महान् नेपाली ‘जनयुद्ध’ले सवा दशवर्षे जीवन अवधि संघर्षका चरणहरू पार गर्दै गुजार्यो । युद्धमा नराम्रा प्रवृत्तिको नष्ट मात्रै होइन, राम्रा प्रतिभाहरूको पनि भौतिक र दुःखद क्षति हुने गर्दछ । नराम्रा प्रवृत्तिहरू बाँचेर पनि मृत अवस्थामा हुन्छन् भने राम्रा प्रतिभाहरूको भौतिक मरण भएपनि युगौँसम्म बाँचिरहन्छन् अथवा राम्रा फूलहरू बगैँचामा भौतिकरूपमा सदैव नरहे पनि ती सुन्दर फूलहरूले माली र दर्शकहरूलाई युगौँयुगपछि सम्मको प्रभाव र सम्झना छाड्दछन् ।
क्रुर र गलत चिन्तन अनि प्रवृतिले ऐतिहासिक आन्दोलनको जग हल्लाउने क-चेष्टा गर्दछ भने असल इमान्दार र सुन्दर पात्रहरूको उच्च र गौरवपूर्ण सहादतले ऐतिहासिक आन्दोलनको जग मजबुत, सुदृढ र चट्टानझैँ एकताबद्ध बनाउने गर्दछ । कायर र लाछीहरूको मृत्यु कुखुराको प्वाँखभन्दा हलुङ्गो र सच्चा क्रान्तिकारीहरूको मृत्यु पहाडभन्दा गरुङ्गो हुने गर्दछ।
महान् जनयुद्धको एक दशक धोका, विश्वासघात, गद्दारी र आत्मसमर्पणको पराकाष्टाको नीच नमूना जसरी देखा परे, त्यसरी नै वीरता, बलिदान, शौर्य साहस र नयाँ-नयाँ कीर्तिमानका ऐतिहासिक शिखरका अतुलनीय उच्च धरोहरहरू असाध्यै गौरवपूर्ण रूपमा देखा परे । जति सुन्दर चिजले विजय र उच्चता हासिल गर्दै जान्छ, त्यसैले आफैभित्र प्रतिक्रान्ति र नीचतालाई पनि साथमा जन्म दिँदै जानु अनिवार्य छ । त्यसैले महान् जनयुद्धले जे जति सकारात्मकताको साथमा नकारात्मक कुरालाई जन्म दिएको छ, त्यो नेपाली विशेषतामा स्वभाविक हो ।
एक दशकको महान् जनयुद्धले जे जति उपलब्धि हासिल गरेको छ, त्यसको श्रेय नेकपा (माओवादी) ले ती महान् सहिदहरूलाई दिएको छ । पार्टी, सेना, जनता र प्रचण्डपथको यो संयोजित उच्चता सहिदहरूको थोपाथोपा रगतले लेखिएको छ। दिलबहादुर रम्तेल, लली रोक्का, मनसरा, अजब लाल, विजय घले, बेनोज अधिकारी, रसकमल, दया, कविता, अर्जुन, शौरभ, च्याङ्बा, सेन, रामवृक्ष, सुरेश वाग्ले, रीतबहादुर, विशाल, कुमार लगायतका १३ हजार होनहार कमरेडहरूको रातो रगतले सजिएको इतिहासका हरेकका उपलब्धि रगतसँग साटिएका छन् ।
यी सबै गौरवपूर्ण इतिहासकालले गद्दारी र आत्मसमर्पणलाई धिक्कारी रहेको छ । क्रान्ति र मुक्तिको पक्षमा राता बाघझैँ उभिँदा मृत्युभन्दा कयौँ गुणा कष्टकर यातना र उच्च सहादतलाई जसरी उच्च सम्मान गरेको छ, त्यसैगरी गद्दारी र आत्मसमर्पण जस्तो वैचारिक भयङ्कर डरलाग्दो मृत्युलाई उत्तिकै घृणा र तिरस्कार पार्टीले गरेको छ।

