narayan sharma kamal prasad, नारायण शर्मा 'कमलप्रसाद'
 

ऐतिहासिक जनआन्दोलनको उत्कर्ष चैत्र २४ लाई ३१औँ जनआन्दोलन दिवसको रुपमा स्मरण गर्दै यही २०७७ चैत्र २४ गते पुष्पलाल अध्ययन समाजको आयोजनामा काठमाडौँको बालुवाटारस्थित नेपाल हाउसमा देशका सबैजसो पक्षका प्रतिष्ठित व्यक्तित्वहरुको सक्रिय सहभागितामा एक विमर्श कार्यक्रमका रुपमा जनआन्दोलन दिवस – चैत्र २४ मनाइयो ।

निरङ्कुश राजतन्त्र र निर्दलीय देशका पंचायती तानाशाही व्यवस्थाविरोधी सबैजसो राजनीतिक शक्तिहरु, संघसंस्था र संगठनहरु तथा स्वतन्त्र नागरिकहरुद्वारा २०४६ को ऐतिहासिक जनआन्दोलन ‘प्रहारको निशाना विन्दु एक तर आक्रमणकारी मोर्चा अनेक’ को नीति लिएर सहमतीय, संयुक्त र स्वतन्त्र भएर पनि सशक्त रुपमा गरिएको सम्पन्न भएको थियो । नेपाली काङ्ग्रेस, संयुक्त वाममोर्चा (७ वामपन्थी दलहरुको सुधारवादी मोर्चा) र संयुक्त राष्ट्रिय जनआन्दोलन (४ कम्युनिस्ट पार्टी र केही व्यक्तित्वहरुको क्रान्तिकारी मोर्चा) जस्ता शक्ति र मोर्चाहरुको सहमतिमा सो आन्दोलन भएको थियो ।

त्यसै आन्दोलनका क्रममा कम्युनिस्ट क्रान्तिकारीहरुको मोर्चा ‘संयुक्त राष्ट्रिय जनआन्दोलन’को आयोजनामा चैत्र २४ गते नेपाल बन्दको आह्वान गरियो र त्यो दिनमा भएको बन्द, जुलुस, नारा, सहादत, वीरता आदि सबै ऐतिहासिक रुपले उच्च र उल्लेखनीय भए । यसै प्रदर्शनले नै निरङ्कुश राजतन्त्रलाई संवैधानिक राजतन्त्रको रुपमा र निर्दलीय पंचायती व्यवस्थालाई बहुदलीय संसदीय प्रजातान्त्रिक व्यवस्थाको रुपमा अवलम्बन गर्नैपर्ने बाध्यात्मक अवस्थामा नेपाली तानाशाही शासकहरुलाई पुराएको थियो । फलस्वरूप २ दिनपछि चैत्र २६ गते नै सम्झौता गर्न शासकहरु बाध्य भएका थिए र २०१७ सालमा अपहरित बहुदलीय संसदीय व्यवस्थाको पुनर्प्राप्ति भएको थियो ।

स्मरणीय छ कि ठुला भनिएका दल काङ्ग्रेस र ७ दल सम्मिलित वममोर्चाले आह्वान गरेका अन्य अघिल्ला कार्यक्रमहरुभन्दा ४ साना दलहरु मिलेर बनेको एउटा क्रान्तिकारी मोर्चाको आयोजना र आह्वानमा चैत्र २४ नै त्यसरी लाखौँको संख्यामा ज्यानको बाजी लगाएर किन जनता आन्दोलनमा उत्रिए ? स्पष्ट कुरा के हो भने त्यो मोर्चाले नेकाँ र वाममोर्चाले जस्तै पुरानै अपहरित संसदीय बहुदलीय व्यवस्थाको माग नगरेर नयाँ जनवादी गणतन्त्रात्मक सच्चा कम्युनिस्ट शासन व्यवस्थाको माग गरेको थियो । त्यसैले त त्यसदिन “राजतन्त्र – मुर्दावाद” र “नौलो जनवाद – जिन्दावाद” भन्दै राजा वीरेन्द्र बस्ने नारायणहिटी राजदरबारतिर विशाल जुलुस अघि बढिरहेको थियो र २०१७ सालमा फौजी ‘कू’ गर्ने तत्कालीन राजा महेन्द्रको दरबारमार्गस्थित सालिकलाई तोडिरहेको थियो । त्यसक्रममा सुरक्षाकर्मीहरुद्वारा लगातार गोली बर्साउँदा एकपछि अर्को गर्दै आधा दर्जन जति आन्दोलनकर्मीहरुको त्यहीँ नै सहादत भएको थियो ।

