(सन् २०१७, जुन ६ (जुछे १०६) मा कोरियाली बाल सङ्गठन (केसियु)को आठौँ राष्ट्रिय महाधिवेशनमा प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका सर्वोच्च नेता मार्सल किम जोङ उनले दिनुभएको सारगर्भित मन्तव्यको पूर्ण पाठ प्रस्तुत गरिएको छ । यस मन्तव्य मार्फत पाठकहरूलाई समाजवादी कोरियामा क्रान्तिका ध्वजावाहक भावी उत्तराधिकारीको प्रशिक्षण र सङ्गठनात्मक तयारीबारे बुझ्न मद्दत पुग्नेछ भन्ने हाम्रो विश्वास छ – सम्पादक ।)
कोरियाली बाल सङ्गठनका प्रिय प्रतिनिधिज्यूहरू,
कोरियाली बाल सङ्गठनका देशभरका प्यारा सदस्यहरू,
प्रथमतः म कोरियाली बाल सङ्गठनका सदस्यहरूका लागि विशेष दिवस (विदा) का रूपमा जुन ६ लाई स्वागत गर्दै देशभरका जनताको शुभकामनालाई प्रतिबिम्बित गर्दै समाजवादी देशको खुसीयाली, गौरव, आशा र भविष्यका स्रोत सबै कोरियाली बाल सङ्गठनका सदस्यहरूलाई न्यानो बधाई ज्ञापन गर्न चाहन्छु ।
मलाई धेरै खुसी लागेको छ कि कोरियाली बाल सङ्गठनको आठौँ महाधिवेशन हाम्रो पार्टी र जनताको सरोकार तथा अपेक्षा बमोजिम सानदार तरिकाले हुँदै छ र कोरियाली बाल सङ्गठनका महाधिवेशन प्रतिनिधिहरू र सबै सदस्यहरूलाई हार्दिक अभिवादन टक्राउँछु ।
कोरियाली बाल सङ्गठनका विद्यालय प्रशिक्षकहरू, यसका उपशाखा शिक्षकहरू र अभिभावकहरूलाई मेरो अभिवादन छ, जसले कोरियाली बाल सङ्गठनका सदस्यहरूलाई देशका बलिया खम्बा बनाउने गरी प्रशिक्षित गर्न मेहनत गरिराख्नु भएको छ ।
कोरियाली बाल सङ्गठनको आठौँ महाधिवेशन कोरियाली श्रमिक पार्टीको रेखदेखमा आफ्ना सुन्दर सपनाहरू र खुसीयालीको बहार ल्याउने भावनासहित हुर्कंदै गरेका यसका सदस्यहरूको साहसको सशक्त प्रदर्शन गर्ने र कोरियाली बालसङ्गठनलाई किम इल सुङ र किम जोङ इलको सदा गौरवशाली बालबालिकाहरूको सङ्गठनका रूपमा विकास गर्ने एउटा महत्त्वपूर्ण अवसर बन्न पुगेको छ ।
कोरियाली बाल सङ्गठनका प्रिय प्रतिनिधिज्यूहरू,
कोरियाली बाल सङ्गठन बालबालिकाहरूको जुछेमुखी क्रान्तिकारी सङ्गठन हो, जसलाई महान् सर्वोच्च सेनापतिहरू किम इल सुङ र किम जोङ इलले स्थापना गर्नुभयो र पूर्ण संरक्षण गर्दै विकसित गर्नुभयो । यो कोरियाली बालबालिकाहरूको जनवर्गीय राजनीतिक सङ्गठन पनि हो, जसले आफूलाई क्रान्ति, कोरियाली श्रमिक पार्टी र युवा लिगका उत्तराधिकारी बनाउनका लागि स्वयम्लाई पूर्ण रूपमा तयार गर्दैछन् ।
