हेलो सरकार ,
मि टू अर्बन नक्सल !
तिमी बदलिँदै गएपछि
चाउचेस्कुमा च्याङ्काइसेकमा
म पनि बदलिन बाध्य भएँ
चारु मजुमदारमा चे ग्वेभारामा
क्रान्तिकारीहरू परिचय लुकाउँदैनन्
त्यसैले सिधा सिधा घोषणा गर्छु-
मि टू अर्बन नक्सल !
तिमीसँग बन्दुक छ मसँग कलम
तिमीसँग गोली छ मसँग अक्षर
तिमीसँग राज्य छ मसँग आवाज
तिमीसँग आदेश छ मसँग प्रश्न
तिमी सशस्त्र छौ म पनि खाली हात छैन
तिम्रा हर अत्याचार र
तिम्रा हर छलछामको प्रतिवादी
हो साँच्चै हो
मि टू अर्बन नक्सल !
तिमीसँग
पुलिस छ सेना छ
जेल छ न्यायालय छ
संसद छ सरकार छ
यी सबै भएर पनि
तिमीलाई हरदम त्राहिमाम पार्ने
आजको समयको कुख्यात आतङ्ककारी
तिम्रो सत्ताको तामझामतिर फर्केर
सँधै इस्स्स भनिरहने
मि टू अर्बन नक्सल !
सडक किनारामा बसेर
तिमीलाई कुरीकुरी गरिरहने
तिम्रा आन्द्राभूँडीभित्र
छचल्किरहेको हाम्रो आँसु देखाइरहने
आगो पार्ने कला सिकाएर सोझालाई
तिम्रा करेसातिर पठाउँने
हरेक दिन तिम्रो पोल खोलिरहने
तिम्रो कित्ताकाट दुश्मन
कलमसहितको प्रमाणित विद्रोही
मि टू अर्बन नक्सल !
आऊ
लेख्दा लेख्दैको कलमसहित पक्र
पढ्दा पढ्दैको कवितासहित हत्कडी लगाऊ
शान्ति भाँडेको आरोपमा
कविताहरू छापा मारेर लैजाऊ
समृद्धि विरोधीको आरोपमा
मलाई जेल कोच
म घामको उज्यालोमै
तिम्रै मुख्यालय नजिकबाट हिँड्ने
टाउको बुझाउन तयार
तर
टाउको झुकाउन अस्विकार गरिरहेको
तिम्रो आँखाको कसिङ्गर
तिम्रो तजविजको दुश्मन
अर्थात –
मि टू अर्बन नक्सल ।
२०७५|०५|१५
ढल्को, काठमाडाैँ ।