कमरेड पुष्पलाल, कम्युनिष्ट, Comrade Pushpa Lal, क. पुष्पलाल, नेपाल कम्युनिस्ट पार्टी को पहिलो घोषणापत्र
 

नेपाली कम्युनिष्ट आन्दोलन आज आफ्नो इतिहासको एक अत्यन्तै संवेदनशील र निर्णायक मोडमा उभिएको छ। एकातिर समाजवादको आधार निर्माण गर्ने ऐतिहासिक कार्यभार हाम्रा सामु छ भने अर्कोतिर, आन्दोलनभित्र वैचारिक जडता, संगठनात्मक शिथिलता र पुस्तागत अन्तरविरोधहरूका थुप्रै जटिलताहरू देखा परेका छन् । यस्तो परिस्थितिमा मार्क्सवाद–लेनिनवाद–माओवाद (मालेमावाद) को आलोकमा पार्टी निर्माणको प्रश्नलाई गम्भीरतापूर्वक हल गर्नु आजको आवश्यकता हो । यसै सन्दर्भमा, “प्रौढ, वयस्क र युवा” अर्थात् “पुरानो पुस्ताका अनुभवी, मध्यम वा अधबैँसे उमेरका क्रियाशील र नयाँ पुस्ताका ऊर्जाशील युवा क्रान्तिकारीहरू”को सृजनात्मक संयोजन — अर्थात् “तीनको एकमा संयोजन” — को सिद्धान्त केवल एक संगठनात्मक ढाँचा मात्र होइन, यो क्रान्तिको निरन्तरता र विजयको सुनिश्चितता गर्ने रणनीतिक प्रश्न हो ।

त्यसैले पार्टी निर्माणको प्रश्न केवल सदस्य संख्या बढाउने प्रश्न होइन। यो क्रान्तिको उत्तराधिकार सुरक्षित गर्ने वैचारिक-राजनीतिक प्रश्न हो। यदि पार्टीले पुस्तागत निरन्तरतालाई वैज्ञानिक ढंगले योजनाबद्ध गर्न सकेन भने पार्टी जडसूत्रवादी बन्छ, नौकरशाहीकरण हुन्छ, र अन्ततः संशोधनवादको शिकार हुन्छ।

१. क्रान्ति एक पुस्ताको होइन, पुस्ताहरूको संयुक्त यात्रा हो

विश्व कम्युनिष्ट आन्दोलनको इतिहासले प्रमाणित गरेको छ — क्रान्ति कुनै एक पुस्ताको कार्य होइन, न त यो कुनै एक व्यक्ति वा क्षणको परिणति हो । यो एक ऐतिहासिक प्रक्रिया हो, जसलाई एउटा पुस्ताले प्रारम्भ गर्छ, अर्कोले विकसित गर्छ र त्यसपछिका पुस्ताहरूले नयाँ उचाइमा पुर्‍याउँछन् ।

मार्क्स र एंगेल्सले वैज्ञानिक समाजवादको सैद्धान्तिक आधार तयार गर्नुभयो । क. लेनिनले त्यो सिद्धान्तलाई जीवन्त व्यवहारमा उतारेर रुसमा अक्टोबर समाजवादी क्रान्ति सम्पन्न गर्नुभयो । क. स्टालिनले समाजवादी निर्माणको विशाल ऐतिहासिक कार्यभार वहन गर्नुभयो।

क. माओत्सेतुङको नेतृत्वमा चिनियाँ क्रान्तिले मार्क्सवादलाई नयाँ उचाइमा पुर्‍यायो, जसलाई क. सि चिनफिङको नेतृत्वमा नयाँ तरिकाले अघि बढ्दैछ । त्यसरी नै प्रजातान्त्रिक जनगणतन्त्र कोरियामा क. किम इल सुङ र क. किम जोङ इल हुँदै क. किम जोङ उनको नेतृत्वमा क्रान्तिको निरन्तरतासहित क्रमिक विकास र सुदृढीकरण भएको छ । यहाँ नेतृत्व हस्तान्तरण, क्रान्ति र त्यसको निरन्तरता बारे विभिन्न प्रश्नहरू हुनुको बाबजुद पनि यी प्रत्येक चरणमा पुराना, मध्यम पुस्ता र नयाँ युवा क्रान्तिकारीहरू बिचको सृजनात्मक सम्बन्धले नै आन्दोलनलाई अगाडि बढाएको थियो । प्रत्येक चरणमा एउटा पुस्ताले अर्को पुस्ताका लागि आधार तयार गर्‍यो र सही राजनीतिक लाइनको निरन्तरतामा क्रान्ति अगाडि बढ्यो।