कोरियाली बाल सङ्गठनको महिमापूर्ण र गौरवशाली इतिहास जुछेमुखी बालआन्दोलनको विचार र कोरियाली बाल सङ्गठनका सदस्यहरूलाई सबैभन्दा धेरै महत्त्व दिने र माया गर्ने तथा उदीयमान पुस्ताका लागि सबै कुरा समर्पित गर्ने महान् सर्वोच्च सेनापतिहरूको नेतृत्वको शानदार विजयसहितको देदिप्यमान इतिहास हो ।
महान् सर्वोच्च सेनापतिहरू हाम्रा कोरियाली बाल सङ्गठनका सदस्यहरू र उदयमान पुस्ताका आदरणीय पिताहरू हुनुहुन्थ्यो, जो आफ्नो सम्पूर्ण जीवनभर बालबालिकाहरूसँग घुलमिल हुनुभयो र देशको भविष्यको पालनपोषणमा कुनै कसर बाँकी राख्नु भएन । उहाँहरूले नेतृत्व गरेको हुनाले हाम्रो पार्टीलाई अनुशरण गर्दै कोरियाली बालआन्दोलन एउटा सोझो मार्गमा ठिक त्यसरी नै अगाडि बढ्न सक्यो, जसरी सूर्यलाई पच्छाउँदै सूर्यमुखी फूल घुम्दछ र कोरियाली बाल सङ्गठनका सदस्यहरू संसारमा कुनै कुराको पनि इष्र्या गर्नु नपर्ने गरी देशको भविष्य काँधमा बोक्ने क्रान्तिका उत्तराधिकारीहरूका रूपमा खुसीसाथ हुर्कन पाए ।
कोरियाली बाल सङ्गठनको सातौँ महाधिवेशनपश्चात विगतका ४ वर्षमा देशभरका यसका सङ्गठनहरू र लाखौँ सदस्यहरूले यसको झन्डासामु उभिएर गरेको वचनबद्धता विश्वमै अद्भुत रूपमा धक्का र छलाङ लगाउँदै अगाडि बढिरहेको आफ्नो झक्झकाउँदो मातृभूमिसँग कदम मिलाउँदै पुरा गरेका छन् ।
कोरियाली बाल सङ्गठनहरू जीवन्त र अन्वेषक क्रान्तिकारी सङ्गठनहरूका रूपमा विकसित भएका छन्, जसले आफ्ना सदस्यहरूलाई पार्टी र आफ्नो समाजवादी देशप्रतिको कृतज्ञता, आफ्ना सङ्गठनहरू र समूहहरू (कलेक्टिभ)को महत्त्वको कदर गर्न र पढाइ तथा सङ्गठनात्मक जीवनमा अब्बल रहन मार्गनिर्देशित गर्दछन् ।
धेरै कोरियाली बाल सङ्गठनका सदस्यहरूले सर्वदा महान् सर्वोच्च सेनापतिहरूको उच्च आदर्श बोकेर निष्कलङ्कित रूपमा आफ्नो वफादारिता प्रदर्शन गरेका छन् र समाज, आफ्ना समूहहरू तथा सहकर्मीहरूको हितमा आफूलाई समर्पित गरेर, जनतालाई परिचालित गरेर र देशको गौरव बढाउन थप योगदान गरेर प्रशंसनीय कार्य गरेका छन् ।
आज हाम्रा प्यारा कोरियाली बाल सङ्गठनका सदस्यहरूले सुन्दर सपनाहरू एवम् भविष्यको आशा गर्दै लगनपूर्वक अध्ययन गर्दै छन् र आफूलाई शारीरिक तथा मानसिक रूपमा प्रशिक्षित गर्दै छन्, र सक्रियतापूर्वक विभिन्न प्रकारका सामाजिक–राजनीतिक गतिविधिहरू सञ्चालन गरेर समाजवादी कोरियाको कान्तिलाई उत्कर्षमा पु¥याउने क्रान्तिकारीहरूका रूपमा स्वयम्लाई तयार गरिरहेका छन् ।