यसै क्रममा रातो बाघझैँ दुश्मनसँगको मुठभेडमा बारम्बार उभिँदै विजय हासिल गर्दै आउने पार्टी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा महान् अमर सहिद क. रीतबहादुर खड्काले २०५९ साल असार २ गते दुश्मनको षडयन्त्रमा परेर उच्च सहादत प्राप्त गर्नुभयो । सर्वप्रथम त उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु आफ्नो कर्तव्य ठान्दै उहाँ लगायत सहिदहरूका सपना साकार पार्न प्रतिबद्धता जाहेर गर्दछु । यो आलेखमा उहाँलाई पुनः स्मरण गर्न चाहन्छु ।
आत्मसंघर्ष, अन्तर संघर्षको समय सर्वप्रथम उहाँको सहादतको एक वर्षसम्म उहाँप्रति २ शब्द कोर्न चाहेर पनि सकिएन । पटक-पटक लेख्न बस्दा उहाँको सहादत स्वीकार्न कठिन हुने गर्दथ्यो । यसप्रति म आत्मालोचित हुनै पर्दछ ।
अहिले पनि एउटा सहयोद्धाको सहादतको बारेमा कलम चलाउन अप्ठ्यारो भइरहेको छ । वैचारिक हिसाबले एकता र संघर्षका आधारमा जुन एकता हाम्रो बिचमा थियो त्यसरी नै परिवारिक हिसाबले पनि म त्यतिकै निकट रहेकोले मलाई अप्ठ्यारो हुनु स्वभाविक हो भन्ने लाग्दछ । निश्चय नै शोकमा भावनाको पक्ष मजबुत बन्ने चेष्टा गर्दो रहेछ ।
उहाँसँगको एमालेबाट तत्कालीन एकता केन्द्रमा प्रवेश गर्नुअघिको लगभग २ वर्षको संक्रमणकालीन अवधिमा अन्तरसंघर्षका असाध्यै तितामिठा अनुभवले भरिपूर्ण अवधिको रूपमा इतिहासमा समाहित बने । उहाँसँगको एकता एउटा भीषण जीवनमरणको संघर्षको बिचबाट हुँदै आएको थियो। त्यस अवधिको अन्तरसंघर्षलाई अलग राखेर कलम चलाउनु अधुरो रहने हुनाले आत्मालोचित छु ।
उहाँ दाजुभाइ एसएलसी उत्तीर्ण भएपछि आमाको सक्रियतामा उच्च शिक्षा हासिल गर्न काठमाडौँ मजदुर पेसा गरेर बस्ने भएकोले उहाँहरू मसँग नबसेर अन्त बस्दा स्वभाविक नहुने र आर्थिक स्थितिले धान्न पनि कठीन हुन जान्थ्यो । परिवारिक सम्बन्ध गाँसिएपछि, मलाई परिवारका सबैले ठुलो दाइको रूपमा लिने गर्दथे । त्यस अवस्थामा वहाँहरू दुवैले काठमाडौँमा आरआर क्याम्पस भर्ना गर्नुभयो ।
२०४६ सालको खुल्ला परिस्थितिमा हामी संगठन बिस्तारमा तीव्र गतिमा लागेका थियौँ । उहाँहरू दुवै न्यूरोडको पुस्तक पसलमा न्यून वेतनमा काममा लाग्नुभयो । उहाँहरूसँग सुरुको चरणदेखि नै भीषण वैचारिक संघर्ष सुरु हुन थाल्यो । छलफलले धेरै रातहरू दिनमा फेरिन्थे । तर्क-वितर्कले कतिपय अवस्थामा तिक्तता हुँदा कैयौँ रात कुखुरा सुताई हुन्थ्यो ।