तर विडम्बना, जनताको राजतन्त्रविरोधी त्यो चेतना, आन्दोलनको नयाँ जनवादी गणतन्त्रको माग र आन्दोलनकारीहरुको त्यो वीरता र बलिदानलाई दुत्कार्दै नेपाली काङ्ग्रेस र वाममोर्चाका नेताहरुले राजा र पञ्चे शासकहरुसँग ‘संवैधानिक राजतन्त्र र बहुदलीय संसदीय व्यवस्था अवलम्बन गर्ने’ गरी चैत्र २६ गते रातारात सम्झौता गरे । यसरी गणतान्त्रिक क्रान्ति र मुक्तिप्रति धोका, विश्वासघात र गद्दारी भयो ।

तत्कालै यो कुराको विरोध गर्दै नेकपा तत्कालीन नेकपा (मशाल) का तर्फबाट ऐतिहासिक रातो पर्चा प्रकाशन गरी वितरण गरियो । यसरी सम्झौता धोका भएको र यो बहुदलीय व्यवस्था पुँजीवादी व्यवस्था भएको र सारमा साम्राज्यवादी विश्वव्यवस्थाकै अङ्ग भएको भन्दै तीव्र विरोध र भण्डाफोर गरियो । चैत्र २४ गतेको बन्द कार्यक्रमको आयोजक मोर्चा संयुक्त राष्ट्रिय जनआन्दोलनले यसै स्पिरिटमा विरोध गर्दै रोष प्रकट गर्यो । दुःखको कुरा देशी-विदेशी प्रतिक्रियावादी गोटीहरुले यो कुराको सुनुवाइ गरेनन् । सुनुवाइ नगरेको मात्र होइन, उल्टै यो विरोधलाई ‘बहुदलीय व्यवस्थालाई साम्राज्यवादी बहुदल भनेको’ भन्दै मशाल लगायत क्रान्तिकारी शक्ति र व्यक्तिहरुलाई खिसिट्युरी र निन्दा गर्न थाले ।

तर केही वर्षको अन्तरालमै पुन: देश र जनताको दुर्गति बढ्दै गएकोले एकातिर माओवादी जनयुद्धद्वारा राजतन्त्र र संसदीय व्यवस्थाको उन्मूलनका लागि भीषण प्रयास भयो भने अर्कातिर माओवादी र जनयुद्धलाई दबाउने नाममा राजा ज्ञानेन्द्रले संसद् र सरकार विघटन गरी सम्पूर्ण राज्यसत्ता हातमा लिएर प्रत्यक्ष शासन लादे । परिणामत: अन्तमा केही वर्षपछि त काङ्ग्रेस-एमाले लगायतका सबै संसदवादी-सुधारवादी शक्तिहरु समेत राजतन्त्रविरोधी गणतान्त्रिक आन्दोलन गर्न बाध्य भएर नै ०६२/६३ को दोस्रो जनआन्दोलन भयो र राजतन्त्र फालियो ।

विडम्बना फेरि पनि उहीँ पुरानै पुँजीवादी-साम्राज्यवादी बहुदलीय संसदीय व्यवस्थालाई सुधारिएको पञ्चायत व्यवस्था भनेझैँ सुधारिएको समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रको नाम दिएर संविधानमार्फत पुनर्स्थापित गरियो र नयाँ जनवादी गणतन्त्रलाई फेरि पनि निषेध गरी देश, जनता र क्रान्तिलाई पुन: धोका भयो । यो कुराको कमरेड किरण नेतृत्वको तत्कालीन नेकपा – माओवादीले तत्कालै तीव्र र सशक्त विरोध गर्दै अब जनयुद्धको जगमा जनविद्रोहद्वारा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी जनगणतन्त्र स्थापना गरेर वैज्ञानिक समाजवादको मार्गमा अघि बढ्ने घोषणा गर्‍यो भने अन्य जनजाति र मधेसी समुदाय सम्बद्ध शक्ति र संघ-संस्थाहरुले पनि धेरै-थोरै विरोध गरे ।

जे होस् यो सबै कुरा सार, संक्षेप, संकेत र समग्रमा कार्यक्रमका सहभागी टङ्क कार्की र सीपी मैनाली बाहेक सबैजसोले स्वीकार्दै चैत्र २४ को मूल मर्म, भावना र योगदानलाई यसैअनुसार स्मरण र आत्मसातीकरण गर्दै कार्यान्वयन गर्ने प्रण-प्रतिज्ञा गरियो ।