देशको अनमोल सम्पत्ति कोरियाली बाल सङ्गठनका सदस्यहरू – जो असीमित खुसीयालीमा रमाइरहेका छन् र उत्तप्त नौजवान क्रान्तिकारीहरू तथा भविष्यका कर्णाधारहरूका रूपमा रहेका छन् – को गरिमामय उपस्थिति देखेर हाम्रो पार्टी तथा जनताले क्रान्ति (सम्पन्न) गर्नुको महानतम् खुसीयाली र गौरव अनुभूति गरेका छन् ।
कोरियाली बाल सङ्गठनले पेक्दुको आत्मालाई निरन्तर रूपमा बोकेको हुनाले जुछे क्रान्ति, किम इल सुङको राष्ट्र र किम जोङ इलको कोरियाका लागि एउटा उज्ज्वल र आशालाग्दो भविष्य सुरक्षित गरेको छ ।
कोरियाली श्रमिक पार्टीका नाममा र हाम्रा सम्पूर्ण जनताका तर्फबाट, म पुनः एकपटक कोरियाली बाल सङ्गठनको चम्किलो परम्परालाई एक पुस्ताबाट अर्को पुस्तामा थप चम्किलो बनाउँदै शक्तिशाली समाजवादी राष्ट्रका बलिया खम्बाहरूका रूपमा हुर्कंदै गरेका कोरियाली बाल सङ्गठनका देशभरका सदस्यहरू तथा हाम्रो मातृभूमिको उज्ज्वल भविष्यका लागि आफूलाई हृदय र आत्मादेखि नै समर्पित गर्ने कोरियाली बाल सङ्गठनका विद्यालय प्रशिक्षकहरू एवम् त्यसका उपशाखाका शिक्षकहरूलाई समेत न्यानो बधाई ज्ञापन गर्दछु ।
गौरवशाली प्रतिनिधिहरू र कोरियाली बाल सङ्गठनका अरू सम्पूर्ण सदस्यज्यूहरू,
आज हाम्रो पार्टी, सेना र जनताले पटुकी कसेर देशको सामथ्र्य बृद्धि गर्नका लागि साहसपूर्वक सबै परीक्षाहरूको सामना गर्दै छन्, यो मृत्युलाई ललकार्ने भयानक सङ्घर्ष अन्ततोगत्वा हाम्रो भावी पुस्ताले विश्वभर प्रशंसित सर्वोत्तम् देशमा समाजवादका सबै लाभहरूको आनन्द लिन सकून् भन्ने कुरामा लक्षित छ ।
जब कोरियाली बाल सङ्गठनका हाम्रा प्यारा सदस्यहरू हाम्रो देशको अनन्त भविष्यलाई काँधमा बोक्ने भरोसायोग्य खम्बाहरूका रूपमा हाँसीखुसी, सदाचार र वीरतापूर्वक हुर्कने छन्, जुछे कोरिया अदम्य शक्ति बढेर उच्चतम् स्तरमा पुग्नेछ र समाजवादको विजयी अग्रगमनले थप गति लिनेछ ।
कोरियाली बाल सङ्गठनको यो आठौँ महाधिवेशनमा उपस्थित भएर तपाईंहरूले सक्रियतापूर्वक तपाईंको अध्ययन, सङ्गठनात्मक जीवन, सामाजिक–राजनीतिक गतिविधिहरू र असल–काम–गर आन्दोलनहरूको क्रममा प्राप्त आफ्ना उत्कृष्ट अनुभवहरूलाई आदान प्रदान गर्नुपर्छ, एउटा नयाँ सङ्कल्प गर्नुपर्छ र आफ्नो मेहनतलाई गुणात्मक रूपमा बढाउनु पर्छ ।
