जनता जस्ता हुन्छन्, नेता पनि त्यस्तै हुन्छन्,
अब योग्य नेता जन्माउन जनता नै योग्य हुनुपर्छ ।
हरेक नागरिकले बुझ्नैपर्छः जस्ता मातापिता हुन्छन्, त्यस्तै छोराछोरी बन्छन् । शिक्षक-प्रशिक्षकले जे जस्तो सिकाउँछन्, विद्यार्थीले त्यही छिटो सिक्छन् । विश्व जस्तो छ, मानवजाति र अन्य प्राणीले त्यस्तै भोग्छन् । जस्तो इतिहास छ, त्यस्तै सभ्यता हुन्छ । देश जस्तो छ, त्यस्तै राष्ट्रिय पहिचान हुन्छ । जनता जस्ता छन्, त्यस्तै नेता हुन्छन् ।
जस्ता मतदाता हुन्छन्, त्यस्तै जनप्रतिनिधि चुनिन्छन् । जस्ता राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री चयन हुन्छन्, त्यस्तै राष्ट्रिय नीति र योजना बन्छन् । सरकारले जस्तो निर्णय गर्छ, जस्तो निर्देशन दिन्छ, कर्मचारी, सेना, शसस्त्र बल, प्रहरीले त्यसैको कार्यान्वयन गर्छन् । संविधान, नियम, कानून जस्ता बन्छन्, न्यायलय र न्यायधीश त्यस्तै हुन्छन् ।
जस्तो राष्ट्रिय सोच, नेतृत्व, नीति, योजना र लक्ष्य हुन्छ त्यस्तै परिणाम निस्कन्छ । दिमागमा जस्तो विचार हुन्छ, त्यस्तै व्यवहार बन्छ । जस्तो चिन्तन हुन्छ, त्यस्तै चरित्र बन्छ । जस्तो भूमि, माटो छ, त्यस्तै पानी हुन्छ । जस्तो भौतिक भूबनोट हुन्छ, त्यस्तै वातावरण बन्छ । जस्तो बिउ रोपिन्छ, त्यस्तै बिरूवा उम्रिन्छ । वास्तविकता जे छ, फल पनि त्यस्तै हुन्छ । वास्तविकता भन्दा भिन्न चाहेर पनि पाइँदैन् ।
याे जीवन्त सत्यमा केन्द्रित भएर खुला चिन्तन मनन गर्ने हो भने नेपाली राजनीतिको गुदी कुरा बुझेर राष्ट्रहित, जनहितका लागि निर्शत ठोस कदम चाल्ने अनि सत्तालिप्सामा चुरलुम्म नडुबी इमान्दारितापूर्वक राष्ट्रसेवा, जनसेवामा अघि बढेर राम्रो परिणाम निकाल्ने सबल नेतृत्वपंक्ति र शिक्षित, प्रशिक्षित नागरिकहरू यो देशले अझै जन्माउन, जन्मेकालाई बचाउन, बचेकालाई अघि बढाउन किन सकेको छैन् ? यो गम्भीर प्रश्न ठडिन्छ ।
बर्तमान युग कामभन्दा धेरै कुरा गर्ने अनौठो युग हो । त्यसैमा पनि अझ मान्छेलेभन्दा विज्ञान प्रविधिले धेरै गर्ने, राज्य प्रणालीले भन्दा कम्प्युटर प्रणालीले छिटो फैलाउने वैज्ञानिक युग हो । यो क्षणभरमै सूचना र चेतना संसारका सारा मानिसको दिमागमा गुञ्जिने सञ्चार प्रविधियुक्त चमत्कारिक युग भएकोले कुनै कुरा पनि गोप्य राख्न धेरै कठिन हुन्छ, सत्य-तथ्य लुकाउन असम्भव हुन्छ । निर्णय गर्नु, काम गर्नुभन्दा पहिले नै भित्रि कुरा बाहिरिन्छ, यत्रतत्र हल्ला-खल्ला मच्चिन्छ, देश विदेशमा सूचना फैलिन्छ ।
यो कुरा मनन गरेर मैले यसपटक एउटा गोप्य कुरा सार्वजनिक गर्दैछु । राजनीतिको गुदी कुरा के हो ? त्यो खोजी गर्न म विधार्थीकालदेखि नै राजनीतिमा लागेको मान्छे । जीवनको मध्यकालतिर बल्ल मैले राजनीतिको गुदी कुरा बुझ्न थालेको छु ।
वास्तवमा राजनीति भनेको नै साम, दाम, दण्ड, भेदको नीति हो । यो नीति को-कसले, कहिले, कसरी, कसलाई, किन प्रयोग गर्ने हो र त्यसको फल धेरै वा थोरै ठीक छ कि छैन्, राज्यले के पाउँछ ? यी सबै कुराको फैसला सरकार, अदालत र सदनले गर्दछन् ।
त्यसमा पनि अझ साम, दाम, दण्ड, भेद मध्ये सबैभन्दा महत्त्वपूर्ण दण्ड नीति नै हो । यसलाई प्रजातन्त्र, लोकतन्त्र, जनवाद जे भने पनि, यसकाे लक्ष्य प्रजातान्त्रिक समाजवाद वा वैज्ञानिक समाजवाद, साम्यवाद जुन भए पनि यो संसारमा जहिलेसम्म राष्ट्रहरू रहन्छन्, राष्ट्रभित्र शासन प्रणाली चलिरहन्छ ।