उहाँ निष्कर्षमा जहिले पनि, “काठमाडौँमा बसेर ठुला कुरा गरेर क्रान्ति हुँदैन, गाउँ जानुपर्यो, क्रान्ति सुरु गर्नुपर्यो, अनि लागौँला, त्यसबेला पछि परिएछ” भने भन्नुस् भन्ने गर्नुहुन्थ्यो । अन्तरसंघर्ष लगातार भइरहँदा उहाँ जिल्ला फर्कनुभयो ।
जिल्ला फर्कँदा उहाँले मलाई जिल्ला आउने च्यालेन्ज गरेर फर्कनुभयो । त्यसपछि उहाँ गौरीशंकर क्याम्पस चरिकोटमा भर्ना हुनुभयो र त्यहीँबाट उहाँले स्नातक गर्नुभयो ।
२०४८ साल असोजमा मेरो दोलखा सरुवा भयो र त्यसबेला उहाँसँग धेरै विषयवस्तुमा छलफलहरू भए । त्यसपछि उहाँले विद्यार्थी संगठन (एमाले) बाट ०४८ पौषमा विद्रोह गरेर अ.ने.रा.स्व.वि.यू. मा प्रवेश गर्नुभयो । त्यसपछि दोलखा जिल्लाको सचिव र प्रथम भेलाले जिल्ला अध्यक्ष निर्वाचित गर्यो भने तत्कालीन एकता केन्द्रको एकता जिल्ला सम्मेलनले उहाँलाई जिल्ला सदस्यमा निर्वाचित गर्यो । यो आत्मसंघर्ष र अन्तरसंघर्षले एकले अर्कोलाई रूपान्तरण हन धेरै मद्दत गर्यो भन्दा अत्युक्ति नहोला । उहाँले विद्यार्थीको एकता राष्ट्रिय सम्मेलनमा प्रतिनिधिको रूपमा भाग लिनुभयो ।
२०४९ सालको स्थानीय निर्वाचनमा जुगुमा विद्रोह, २०५१ को संसदीय उपनिर्वाचनमा जुगुमा बहिष्कार, २०४८ साल चैत्र २४ मा गौरीशंकर क्याम्पसको भीडन्त आदिमा उहाँले सक्रिय भूमिका खेल्नु भएको थियो । ती संघर्षहरूले पार्टीलाई जिल्लामा स्थापित गराउन महत्त्वपूर्ण भूमिका खेल्यो ।
उहाँले जनयुद्धको थालनी निकटसम्म शिक्षक पेशामा रहेर पार्टीमा पार्ट टाईमरको महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको थियो भने त्यस अवधिमा दोलखा जिल्ला पार्टीमा देखापरेका गलत विचारहरूका विरुद्धको संघर्षमा उहाँको अत्यन्तै सकारात्मक एवं उल्लेखनीय भूमिका रहन पुग्यो ।
यो अवधि उहाँको क्रान्तिकारी विचार निर्माणको अवधिभन्दा फरक नपर्ला । त्यस अवधिमा संशोधनवादीहरूले पार्टीको बदनाम गराउने प्रयास सक्दो गरे तर सफल बन्न सकेनन् । उहाँ पार्टीले क्रान्ति सुरु नगरेकोमा असाध्यै चिन्तित हुनुहुन्थ्यो । झन् पार्टी फुटेपछि त्यस विषयमा चर्को बहस हुने गर्दथ्यो । यसरी यो अवधिको आत्मसंघर्ष र अन्तरसंघर्षलाई उल्लेख गर्दा उहाँको भूमिका द्वन्द्वात्मक र उच्च सकारात्क रहेको पाउँछौँ ।
जनयुद्धको पहलपछि:
पार्टी केन्द्रले ग्रामीण वर्गसंघर्ष सञ्चालन र चार तयारीको योजना ल्याएपछि उहाँमा एउटा उत्साह पैदा भएको थियो । पश्चिमाञ्चलमा चलेको ग्रामीण वर्गसंघर्ष, दुश्मनले गरेको मेजर अपरेशन, त्यस परीक्षामा पार्टीको सफलता र नयाँ अभ्यासले उहाँमा राम्रो प्रभाव पारेको थियो। चार तयारी पूरा गर्ने हाम्रो सापेक्षतामा ग्रामीण संघर्षको स्वरूप कस्तो हुने भन्ने बारेमा छलफल हुने गर्दथ्यो ।