Nahendra Khadka, नहेन्द्र खड्का, peasant leader, national land commission
लेखक

नेपालको कम्युनिष्ट आन्दोलनमा पनि यही सत्य लागु हुन्छ । नेपालको सन्दर्भमा पनि क. पुष्पलालले बिजारोपण गरेको नेपालको कम्युनिष्ट आन्दोलनलाई क. मनमोहन अधिकारी, क. मोहनविक्रम सिंह, क. निर्मल लामा, क. नरबहादुर कर्माचार्य, क. निरञ्जन गोविन्द वैद्य, क. तुलसीलाल अमात्य, क. विष्णुबहादुर मानन्धर, क. कृष्णराज बर्मा, क. मदन भण्डारी, क. भक्तबहादुर श्रेष्ठ, क. मोहन वैद्य, क. श्यामप्रसाद शर्मा र क. कृष्णदास श्रेष्ठ लगायतका नेताहरूले निरन्तर प्रशिक्षित गर्नुभयो । उहाँहरूले लिएको विचार, कार्यदिशा र त्यसको राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रभावको बारेमा हामी सबै सहमत हुन नसकौँला, त्यसबारे छलफल गर्न सकिएला, जुन यस आलेखको मुख्य विषय होइन; तर उहाँहरूको योगदानलाई अवमूल्यन गर्न किमार्थ सकिँदैन ।

क. प्रचण्डको नेतृत्वमा भएको दश वर्षे महान् जनयुद्धको कालखण्डले हजारौँ नयाँ क्रान्तिकारीहरू जन्मायो र नेपालको आफ्नो विशिष्टता र विशेषतामा जनवादी क्रान्ति सम्पन्न गर्दै देशलाई समानुपातिक तथा समावेशी प्रतिनिधित्व सहितको संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा पुर्‍याउने ऐतिहासिक सफलता प्राप्त गर्‍यो । नेपाली कम्युनिष्ट आन्दोलनको शान्तिपूर्ण संघर्ष र जनआन्दोलनको मोर्चामा क. माधव नेपाल, क. झलनाथ खनाल, क. सिपि मैनाली, क. अमिक सेरचन, क. नारायणकाजी श्रेष्ठ, क. चित्रबहादुर केसी, क. चन्द्रदेव जोशी, क. गणेश साह र क. नन्दकुमार प्रसाईँ लगायतका नेताहरूको भूमिका पनि त्यतिकै उल्लेखनीय छ ।

अतः क्रान्ति एउटा पुस्ताको होइन, पुस्ताहरूको संयुक्त यात्रा हो भन्ने कुरा हामीले बुझ्नुपर्छ ।

२. बुर्जुवा पुस्तावाद र “अन्ध-नवयुवावाद” को भ्रम

यतिबेला नेपालमा एउटा रोचक र खतरनाक राजनीतिक भाष्य निर्माण गरिँदैछ: “सबै समस्याको कारण पुराना नेताहरू हुन्, सबै समस्याको समाधान नयाँ पुस्ता हो, र पुराना हटेर नयाँ आएपछि देशका सबै समस्या समाधान हुन्छ, देश स्वतः परिवर्तन हुन्छ।”

कम्युनिष्ट पार्टीहरूमा समेत युवा पुस्ता नेतृत्वमा आए सबै ठिक भइहाल्ने बहस चल्न थालेको छ । सामाजिक सञ्जाल, उदारवादी बुद्धिजीवी र बाह्य शक्ति केन्द्रहरूबाट प्रचारित यो दृष्टिकोण मार्क्सवादी वा द्वन्द्वात्मक भौतिकवादी होइन । यो वर्गीय दृष्टिकोण पनि होइन। बरु बुर्जुवा व्यक्तिवाद र यान्त्रिक सोचको अभिव्यक्ति हो ।

आजको नवउदारवादी राजनीतिले इतिहासलाई बोझका रूपमा चित्रित गर्छ, संघर्षको अनुभवलाई अप्रासंगिक बनाउँछ, र ‘नयाँ अनुहार’, ‘नयाँ ब्राण्ड’, ‘नयाँ पुस्ता’ जस्ता अवधारणाहरूलाई स्थापित गरेर संगठनात्मक स्मृतिलाई कमजोर पार्छ। क्रान्ति बजारको कुनै उत्पादन वा बिकाऊ माल होइन। यो त वर्गसंघर्षको परिणाम हो ।

