प्राचीनकालमा नारीहरुको सम्मानजनक स्थान थियो । त्यसबेला नारीहरुलाई आदरार्थी र सम्मानजनक शब्दहरूले सम्बोधन गर्ने गरेको पाइन्छ । पुरुषहरुले हार खाएका युद्धमा नारीहरुले विजय प्राप्त गरेका अनगिन्ती कथाहरु साक्षी छन् ।
नेपालको अंग्रेजसँग भएको नालापानीको युद्धमा नेपाली वीराङ्गानाहरूले देखाएको बहादुरी इतिहासमा सुनौला अक्षरले अंकित छ । २००७ सालदेखि २०४६ सालको परिवर्तनमा नारीहरुको पनि सक्रिय सहभागिता थियो । नेपाली धर्ती आकाश थर्काउँदै २०५२ सालबाट नेपालमा नेकपा माओवादीले सुरु गरेको दस वर्षे महान जनयुद्धमा नारीहरू पनि पुरुष सरह हतियार बोकेर युद्ध लडेका हाम्रै आँखाले देखियो ।
अहिलेसम्मका लडाइँ सामन्ती सत्ता र संस्कारको विरुद्धको लडाइँ हो । वर्गविभेद सबैभन्दा अमानवीय विभेद हो । वर्गीय रुपले हेर्दा महिला उत्पीडितवर्गमा पर्दछन् ।
आज स्थानीय तहमा मात्र नभई केन्द्र र प्रदेश सरकारमा पनि महिलाहरुको राम्रो सहभागिता छ । नेपालको नयाँ संविधान जारी भएपछि नेपालको प्रथम राष्ट्रपति, प्रथम सभामुख र प्रथम न्यायधीश महिला हुने अवसर मिलेको छ । सरकारी निकायहरुमा महिलाको राम्रो सहभगिता छ ।
यति हुँदाहुँदै पनि समाजमा महिलाको स्थिति चित्त बुझ्दो छैन । श्रीमती हुँदाहुँदै अर्को बिहे गर्यो । वृद्ध तथा एकल आमा दिदी, बहिनीहरुलाई बोक्सीको आरोप लगाए कुटपिट गर्ने मलमुत्र खुवाउने काम अझै व्यवहारिक रुपले पूर्ण रूपमा बन्द भएको छैन । मानसिक रुपले पीडित वा रोगी महिलाहरुलाई अस्पतालको सट्टा धामीझाँक्री लगाएर पीडामाथि पीडा थप्ने अन्धविश्वासी क्रियाकलापबाट समाजमुक्त हुन सकेको छैन ।
०६२/६३ को जनआन्दोलन स्वरुप २४० वर्षे राजतन्त्र हट्यो । राजनीतिक रुपले देशमा ठूलो परिवर्तन आयो । तर हामीले तिनले छाडेको कुसंस्कारको छापलाई हाम्रो मनबाट हटाउन नसकेकोमा हामी पीडित छौं ।अब समयले साथ दिएको छ । सबै अन्धविश्वास हटाउनु जरुर पर्छ । गर्ने हामीले नै हो ।
२०७१ साथ भाद्र ३१ गते मङ्गलबारको कान्तिपुर पत्रिकामा महिला पत्रकार रामेश्वरी पन्तले बलत्कारीहरुलाई कारवाही गर्ने कडा कानुन बनाउनुपर्छ भन्दै सुझाव सहितको समाचार दिनुभएको थियो । ३ वर्षकी बालिकादेखि ७० वर्षपछिकी आमा बलत्कारका सिकार भएका छन् भने बलात्कारमा संलग्न व्यक्तिहरु १३ वर्षे बालकदेखि ८० वर्षे वृद्ध छन् । अपरिचित भन्दा चिनेजानेका छिमेकी आफन्त नातेदार अझ डरलाग्दो रुपमा घर भित्रैका बाबु, हजुरबुवा, काका, दाजु, ससुराहरु बलत्कारमा संलग्न भेटिनुले महिलाहरुको सुरक्षामा गम्भीर चुनौतीका खबर लेखी सहयोग गर्नु भएको थियो । पूर्वी देशमा बलत्कारीलाई मृत्युदण्डको सजाय छ । तर हाम्रो देशमा बलत्कारी लगायतका फटाहालाई सुरक्षाको घेराभित्र राखेर पाल्ने चलन छ भन्दै संविधान र कानुन पीडित केन्द्रित हुनुपर्ने सुझाव दिनुभएको छ ।
पत्रकार मित्र यज्ञ प्रसाद सापकोटाले पनि २०७१ मङ्सिर ६ गतेको नयाँ पत्रिका समाचारमा ३ वर्षकी बालिका आफ्नै बाबुबाट बलात्कारमा परेको समाचार छ । आफन्त र छिमेकीबाट बलात्कार हुनेहरु १६ वर्ष मुनिका छन् । पचास प्रतिशत बालबालिका छन् । यस्ता बलत्कारका घटनाले हामीलाई रातदिन पोलेको पोल्यै छ तर न त बलत्कारका घटनालाई हेरौं । बैतडीको पूजा बोहरा सामूहिक बलात्कारमा परेकोमा न्यायका लागि अदालतमाा मुद्दा परेको सात वर्ष भै सक्दा पनि न्याय पाएकी छैनन् । २०७५ जेठ ५ गते बलत्कारमा परेकी अमृता नेपाललाई बलात्कारपछि हत्या गरियो । उनीमाथि राज्यले न्याय गर्न ढिला गर्दा १ वर्षपछि उनको अन्त्येष्टि गरियो ।
नेपाल प्रहरीका तत्कालीन प्रवक्ता एस. एस. पी. शैलेश थापाले ४ वर्ष यताको तथ्याङ्क तयार पारेका थिए । सो तथ्याङ्कमा चार वर्षमा ४, ४४५ महिला बलात्कृत भएको जानकारी छ । जस अनुसार आ.व. ०७१/७२ मा ८१, ०७२/७३ मा १०८९, ०७३/७४ मा ११३१, ०७४/७५ मा १२४४ घटना भएका छन् ।
कम्युनिस्ट पार्टी महिला हिंसा र गरिब जनताका भावना बुझ्ने पार्टी हो भनेर मलाई बुझाउने मेरा गुरु दाजु नन्दकुमार प्रसाई हुनुहुन्छ । मैले अध्यक्ष प्रचण्डको हातबाट सांसद सदस्यको प्रमाण पत्र पनि पाएँ । बलत्कारका घटनाहरुको तथ्याङ्क सुन्दा र हेर्दा पाइला पाइलामा मन बेचैन भइरहन्छ । आफू सत्ताको साझेदार भइरहँदा या जनताले आस्था र विश्वासको बिम्वको रुपमा आफ्नो अगाडि देखेको कम्युनिस्टहरुको सत्तामा पनि महिला हिंसा तथा बलत्कारका घटना घट्नुको साटो झनै बढ्दै जानु अत्यन्त पीडादायक शुलको रुपमा बिझाइरहेको छ ।
(लेखक संखुवासभाका पूर्व सभासद् हुनुहुन्छ ।)