधुरो कार्यभारलाई पूरा गर्ने संकल्पको दिन हो । हामी युवा जेन-जी पुस्ताको विद्रोही चेतना र आन्दोलनलाई सकारात्मक रूपमा लिँदै उनीहरूले पनि नेकपा (माओवादी केन्द्र) र यसका आधारभूत वर्गका चार जनसंगठनहरू – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघ – ले उठाउँदै आएका भ्रष्टाचारको अन्त्य, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र विज्ञहरूबाट मन्त्री बनाउने जस्ता एजेण्डाहरूलाई महत्त्वका साथ उठाएकोमा आभार प्रकट गर्दछौँ र हामी सबै मिलेर ती एजेण्डा तथा नाराहरूलाई वास्तविकतामा बदल्न अपिल गर्दछौँ । २०८२ फागुन २१ गते तोकिएको निर्वाचन सफल बनाउँदै राजनीतिक शुन्यताको अन्त्य गर्न र यो देशबाट भ्रष्ट, दलाल तथा प्रतिगामी शक्तिहरूलाई पराजित गर्न, सुशासन र अग्रगमनका पक्षपोषक शक्तिहरूलाई विजयी गराउन अपिल गर्दछौँ । संविधानले प्रतिपादन गरेको सामाजिक न्याय, समानता, समावेशिता र जनताका अधिकारहरू सुनिश्चित गर्ने मार्गमा हाम्रो आन्दोलन निरन्तर जारी छ । किसान, मजदुर, दलित, सुकुम्बासी र उत्पीडित वर्गको मुक्तिको संघर्षलाई अझ सशक्त बनाउँदै लैजाने हाम्रो प्रतिबद्धता छ। संविधानलाई व्यवहारमै लागु गर्ने, जनताको अधिकार सुरक्षित गर्ने र समाजवादतर्फ अघि बढ्ने हाम्रो दृढ अठोट रहेको छ । यही मार्ग नै नेपालको स्थायी शान्ति, समृद्धि र समाजवादको ग्यारेन्टी हो भन्नेमा हामी दृढ छौँ ।
हार्दिक क्रान्तिकारी अभिवादन सहित।
चित्रबहादुर श्रेष्ठ, अध्यक्ष अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)
जगतबहादुर सिम्खडा, अध्यक्ष अखिल नेपाल ट्रेड युनियन महासंघ(अन्टुफ)
दलजित श्रीपाली, अध्यक्ष नेपाल दलित मुक्ति मोर्चा
अमर परियार, अध्यक्ष अखिल नेपाल सुकुम्बासी संघ
मितिः २०८२ असोज ३ गते