क. लेनिनले बारम्बार जोड दिनु भएको थियो कि पार्टीको मूल्याङ्कन उसको राजनीतिक लाइनबाट गरिनुपर्छ । क. माओले पनि स्पष्ट रूपमा भन्नुभएको थियो, ‘सही वा गलत राजनीतिक तथा वैचारिक लाइनले सबै कुरा निर्धारण गर्छ।’

मार्क्सवादले समाज परिवर्तनको आधार ‘उमेर’ लाई होइन, समाजको वर्गीय स्थिति र वर्गसंघर्षलाई मान्दछ । कुनै व्यक्ति युवा हुँदैमा क्रान्तिकारी हुँदैन र वृद्ध हुँदैमा प्रतिक्रियावादी हुँदैन ।

यदि उमेर मात्रै निर्णायक हुन्थ्यो भने संसारका सबै युवा नेताहरू क्रान्तिकारी हुनुपर्थ्यो, तर वास्तविकता यसको ठीक उल्टो छ — संसारभरिका धेरै प्रतिक्रियावादी आन्दोलनहरू युवाहरूको नेतृत्वमा नै सञ्चालित छन् ।

अर्कोतर्फ, फिडेल क्यास्ट्रो, हो ची मिन्ह, नेल्सन मण्डेला, चे ग्वेभारा, क. पुष्पलाल, गोञ्जालो, जोसे मारिया सिँसो लगायत अनेक नेताहरू जीवनको अन्तिम समयसम्म जनताको पक्षमा उभिए। त्यसैले प्रश्न “को युवा?” वा “को वृद्ध?” भन्ने होइन, प्रश्न “को जनताको पक्षमा छ?” र “कसको विचार सही छ?” भन्ने हो ।

मालेमावादले अन्ध-युवावाद र अन्ध-पुरानोपन्थ दुवैलाई अस्वीकार गर्छ। हामी न पुरानो भएकाले सही हुन्छौँ, न नयाँ भएकाले। हामी सही राजनीतिक विचार र लाइनका आधारमा सही हुन्छौँ। यदि पुस्तावादलाई दुई लाइन संघर्षको ठाउँमा राखियो भने वर्गीय विश्लेषण समाप्त हुन्छ र राजनीतिलाई जीवविज्ञानले प्रतिस्थापन गर्छ — जुन मार्क्सवादले कदापि स्वीकार गर्दैन।

३. “तीनको एकमा संयोजन”: अनुभव, क्षमता र नवप्रवर्तनको संश्लेषण

सांस्कृतिक क्रान्तिको अवधिमा चिनियाँ कम्युनिष्ट पार्टीले एउटा अत्यन्त महत्वपूर्ण संगठनात्मक सिद्धान्त विकास गर्‍यो : ‘पुराना, मध्यवयका र युवा क्याडरहरूको सृजनात्मक संयोजन’ (Three-in-One Combination), जुन आज पनि अत्यन्त सान्दर्भिक छ ।

‘तीनको एकमा संयोजन’ (Three-in-One Combination) भनेको वास्तवमा कम्युनिष्ट पार्टी र जनसंगठनहरूका प्रत्येक कमिटीमा तीन पुस्ताको प्रतिनिधित्व गराई संगठन निर्माण गर्ने विधि हो, जसमा अनुभवले खारिएको प्रौढ (पुरानो) पुस्ता, क्रियाशील र क्षतावान अधबैँसे अर्थात् बयस्क वा मध्ययम पुस्ता र ऊर्जाशील नौजवानहरूको युवा पुस्तालाई समेटिन्छ । यसमा युवा र विद्यार्थी संगठन अपवाद हुन्छन्, जहाँ नौजवान युवा पुस्ता मात्र संगठित हुन्छ।

अध्यक्ष माओले यसलाई केवल संगठनात्मक प्रश्नका रूपमा होइन, समाजवादको भविष्यसँग जोडिएको जीवन-मरणको प्रश्नका रूपमा हेर्नुभयो । यदि पार्टीले नयाँ पुस्तालाई क्रान्तिकारी उत्तराधिकारीका रूपमा तयार गर्न सकेन भने समाजवादभित्रैबाट पुँजीवाद पुनःस्थापित हुनसक्ने खतरा रहन्छ । यो चेतावनी सोभियत संघको दुःखद विघटनपछि झन् बढी सत्य सावित भएको छ।