जनयुद्धको अन्तिम तयारीका निम्ति पौषको २७-२८ मा दोलखा बजारमा बसेको जिल्ला समितिको बैठकले सडक विभागमा रहेको बंकर हाउसको बिस्फोटका पदार्थ ‘रेड’ गर्ने जिल्लाको योजनामा पायो । त्यो जिम्मेवारी पूरा गर्न २०५२ माघ २ गते त्यहाँका जिल्ला पार्टीका ५ जिल्ला सदस्यमध्ये उहाँ एकजना हुनुहुन्थ्यो । त्यसमा उहाँको भूमिका महत्त्वपूर्ण रहेको छ। त्यही ‘रेड’ देखिनै उहाँ पार्टीको पूर्णकालीन कार्यकर्ता हुन पुग्नुभयो। यसरी एउटा जटिल र कठिन मोडबाट क. रीतबहादुर खड्काको लामो लाल पूर्णकालीन यात्रा सुरु हुनपुग्यो ।
२०५२ साल फाल्गुण १ गते जनयुद्धको पहिलो पहलमा काभ्रे जिल्लाको मत्स्यपोखरीको सामन्तमाथिको कारबाहीमा उहाँको महत्त्वपूर्ण भूमिका रह्यो । त्यस अवधिमा जिल्ला संगठनको जिम्मेवार सदस्यको हैसियतले उत्साहका साथ कार्यक्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउने क्रममा एमालेको प्रतिकार समितिको षड्यन्त्र र एमाले गुण्डाहरूको सक्रियतामा उहाँलाई भीमेश्वर न.पा.को न्यागलबाट ०४७ माघ ९ गते गिरफ्तार गरी पुलिसलाई बुझाइयो । त्यो अवस्थामा जनताको धनजनको क्षति नहोस् भनेर आफूसँग भएको हतियारको प्रयोगसम्म उहाँले गर्नुभएन ।
गुन्डा र पुलिसले निर्मम यातना दिए तर उहाँलाई दुश्मनले अलिकति पनि झुकाउन सकेन । बरु उल्टो रातो बाघको पहिचान दिँदै दुश्मनको नारकीय खोरमा उहाँ गर्जिरहनु भयो । दुश्मनको निर्मम यातनाले उहाँको नाक, कान, खुट्टा र गुप्ताङ्गमा नराम्रो असर परेको थियो । त्यसै अवधिमा उहाँले मार्क्सवादी अध्ययन र छलफललाई अगाडि बढाउनको साथै समसामयिक लेख रचना र संस्मरण लेख्ने गर्नु हुन्थ्यो।
उहाँको हरेक विषयलाई हेर्ने स्पष्ट रचनात्मक दृष्टिकोण थियो । त्यसलाई व्यवहारमा उतार्न पनि त्यतिकै तल्लीन हुनु हुन्थ्यो । यसरी जेलजीवन व्यतित गरिरहेको अवस्थामा उपचारको सिलसिलामा वीर अस्पतालबाट २०५४ कार्तिक १५ गते राति १ बजे दुश्मनको घेरा तोडेर उहाँ दुश्मनको पञ्जाबाट फुत्किन सफल बन्नु भयो । २ महिनापछि काठमाडौँको भूमिगत कोठामा भेट भएर उहाँले घेरा तोडेर पार्टी सम्पर्कसम्म आउँदाको जटिलता र कठिनाइँको रोचक विवरण सुनाउँदा हरेक क्रान्तिकारी प्रेरित हुन्थ्यो ।
