नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्र
(पहिलो घोषणापत्र)
(१५ सेप्टेम्बर, १९४९)
पहाड पर्वत खोला नाला जग्गा जमिन सबको
मालिक हामी दास बनौँ किन हिस्सा सबमा सबको !
१
विगत चालिस वर्षमा दुई विश्वयुद्धहरू भए । पहिलो विश्वयुद्धको फलस्वरूप विश्वको छ खण्डको एक खण्ड भू-भाग पुँजीवादी घेराबाट मुक्त भएको छ र समाजवादी सोभियत संघको जन्म भएको छ र सबल वैज्ञानिक समाजवाद महान् ऐतिहासिक यथार्थतामा फेरिएको छ । यो महान् ऐतिहासिक यथार्थता पुँजीवादी तथा सामन्ती दासत्व विरुद्ध विद्रोह गर्न सबै मुलुकहरूका शोषित र श्रमजीवी जनतालाई निरन्तर आह्वान हो । अतः बेलायत, फ्रान्स र अमेरिकाका पुँजीवादी शासक वर्गहरूले सोभियत संघको विरुद्ध हिटलरी फासिष्टवादलाई जन्माए र प्रत्यक्षरूपले दोस्रो विश्वयुद्धको लागि बाटो बनाइदिए, तर दोस्रो विश्वयुद्धको फलस्वरूप, सोभियत संघ ध्वस्त नभएको मात्र होइन, बरु पूर्वी तथा दक्षिणपूर्वी युरोपका कैयन् मुलुकहरूले आफूलाई पुँजीवादी-साम्राज्यवादी कैदीबाट मुक्त पारेर समाजवादी विश्वको सिमानालाई विस्तारित पारे । दोस्रो विश्वयुद्धको फलस्वरूप, अन्तर्राष्ट्रिय मजदुर आन्दोलनले ठुलो फड्को मारेको छ र औपनिवेशिक जनताहरूले खुल्ला सशस्त्र विद्रोहको बाटो लिएका छन् । यसरी विश्व पुँजीवादका मोर्चा र पृष्ठभाग गम्भीर खतरामा परेका छन् ।
दक्षिणपूर्वी एसियामा चलिरहेको क्रान्तिकारी लहर हाम्रो प्यारो मुलुक नेपालमा पनि पुगेको छ । एउटा युग पुरानो सामन्ती अत्याचारलाई हाँक दिँदै नेपालको मजदुरवर्ग पहिलोपल्ट मार्च १९४७ मा संग्राममा प्रवेश गर्यो । बिराटनगर जुट तथा कपडा मिलहरूका मजदुरहरूले बाँच्नलायक ज्याला र काम गर्ने राम्रो अवस्थाको लागि हडताल गरे । गुप्तरूपमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको मजदुर युनियनले त्यसको नेतृत्व गर्यो । भारतको विश्वासघाती समाजवादी नेता र निष्कासित राणाहरूद्वारा समर्थित नेपाली राष्ट्रिय काङ्ग्रेसका नेताहरूले हडतालप्रति विश्वासघात गरे । हडतालको छाल राजधानीमा पनि फैलियो । काठमाडौँमा बिजुली तथा टक्सार विभागका सरकारी कर्मचारी र बैंक तथा अस्पतालका कर्मचारीहरूले त्यस्तै मागहरू राखेर हडताल गरे । हडतालीहरू कति दृढ थिए भने सरकार तलब बढाउन र रासन दिन वाध्य भयो । काठमाडौँ उपत्यकाभित्र मात्र तलबवृद्धि र अन्न खरिद सुविधाहरू सीमित भए पनि नेपालका सम्पूर्ण जनताले त्यसलाई आफ्नै विजयको रूपमा लिए र आफ्ना अधिकारहरूका सुरक्षार्थ जनसंघर्षको खाँचोलाई बुझे।
२