“तीनको एकमा संयोजन” को सार केवल उमेरगत प्रतिनिधित्व होइन, बरु अनुभव, क्षमता र नवप्रवर्तनको द्वन्द्वात्मक संश्लेषण हो । यी तीन शक्तिहरूको एकताले पार्टीलाई स्थिर तर गतिशील, अनुशासित तर सिर्जनशील, अनुभवी तर नवीन, परम्पराप्रति प्रतिबद्ध तर भविष्यप्रति खुला बनाउँछ  यस्तो संरचनाले नेतृत्वमा जडता, नोकरशाहीकरण, व्यक्तिवाद र पुस्तागत विभाजनलाई प्रभावकारी रूपमा रोक्छ। यो त्रिशक्तिको स्वरूप यस्तो छ :

क. अनुभवी क्रान्तिकारीहरूः क्रान्तिका जीवित इतिहास

नेपाली कम्युनिष्ट आन्दोलनको पुरानो तथा अनुभवी पुस्ता क्रान्तिको जीवित इतिहास हो । त्यो पुस्ताका कमरेडहरू पार्टी र वर्ग संघर्षका जीवित विद्यालय र अभिलेखालय हुन् । पञ्चायती दमन, जेल जीवन, भूमिगत संगठन, दशवर्षे महान्‌ जनयुद्ध, शान्ति प्रक्रियाका उकाली-ओरालीहरू र गणतान्त्रिक रूपान्तरणका अनुभवहरू पुस्तकबाट मात्र सिक्न सकिँदैन।

संघर्ष, त्याग, बलिदान, विजय, सफलता र असफलताका प्रत्यक्ष साक्षी भएका नाताले उहाँहरूमा वर्गसंघर्षको गहिरो अनुभव, राजनीतिक परिपक्वता र रणनीतिक दूरदृष्टि हुन्छ । उहाँहरूको भूमिका क्रान्तिकारी परम्पराको संरक्षण र वैचारिक स्पष्टता प्रदान गर्नु हो । उहाँहरूले विजय र पराजयका कारण, अवसरवादका खतरा, संशोधनवादका रूपहरू, र जनतासँग सम्बन्ध निर्माण गर्ने गहिरो कला देख्नुभएको, भोग्नुभएको र बुझ्नुभएको छ ।

क. माओले भन्नुभएको छ, ‘इतिहास बिर्सनेहरू भविष्य निर्माण गर्न सक्दैनन्।’ मार्क्सवादी द्वन्द्ववादले सिकाउँछ: अनुभवले नेतृत्व गर्नुपर्छ, तर विकासलाई रोक्नु हुँदैन। पुरानो पुस्ताको ऐतिहासिक जिम्मेवारी केवल नेतृत्वमा बसिरहनु होइन। उनीहरूको महान् जिम्मेवारी नयाँ नेतृत्व र उत्तराधिकारी निर्माण गर्नु पनि हो । सही उत्तराधीकारीको अभावमा क्रान्ति विघटित हुन्छ र प्रतिक्रान्तिमा बदलिन्छ । क्रान्तिकारी नेतृत्वको महानता केवल नेतृत्व कौशलमा मात्र होइन; आफूभन्दा सक्षम उत्तराधिकारी पुस्ता तयार गर्न सक्नुमा निहित हुन्छ। यो नेपाली कम्युनिष्ट आन्दोलनका शीर्ष नेताहरूको एउटा संवेधनशील र गम्भीर जिम्मेवारीको रूपमा रहेको छ ।

ख. मध्यम पुस्ताः पार्टीको मेरुदण्ड

यदि अनुभवी नेतृत्व पार्टीको इतिहास हो भने मध्यम (अधबैँशे) पुस्ता पार्टीको मेरुदण्ड हो। मध्यम पुस्ताका क्याडरहरू पार्टी सञ्चालन, पार्टी र जनसंगठन निर्माण, जनपरिचालन, पार्टी नीति रसंघर्षको कार्यान्वयन र नयाँ क्याडरहरू उत्पादनका मुख्य वाहक हुन् । उनीहरू एकातिर वरिष्ठ नेतृत्वबाट सिक्छन् भने अर्कोतिर युवा पुस्तासँग प्रत्यक्ष जोडिएर पुलको काम गर्छन् । उनीहरूको भूमिका पार्टीको व्यावहारिक शक्ति र संगठनात्मक एकता कायम राख्नु हो ।