कार्कीजीको विचार आयो कि वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र नै सर्वाधिक राम्रो व्यवस्था भएकोले यसको विकल्प खोज्ने चर्का क्रान्तिकारी कुरा गर्नु केटौले कुरा हुन्छ ।

त्यस्तै मैनालीजीको विचारमा गणतन्त्र भनेर आन्दोलन गरेका नेता र गरिएका र गरिने आन्दोलन स्वतन्त्र, इमान्दार र देशभक्तिपूर्ण नदेखिएकाले गणतान्त्रिक आन्दोलन गर्नु गलत हो, हुन्छ र हुनेछ । कम्युनिस्ट पार्टीको सदस्य हुनुको नाताले उहाँले कम्युनिस्ट आन्दोलनलाई यस्तो यथास्थितिवादी र राजतन्त्रवादी धारमा सीमित गर्न खोज्ने सोच र संस्कार सहभागी सबैजसोलाई विचित्रको लाग्यो, जो स्वाभाविक नै हो ।

जे होस्, तत्कालीन जनआन्दोलन परिचालन कमिटीका एक जिम्मेवार देशभक्त वामपन्थी नेता लीलामणि पोख्रेल, कपील श्रेष्ठलगायत बौद्धिक व्यक्तित्वहरुको गहन समीक्षा र सुझावहरु र सबैजसो वक्ता महानुभावहरुले कार्यक्रम सान्दर्भिक, औचित्यपूर्ण र महत्वपूर्ण रहेको भन्दै वर्तमानको राजनीतिक संकटको समाधानका निम्ति विगतमा जस्तो संयुक्त र सशक्त जनआन्दोलन आज झन् जरुरी भएको भन्ने मन्तव्यहरुको निष्कर्षमा व्यक्त मूल स्पिरिटमा ऐक्यभाव प्रकट गरेकै प्रतीत भयो, जो कार्यक्रमको ठुलो सफलता थियो ।

कार्यक्रमको सफलतासँगै कार्यक्रमका प्रस्तावक तथा पहलकर्ताका नाताले र आयोजक पुष्पलाल अध्ययन समाजको उपाध्यक्ष तथा संयुक्त राष्ट्रिय जनआन्दोलनको मुख्य घटक तत्कालीन नेकपा (मशाल) को एक जिम्मेवार सदस्यको हैसियतले विषयवस्तु प्रस्तुत गर्न पाएको हिसाबले म स्वयंलाई पनि सन्तोष र प्रेरणा मिलेको छ । आयोजक संस्था पुष्पलाल अध्ययन समाज र यसका अध्यक्ष लोककृष्ण भट्टराई, स्वागतकर्ता सक्रिय महिला सदस्य किरण मोक्तान, उपाध्यक्ष एवं वाममोर्चाका तर्फबाट विषय प्रस्तोता बोर्णबहादुर कार्की, सचिव सञ्चाचालक निलकण्ठ तिवारी, उपाध्यक्ष, धन्यवाददाता एवं कार्यक्रमका समीक्षक हस्तबहादुर केसी र सचिव कार्यक्रमका संयोजनकर्ता भरत गौतम लगायत कार्यक्रममा उपस्थित पुष्पलाल अध्ययन समाजका नेतृत्वका अन्य वरिष्ठ पदाधिकारीहरु लगायत सबैले कार्यक्रम सान्दर्भिक र सफल भएकोमा हर्ष र सुखको अनुभूति गरियो ।

यति मात्र होइन, पुन: तेस्रो र अन्तिम निर्णायक जनआन्दोलनको आयोजना, संगठन र संयोजन गर्नुपर्ने जिम्मेवारी फेरि पनि जनआन्दोलनको कार्यनीतिका प्रणेता र नयाँ जनवादी क्रान्तिका रणनीतिकार कमरेड माओका सच्चा उत्तराधिकारी कामरेड पुष्पलालका अनुयायी हुनुका नाताले पनि हामीमाथि नै यो जिम्मेवारी आइलागेको हो भने त्यो बोध र बहन गर्न तयार रहनुपर्ने समेत महसुस गरियो । आगे अगुवाहरुको कर्तब्यपरायणता र जनताको खबर्दारी भया ।

२०७७ चैत्र २७, रानीबुँ, ललितपुर ।

(लेखक नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य हुनुहुन्छ ।)