KP Oli, Chairman of the CPN(UML)
 

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बिचको पार्टी एकताबारे विभिन्न आशंका व्यक्त भइरहेको समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने प्रचण्डपथ अपनाउने निर्णय गरेका छन् ।

अध्यक्ष ओलीले अब आफ्ना नियमित राजनीतिक भेटघाट पार्टी केन्द्रीय कार्यालय धुम्बाराही र संसदीय दलको कार्यालय सिंहदरबारमा मात्रै गर्ने निर्णय गरेका हुन् । केही दिन अगाडि मात्रै माओवादी अध्यक्ष प्रचण्डले आफ्ना सबै भेटघाटहरुलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट गर्ने र भेटघाटलाई थप सरल र प्रभावकारी बनाउने निर्णय गरेका थिए । यसलाई विश्लेषकहरुले अध्यक्ष ओली पनि प्रचण्डपथमा हिँड्न थालेको भन्ने टिप्पणी गरेका छन् ।

भक्तपुरको बालकोटमा रहेको नीजि निवासमा भिडभाडका कारण असहजता देखिएको भन्दै बुधबारदेखि ओलीले आफ्ना सबै नियमित भेटघाटका कार्यक्रम सिंहदरबार र पार्टी कार्यालय धुम्बाराहीबाट गर्न सुरु गरेका हुन् ।

सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ३ बजेसम्म करिब चार घण्टाको समय अध्यक्ष ओलीले नियमित भेटघाटका लागि छुट्याएको उनका स्वकीय सचिव अनिश दाहालले जानकारी दिए ।
दाहालका अनुसार ओलीले बालकोटस्थित निजीनिवासमा अत्यावश्यकीय र विशिष्ट प्रकृतिको भेटघाट मात्र गर्नेछन् ।