मध्यम पुस्ताले पुराना र नयाँ बिच जीवन्त पुलको काम गर्नुपर्छ। यदि मध्यम पुस्ताले आफ्नो जिम्मेवारी पूरा गर्न सकेन भने पुस्तागत तनाव (टकराव) बढ्छ, पार्टी र क्रान्तिको निरन्तरता समेत खतरामा पर्छ। यदि उनीहरूले आफ्नो भूमिका सही ढंगले निर्वाह गरे भने पार्टीको निरन्तरता सहज हुन्छ र क्रान्तिको गति अटुट रहन्छ।

ग. युवा क्याडरहरूः क्रान्तिको भविष्य र वर्तमान

अध्यक्ष माओले युवालाई बिहानको सूर्यसँग तुलना गर्नुभएको थियो। युवा शक्तिमा साहस, सिर्जनशीलता, नयाँ ऊर्जा, प्रविधिमैत्री सोच र परिवर्तनको तीव्र आकांक्षा हुन्छ । उनीहरू नयाँ प्रविधि, नयाँ सामाजिक प्रवृत्ति र नयाँ वर्गीय अन्तरविरोधहरूलाई छिटो बुझ्न सक्छन् ।

आज नेपालको युवा पुस्ता नवउदारवादले सिर्जना गरेको बेरोजगारी, गरिबी, महङ्गी, अस्वस्थ प्रतिस्पर्धा, वैदेशिक पलायन, पुँजीवादी उपभोक्तावाद, डिजिटल पुँजीवाद, कृत्रिम बौद्धिकता (एआई), सांस्कृतिक साम्राज्यवाद, जलवायु संकट र कृषि संकटको प्रत्यक्ष मारमा छ।

यी नयाँ चुनौतीहरूलाई बुझ्न र तिनका विरुद्ध संघर्ष निर्माण गर्न युवा नेतृत्व अपरिहार्य छ। युवाहरूलाई केवल भविष्यको नेतृत्व होइन, वर्तमानको सक्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्छ । तर क. माओले केवल जोशलाई मात्र पर्याप्त मान्नु भएन । युवा नेतृत्व केवल नाराबाट निर्माण हुँदैन, यो वर्गसंघर्षको अभ्यासबाट निर्माण हुन्छ।

युवा क्याडरहरू सामाजिक सञ्जाल र कोठे बैठकहरूमा मात्र सीमित हुने होइन, जनताको बिचमा जानुपर्छ । पार्टीले पनि युवाहरूलाई त्यसरी नै जिम्मेवारी दिएर पठाउनुपर्छः किसान, मजदुर, दलित समुदाय, भूमिहीन सुकुम्बासी, महिला, र उत्पीडित समुदायको बिचमा । जनताको जीवन र संघर्षसँग जोडिएर मात्र क्रान्तिकारी नेतृत्वको विकास हुन्छ।

४. जनदिशा र नेतृत्व निर्माणको कार्यपद्धति

माओवादको एउटा मौलिक योगदान ‘जनदिशा’ (Mass Line) हो: “जनताबाट सिक, जनतातिर फर्क” । अर्थात्‌ जनताबाट विचार लिनु, तिनलाई वैज्ञानिक रूपमा संश्लेषण गर्नु र पुनः जनतामा फर्काउनु।

सही नेतृत्व कहिल्यै पनि जनताभन्दा माथि वा सामाजिक सञ्जालको भर्चुअल संसारबाट पैदा हुँदैन । यो त किसान, मजदुर, दलित, महिला र उत्पीडित समुदायको संघर्षको भट्टीबाट खारिएर निर्माण हुन्छ । सामाजिक सञ्जालमा लोकप्रियता प्राप्त गर्नु मात्र नेतृत्व होइन । भाषण गर्न जान्नु र मिडियामा देखिनु मात्र पनि नेतृत्व होइन । मालेमावादी दृष्टिकोणमा नेतृत्व भनेको किसान-मजदुर आन्दोलन, भूमिहीन सुकुमवासीहरूको संघर्ष, महिला मुक्ति आन्दोलन र राष्ट्रिय स्वाधीनताको संघर्षका मोर्चाहरूबाट जन्मिन्छ र जनजीवनका विद्यालयहरूबाट प्रशिक्षित हुन्छ र वैज्ञानिक समाजवादप्रतिको अविच्छिन्न निष्ठाबाट क्रियाशील हुँदै अघि बढ्छ ।