कोरियाली बाल सङ्गठनलाई किम इल सुङ र किम जोङ इल तथा कोरियाली श्रमिक पार्टीको चीरकालीन बाल सङ्गठनका रूपमा विकास गर्नु र यसका सबै सदस्यहरूलाई समाजवादी देशका सच्चा सपूतहरू र नौजवान क्रान्तिकारीहरूका रूपमा प्रशिक्षित गर्नु – यो नै कोरियाली बाल सङ्गठनका सामु विद्यमान आधारभूत कार्यभार हो ।
कोरियाली बाल सङ्गठनका सदस्यहरू पार्टी तथा नेताको महानता र आफ्नो मातृभूमिको अनुपम महत्त्वका बारेमा पूर्णतः जानकार रहेका जोसिला नौजवान क्रान्तिकारीहरू बन्नुपर्छ र देश तथा क्रान्तिको हितका लागि आफ्नो सर्वस्व समर्पित गर्न तयार हुनुपर्छ ।
तिनीहरूले संसारमा कुनै पनि कुरासँग ईष्या गर्नु नपर्ने गरी खुसीपूर्वक जीवनयापन गर्ने कुरा सुनिश्चित गर्न महान् सर्वोच्च सेनापतिहरू किम इल सुङ र किम जोङ इलले प्रदान गर्नुभएको कृपाशील संरक्षणलाई सदा स्मरण गर्नुपर्छ र उहाँहरूको महिमालाई जुछेको शाश्वत् सौर्यका रूपमा उँचो पार्न अन्तहीन वफादारिता प्रदर्शन गर्नुपर्छ ।
कोरियाली बाल सङ्गठनको लाल फित्ता कोरियाली श्रमिक पार्टीको झन्डाको एउटा अङ्ग हो र आफ्ना सपना एवम् आदर्शहरू यही झण्डामुनि मात्रै सार्थक हुने कुरामा पूर्ण सचेत रहँदै तिनीहरूले जहिलेसुकै र जहाँतहीँ हाम्रो पार्टीको अभिप्राय (योजना) अनुसार सोच्नु र काम गर्नुपर्छ ।
जापान विरोधी क्रान्तिकारी योद्धाहरू र पितृभूमि मुक्ति युद्ध काल तथा वर्तमान माल्लिमा युगका नायकहरू एउटा सच्चा क्रान्तिकारीका लागि आदर्श नमुनाहरू हुन्, जसबाट हाम्रा कोरियाली बाल सङ्गठनका सदस्यहरूले प्रेरणा लिनुपर्छ । यी क्रान्तिकारी अग्रदूतहरू र नायकहरूले स्थापित गरेका प्रतिष्ठित नमुनाहरूलाई अनुशरण गरेर कोरियाली बाल सङ्गठनका सम्पूर्ण सदस्यहरू सर्वोत्तम क्रान्तिकारीहरू र नायकहरू बन्नुपर्छ ।
शक्तिशाली समाजवादी देश निर्माणका खम्बाहरूका रूपमा ज्ञानवान्, नैतिक रूपमा उच्च र शारिरिक रूपमा सबल रहेका सक्षम क्रान्तिकारी व्यक्तिहरूका रूपमा आफूलाई तयार गर्नु कोरियाली बाल सङ्गठनका सदस्यहरूको आधारभूत क्रान्तिकारी कार्यभार हो ।
कोरियाली बाल सङ्गठनका सदस्यहरूको पहिलो र सबैभन्दा महत्त्वपूर्ण कार्यभार कुशलतापूर्वक अध्ययन गर्नु हो । तिनीहरूको विद्यालयका रेकर्डहरूको श्रेष्ठताले हाम्रो देशको भावी राष्ट्रिय शक्तिको श्रेष्ठताको प्रतिनिधित्व गर्छ ।