१३८५ देखिन सामन्ती निरङ्कुशहरूले नेपालमा शासन गर्दैछन् । यी शताब्दीहरूको क्रममा भएका परिवर्तनहरूले राणाहरूको निरंकुशतालाई मात्र बलियो पारेका छन् । नेपालका केही भागमा पुँजीवादी उत्पादन प्रणाली लागु भए पनि अझसम्म सामन्ती उत्पादन प्रणाली र प्रशासनको निर्णायक प्रभाव रहेको छ ।
मुलुकमा अझसम्म आत्मनिर्भर प्राकृतिक अर्थतन्त्रको प्रभुत्त्व छ, तर यो मर्दोरूपमा छ । किसानहरूले आफ्नो खाद्यान्न मात्र होइन, आफूले उपयोग गर्ने धेरैजसो चीज आफै पैदा गर्छन् । राणा, जमिन्दार, द्वारे, ठालु र मुखियाहरूले किसानहरूबाट उठाएको तिरो आफ्नै व्यक्तिगत मोज-मज्जामा खर्च गर्छन् । पहिले उक्त तिरोलाई चीजहरूको विनिमयमा प्रयोग गरिन्थ्यो । अहिले सामन्ती परजीवीहरूले त्यस्तो प्रणाली लागु गरेका छन् तापनि त्यसको अझसम्म निर्णायक प्रभाव रहेको छ ।
धेरैजसो जमिन सामन्ती शासकवर्ग अर्थात् राणा, साहेबज्यू, घरानियाँ, जमिन्दार र गुरुज्यूहरूको मालिकत्वमा रहेको छ । किसानहरूको मालिकत्वमा ज्यादै थोरै जमिन छ, वा छँदै छैन । किसानहरूले आफ्नै ज्यावल प्रयोग गरेर आफ्ना मालिकहरूको जमिन जोत्छन् र ती मालिकहरूको लोभ पूरा गर्न आफ्नो बालीको तीन-चौथाई हिस्सा बुझउँछन् । १९२४ मा दासप्रथा उन्मूलन भए पनि अझसम्म घृणित खालको शारीरिक दण्ड दिने चलन छँदै छ । अझसम्म सामन्ती मालिकहरूले १५ दिनसम्म किसानहरूलाई थुन्ने कानुनी अधिकार पाएका छन् । वास्तवमा किसानहरूको स्थिति भूदासको भन्दा राम्रो छैन ।
किसानहरूले समस्त राणाहरू र सामन्ती मालिकहरूद्वारा गरिने शोषणको असहय भार बोक्नुपरेको छ र त्यसका साथै नजराना, कर तथा बेगारी दिएर सम्पूर्ण सामन्ती नोकरशाही र जनविरोधी सरकारी सेनालाई पनि कायम राख्नुपरेको छ ।
मल्ल वंशको शासनकालमा नेपालमा धेरैजना सामन्तहरूले शासन चलाउँथे, तर १७६९ देखिन् – पृथ्वीनारायण शाहको पालादेखिन् – नेपाल राजाहरू र तिनका सामन्ती पिठ्ठुहरूद्वारा शासित एक केन्द्रीकृत सामन्ती निरंकुश राज्य बनेको छ ।
नेपाली किसानहरूले कुनै पनि व्यक्तिगत शारीरिक वा राजनैतिक स्वतन्त्रताको उपभोग न पहिले गरेका थिए, न अहिले गर्न पाएका छन् । सामन्ती शासक गूटद्वारा गरिएको कठोरतम् रूपको शोषण तथा उत्पीडनको कारणले गर्दा नेपालको सामाजिक व्यवस्था शताब्दीयौँदेखिन् प्रायः गतिहीन रहेको छ ।
“कोत पर्व” को रूपमा परिचित बल-प्रयोगद्वारा सत्ता-अपहरणबाट राणाहरू सत्तामा आउनेबित्तिकै विदेशी साम्राज्यावादीहरूले नेपालमा छिटो आफ्नो प्रभाव बढाउन थाले । यो कतिसम्म बढेको छ भने आज नेपाल वास्तवमा साम्राज्यवादीहरूको अर्ध-उपनिवेश रहेको छ । त्यसबेलादेखिन् नेपाल बृटिश साम्राज्यवादीहरूका लागि भरौटेहरू भर्ती गर्ने एक मुख्य थलो बनेको छ र महाराणा त्यसको मुख्य दलाल रहेको छ । आज पनि भारतको पुँजीवादी नेहरु सरकारले बृटिस साम्राज्यवादीहरूलाई बृटिश उपनिवेशहरूको मुक्ति संघर्षलाई दबाउन भोका युवा किसानहरूमध्येबाट हजारौँ सिपाही भर्ती गर्न दिइरहेको छ । बृटिश एकाधिकारी पुँजीको नाफाको रक्षा गर्न, अपराधी महाराणाले गरिब नेपाली युवकहरूको जीवन र रगतको विक्री गरिरहेको छ ।