आजको हाम्रो कार्यभार भनेको प्रत्येक पार्टी कमिटीलाई ‘नेतृत्वको विद्यालय’ का रूपमा विकसित गर्नु हो । प्रत्येक वरिष्ठ नेताले आफ्नो भन्दा सक्षम उत्तराधिकारी तयार गर्नुपर्छ र यो नै एक क्रान्तिकारी नेतृत्वको महानता हो ।

५. जनवादी केन्द्रीयता र सुदृढ एकता

क. लेनिनले जनवादी केन्द्रीयतालाई पार्टीको जीवनरेखा भन्नुभएको छ । जनवादी केन्द्रीयता दुई पक्षको एकता हो : व्यापक जनवाद अर्थात् लोकतन्त्र र सुदृढ केन्द्रीयता।

तीन पुस्ताको संयुक्त नेतृत्व वास्तवमा जनवादी केन्द्रीयताको जीवन्त अभ्यास हो । यसले सामूहिक नेतृत्व विकास गर्छ, व्यक्तिवाद र गुटवादलाई रोक्छ र उत्तराधिकार सुनिश्चित गर्छ । पार्टीभित्र दुई लाइन संघर्ष अपरिहार्य छ, तर यसलाई वृद्ध र युवा बिचको संघर्षमा रूपान्तरण गर्नु गलत हो । संघर्ष सधैँ सही र गलत लाइन बिच, जनमुखी र जनविरोधी दृष्टिकोण बिच हुन्छ । जहाँ एउटा पुस्ताले अर्को पुस्तालाई दबाउँछ, त्यहाँ जनवादी केन्द्रीयता कमजोर हुन्छ; जहाँ पुस्ताहरू बिच सहयोग हुन्छ, त्यहाँ पार्टी अजेय बन्छ।

६. उत्तराधिकारीको मापदण्ड र नेपाली सन्दर्भ

सन् १९६४ मा क. माओले ‘क्रान्तिकारी उत्तराधिकारीका पाँच मापदण्ड’ प्रस्तुत गर्नुभएको थियो । यी मापदण्डहरू आज पनि पूर्ण रूपमा सान्दर्भिक छन् । क्रान्तिकारी उत्तराधिकारीः

▸ मार्क्सवाद-लेनिनवादप्रति निष्ठावान हुनुपर्छ।
▸ जनताको सेवामा समर्पित हुनुपर्छ।
▸ जनतासँग घनिष्ठ सम्बन्ध राख्नुपर्छ।
▸ जनवादी केन्द्रीयताको अभ्यास गर्नुपर्छ।
▸ आत्मालोचना गर्न सक्ने हुनुपर्छ।

क. माओले कतै पनि उमेरलाई मापदण्ड बनाउनु भएको छैन किनभने उत्तराधिकारी निर्माण राजनीतिक प्रश्न हो, जैविक प्रश्न होइन । नेपालको सन्दर्भमा यी मापदण्ड लागु गरेर हेर्दा नेपाली कम्युनिष्ट पार्टीहरूले क्रान्तिकारी उत्तराधिकारी निर्माणको प्रश्नलाई कत्तिको गम्भीरतासँग लिएका छन् भन्ने आत्मपरीक्षण गर्नु अत्यावश्यक छ।

७. तीनको एकमा संयोजनको व्यावहारिक कार्यान्वयन

सिद्धान्तलाई व्यवहारमा उतार्नु नै मालेमावादको प्रमुख आधार हो। ‘तीनको एकमा संयोजन’ को सिद्धान्तलाई कम्युनिष्ट पार्टीका सम्पूर्ण तहमा ठोस रूपमा लागु गर्नुपर्छ।

क. केन्द्रीय नेतृत्वमा:

पार्टीको केन्द्रीय समिति, कार्य सम्पादन समिति (पोलिट ब्युरो), स्थायी समिति, केन्द्रीय कार्यालय (हेडक्वार्टर) वा सचिवालयमा प्रौढ (अनुभवी), अधबैँशे मध्यम (क्रियाशील) पुस्ता र  नयाँ युवा पुस्ताको सन्तुलित प्रतिनिधित्व सुनिश्चित गरिनुपर्छ।

