यतिबेला आठौँ महाधिवेसनको हलमा छु । पश्चिम कमाण्ड कार्यालयमा कार्यरत रहेकोबेला २०५९ असारमा पक्राउ परेर नेपालमा सुपुर्दगीबाट प्रहरी र सेनाको हिरासतका ५२ दिनपछि सेन्टर जेल पठाइएँ । १०/११ महिना जेलको बसाइबाट रिहाइपछि मेरो कार्यक्षेत्र जाजरकोट (भेरी कर्णाली क्षेत्र) भयो । आज त्यसबेला आधार इलाकामा बसेर पूरा गरेका कतिपय जिम्मेवारीहरू अनुभूतिको गम्भीर पानाहरू बनेर दिमगमा सलबलाएका छन् ।
पहाडमा जन्मे हुर्केको भए पनि भर्खर जेलमा कुँजिएको जिउ, लामो तराइको बसाइले अग्ला पहाड र कहालीलाग्दो छाँगोको बिल्कुलै अनुभवहीन, सुन्दै सातो जाने म विभागीय कामबाट एक्कासी महान् जनयुद्धको आधार इलाकामा प्रवेश गर्दा एकातिर आफू पनि वर्गयुद्ध भूमिमा भौतिकरूपमा जोडिन पाएकोमा रोमाञ्चित थिएँ । अर्कोतिर बाटोमा ठाउँठाउँमा स्थानीय कमिटीहरूले आयोजना गरेका मिटिङहरूमा सहभागी भएर मैले फुच्चेहरूजस्तो देख्ने भाइबैनीहरूका रिपोर्टिङ र समग्र युद्धकार्यको एकप्रकारको संश्लेषण सुन्दा आधार इलाकाजस्तो सहज ठाउँमा त यस्तो छ भने रणमैदान मै हेलिँदा कस्तो भए होला ? सटुक्क ‘उफ !’ निस्कन्थ्यो मुखबाट !! दिमाग त एकदम शुन्यशुन्य र खालीखाली जस्तो । अनि म त कतै युद्धरत पार्टीको सक्रिय सदस्य नै होइन कि क्या हो जस्तो दिमाग चक्क्राउँथ्यो । भित्रभित्र असाध्यै हीनताबोध पो हुन थाल्यो ।
पश्चिमकमाण्ड कार्यालयमा बसेर आफूले निकै ठुलो काम गरेको छु जस्तो मेरो बुझाइको सिङ जुरो बिल्कुल भाँचिएको अनुभूति भइरहेको थियो किनकि भौतिकरूपमा युद्धभूमिको सामान्य अनुभव पनि थिएन मसँग । आफैप्रतिको भ्रम हटाउन फेरि युद्धको क-ख-प्रति ध्यान दिँदै आफूलाई एडजस्ट गर्न थालेँ । घुइयाबारीबाट माथि ठडिनेबेला नेतृत्वमा रहनुभएका सुरेश सिंह (शक्ति बस्नेत) लगायतको टिमसँग रमाइलो सहयात्रा गर्दै जाजरकोटको सिर्के पुगियो । कमाण्ड कार्यालयमा कार्यरत छँदा कमरेड प्रभाकर (जनार्दन शर्मा) ले जसरी बेलाबेलामा सहयोग गर्नुभएको थियो, सोहीरूपमा साँचै एउटा भतिजले सहोदर आफ्नै अन्टी-अंकललाई जस्तै गरी माया र सम्मान दिँदै गन्तव्यमा पुर्याउनु भएको शक्ति बस्नेत जीको त्यो श्रद्धायुक्त स्नेहशील व्यवहार म कहिलै बिर्सन सक्दिन ।
माथि गएपछि क्षेत्रीय ब्युरो र विशेष ब्युरोका कमरेड जीवन, शान्त, दर्पण र विजय लगायत धेरै नाम बिर्सेँ) कमरेडहरूसँग घुलमिल हुँदैगइयो । बाँकेबाट म, सावित्री (मेरो जीजग संगिनी), चन्द्रकान्त, सुदीप, बिराज (सल्यान), पिटर, संकल्प, जीतमानलगायत सँगीहरू रहेछौँ । म विभागमा काम गरेको मानिस त्यहाँ पनि मेरो कार्यक्षेत्र उद्योग विभाग निश्चित भयो । स्थानीय कच्चा पदार्थमा आधारित केही उद्योगहरू सुचारु नै थिए । केही मेरो प्रत्यक्ष इन्चार्जसिप सुरु भएपछि स्थापना गरियो । बजारबाट किनिने प्रशोधित छाला अनि स्थानीयरूपमा आफै प्रशोधन गर्नुभएको छाला समेत मिसाइएका काला जुत्ता तथा अति राम्रा सावरका जुत्ताहरू उत्पादन गर्नुभयो कमरेड जीतमानले । कागज उद्योग, प्राविधिक र काइनेटिक पत्थर उद्योग आदि उद्योगहरू अलि व्यवस्थित र संगठित गरियो । आफ्नो सापेक्षतामा राम्रै परिणाम हासिल भयो पनि ।