यसका अतिरिक्त वाल स्ट्रीटका एजेन्टहरूले नेपालमा प्रभुत्व जमाएका छन् र उनीहरू हाम्रो पवित्र भूमिमा सोभियत विरोधी सैनिक अड्डाहरू बनाउने योजना बनाउनमा व्यस्त छन । भारतीय पुँजीपतिहरू पनि नेपालमा आफ्नो शोषणका जालहरू फैलाउँदै छन् । नेपालमा जनवादी आन्दोलनको उठ्दो लहरको विरुद्ध आफ्नो स्थितिलाई बलियो पार्न महाराणाले उक्त सबै विदेशी शोषकहरुलाई निम्त्याइरहेको छ । कुन कुरो स्पष्ट छ भने जो शासक अङ्ग्रेज-अमेरिकी साम्राज्यवाद र भारतीय पिछलग्गुहरूको दलाल मात्र बनेको छ उसले भोको जनताको एउटा पनि समस्या हल गर्न सक्दैन । उसले जनताका समस्याहरूलाई बढाउन र चर्काउन मात्र सक्छ र वास्तवमा अहिले उसले यस्तै गर्दैछ ।
यस्तो भयानक थिचोमिचोको विरुद्ध नेपाली जनता आन्दोलित भएका छन् । पुँजीवादी उत्पादन-प्रणालीको स्थापनाले गर्दा आधुनिक समाजको सबभन्दा क्रान्तिकारी वर्ग – मजदुर वर्ग – को जन्म हुँदैछ । घृणित महाराणाको विरुद्ध प्रजातान्त्रिक अधिकारहरूका लागि ऐतिहासिक हडताल-संग्रामहरूमा नेपालका मजदुर वर्गले आफ्नो क्रान्तिकारी गुणको प्रदर्शन गरिरहेको छ । नेपालको इतिहासमा सर्वप्रथम जनताले राजनैतिक अधिकारहरुको माग गरेर काठमाडौँका सडकमा प्रदर्शन गरे । फेरि नेपालको जीवनमा पहिलोपल्ट विद्यार्थीहरुले शिक्षण संस्थाभित्र राजनैतिक सभाहरू गरे र उनीहरू नागरिक अधिकारहरूको मागलाई बुलन्द गर्दै सडक प्रदर्शनमा उत्रे । उक्त आन्दोलनलाई निर्ममतापूर्वक दबाइयो, तर पनि शासकवर्गले बाध्य भएर नागरिक अधिकारहरू दिने र राजबन्दीहरू छाड्ने कबुल गर्नुपरेको थियो । लडाकु जनताले यसलाई ठिकरूपमा महाराणा र उनको गूटको कमजोरीको स्वीकरोक्ति र आफ्नो बढ्दो तागतको प्रमाण ठानेका छन् ।
३
दोस्रो विश्वयुद्धको अन्त्यदेखिन् सम्पूर्ण संसार दुई शिविरमा विभाजित भएको छ – अमेरिकी तथा बृटिश एकाधिकारी पुँजीद्वारा नेतृत्व गरिएको साम्राज्यवाद, प्रतिक्रियावाद तथा युद्धको शिविर र सोभियत संघद्वारा नेतृत्व गरिएको साम्राज्यवाद-विरोध, जनवाद तथा शान्तिको शिविर । अङ्ग्रेज-अमेरिकी साम्राज्यवादी युद्धखोरहरूले संसारभर प्रत्येक मुलुकभित्र जनवादी शक्तिहरूको उठ्दो लहरको विरुद्ध प्रतिक्रियावादीहरूलाई सक्रियरूपले सहयोग गरिरहेका छन् र उपनिवेशविरूद्ध आक्रमणकारी युद्ध चलाइरहेका छन् । आसन्न पुँजीवादी संकटबाट उम्कने र अमानवीय शोषणको आफ्नो टाटपल्टेको