यसबाट पार्टीको उच्च तहमा नेतृत्वको उत्तराधिकारी पुस्ता तयार गर्ने, प्रशिक्षित गर्ने, निरन्तर अनुगमन र मूल्याङ्न गर्ने परिपाटीको विकास हुन्छ । पुरानो पुस्ताको उपस्थितिमा नै नयाँ उत्तराधिकारी पुस्ताको तयारीले क्रान्तिका लागि प्रशिक्षण र प्रतिक्रान्तिका संभावनाहरूलाई निस्तेज गर्छ ।

ख. प्रदेश, जिल्ला र स्थानीय समितिहरूमा:

हरेक समितिलाई तीन वटै पुस्ताको संगठनात्मक संयोजनका आधारमा निर्माण गरिनुपर्छ ताकि उत्तराधिकारी पुस्ताको निरन्तर तयारी र नेतृत्व हस्तान्तरण भइरहोस्।

ग. जनसंगठनहरूमा:

युवा र विद्यार्थीहरू पार्टीमा कार्यकर्ता भर्नास्थल हुन् । किसान, मजदुर, महिला, दलित, सुकुम्वासी सहित सबै जनवर्गीय संगठनहरू, जातीय-क्षेत्रीय र सांस्कृतिक मोर्चाहरूलाई नयाँ नेतृत्व उत्पादन गर्ने विद्यालयका रूपमा विकास गरिनुपर्छ। यही प्रक्रियाबाट मात्र क्रान्तिकारी उत्तराधिकार निर्माण हुन्छ। त्यसका लागि निम्नानुसार गर्नुपर्छः

घ. राजनीतिक शिक्षामा:

पार्टीका वरिष्ठ (सिनियर) नेताहरूले आफ्ना अनुभव, वैचारिक ज्ञान र संघर्षका शिक्षाहरू व्यवस्थित रूपमा नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ। त्यसका लागि नियमित रूपला पार्टी स्कुलहरू, पार्टीका आधिकारिक सञ्चार माध्यमहरू तथा सामाजिक सञ्जालहरू र  अन्य फोरमहरू सञ्चालन गर्नुपर्दछ ।

हरेक पार्टी र जनसंगठनका नेताहरूले आफ्नो मातहत नयाँ नेताहरूको शृङ्खला तयार गर्ने जिम्मेवारी लिनुपर्छ।

हरेक पार्टी क्याडरले आफ्नो परिवारका सदस्यहरू र विशेष गरी युवा र नवयुवा पुस्तालाई राजनितिक रूपमा संगठित र प्रशिक्षित गर्नुपर्छ । आफ्ना घरका छोराछोरी-नातिनातिनालाई राजनीतिबाट टाढा राखेर अरूका छोराछोरी-नातिनातिनालाई क्रान्ति, बलिदान र निस्वार्थ प्रतिबद्धताको भाषण गर्दै, प्रशिक्षण दिँदै हिँड्नु आफैमा अनैतिक र लज्जास्पद हुन पुग्छ । यस्तो नैतिकहीनता बोकेर पार्टी र क्रान्तिको नेतृत्व संभव छैन ।

ङ. युवा क्याडरका लागि:

नेतृत्वको उत्तराधिकार भनेको केवल पद प्राप्त गर्नु मात्र होइन, यो आन्तरिक र बाह्य प्रतिस्पर्धासहित सिद्धान्त, संगठन र संघर्षको मोर्चामा अब्बल बन्नुपर्ने गम्भीर जिम्मेवारी हो ।

युवा पुस्ताले आफूलाई राजनीतिक, वैचारिक र संगठनात्मक रूपमा तयार पार्नुपर्छ । राजनीतिक शिक्षा ग्रहण गर्नु पर्छ । पार्टी स्कुलहरूमा सहभागी हुनुपर्छ । व्यापक रूपमा अध्ययन गर्नुपर्छ । जनताको बिचमा जानुपर्छ । जनताको समस्यालाई बुझेर संघर्ष र संघर्ष मार्फत् संगठन निर्माण गर्नुपर्छः कतै संगठनबाट संघर्ष त कतै संघर्षबाट संगठन गर्ने विधि अपनाउनु पर्छ ।