त्यस अवधिमा उहाँमा अत्यन्तै परिपक्वता आइसकेको थियो । यो घटनाले राष्ट्रिय, अन्तर्राष्टिय सञ्चार जगतमा समेत सनसनीपूर्ण चर्चा पायो । दुश्मनले जानकारी दिनेलाई पुरस्कारको घोषणा समेत गर्नपुग्यो । यो घटनाले दश्मनलाई निकै ठुलो च्यालेन्ज गर्यो । यही साहसपूर्ण मोडबाट उहाँ जनसमुदायमा चर्चाको शिखरमा पुग्नुभयो ।
यसरी एमाले गद्दारीहरूले निभाउन खोजेको आगोको झिल्को डढेलो बनेर निस्कियो भने उहाँलाई जेलमा सडेको देख्न चाहनाहरूको सपना पानीको फोकाझैँ फुट्यो । जस्तोसुकै बेलामा पनि छुद्र र नीच ढंगले क. प्रताप भौतिक रूपमा कहिल्यै प्रस्तुत हुनुभएन । एमालेसँगको सहज सम्बन्धबाट फाइदा उठाउन खोजे पनि उनीहरूको नीचता र छुद्रतालाई उहाँले दया गरिरहनु भयो । उहाँ सबैलाई रुपान्तरण गर्ने बल गरिरहनुहुन्थ्यो ।
उहाँ जेलका चार दिवारको घेरा तोडेर जनतामा आउनुभयो । उहाँको पार्टीमा विकासको रफ्तार तीव्र थियो। सोलु+ओखलढुङ्गाको सेक्रेटरी, दोलखा+सिन्धुपाल्चोकको सेक्रेटरी, दोलखा जिल्ला जनसरकार प्रमुख, उपक्षेत्रीय व्युरो सदस्य तथा क्षेत्रीय व्यूरो सदस्य, २०५७ साल फाल्गुनमा भएको दोश्रो राष्ट्रिय सम्मेलनमा उहाँ पार्टी केन्द्रीय समितिको वैकल्पिक सदस्यका रूपमा छोटो समयमै निर्वाचित बन्न पुग्नुभयो ।
क. खड्काले, जुनीवेँसी, ठोकर्पा, दोरम्बा, भकुण्डेवेँसी, मैनापोखरी, सल्लेरीका ऐतिहासिक ‘रेड’का कारबाहीहरू लगायत अन्य साना-ठुला अनगिन्ती कारबाहीमा फिल्डमै सहभागी भएर महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । त्यसबेला बसेको पार्टी केन्द्रको पूर्ण बैठकले उहाँलाई पूर्वी केन्द्रीय कमाण्ड अन्तर्गत नयाँ सैन्य उपक्षेत्रीय व्यूरोको इन्चार्जमा नियुक्त गर्यो ।
यो अवस्थासम्म आउँदा उहाँले खेलेको भूमिकाका कारण नेपाली जनताको आँखाको नानी, पार्टीका निमित्त बहुमुखी प्रतिभाका धनी, कार्यकर्ताहरूका लागि सरल, मिलनसार नेता र दुश्मनका निमित्त रातो बाघको रूपमा उहाँ स्थापित हुनुभयो ।
पार्टी केन्द्रका योजनासहित आफ्नो कार्यक्षेत्रमा जाने क्रममा रौतहट जिल्लाको पिपरामा २०५९ असार २ गते एमालेको षड्यन्त्रमा दुश्मनले घेरा हाली उहाँको हत्या गर्यो । यसरी नेपाली धर्तीमा छोटो अवधिमा उदाएको एउटा नक्षत्र नीलगगनको चम्किलो ‘रातो तारा’को रूपमा युगौँसम्मका लागि स्थापित हुनपुग्यो ।
यसरी उहाँले छोटो समयमा देश, जनता, वर्ग र पार्टीको पक्षमा ठुलो योगदान दिन सफल बन्नुभयो। उहाँले गरेको योगदानको सर्वहारावर्गले युगयुगसम्म बिर्सने छैनन् । उहाँमा आत्मविश्वास, क्रान्तिकारी, आशावादी, श्रञ्जनशीलता र गतिशीलतामा रहिरहने भरपुर क्षमता थियो ।