हाम्रो सेल्टर टाले गाउँ पारिपट्टि भौँता (मगर गाउँ) मा थियो । चैत्रमा पनि हिउँ पर्ने ज्यादै चिसो ठाउँ । त्यही चिसो र सैन्य हिरासतको बिरासतको रूपमा अहिले बाथ (Rheumatoid Arthritis) बोकेको छु । जो १५ वर्षको लक्काजवान बनेर खुब अँठ्याँदै थला पारिरहेछ । सुर्खेत, जाजरकोट, जुम्ला, मुगु र हुम्लासम्म विविध उद्योगहरू सञ्चालित थिए । मैले इन्चार्जसिप लिइसकेपछि कम्तीमा एक चरण सबै जिल्लामा पुगेर उद्योगहरूको स्थिति थाहा पाउनु नैतिक जिम्मेवारीभित्र पर्थ्यो नै । यस्तैमा आ-आफ्नो विभागीय कामको मेसोमा क. विराज (एकराज भण्डरी), चन्द्रकान्त, सुदीप लगायतको टोली जुम्ला, हुम्ला र मुगुतिर जाने भयो ।
नैतिक बन्धन र छाँगो, उकालो, ओह्रालो चढ्ने आतंकले खुब अँठ्याइरहेको थियो । साथीहरूसँग म त सक्दिन होला नजाऊँ क्या हो के भनेको थिएँ, सावित्रीले सबै कमरेडहरूको सामु इल्लिबिल्लि बनाइन र लाक्षीको उपाधि दिन थालिन् । ल त बहादुर बन्नपर्यो, श्रीमतीको अगाडि कति लाछी बन्ने, जे त पर्ला भनेर मुलसाम लेकको बाटो उक्लिने निधो गरेर साँझ नजिकैको ओडारमा बास बस्न पुगियो । विराजजी, हामी दुई बुढाबुढी र मेरो सहयोगीको रूपमा पार्टीबाट खटिनुभएका अत्यन्त इमान्दार कमरेड मोहितसमेत चार जनाको एउटा समूह बन्न पुग्यो ।बिहान सबेरै बाटो लागियो । करिब एकघण्टा के उक्लिएको थियो, हिउँ देख्नासाथ मेडम त लत्र्याकलुत्रुक पर्न थालिहालिन् । एकदुई दिन अघिदेखि नै तीन फिट भन्दा धेरै हिउँ परेको रहेछ मुलसामको डाँडो (उकालो) मा । हामीलाई पत्तो थिएन । उनलाई लेक लाग्न सुरु भइहाल्यो । जे भयो, भयो, यहीँबाट फर्कौं भनेँ । साथीहरूले त झन् साहस पो भर्न थाल्नुभयो । कमरेड विराजको साहस र मोहितजीको हिम्मतले त्यो हिउँमा घुँडा डुब्ने हिमालजस्तो लाग्ने, लामो उकालोमा अन्दाजमा पाइला टेक्दै हिँड्नपर्ने त्यस्तो अप्ठ्यारो बाटोमा घिसार्ने र बोक्ने गर्दै बल्लतल्ल मेडमलाई उकालो पार गराउनु भयो । मलाई हिउँको त झन अनुभव नै थिएन । तापनि मेडमले होस नगुमाई दिएहुन्थ्यो ठानेर खुर्सानी, मरिच र सुठोको धुलो चटाउँदै मेडम कि मेडम गर्दै चिच्याउँदै उकालोसुकालो बिर्सेर तन्दुरुस्त मानिसजस्तै पछिपछि दौडेर पार गरेको पत्तै पाइन (सायद यसअघि पनि कतै उल्लेख गरेको छु) । माटोले छोपेरसम्म पनि हिँड्न नपाइने ठाउँमा श्रीमतीको लास छाडेर हिँड्नपर्ने भयो भन्ठानेर बिरक्तिएको मेरो दिमागलाई व्यावहारिक रूपमै शान्त पारेर जीवन संगिनीको जीवन बचाइदिनुहुने कमरेड विराज (एकराज भण्डारी) र मोहितजीप्रति हृदयदेखि नै आभार प्रकट गर्दछु ।