पुँजीवादी व्यवस्थालाई जोगाउने उद्देश्यले तिनीहरूले सोभियत संघ र लोकजनवादी राज्यहरूको विरुद्ध तेस्रो विश्वयुद्ध भड्काउन हतारमा तयारी गर्दैछन् । नेपालका शासक गुटहरूले साम्राज्यवादी पुँजीवाद र युद्धको यस शिविरलाई खुल्लारूपमा साथ दिएका छन् र आज प्रतिक्रियावादका इमान्दार चाकरको रूपमा काम गर्दैछन् । आफ्नो जालसाजी प्रचारयन्त्रको व्यापक प्रयोग गरेर राणाहरूले जनतालाई के विश्वास दिलाउन खोज्दैछन् भने बेलायत, अमेरिका र भारतसित भएको उनीहरूको विश्वासघाती गठबन्धनले हाम्रा जनताका लागि शान्ति-सुख ल्याउनेछ । स्वर्गीय प्रधानमन्त्री पद्मसमशेर राणाले मोहनसमशेर राणाले आधुनिक राज्यको रूपमा नेपालको निर्माण गर्न एक पाँच वर्षीय योजनाको घोषणा समेत गरेका छन् । तर यी आँखामा छारो हाल्ने कुरा मात्र हुन् । वास्तवमा राणाहरूको तरिका अमेरिका युद्धखोरहरूको सेवामा नेपाललाई युद्ध अखडा बनाउन दिने तरिका हो र नेपालको व्यापार तथा वाणिज्यलाई भारतीय पुँजीपति वर्ग र त्यसको नेहरु सरकारको सेवामा सुम्पने तरिका हो । महाराणासित सन्धि गरेरै केही अमेरिकी व्यापारिक संस्थाहरूले आगामी तिस वर्षका लागि पश्चिम नेपालका केही भागहरूलाई आफ्नो नियन्त्रणमा लिइसकेका नै छन् । काठमाडौँस्थित अमेरिकी मिसनले हाम्रो मुलुकलाई आफनो उपनिवेशमा परिणत गर्न जोडतोडले काम गर्दैछ ।
१८५७ देखिन् नेपालको मानवशक्तिको उपयोग गरिआएका बृटिश साम्राज्यवादीहरू पनि यस निन्दनीय काममा त्यतिकै संलग्न छन् । बृटिश, भारतीय र नेपाल सरकारहरूका बिच नोभेम्बर १९४७ मा काठमाडौँमा हस्ताक्षर भएको सन्धिको एउटा धारा निम्न प्रकारको छः
“भारतीय सरकारले कुन कुरोलाई सकारेको छ भने भारत वा नेपालको कुनै ठाउँमा अर्को भर्तीकेन्द्र नबनेसम्म बृटिश सरकारले पहिलेझैँ गोरखपुर र घुमका भर्तीकेन्द्रहरूको प्रयोग गर्नेछ ।”
उपरोक्त एउटै धाराले नेहरू सरकार र महाराणा सरकारको “तटस्थ” तथा “स्वाधीनता” सम्बन्धी कथालाई धुजाधुजा पारिदिएको छ । फेरि सो धाराले कुन नाङ्गो सत्यलाई प्रमाणित गरेको छ भने नेहरू सरकार र नेपाल सरकार दुवै प्रतिक्रियावाद तथा युद्धको साम्राज्यवादी शिविरका सक्रिय सहभागी तथा चाकर हुन् ।
नेपाली जनताको दुर्भाग्य यतिमा मात्र सीमित रहेको छैन । नयाँ दिल्लीमा आफ्नो सरकारको संरक्षण तथा निर्देशन पाएका भारतीय ठुलो बन्द-व्यापारले एउटा ठुलो युद्धमा नेपालको ढोका खोलिरहेको छ । बिडला, सिन्धारिया र चौधरियाले नेपालमा जूट, कपडा र चिनी मिलहरू खोलेका छन् । नेहरू सरकार आफैले कोशी योजना लिएको छ । आज नेपालमा लगानी गरिएको पुँजीको अधिकांश हिस्सा भारतीय पुँजीपतिहरूको छ । यी भारतीय पुँजीवादी लुटेराहरू नेपालका सस्तो