Ram Prasad Sapkota 'Deepshikha'
 

आजभन्दा ठिक २१ बर्ष पहिला, आजकै दिन अर्थात ०५४ साल माघ १ गते म पूर्णकालीन भएर जनयुद्धमा होमिएको दिन ।

म अघिल्लो साल एउटा राष्ट्रिय दैनिकमा दिउसो पियनको जागिर खान्थेँ र राति नन्दीरात्रि स्कुल नक्सालमा पढ्थेँ । त्यो साल पत्रिका बन्द भयो र ठमेलमा पिजेरा रेष्टुरेण्टमा काम गर्थेँ, अनि सिन्धु, काठमाडौँ विद्यार्थी संगठनमा राजनीति गर्थें ।

मलाई छापामार भएको ठाउँसम्म पुर्‍याउने क. सागर शहीद हुनुभयो, जुन घरमा पहिलो पाइला टेकिएको थियो – ऊ पछि अन्तरघाती भयो र क. सागर मारिनुभयो । त्यो साँझ निशाकार अँध्यारोमा भरूवा बन्दूकमा भेटिएकी साँहिली दिदीको ममता उनी जनयुद्धभरी जहाँ पुगिन् ती कसैले भुल्दैनन – २ साल भयो, फोन गर्न छाडिन्, सायद आन्दोलन बिग्रियो ठानिन् ।

शुरूका कस्टकर दिनहरूमा अभिभावकको भूमिका निर्वाह गर्ने हाल नेकपाका केन्द्रीय सदस्य क. क्षितिज दाजु र मैले पढेको स्पार्टाकस जस्ता लाग्ने क. ध्रुव पराजुली `सन्तोष’ जसले मलाई जनयुद्धको महावेदीमा अडिग बनाउनुभयो, उहाँहरू सधै मेरो श्रद्धामा रहनुहुनेछ । दाजु दीप जसले असनको कोठाबाट महासमरमा पुर्‍याउनुभयो – उहाँलाई भन्ने शब्द नै छैन । ती सप्पै जो महायुद्धमा थिए/छन् -सहकर्मी, सहयोद्धा हुँदै सेल्टरवाला किसान बा’हरूदेखि आमाहरूसम्म, सबैको नाम लिन सकिन – यो आजको दिन समर्पित !

मेरो परिचय जनयुद्ध हो । मैले लडेको जनयुद्धप्रति म सँधै गर्व गर्छु र आजपनि गर्वकासाथ भन्छु – म जनयुद्धको एक सिपाही हुँ । जनयुद्ध र जनयोद्धा जिन्दावाद !

(लेखक नेकपाका केन्द्रीय सदस्य तथा वाईसिएल नेपालका अध्यक्ष हुनुहुन्छ ।)