जुन दिनसम्म मानिसहरू धनी वर्ग र गरिब वर्गमा विभाजित बनेर लडिरहन्छन्, त्यो बेलासम्म दण्ड अनिवार्य चाहिन्छ । अवहेलना, असमानता, असहिष्णुता, अन्याय, अत्याचार, उत्पीडिन, शोषण, दमन र शासन रहने बेलासम्म साम, दाम, दण्ड, भेद चलिरहन्छ ।
दुःखी, गरिब, शासित, शोषित वर्गले, मेहनती जनताले यो कुरा बुझेर संगठित रूपमा अघि बढे भने सम्पूर्ण सत्ता जनताको हातमा लिन कुनै गाह्रो छैन् ।
हामी बहादुर नेपालीले राजतन्त्र ढालियो, संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गरियो । यतिबेला यो देशमा साना ठूला राजनीतिक पार्टीहरूको बिलकुल कमी छैन्, रातारात च्याउझैं उम्रिएका छन् देशैभरी । नेताहरूको त झन् अभाव हुने कुरै भएन, लिखा-जुर्मा झैं फैलिरहेका छन् मातृभुमिको शरिरभरी । अब गर्नुपर्छ जनताले सत्तापक्ष, प्रतिपक्ष र अन्य सबै दलका नेताहरूलाई खबरदारी….।
वैज्ञानिक नीति, दुरदर्शी नेता, इमान्दार शासक-प्रशासक र अनुशासित जनतालाई समृद्ध नेपाल र समाजवादका पूर्वशर्त मानेर तिव्र विकास, उन्नति र समृद्धिका निम्ति, सुदृढ राष्ट्रिय एकता, पूर्ण स्वतन्त्रता र उच्च समानताका निम्ति समाजवाद रोज्नु बाहेक अर्को कुनै विकल्प छैन् । यो महान कार्य सम्पन्न गर्न नेपाली जनता अघि सर्दा प्रतिगामी, पश्चगामी र प्रतिक्रन्तिकारीहरूले जोरी खोजे भने त्यस्तालाई दण्ड नदिई सुखै छैन् ।
गर्नु पर्ने र गर्न नहुने कर्मको भित्रि गुदी कुरा जान्ने मान्छे नेताहरू नै हुनु पर्दछ । तर अहिलेको युग नै धन दौलतको युग भएको छ । जोसँत धन दौलत छ, देश-विदेशमा उसैको इज्जत हुन्छ । जसले अन्याय गरेर भए पनि धन दौलत कमाउँछ, उसैले ठूलो पद पाउँछ । जसले राष्ट्रिय ढुकुटीमा ब्रम्हलुट मच्चाउँछ, उसैले समृद्ध राष्ट्र बनाउँछु भन्छ । जसले विदेशीसित ऋणको झोली थाप्छ, उसैले जनतालाई सुख दिलाउँछु भन्छ ।
कस्तो अचम्म कालाे धन्दा गरेर, राज्यका उच्च तहमा ब्रम्हलुट मच्चाएर अकुत सम्पति थुपारेका वा शैक्षिक योग्यता र अन्य कामका लागि क्षमता नभएका, कतै कुनै काम नपाएका अयाेग्य व्यक्तिहरू राजनीतिक दलहरूमा भित्रिने र सो दलले निर्वाचनमा त्यस्तै अराजनीतिक व्यक्तिहरूलाई चुनाव लडाउने, सांसद, मन्त्री बनाउने र उनीहरूले खुला रूपमा संघ, प्रदेश र स्थानीय तहमा फोहोरी खेल्ने खेल कुचेष्टा गर्दैछन् ।
यही मौकामा चौका हान्दै यत्रतत्र, सर्वत्र विकृति, विसंगति, अराजकता र अस्थिरता फैलाएर प्रतिक्रान्ति गर्न खोज्ने कुतत्त्वहरू खुलाम्खुला सल्बलाउन थालेका छन् । यस्तो बेलामा सत्तालिप्सामा चुर्लुम्म डुबेका वा सत्तामा छिटो पुग्न खोजेका केही लोभीपापी नेताहरूको पछि लाग्ने सोझा जनता खराब कुरामा बरालिन पनि सक्छन् किनभने ती जनतामा उचित शिक्षा र विवेकको कमी भएकाले नेताको भनाइमा उनीहरू छिटो उत्तेजित हुन्छन् ।
यो कुरा बुझेका चतुर नेताहरूले जनतालाई उत्तेजित गरेर सत्ता स्वार्थका निम्ति दुरूपयोग गर्न सक्छन् । त्यस्तो दुष्कर्म गर्ने गलत नेताको पछि जान-अन्जानवश सोझा जनता लागेमा पश्चताप मात्र हुन्छ । अझ त्यसैमा ‘यी जनता भेडा हुन्’ भन्ने दोष पनि जनताले नै भोग्छन् । यो कुरामा राजनीतिक नेता र हरेक नागरिक सजग बन्नैपर्छ । सोझा जनतासित सिधा कुरा, नत्र सोझा जनतालाई धोका हुन्छ ।
विष भनेको सधैं विषै हुन्छ । विष हटाउने औषधी पनि विषै हुन्छ । त्यसैगरी काँडालाई काँडाले नै झिक्नुपर्छ । त्यसैले राजनीतिमा पनि जस्तालाई तस्तै नीति लागु गरी अब हामीहरू नै कुशल नेता, योग्य नागरिक बन्नुपर्छ । नत्र हामी सबैलाई इतिहासले धिकार्ने छ । सबैलाई चेतना भया ।