श्रम र प्राकृतिक साधन-स्रोतहरूको शोषणमा लागेका छन् र उनीहरूको उद्देश्य आफ्नै थैली भर्ने हो र नेपालको औद्योगीकरण गर्नु होइन, किनभने उनीहरू औद्योगीकरण गर्न अनिच्छुक मात्र होइन, असमर्थ पनि छन् । यसरी नेपाली जनता दोहोरो शोषणको जाँतोमुनि पिसिँदै छन् – सामन्ती शोषणलाई पुँजीवादी शोषणले टेवा दिँदैछ । आफ्नो प्राकृतिक अर्थतन्त्रको स्थितिबाट छुट्टिएर नेपाल अचानक विश्व पुँजीवादी अर्थतन्त्रको आँधीमा पर्न गएको छ र आसन्न संकटको खतरनाक समाघातमा परेर काँपिरहेको र टुटिरहेको छ । यसबाट नेपाली जनताको मुक्ति होइन, विनाश हुनेछ ।
त्यसैले नेपाली जनताले एउटा भिन्नै बाटो लिनुपर्छ । त्यो बाटो हो – विश्व जनवादी शिविरसित सक्रिय मेल गरी विद्यमान सामन्ती व्यवस्था र नेपालमाथिको सम्राज्यवादी-पुँजीवादी आधिपत्यलाई पूरैसित खतम पार्नु र मजदुर वर्गको नेतृत्वमा मेहनतकश जनताको जनवादी राज्य स्थापना गर्नु अर्थात् यस्तो राज्य व्यवस्था स्थापना गर्नु, जसमा जनता राष्ट्रको सम्पतिका मालिक हुनेछन् र उनीहरूले त्यसलाई आफ्नै फाइदाका लागि विकसित गर्नेछन् । विजयी समाजवादको देश सोभियत संघको अनुभव र पूर्वी युरोपका लोक जनवादी राज्यहरू, नयाँ चीन, उत्तर कोरिया तथा औपनिवेशिक जनताका अघि बढिरहेका दस्ताहरूको अनुभवहरूले नेपाली जनतालाई दिन प्रतिदिन यस गौरवपूर्ण संघर्षमा प्रेरणा दिँदैछन्, किनभने तिनले सर्वत्र उत्पीडित जनतालाई प्रेरणा दिन्छन् ।
सामन्ती व्यवस्था र नेपालमाथिको साम्राज्यवादी अधिकारलाई खतम पार्न संघर्षमा मजदुर वर्गले अग्रणी भूमिका खेल्नुपरेको छ र यो इतिहासले त्यसको काँधमा हालिदिएको कार्यभार हो । आज संख्यामा थोरै भए पनि नेपालको मजदुर वर्ग, पुँजीवादी शोषण तीव्र हुँदै गएको सिलसिलामा दिन प्रतिदिन संख्यात्मक र राजनैतिक दृष्टिले बलियो हुँदैछ । “सोभियत संघको कम्युनिस्ट पार्टी (बो) को इतिहास” मा कामरेड स्टालिनले भन्नुभएको छः
“त्यसैले हामीले आफ्नो कार्यदिशाको आधार समाजका त्यस्ता अङ्गहरूलाई बनाउनु हुन्न, जो अहिले प्रमुख शक्ति रहे तापनि विकसित भइरहेका छैनन् । बरू हामीले त्यस्ता अङ्गहरूलाई आफ्नो आधार बनाउनु पर्छ, जो अहिले प्रमुख शक्ति नरहे तापनि विकसित भइरहेका हुन्छन् र जसको सामु भविष्य छ ।”
४
नेपालमा विकासशील वर्ग संघर्षप्रति यस्तो द्वन्द्वात्मक-भौतिकवादी दृष्टिकोणको मद्दतबाट मात्र क्रान्तिकारीहरूले सही रणनीतिको प्रतिपादन गर्न र त्यसलाई मार्क्स-एङ्गेल्स-लेनिन-स्टालिनको अजेय झण्डामुनि विजयसम्म बढाउन सक्नेछन् ।
