उषाकिरण आजाद, usha kiran aazad, aajad,
 

उनीहरूको गणना हुने छैन
उनीहरूको त अब मृत्यु दर्ता हुनेछ,
दश वर्षपछि हुनै लागेको जनगणनामा
किनकि यहाँ त जनगणना स्थगित गरेर
लास गणना गर्न अभिशप्त छ मेरो देश ।

सास भएका
तर आस नभएका
आँखा भएका,
आँखामा चस्मा लगाएका
तर देख्न नसक्ने,
कान भएका, तर सुन्न नसक्ने
मुख भएका,
अरुको भागै खोसेर जति पनि घिँच्नसक्ने
तर बोल्न नसक्ने
ज्युदाँ लासहरूले भरिभराउ छ मेरो सहर,
त्यसैले जनगणना स्थगित गरेर
आज लास गणना गरिरहेछ मेरो देश ।

उता आर्यघाटमा
कुशल व्यवस्थापन भएको छ
सास नफेरिरहेका
तिनले मर्न बाध्य बनाएका लासहरूको
त्यहाँ गनाएका छैनन्‌ लासहरू
र त दुर्गन्धित भएको छैन आर्यघाट ।

यता मेरो सहरमा भने
ठुलै दुर्घन्ध फैलिरहेको छ
किनकि यहाँ मेरो सहरमा
कुहिएर गनाएका छन्‌
सास फेरिरहेका जीवित लासहरू
व्यवस्थापन हुनै सकेको छैन,
सहरलाई नै दुर्गन्धित बनाइरहेका
पजेरोमा कुद्ने ज्युँदा लासहरूको,
त्यसैले जनगणना स्थगित गरेर
आज लास गणना गरिरहेछ मेरो देश ।

शक्ति र सत्ताको प्यास मेटाउन
झण्डा हल्लाएर
लासहरू पजेरोमा कुद्न थालेपछि
एम्बुलेन्सको सट्टा
सासको आसका लागि रोज्नुपरेको छ
थोत्रा ट्याक्टर र ठेलागाडाहरू
किनकि मेरो देश आज
रुपान्तरण भएको छ ज्युदाँ लासहरूको संग्राहलयमा
जहाँ जनगणना स्थगित गरेर
लास गणना गर्न अभिशप्त छ मेरो देश ।

(रचनाकार अखिल क्रान्तिकारीका नेता हुनुहुन्छ।)