दर्शन, राजनीति, कला र साहित्यमा उहाँको उत्तिकै रुचि र जिज्ञासा थियो । उहाँमा समग्र अन्तरविरोधको नेतृत्व र हल गर्ने अद्वितीय क्षमता राजनैतिक तीक्ष्णता, छिटो निर्णय लिने क्षमता, प्रतिकूलतामा सक्रिय भइरहने कुशलता उहाँमा थियो। विरोधी तथा नमिल्नेहरूसँग पनि मिलेर काम गर्नसक्ने गुण उहाँमा थियो ।
उहाँले आफ्ना लेख र साहित्यमार्फत् कार्यकर्ता जनसेना र आमा जनसमुदायमा पार्टीको दृष्टिकोण पुऱ्याउनु भयो । साहित्य क्षेत्रमा ‘क. चम्किलो तारा’ र राजनैतिक क्षेत्रमा ‘क. प्रताप’को नाम साँच्चिकै काम अनुसारकै रहिरह्यो ।
सहादतपछि अनुभूतिः
अन्य कमरेडहरूको झैँ क. प्रतापको सहादत निश्चय नै भिन्न छैन । यति हुँदाहुँदै पनि दुई शब्द कोर्न फेरि मेरा कलमहरू किन रोकिए ? अन्य कमरेडहरूको सहादतले यो कलमको निबबाट धैरे नुनिलो सागर बगेको छ ।
उहाँको सहादतले एउटा उत्तर नभएको मान्छे जस्तै नाजबाफ भएर जब म कलम र कापीमा उहाँको सन्दर्भ कोर्न बस्थेँ मनभित्र अमिलो, पिरो जस्तो लाग्ने एउटा तुफान चल्दथ्यो। कापी कलम मतिर फर्केर हेर्दथे। म उहाँको हँसिलो अनुहार कापीका पन्नाहरूमा देख्न पुग्दथेँ । कलम, कापी त्यसरी पटकपटक थन्किए । भित्र महासागरझैँ छालहरु उर्लिए पनि देख्नेगरी आँसु बगेनन् ।
मलाई उहाँको सहादत पचाउन र पत्याउन असाध्यै गाह्रो भयो । कुनै पनि ठाउँमा भेट हुन्छ जस्तो लागि रहन्थ्यो । उहाँको अरू आफन्तहरू र अन्य सहकर्मी कमरेडहरू पनि त्यतिकै शोकमा डुब्नु भएको थियो ।
त्यति मात्रै होइन, उहाँको सहादत हुँदा कमाण्ड इन्चार्ज क. किरण मसँगै जस्तो हुनु हुन्थ्यो । उहाँ हामीभन्दा कैयौँ गुणा शोकमा स्तब्ध हुनु हुन्थ्यो । एउटा होनाहार कमरेड गुमेको क्षणमा लाग्थ्यो उहाँ पनि नाजवाफ हुनुहन्थ्यो । सान्त्वना यस घटनाको उत्तर नहुने इन्चार्ज कमरेडलाई लागेको अनुभूति हुन्थ्यो ।
भूमिगत जीवन अत्यन्तै कष्टकर प्रतिकूलता र विदेशी भूमिको बसाइ भएकोले हामीलाई जबरजस्त सम्हालिन बाध्य तुल्यायो । यो घटनाले जिम्मेवारीको तत्तत् ठाउँमा सबैलाई छोयो । पार्टी हेडक्वाटरले मलाई कमाण्ड कार्यालयबाट सरुवा गर्यो । त्यो जिम्मेवारी सहित क. प्रतापको परिवारमा शोक र सान्त्वनासहितको भेटघाटमा जाने जिम्मा कमाण्ड हेडक्वाटरले मलाई सुम्पियो । त्यो निर्देशनले मलाई उहाँको सहादत पत्याउन बाध्य तुल्यायो ।