उसबेला जाजरकोट, जुम्ला, हुम्ला लगायत त्यहाँका चार-पाँच जिल्लाका मिटिङहरूमा ग्रामीण वस्ती विकास योजना लागु गरेर व्यवस्थित बसोवास, आधुनिक उत्पादन प्रणाली विकास गरेर उन्नत फलफूल खेती र प्रत्येक डाँडाहरूमा रोप वे र केबुलकारको जालो बिच्छाएर भुस्खलनलाई रोक्दै उत्पादनलाई बजारसँग जोडेर गाउँ र सहर बिचको भिन्नता मेट्दै नयाँ दार्जलिङ निर्माण गरिन्छ भन्दै आफूले भावी विकासका योजनाहरू ब्याख्या गरेर सम्पर्कमा रहेका सबैलाई आश्वस्त पारेको झल्झली स्मरण गर्छु र वर्तमानतिर झाँक्छु । अनि भित्रभित्रै लाजले भुतुक्क हुनपुग्छु र पुराना साथीहरू यहाँ कतै नभेटिदिए हुन्थ्यो भन्ने कामना गर्दै कुनातिर खुसुक्क अलग्ग बसेको छु ।
बृहद शान्ति सम्झौतापछि तल झरेर संगठित भएपछि सकेसम्म ‘कार्यकर्ता व्यवस्थापन’ अन्तर्गत जिल्लाबाट शान्ति समितिको कार्यालयमा नियुक्त रहनुभएका प्रमेशजी लगायतका कमरेडहरूको सहायताले परिवारको अपहरित सम्पतिको फेहरिस्त शान्ति मन्त्रालयमा सम्प्रेषण गर्छु र नयाँ कार्यक्षेत्रमा फर्कन्छु । यसपटक प्रम शेरबहादुर देउवाकोमा बाहेक जति प्नधानमन्त्री फेरिन्छन्, कार्यालय पुग्छु र बाँके जिल्ला शान्ति समितिमार्फत प्रेषित कागजपत्र कोड गेरर आवेदन दिन्छु ।हिसाब गर्दा सम्पति अपहरण गरेको २० वर्ष र शान्तिकालको १४ वर्ष लौ न म अन्याय परेँ भन्दैमा बिते । क्षतिपूर्तिसहित फिर्ता गर्ने भन्ने नीतिभित्र मेरो पनि अधिकार नपरेको भए म धाउने थिइन । आवेदन दिन, भन्न र धाउन लागेका महादिव्य १४ वर्ष आँखा वरिपरि सल्बलाउँछन् ।
मबाट कहिल्यै कुनै कमी कमजोरी नै भएनन् भन्ने मेरो कुनै दावी छैन र रहँदैन पनि । आवश्यकताअनुसार सप्रसङ्ग कठघरामा उभिने प्रण गर्दछु । स्पष्ट पार्न नसक्ने यदि छुटफुट केही कमजोरी भए मरेपछि पनि कार्वाही भोग्न तयार भएको जानकारी गराउँदै अहिले भने उछालिन तत्पर मेरो स्टाटसले उब्जाएको प्रश्नप्रति थोरै अनुभूति राख्न चाहन्छु । मैले उठाएको विषय कुनै अमुक कामरेड वा अमुक जिल्लाप्रति मात्र लक्षित जस्तो बनाएर कतिपय भ्रमहरू बाहिर आउन खोजेको देख्छु र आश्चर्य मान्छु । पार्टीको माध्यमबाट हासिल क्षति र उपलब्धिमा मेरो पनि उत्तिकै अंश छ । कर्तव्यपरायणताको सिलसिलामा होस् वा अन्य जिम्मेवारी पूरा गर्दा होस् उपेक्षित सबैका समस्या बराबर नै हुन् भन्ने बुझ्दाबुझ्दै पनि फगत मेरो पारिवारिक विषयमा मात्र केन्द्रित रहेर दगुरेका १४ वर्षका आफ्नो अनुभव र पीडा उजागर गर्न प्रेषित मेरो स्टाटसलाई यसैअनुसार बुझिदिन हार्दिक आग्रह गर्दछु ।