हामी नेपालका मजदुर, किसान, सिपाही, श्रमजीवी, मध्यम वर्गहरू र सारा प्रजातन्त्रप्रेमी जनतालाई के अपिल गर्छौँ भने उनीहरू सामन्ती एकतन्त्रवादको विरूद्ध र आफ्ना सबै प्रिय आकांक्षाहरूको सिद्धीकरणका लागि एउटा साझा मोर्चामा एकगठ होऊन् । हामीलाई कुन कुरामा पूर्ण विश्वास छ भने जनवादी शक्तिहरू तलका जनवादी कार्यक्रमको आधारमा ठोसरूपले एकगठ हुन सक्छन् :
“सामन्ती एकतन्त्रशाही तथा विदेशी अधिपत्यको पूर्ण उन्मूलन र पूर्ण तथा वास्तविक स्वधीनता ।”
१. मजदुर, श्रमजीवी किसान र उत्पीडित निम्न-पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने जनवादी सरकार, जुन अंग्रेजी अमेरिकी साम्राज्यवाद र त्यसका भारतीय पिछलग्गुहरूसित सहयोगका विरोधी हुन्छ र जसले शान्ति तथा सबै जातिहरूको स्वतन्त्रताको लागि क्रियाशील रहेका जनवादी राज्यहरूसित सहयोग गर्दछ ।
२. वालिग मताधिकारमा आधारित संविधान, जसले सर्वसाधारणलाई पूर्ण स्वतन्त्रता र आधारभूत आर्थिक अधिकारहरूको ग्यारेण्टी गर्दछ । विशेषाधिकारहरू र जातपात, नश्ल र जातिको आधारमा गरिने भेदभावलाई कानुनद्वारा खतम पारिनेछ र त्यसको उलङ्घनलाई कानुनद्वारा दण्डनीय पारिनेछ ।
३. बिना मुआब्जा जमिन्दारी प्रथा र सबै खालका सामन्ती शोषणको उन्मूलन र जोताहाहरूमा जमिनको वितरण । ग्रामीण ऋण खतम गर्नु । कृषि मजदुरहरूलाई जीवनयोग्य ज्याला ।
४. बैंक, औद्योगिक तथा यातायत व्यवसाय, बगान आदिमा लगाइएको विदेशी पुँजी राज्यद्वारा जब्त गर्नु र ती व्यवसायहरूको राष्ट्रियकरण गर्नु ।
५. ठुलठुला उद्योगहरू, ठुला बैंकहरू र बिमा कम्पनीहरूको राष्ट्रियकरण, मजदुर नियन्त्रणको ग्यारेन्टी, न्यूनतम जीवनयोग्य ज्याला, आठ घण्टा कामको दिन आदि ।
६. मुलुकका साधन-स्रोतहरूको विकास गर्न आर्थिक योजना र मुख्य-मुख्य आर्थिक केन्द्रहरूबाट ठुलो व्यवसायलाई हटाउनु, निजी उद्योगहरूको नाफामाथि नियन्त्रण ।
७. सबै दमनकारी कानुनहरूको खारेज गर्नु ।
८. नोकरशाहीको उन्मूलन र निर्वाचित अधिकारीहरूसहितको र जन-समितिहरूद्वारा निर्देशित प्रशासन ।
९. आम जनतालाई सशस्त्र पार्नु र जनताको जनवादी सेना स्थापना गर्नु ।
१०. स्वतन्त्र शिक्षा र अनिवार्य प्राथमिक शिक्षा प्राप्त गर्ने अधिकार ।
११. महिलाहरूलाई समान प्रजातान्त्रिक अधिकारहरू ।
जनवादी मोर्चा र यसको निर्माण गर्न नेपाल कम्युनिस्ट पार्टीले नेपालका विश्वासघाती राजनैतिक पार्टी तथा नेताहरूको विरुद्ध दृढरूपमा संघर्ष गर्नुपर्छ र जनताका झुठा मित्रहरूलाई निर्ममतापूर्वक उदाङ्ग र एक्लो पार्नुपर्छ । जति हदसम्म बिगार्नेहरूको विरुद्ध संघर्ष चलाई तिनलाई परास्त गरिन्छ, त्यति हदसम्म नै नेपालमा जनसंघर्षले वास्तविक क्रान्तिकारी वेग प्राप्त गर्नेछ ।
