तिमी महान् वैज्ञानिक रहिछौ
पत्ता लगाउन सफल भइछौ,
झण्डै डेढ सय वर्षपछि
म बलात्कारी भएको ।
मलाई लागेको थियो
तिमी अन्वेषण गर्नेछौ
शोषणका नयाँ रूपहरू
नयाँ तरिकाहरू
र दिनेछौ त्यसको समाधानका नौला उत्तरहरू
सिकाउनेछौ मुकालाबिला गर्न
आधुनिक पुँजीवादसँग ।
तर, तिमीले त घोषाणा गर्न पुगेछौ
मैलाई बलात्कारी,
मलाई नै बल्ल थाहा भयो
म बलात्कारी पनि रहेछु,
किनकि तिमीले घोषणा गर्यौ
पुँजीवादको छहारीमा बसेर ।
तिमीले मलाई बलात्कारी घोषणा गर्दा
मैले मुसुक्क मुस्काराएर सोचेँ,
पेटको भोकलाई शान्त पार्न
तिमीले मलाई बलात्कारी घोषणा गर्यौ होला,
उसो भए ठिकै छ भोक शान्त पार,
पुँजीवादीहरूले त मैलाई बेचिरहेका छन्
आफ्नो मुनाफाको व्यापार गरिरहेछन् ।
तिम्रै देशमा,
मार्क्सवादकाका नाममा
राजनीतिको व्यापार गरिरहेका छन् भने
तिमी जस्तो सर्वहारालाई
मैले यो पनि अधिकार दिएको छु ।

तिम्रा स्टाटस हेर्दा
तिमी मेरै शुभचिन्तक हुँ भन्यौ
यसबाट मलाई के लाग्यो भने
तिमीले खाली पेटमा होइन,
खाएर, अघाएर, डकार मारेर
मैलाई बलात्कारी घोषणा गरेकी रहिछौ ।
जब मैलाई बलात्कारी घोषणा गर्यौ
मैले यो पनि सोचेँ
आधुनिक पुँजीवादीहरूले
कतै बलात्कारको परिभाषा त बदलिएनन्,
हुन सक्छ,
अचेल पुँजीवादले
बदलिदिएको छ होला
बलत्कारको परिभाषा पनि
मैले त पढ्न पाएको छैन ।
अन्तमा,
प्रिय लेखिका,
तिम्रो कलम फुलोस् फलोस्,
तिमीलाई मेरो असीम शुभकामना,
तिमी प्रसिद्धिको शिखर चुम,
तिम्रो पुँजीपति वर्गको नुनको गुनप्रति
मेरो पनि साधुवाद नै छ,
तर एक पटक
फ्रेडरिक एङ्गेल्सलाई सोध,
जो मेरो परम मित्र हुन्,
र, तिमी सोध
हेलेन डेमुथलाई पनि
“के मैले उनलाई बलात्कार गरेको थिएँ” ?
२०७८/०१/२२ (२०२१ मई ५)
(रचनाकार अखिल क्रान्तिकारीका नेता हुनुहुन्छ ।)