जति पाइलाहरू अगाडि बढ्दथे, उति नै पीडा, छट्पटी, औडाहा, शोक, स्तब्धता बढ्ने गर्दथ्यो । जब सहकर्मी कमरेडहरूको साथमा क. प्रतापको घरपछाडि भीरमा पुग्यौँ, उहाँको दाइले गाई चराइरहेको देखियो । उहाँ शोकको मलिन अनुहारमा हामीतिर त्रास, भय र आतंकको मानसिकताले हेरिरहनु भएको थियो । उहाँको स्थिति देख्ने बित्तिकै मेरो खुट्टाहरू पग्लिए, मुटुको धड्कन थाम्न कठिन पर्यो, चक्कर लाग्नु पुग्यो, कानहरू बजे, धर्ती काँपे झैँ भयो ।
अर्को दृश्य पातलो, कुप्रो, रोगी शरीर थाम्न कठिन परेका बुढो बुबालाई भैँसी झपार्दै रहेको देखेँ । मलाई देखेपछि आफू के गर्दैछु भन्ने उहाँलाई नै थाहा थिएन। उहाँ पनि त्यतिकै आतंकित र भयभित हुँदै हामीतिर फर्कँदै हेर्दै घरतिर लाग्नुभएको थियो ।
मलाई त्यो भय, त्रास, आतंकको उत्तर के हुन सक्दछ ? सोच्न सकिरहेको थिइन । आफ्नै मान्छेदेखि यस्तो हुने कुराको उत्तर मसँग थिएन । म अरू नाजवाफ बन्दै आँगनमा पुगेँ । मलाई देख्ने सबै छिटोछिटो घरभित्र पस्न थाले । लाग्थ्यो मैले केही नराम्रो काम गरेर आएको छु। लडाइँको मोर्चामा एउटा होनाहार योद्धा गुमाएर एउटा लडाइँ हारेर आएको छु । हाम्रो पार्टीले नहार्नुपर्ने भौतिक मोर्चा हारेको परिणामको अनुभूति मलाई भइरहेको थियो ।
म सधैँ बस्ने खाटमा बसेँ । क. प्रतापकी छोरी सम्झना (चार्ली) परैदेखि त्यही मुद्रामा केही हराएकोझैँ एकोहोरो हेर्दै मतिर आइरहेकी थिइन् । मैले नजिक बोलाएँ । नाईँ खोई हाम्रो बुबा..? म नाजवाफ भएँ उनीसँगै मेरो सानो छोरो आइपुग्यो । “खोई कान्छो मामा ?” म अरू नाजवाफ भएँ। मेरो दिमागमा “खोई” शब्द तीव्र गतिमा घुम्न थाल्यो।
क. प्रतापको छोरो स्कुलबाट आए । “खोई मेरो बुवा”? मैले हिम्मतसाथ भने “दुश्मनले मार्यो बाबु” भन्दा अर्को जवाफ मसँग थिएन । भित्र दाइ, बुवा रोइरहनु भएको थियो । आमाभित्र ओछ्यानमा छोराको सहादतको खबर सुनेदेखि नै नै थला पर्नुभएको थियो।
मलाई घरभित्र पस्न भएभरको शक्ति बटुल्नु पर्यो । ठुलो हिम्मतका साथ भित्र पसेँ र आमा भन्दै उहाँको ओछ्यानको छेउमा बसेको के थिएँ, आमाले भएभरको तागत लगाएर “खै मेरो बाबुलाई कहाँ छाडेर आउनुभयो” भनेर मेरो काखमा घ्वाप्लक्क घोप्टिनु भयो ।
अर्कोतिर बुबा र दाइ भुइँमा घोप्टो परेर रुन थाल्नु भयो । सिङ्गो घर शोकमा डुब्यो । छोराछोरीहरू अलमल्ल परेर आँखाभरी आँसु पारेर हेरिरहेँ। आमाले आफ्नो ममताको भाव उत्कर्षमा पोख्नुभयो । दुईवर्ष अगाडि घरबाट आमासँग बिदा भएर हामी दुबैजना सँगै छुटेका थियौँ।