नेपाली राष्ट्रिय काङ्ग्रेस (रेग्मी गूट र कोइराला गूट) र तथाकथित प्रजातन्त्र काङ्ग्रेसले नेपाली जनताका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय हितहरूप्रति विश्वासघात मात्र गरेका होइनन्, तर नेपालको सामन्ती निरङ्कुशतावादसित भारतको प्रतिक्रियावादी पुँजीवादी नेहरू सरकारसित र अङ्ग्रेज-अमेरिकी युद्धखोरहरूसित सहयोग गर्ने निर्लज्ज नीतिको निरन्तर अनुसरण गरिरहेका छन् । आफ्ना मुखपत्र र भाषणहरूमा उनीहरूले सोभियत संघ, गौरवशाली चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा भएको चिनियाँ जनताका महान विजय, मलया, भियतनाम, श्याम तथा इण्डोनेसियाको विरुद्ध विषालु बदनामीहरू ओकलिरहेका छन् । उनीहरूको भनाइअनुसार, महाराणाको घृणित सरकार नेपालका श्रमजीवी जनताको साझा सत्रु होइन । उनीहरूको भनाइअनुसार कम्युनिज्म र कम्युनिस्टहरू नेपालका लागि मुख्य खतरा हुन् र उनीहरू कम्युनिज्म विरुद्ध आफ्नो “पवित्र अभियान” मा महाराणाको रक्तरञ्जित हातसित हात मिलाउनसमेत इच्छुक छन् । कम्युनिज्मको विरुद्ध उनीहरूको पाखण्डी घृणामा मौलिक कुरा केही पनि छैन । यो त संसारभरका जनसत्रुहरूको सुपरिचित तथा दिवालिया नीति हो । कम्युनिज्म-विरोधलाई आवरण बनाएर उनीहरू आफ्नो अपराधपूर्ण निहित स्वार्थको रक्षा गर्न शोषित जनताको विरुद्ध लड्ने गर्छन् ।
उदयमान मध्यम वर्गको सानो तहको प्रतिनिधित्व गर्ने रेग्मी र खुद आफै सामन्ती मालिक रहेका असन्तुष्ट राणाहरू श्रमजीवी जनताको शोषणलाई खतम पार्नमा बिलकुल चासो राख्दैनन् । उनीहरू विद्यमान सत्तासित सम्झौता गर्न चाहन्छन् र जनताको रगत चुस्नमा उचित हिस्सा प्राप्त गर्न मात्र उत्सुक छन् । आफनो खराब उद्देश्य सिद्ध गर्नका लागि उनीहरू जनताको वास्तविक असन्तोषसित खेलवाड गर्छन्, विरोधको टोपी लगाउँछन् र नक्कली वीरता देखाउँछन् । तर उनीहरू सधैभरि आम जनताको क्रान्तिकारी शक्ति र अग्रसरतालाई रोक्न भगीरथ कोशिस गर्दछन् । तर जब जनअसन्तोषले सारा छेकबारलाई भत्काउन लागेको हुन्छ, अनि यी बाग्बहुल वीरहरू अहानिकर सत्याग्रह संघर्ष चलाउँछन् र सो संघर्षले आम क्रान्तिकारी चरित्र लिन थाल्ने बित्तिकै उनीहरू संघर्षरत जनताको पीठपछाडि संघर्षलाई फिर्ता लिन्छन् र महाराणासित गर्हित सम्झौता गर्छन् । उनीहरूले हालसालै मात्र यसो गरेका छन् ।
कम्युनिस्टहरू श्रमजीवी जनताको संघर्षका सबभन्दा सम्झौताहीन समर्थक हुन् । त्यसैले स्वाभावतः यी गद्दारहरू कम्युनिस्टहरूको विरुद्ध आफ्ना मुख्य हमलालाई केन्द्रित पार्छन । शोषित जनताप्रतिको विश्वासघात र शासक वर्गहरूप्रतिको अधीनस्थतालाई लुकाउन उनीहरूले “तेस्रो बाटो” को झुठो नारा उठाएका छन् । अङ्ग्रेज-अमेरिकी एकाधिकारी पुँजीको नेतृत्वमा रहेको पुँजीवादको शिविर र सोभियत संघ तथा अन्तर्राष्ट्रिय