काठमाडौँ । बुधबार दिउँसो हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीको पाँच मिनेटको सम्बोधन नै अन्तिम सम्बोधन बन्न पुगेको छ।
तेह्रथुमको चुहानडाँडामा मन्त्री अधिकारीले जम्मा पाँच मिनेट सम्बोधन गर्नुभएकाे थियाे। उहाँले प्रधानमन्त्रीकै निर्देशनमा आफू आएको बताउनुभएकाे थियाे।
यस्तो छ मन्त्री अधिकारीको अन्तिम सम्बोधनको मुख्य अंश :
हामी आज यहाँ छौँ, एयरपोर्ट हेर्ने हिसाबले आएका छैनौँ । अहिले हामी एयरपोर्ट बनाउने हिसाबबाट हेर्न आएका छौँ । मेरो साथमा एयरपोर्टको नक्सा, इस्टिमेट, डिजाइन सबै छ। पहिला एयरपोर्ट बन्न २९ करोड लाग्ने भने पनि अहिले ८७ करोड खर्च हुने अवस्था छ। त्यो सम्पूर्ण इस्टिमेट मैले बोकेर आएको छु।
म यतिबेला २ वटा सन्दर्भ बताउन चाहन्छु । बर्तमान सरकार बनेपछि मुलुकको आर्थिक समृद्धि र विकासले गति लिइरहेको छ। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले समृद्धि र विकासको नेतृत्त्व लिइरहनुभएको छ, हामी उहाँको मन्त्रीमण्डलमा बसेर काम गरिरहेका छौँ । यो ठाउँ प्रधानमन्त्रीको जन्मस्थल भएकाले मात्र होइन, एयरपोर्टका हिसाबले उपयुक्त भएकाले हेर्न आएका हौँ ।
एयरपोर्ट बनाउने भनेपछि हामीले धेरै छलफल गर्यौँ, स्टिमेट हेर्यौँ । प्रधानमन्त्रीले हामीलाई सबै कुराको अध्ययन गर्न भन्नुभयो । हामीले सबै कुरा अध्ययन गर्यौँ । त्यसपछि प्रधानमन्त्रीज्यूले पर्यटनमन्त्री नै गएर चुहानडाँडा हेर्नुस् भन्नुभयो।
प्रधानमन्त्रीको निर्देशनअनुसार हामी आएका छौँ । हामीले यहाँ स्थलगत अध्ययन गर्दा ठाउँ उपयुक्त लाग्यो । यहाँ केही कुराले पनि छेक्दैन । म तपाईंहरुसामु प्रधानमन्त्रीज्यूको सन्देश बोकेर आएको छु । यो सरकार एयरपोर्ट बनाउन प्रतिबद्ध छ।
हामी एयरपोर्ट बनाउन प्रतिबद्ध छौँ, यसमा अब कुनै शंका छैन । तपाईंहरुको हामीलाई साथ छ । पानी परेको छ, मौसम खराब भएको छ, हामीलाई फेरि काठमाडौँ पुग्नुछ। म यत्ति भन्न चाहन्छु, सरकारले आफ्नो काम अगाडि बढाइरहेको छ ।
सधैँ अस्थिरताबाट फाइदा उठाएकाहरु आत्तिएका छन्। उनीहरु कराएका छन्, सरकारले केही काम गरेन भनिरहेका छन् । केही काम भएन भनेका छन् । तर, सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा बर्तमान सरकार बनेपछि धेरै कामहरु भएका छन् ।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार, तीनै सरकारले काम गरिरहेका छन् । तीनवटै सरकार जनताको पक्षमा छन्, समृद्धिको पक्षमा छन्। अहिले परिणाम देखिन थालेका छन् । हामीले अझै प्रभावकारी काम गर्नुछ । यहाँ काम भएन भनेर हल्ला गर्नेहरु पनि छन् । उनीहरुले काम नभएर होइन, काम भएर हल्ला गरेका हुन् ।
सरकारले काम गरिरहेकाले काम गरेन भनेका हुन् । तपाईंहरुकहाँ मध्यपहाडी लोकमार्ग बनिरहेको छ । एयरपोर्ट बनाउने भनेर हामी यहाँ आएका छौँ । हामीले देशभरिका एयरपोर्ट बनाउँदैछौँ । अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदैछौँ।
सरकारले पूर्वाधार विकासको काम गरिरहेको छ। विकासका काम भएका छन्, उत्पादनका काम भएका छन्, रोजगारी सिर्जनाका क्षेत्रमा काम भएका छन्। शिक्षा र स्वास्थ्यमा काम भएका छन् । तीनवटै सरकारले काम गरिरहेको छ। देशको आर्थिक विकास र समृद्धिलाई अब कसैले रोक्न सक्दैन, कसैको गफले रोकिँदैन, हामी अगाडि बढ्छौँ ।