युवा पुस्ताले प्रविधिको उच्चतम् र महत्तम् प्रयोग गर्नु पर्छ । सञ्चार माध्यम, सामाजिक सञ्जाल र पार्टी फोरमहरू मार्फत् पार्टी र क्रान्तिको पक्षमा जनमत सिर्जना गर्नुपर्छ भने प्रतिक्रान्ति र प्रतिक्रियावादी शक्तिका विरुद्ध निर्मम रूपमा जुध्नुपर्छ । संगठनात्मक अनुशासन पालना गर्नुपर्छ। गल्तीहरूलाई स्वीकार गर्न, कमिटी प्रणालीभित्र र आवश्य परे सार्वजनिक रूपमा समेत आत्मालोचना गर्न सिक्नुपर्छ ।

८. निष्कर्ष: समाजवादको यात्रामा पुस्ताहरूको संयुक्त मोर्चा

कम्युनिष्ट आन्दोलन कुनै एक व्यक्तिको आन्दोलन होइन । यो कुनै एक पुस्ताको आन्दोलन पनि होइन। यो श्रमिक वर्ग, किसान, उत्पीडित समुदाय र सम्पूर्ण श्रमजीवी जनताको ऐतिहासिक मुक्ति आन्दोलन हो । क. लेनिनले पार्टी क्याडरलाई पार्टीको सुनौलो भण्डार भन्नुभएको थियो। क. स्टालिनले क्याडरलाई निर्णायक शक्ति भन्नुभयो । क. माओले समाजवादको भविष्य उत्तराधिकारी निर्माणमा निर्भर रहेको बताउनु भयो ।

आज नेपाली कम्युनिष्ट आन्दोलनलाई पुस्तागत द्वन्द्व होइन, पुस्तागत एकता चाहिएको छ। हामीलाई अन्ध-पुरातनपन्थ होइन वा अन्ध-नवयुवावाद होइन, जनदिशामा आधारित नेतृत्व, जनवादी केन्द्रीयतामा आधारित संगठन, र सही दुई लाइन संघर्षमा आधारित वैचारिक विकास चाहिएको छ ।

अनुभव, क्षमता र युवा ऊर्जा – यी तीनको क्रान्तिकारी संगठनात्मक संयोजनमा नै नेपाली क्रान्तिको भविष्य सुरक्षित छ । जब अनुभवले दिशानिर्देश गर्छ, क्षमताले संगठन चलाउँछ र युवाशक्तिले आन्दोलनलाई गतिशील बनाउँछ, तब पार्टी अजेय बन्छ। त्यस्तो पार्टीले मात्र नेपालको समाजवादी क्रान्तिको नेतृत्व गर्न र सफलतामा पुर्‍याउन सक्छ । त्यसैले प्रत्येक पार्टी कमिटीले आफैलाई एउटा ‘नेतृत्व विद्यालय’ मा रूपान्तरण गर्नुपर्छ। यदि पुरानो पुस्ताले आफूलाई अन्तिम क्रान्तिकारी पुस्ता ठान्यो भने कम्युनिष्ट आन्दोलन ध्वस्त हुनेछ । यदि नयाँ पुस्ताले इतिहासलाई अस्वीकार गर्‍यो भने आन्दोलन दिशाहीन बन्नेछ । हामीलाई अनुभवी नेतृत्वको राजनीतिक परिपक्वता, मध्यम (अधबैँसे) पुस्ताको संगठनात्मक क्षमता र युवा पुस्ताको क्रान्तिकारी ऊर्जाको महान् एकता आवश्यक छ।

मार्क्सवाद–लेनिनवाद–माओवादको मार्गदर्शनमा, जनदिशालाई कार्यपद्धति, जनवादी केन्द्रीयतालाई संगठनात्मक सिद्धान्त र सही दुई लाइन संघर्षलाई विकासको प्रेरक शक्तिका रूपमा ग्रहण गर्दै निर्माण गरिएको “तीनको एकमा संयोजन” नै आज नेपाली कम्युनिष्ट आन्दोलनलाई पुनर्जीवित गर्ने, सुदृढ गर्ने र समाजवादी भविष्यतर्फ अगाडि बढाउने एकमात्र वैज्ञानिक मार्ग हो ।

(लेखक नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ ।)

र, यो पनि पढौँः

दस्तावेजहरूको अध्ययन कसरी गर्ने – क. पुष्पलाल

माओलाई भेट्ने सपना – क. निर्मल लामा

लेख्ने र बोल्ने सम्बन्धमा क. माओका शिक्षा – क. रूपलाल विश्वकर्मा

सर्वहारावादी पार्टीको निर्माण गर – क. श्यामप्रसाद शर्मा