विगतमा हरेक निर्वाचनमा सहभागी भएर अरु कमरेडहरूजस्तै म पनि निर्वाचनमा लागी पर्छु । हाम्रो सापेक्षतामा निर्वाचनमा जिताउँछौँ पनि । यो त हामी सबैले देखेभोगेको आम विषय नै होइन र ? पार्टीले आफ्ना मुद्दा जाति, जनजाति, उत्पीडित क्षेत्र, वर्ग लिङ्ग, महिला, दलित सबैको अधिकार सुनिश्चित गर्ने पक्षमा लागिपर्ने कुरा गरेकै छ । हामीले उल्लेखित सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी सांसद, मन्त्री अर्थात पहुँच पुगेसम्मका फिल्डहरूमा प्रतिनिधित्व भएगराएको पनि देखेकै छौँ । तर अरू पार्टीहरूभन्दा भिन्न समाजवादी आन्दोलनको तयारीमा जुट्ने भन्ने नीति बोकेको हाम्रो पार्टीका सांसद, मन्त्री वा मेयर कहीँकतै सामूहिकतामा आधारित उच्च सहकारी (Commune) कृत भएको वा आफ्नो निर्वाचनक्षेत्रमा सामूहिक सहजीवन अभ्यास गरेको मैले देखे सुनेको छैन । उच्च पदमा पुग्ने, पुर्याउने बित्तिकै आ-आफ्ना कोटा पूर्ति गर्दा (अघिपछि आश्यकताअनुसार फेरिने गरेका) अन्तर्जातीय विवाहमा गोत्र फेरिएको देखेको छैन । दुवै कोटामा परिवाका दुवै जना व्यवस्थित भएको पनि नदेखिएको कुरा भएन । सबै क्षेत्र अर्थात दलितबाट सांसद, मन्त्री, मेयर वा सांसद बनेकोले समग्र दलित वा महिलाकोटाबाट बनाइएकोले महिलाहरूको र अन्यबाट समेत मुक्तिको ढोकासम्म पनि खुलेको कहीँ कतै देखिएन । यस्तै अन्य जाति, जनजातिबाट प्रतिनिधित्व भएर सीमित र अमुक केही व्यक्तिको जीवनस्तर उठ्दैमा सिङ्गो क्षेत्र, वर्ग, लिङ्ग, जाति जनजातिको मुक्ति सम्भव भएको सुनिएन ।बरु (समानुपातिक कोटाका दोस्रो दर्जाकाहरूबाहेक) सम्बन्धित संसद, मन्त्री या उच्च पदाधिकारी राजधानीबाट जिल्ला फर्कनेबेला आ-आफ्ना मन्त्रालयअन्तर्गतका जिल्लाका कार्यालयहरूमध्ये सबभन्दा चिल्लो र चिटिक्क परेको जुन कार्यालयको गाडी छ, सो र रङ्गीचङ्गी फूलमाला लिएर एयरपोर्टमा (जहाज ग्राउण्ड नभएका जिल्लाहरूका बस अड्डाहरूमा) धनुष्टङ्कारीय लाल सलाम टक्र्याइने गरेको प्रत्यक्ष भोग्ने कमरेडहरूको कमी देखिन्न । विगतमा जीवनयापन गर्न धौधौ देखिएका हाम्रा कमरेडहरू जो अहिले पदमा हुनुहुन्छ, साँच्चै अनुशासित भएर बाँच्ने हो भने जिल्लाबाट जाने कतिपय स्थानीय नेता कार्यकर्ता भेटघाट वा राजधानीमा काम लिएर सम्पर्कमा आउनेहरूसमेतलाई सामान्य चिया नास्ता म्यानेज गर्ने हो भने निश्चय पनि फगत तलबबाट मात्र खान पुग्दैन होलाजस्तो लाग्छ । अनि पार्टीको अलाबा आफ्नै पहलमा गरेको विगत निर्वाचन ताकाको खर्च असुल उपर गर्ने गरेका तरिका र दुईचार ठाउँमा देखिने घरघडेरी तथा आकर्षक घरका योजनासमेत सुन्नमा जब आउने गर्छन्, निर्वाचन ताका विजय गराउन दगुर्दा झडपमा परेर घाइते भएका साथीहरूको स्थिति आँखासामु नाच्न पुग्छ । लौ सबै सकियो भन्ने कुरा होइन । अपवादबाहेक सबै जिल्लाहरूमा यस्तै समस्या होलान् भन्ने मेरो बुझाइ हो । यसरी सोच्दै जाँदा यहाँ त “सामूहिक सक्रियता र व्यक्तिगत जवाफदेहिता” भन्ने मार्क्सवादी प्रस्थापनाले अर्कै कोल्टो फेरेर “सामूहिक सक्रियता र व्यक्तिगत ब्रह्मलुट”मा पो परिणत भएछ कि भन्ने लागेको आशंका फुत्काउन पुगेछ, यो मेरो बोधो दिमागले ।
मिति – ११ पौष २०७८
(लेखक नेकपा (माओवादी केन्द्र)का नेता तथा शहीद परिवार हुनुहुन्छ ।)