कोरियाली बाल सङ्गठनका सदस्यहरूले आफ्नो मातृभूमि, शिक्षकहरू र अभिभावकहरूको विनम्र अनुरोधलाई दिमागमा गहिरोसँग राख्दै ज्ञानको धरोहरलाई उँचो बनाउन मेहनतपूर्वक अध्ययन गर्नुपर्छ ताकि तिनीहरू विश्वस्तरका वैज्ञानिकहरू र आविष्कारकहरू बनून् ।
तिनीहरूले सुन्दर समाजवादी नैतिक गुणहरू धारण गर्नुपर्छ ।
तिनीहरूले आफ्नो देश र जनतालाई अगाध माया गर्नुपर्छ र समाज, आफ्नो समूह (कलेक्टिभ) र सहकर्मीहरूको हितमा आफ्नो सर्वस्व समर्पित गर्नुपर्छ । तिनीहरूले आफ्ना शिक्षकहरू र आफूभन्दा ठूला मानिसहरूलाई सम्मान गर्नुपर्छ र तिनीहरूसँग विनम्र व्यवहार गर्नुपर्छ, सामाजिक सुव्यवस्था र सार्वजनिक नैतिकतालाई स्वतस्फूर्त रूपमा अवलोकन गर्नुपर्छ र आफ्नो दैनिक जीवनमा इमानदार तथा सदाचारी हुनुपर्छ ।
कोरियाली बाल सङ्गठनका सदस्यहरूको स्वस्थ शरीर देशको एउटा सम्पत्ति हो । उनीहरू राम्रो स्वास्थ्यसहित तन्दुरुस्त भएर हुर्के भने मात्रै देश ओजसयुक्त हुन्छ र अझ धेरै बलियो हुन्छ ।
कोरियाली बाल सङ्गठनका सदस्यहरूले आफ्नो जिउडाल निर्माण गर्न, साहस र वीरता बढाउन खेलकुदजन्य गतिविधिहरूलाई तीव्रता दिनुपर्छ र एकभन्दा बढी खेलमा पोख्त हुनुपर्छ ।
कोरियाली बाल सङ्गठनका सदस्यहरूले कला क्षेत्रका गतिविधिहरूमा सक्रियतापूर्वक भाग लिनुपर्छ र आफ्नो सांस्कृतिक स्तरलाई सुधार गर्नुपर्छ र गीतहरू गाएर, कविताहरू वाचन गरेर र वाद्यवादनका साधनहरू (बाजाहरू) बजाएर आफ्नो कला क्षेत्रको प्रतिभालाई पूर्ण रूपमा निखार्नु पर्छ ।
तिनीहरूले हाम्रो देशको समाजवादी व्यवस्थामा कान्ति थप्न आफ्नो सर्वस्व अर्पित गर्न तयार हुनुपर्छ ।
तिनीहरू आफ्नो खुसी खोज्ने आत्मभोगी कपुतहरू बन्नु हुँदैन, बरु नौजवान देशभक्त बन्नुपर्छ जसले किम जोङ इलको देशभक्तिलाई अनुशरण गर्दै हाम्रा क्रान्तिकारी अग्रदूतहरूले आफ्नो रगत र पसिना खर्चेर यो भूमिमा सिर्जना गरेका सबै संशाधनहरूलाई कदर गर्नुपर्छ र आफ्नो देशको हरेक रुखबिरुवा र घाँसको पातलाई समेत प्रेमपूर्वक हेरचाह गर्नुपर्छ ।
तिनीहरूले विभिन्न प्रकारका सामाजिक–राजनीतिक गतिविधिहरू र ‘असल–काम–गर’ आन्दोलनहरूलाई बढावा दिनुपर्छ ताकि तिनीहरूको शक्तिशाली समाजवादी देश निर्माण गर्ने वीरतापूर्ण सङ्घर्षमा आफ्ना बुवाहरू, आमाहरू, भाइहरू र बहिनीहरूलाई प्रोत्साहन दिन सकून् र आफ्नो देशको आर्थिक विकासमा योगदान गर्न सकून् ।