आधा घण्टा लामो शोक सन्तप्तपछि आँखा पुच्दै आमा सम्हालिनु भयो । लाग्यो मसँग रहेर शोकलाई एउटा स्तरमा समापन गरेर शक्तिमा बदल्नु भएको थियो । यसपछि घटनाक्रमको बारेमा कुराकानी सुरु भयो। आमा लगायत सपरिवारमा थप शक्ति पैदा भएको महसुस भयो।
त्यसपछि क. प्रतापको जीवन संगिनी घटनाको खबर सुनेपछि बेहोस भएर ५ बोतल स्लाइन पानी चढाएको सुनेँ। मैले फेरि एकपटक त्यतिकै हिम्मत र शक्ति बटुलेर तल्लो घरमा उहाँलाई भेट गर्न गएँ । उहाँ मलाई देख्नासाथ रुन थाल्नुभयो । उहाँमा उठ्ने ताकत थिएन । क. प्रतापकी सासु पनि सँगै हुनुहुन्थ्यो । उहाँका पनि बलिन्द्र धारा आँसु बगिरहेको थियो । इन्दिराले धेरै दिनदेखि केही खानुभएको थिएन ।
लामो शोकाकुलपछि केही समयपछि कुराकानी भए । यसरी परिवाको साथमा शोकलाई शक्तिमा बदल्दै सपरिवार विशेषतः आमाबाट “मर्ने मरेर गए पनि बाँच्नेले लडाइँ छोड्नु हुँदैन । मेरो छोराले रगत बगाएको पार्टीमा गर्ने सहयोगमा कहिल्यै पनि कमी आउने छैन” भनेपछि हामी यही प्रेरणा लिएर हामी अगाडि बढ्यौँ ।
अन्त्यमा उहाँको भौतिक शरीर हाम्रा सामु रहेन तर उहाँबाट सिक्नुपर्ने र उहाँका अधुरा सपना पूरा गर्नुपर्ने धेरै काम बाँकी छन् । विचार, व्यवहार, विश्वास, साहस, आँट, कुशलता, श्रृजनशीलता गतिशीलता आदि उहाँले छोडेर गएका अमूल्य सम्पतिहरू हुन् । हामीसँग आज त्यसैको निरन्तरता मात्रै बाँकी छ । २० वर्ष लामो सहकार्यबाट भौतिक शरीर छुटेको छ । हजारौँ कार्यक्रममा लाखौँलाख जनसमुदायको तर्फबाट श्रद्धाका मुठी उठिसकेका छन् ।
क. प्रताप जस्ता जुझारू योद्धाहरूको रगतले नेपाली क्रान्तिलाई विजयको संघारमा उभ्याइदिएको छ भने प्रतिक्रान्तिसँग मुकाबिला गर्दै विश्व साम्राज्यवादलाई चिहानमा पछार्ने हिम्मतका साथ विश्वक्रान्तिको ढोका उघारेको छ ।
बाँच्नेहरूका निम्ति प्रेरणा र चुनौतीका धरोहर महान् अमर सहिद क. रीतबहादुर खड्का ‘क.प्रताप’ का अधुरा सपना पूरा गराउन लडिरहने प्रतिबद्धताका साथ मौनता भङ्ग गर्दै कलमसहितको मुठी कसेर श्रद्धाञ्जली अर्पण गर्दछु । वीर ‘सहिद’ रीतबहादुर खड्का ‘क. प्रताप’ अमर रहुन् !
र, यो पनि पढौँः
ऐतिहासिक बेथानलाई पुनः एकपटक सम्झँदा – सहिद क. रीतबहादुर खड्का ‘ प्रताप’
(साभारः नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वसांसद क. गंगा कार्की ‘विश्व’ को यो संस्मरणलाई “स्मृतिका पानामा शहीद रीतबहादुर खड्का” समृतिग्रन्थबाट साभार ।”)
















