काठमाडौँ । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले माओको मुख्य आधार ईलाका आउँदा आफ्नै क्रान्तिको अध्ययन र अनुभव गरेजस्तो लागेको बताउनु भएको छ ।
दस वर्षे महान् जनयुद्धका सुप्रिम कमाण्डर रहेका अध्यक्ष प्रचण्डले आइतबार साँझ सान्सी प्रान्तीय कमिटीका स्थायी समिति सदस्य तथा येनान नगर कमिटीका सेक्रेटरी सु सिन्रोङ्गसँग छलफलको क्रममा साे कुरा बताउनु भएकाे हो ।
भेटघाटका क्रममा उहाँले आफू र आफ्नो टोलीलाई चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलहरुको भ्रमण गराएकोमा येनान नगर पार्टी कमिटी, जनसरकार र येनानवासी जनसमुदायमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
उहाँले आफुले धेरै पटक चीनको भ्रमण गरेपनि क्रान्तिको ऐतिहासिक नगरको अवलोकन गर्ने सन्दर्भ नमिलेको उल्लेख गर्दै यसपटक चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा यो अवसर मिलेकोमा अत्यन्त खुसी लागेको बताउनु भयो ।
सोही अवसरमा अध्यक्ष प्रचण्डले येनानमा बसेर माओले विकास गरेका जनयुद्ध र नयाँ जनवादी क्रान्तिको कार्यदिशा नै माआत्सेतुङ विचारधारा भएको उल्लेख गर्दै आफूहरुले यसै विचारको अध्ययनबाट प्रेरित भएको बताउनु भयो ।
छलफलका क्रममा उहाँले भन्नुभयाे, ‘येनान नगरको अवलोकन गर्दा मैले निकै गौरवान्वित महशुस गरेको छु । माओको मुख्य आधार इलाकामा आउँदा आफ्नै क्रान्तिको अध्ययन र अनुभव गरे जस्तो भएको छ । चिनियाँ क्रान्तिको ऐतिहासिक भूमिका केवल चिनियाँ जनता र पार्टीको मात्र नभएर संसारभरी कै निम्ति प्रेरणाको स्रोत भएको नेपाल कम्युनिस्ट पार्टी र नेपाली जनतामा स्थापित छ ।’
अध्यक्ष प्रचण्डले नेपालमा राजनैतिक स्थिरता कायम भएको बताउँदै अब आफूहरुको जिम्मेवारी आर्थिक समृद्धिसहित समाजवादको निर्माण गर्नु रहेको बताउनु भयो । सेक्रेटरी सु सिन्रोङ्गले सान्सी प्रान्त र येनान नगरको बारेमा संक्षिप्त ब्याख्या गर्नुभएको थियो ।