तिनीहरूले साम्राज्यवादीहरू र अरू वर्गशत्रुहरूलाई घृणा गर्नुपर्छ र तिनीहरूका चालबाजीहरूको विरुद्धमा तीक्ष्ण क्रान्तिकारी निगरानी राख्नुपर्छ । यदि शत्रुले देशमाथि आक्रमण गर्ने दुस्साहस ग¥यो भने जापानविरोधी सशस्त्र सङ्घर्षमा बालसेनाका सदस्यहरू र पितृभूमि मुक्ति युद्धका दिनमा बालरक्षक दलका सदस्यहरूले जस्तै साहसी बनेर लड्नका लागि स्वयम्लाई मानसिक रूपमा तयार गर्नुपर्छ ।
सङ्गठनात्मक जीवनको माध्यमले तिनीहरूले सङ्गठन र अनुशासनको चेतनास्तर सुधार गर्नुपर्छ र महान् किम इल सुङ एवम् किम जोङ इलका बाल सङ्गठनका सदस्य हुनुको गौरवलाई उँचो बनाउनु पर्छ ।
तिनीहरूले कोरियाली बाल सङ्गठनको झन्डामुनि लिएको सपथ आफ्नो मातृभूमिका लागि गरेको पहिलो प्रतिज्ञा हो र तिनीहरूको कोरियाली बाल सङ्गठनको जीवन नै राजनीतिक गतिविधिहरू मार्फत आफ्नो बचनवद्धता पूरा गर्ने प्रक्रिया हो ।
तिनीहरूले सधैँ आफ्ना सङ्गठनहरूलाई माया र कदर गर्नुपर्छ, स्वेच्छापूर्वक सङ्गठनात्मक अनुशासनलाई अवलोकन गर्नुपर्छ र आफ्नो सङ्गठनले दिएका कार्यभारहरूलाई सफलतापूर्वक सम्पन्न गर्नुपर्छ ।
कोरियाली बाल सङ्गठनको भूमिकालाई सशक्त बनाउन र यसका कार्यहरूमाथिको मार्गदर्शनलाई सुधार गर्नका लागि तिनीहरूलाई समाजवादी देशका सच्चा सपूतहरू तथा नौजवान क्रान्तिकारीहरूका रूपमा प्रशिक्षित गर्नु अत्यन्तै महत्त्वपूर्ण छ ।
कोरियाली बाल सङ्गठनले महान् सर्वोच्च सेनापतिहरूको गौरवशाली बाल्यकाल र ‘५ बुँदे शैक्षिक कार्य’बाट सिक्ने आन्दोलनलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्छ ताकि यो (बाल सङ्गठन) पार्टीप्रति अटुट रूपमा वफादार क्रान्तिकारी सङ्गठन बन्न सकोस् ।
तिनीहरूले आफ्ना सदस्यहरूको सामूहिकतावाद, स्वतन्त्रता र सिर्जनशीलताको भावनालाई उँचो बनाउन धेरै ठूलो प्रयास गर्नुपर्छ, ताकि ती सबै शक्तिशाली समाजवादी देशको भविष्य काँधमा बोक्ने कर्णाधारका रूपमा तयार होऊन् ।
युवा लिगले सङ्गठनात्मक जीवनको दिशामा पहिलो पाइला टेकेका कोरियाली बाल सङ्गठनका सदस्यहरूलाई समुचित तरिकाले मार्गदर्शन गर्ने अत्यन्तै गह्रौँ जिम्मेवारी बोकेको छ । यसले सदस्यहरूको तयारी र मनोवैज्ञानिक विशेषतालाई ध्यानमा राख्दै कोरियाली बाल सङ्गठनका कामहरूलाई अति मिहीन तरिकाले मार्गनिर्देशन गर्नुपर्छ । विशेषतः यसले कोरियाली बाल सङ्गठनका विद्यालय प्रशिक्षकहरू र यसका उपशाखा शिक्षकहरूलाई सकरात्मक सहयोग प्रदान गर्नुपर्छ ताकि उनीहरूले उच्च जिम्मेवारीवोध र व्यावहायरिक खुबीहरू प्रयोग गर्दै कोरियाली बाल सङ्गठनको कामलाई निरन्तर रूपमा सुधार गर्न सकून् ।
यसले कोरियाली बाल सङ्गठनका अभियन्ताहरूको स्तरको सूची तयार गर्नुपर्छ । तिनीहरूलाई कोरियाली बाल सङ्गठनको कार्यमा एउटा स्वतन्त्र र सिर्जनात्मक तरिकाले काम गर्न नेतृत्व गर्नुपर्छ, र अरू सदस्यहरूले अध्ययन र जीवनमा अनुशरण गर्ने नमुना बन्नुपर्छ ।
सबै पार्टी सदस्यहरू र अरू श्रमजीवी जनताले कोरियाली बाल सङ्गठनका सदस्यहरूलाई देशका सम्पत्तिका रूपमा महत्त्व र प्रेम दिनुपर्छ र तिनीहरूका शिक्षादाता तथा अभिभावकका रूपमा तिनीहरूको शिक्षा र ज्ञानप्राप्तिमा निकटबाट ध्यान दिनुपर्छ । यसरी कोरियाली बाल सङ्गठनका सबै सदस्यहरूलाई सिङ्गो समाजको हित र संरक्षणसँगै देशका भरोसायोग्य खम्बाहरूका रूपमा विकास गर्ने काम सुनिश्चित हुनेछ ।
सबै तहका पार्टी सङ्गठनहरूले कोरियाली बाल सङ्गठनको कामलाई एउटा महत्त्वपूर्ण दायित्त्वका रूपमा लिनुपर्छ, जसमा देश र राष्ट्र तथा हाम्रो क्रान्तिको भविष्य निहित छ र यसलाई पार्टीमुखी मार्गदर्शन गर्नुपर्छ ।
कोरियाली बाल सङ्गठनका प्रिय प्रतिनिधिज्यूहरू,
कोरियाली बाल सङ्गठनका सदस्यहरूको भविष्य अन्तहीन रूपले उज्ज्वल छ र “हामी संसारका सबैभन्दा खुसी छौँ” भन्ने गीत गुन्जने एउटा शक्तिशाली समाजवादी देश उनीहरूका लागि सुरक्षित छ ।
हाम्रो पार्टीले तिनका सुन्दर गुणहरू र साहसी तथा प्रफुल्ल मुहारमा जुछे क्रान्तिको सुन्दर भविष्य देखेको छ, तिनीहरू र तिनीहरूको खुसीयुक्त हाँसो तथा उज्ज्वल भविष्यको रक्षा गर्नका लागि कुनै कसर बाँकी राख्ने छैन ।
मलाई दृढ विश्वास छ कि कोरियाली बाल सङ्गठनका सबै सदस्यहरू पार्टीले निर्धारित गरेको बाटोमा कोरियाली बाल सङ्गठनको झन्डा उठाउँदै सीधा र गतिशील रूपमा अगाडि बढ्दै हाम्रो पार्टी र सम्पूर्ण जनताको अपेक्षामा खरो उत्रने छन् ।
हाम्रो भविष्यका भरोसायोग्य उत्तराधिकारीहरू, हाम्रो शक्तिशाली मातृमूमि तथा समाजवादी कोरियाका भविष्य कोरियाली बाल सङ्गठनका सदस्यहरूको मार्गमा सर्वदा खुसीयाली र गौरव छाइरहोस् ।
(अनुवादः नहेन्द्र खड्का)
याे पनि पढ्नुहाेस्ः हाम्रो विजय सुनिश्चित छ – मार्सल किम जोङ उन
याे पनि पढ्नुहाेस्ः क्रान्तिको अन्तिम विजयका लागि सक्दो प्रयत्न गरौँ