मजदुर वर्गको नेतृत्व रहेको समाजवादको शिविरमा स्पष्टरूपले विभाजित संसारमा कुनै ” तेस्रो बाटो”, कुनै “मध्यम मार्ग” को नीति हुन सक्दैन । उपयुक्त दुई शिविर, दुई बाटोमा एउटा सबैले चुन्नु पर्छ । “तेस्रो बाटो” को नारा प्रतिक्रियावादसितको गठबन्धन र विश्वासघाती अनुहारलाई लुकाउन प्रयोग गरिएको राजनैतिक छद्मभेष हो । नेहरूको “तेस्रो बाटो” यसको एउटा घीनलाग्दो प्रमाण हो ।
नेहरुले “तेस्रो बाटो” बाट थालनी गरेर केही महिनाभित्रै उनी साम्राज्यवादी-सामन्ती गठबन्धनको शिविरमा अङ्ग्रेज-अमेरिकी युद्धखोरहरूको शिविरमा सामेल हुन पुगे । “तेस्रो बाटो” को अनिवार्य गन्तव्य स्थान त्यही हो । यो अन्तर्राष्ट्रिय सामाजिक-जनवादको घृणित झण्डा हो, मजदुर वर्गप्रति विश्वासघातको झण्डा हो ।
हामी नेपालका प्रजातन्त्रवादी जनतालाई के आह्वान गर्छौं भने उनीहरू झुठा मित्रहरूबाट उक्त नक्कली प्रजातन्त्रवादीहरूबाट सतर्क होऊन् र उनीहरूले सोभियत संघद्वारा नेतृत्व गरिएको विश्व साम्राज्यवाद विरोधी शिविरको पक्षमा दह्रो अडान लेऊन् र लोकजनवादका लागि सम्झौताहीन संघर्षलाई अघि बढाऊन् ।
शोषित, पददलित जनताका पंक्तिमा रहेका दाजुभाइ दिदी-बहिनीहरू हो !
संसारका संघर्षरत जनताका नेता समाजवादी सोभियत संघको विरूद्ध हाम्रो पवित्र मातृभूमिलाई साम्राज्यवादी युद्ध-अखाडामा फेर्ने अपराधी योजनालाई विफल पार्न दृढरूपमा संघर्ष गर्नुहोस । नेपालका श्रमजीवी जनताले कहिले पनि हात सोभियत संघको विरूद्ध संघर्ष गर्ने छैनन्, आफ्नो वर्गीय दाजुभाइहरूको विरूद्ध कहिले पनि हात उठाउने छैनन् ।
विदेशमा साम्राज्यवादी डकैतीको रक्षार्थ रगत बगाउन इन्कार गर्नोस् । नेपालका गरिब जनताले अरू मुलुकहरूका गरिब जनताको शोषण गर्नमा साम्राज्यवादी उपनिवेशवादीहरूलाई किन मदत गर्ने ? नेपालका गरिब जनताले हाम्रो मुलुक र जनतामाथि आधिपत्य जमाइरहेका उही अङ्ग्रेज-अमेरिकी साम्रज्यवादीहरूलाई बलियो पार्न आफ्नो जीवनको बलिदान किन गर्ने ? बर्मा, मलाया र अन्य दक्षिण एसियाली मुलुकहरूको मुक्ति संघर्ष विरूद्ध लड्न इन्कार गर्नोस् किनभने ती मुलुकहरूका जनताहरू पनि उही मागहरूका लागि र उही शोषक वर्गहरूको विरुद्ध लडिरहेका छन्, जुन मागका लागि र जुन शोषक वर्गको विरुद्ध नेपाली जनता आफ्नो मुलुकमा लडिरहेका छन् । शोषितहरूको विरुद्ध होइन, शोषकहरूको विरुद्ध लड्न कम्मर कस्नुहोस् । आफ्नै दाजुभाइहरूतिर होइन, सर्वसाधारण जनताका सत्रुहरूतिर आफ्नो बन्दुक सोझ्याउनुहोस् । आफ्ना दाजु-भाइहरूको विरुद्ध लड्नुको अर्थ आफ्नै दासत्वलाई बलियो पार्नु हो ।
घृणित महाराणा र उनका अधिकृतहरूको आदेशमा आफ्नो मुलुकका आफ्नै जनतालाई दबाउन दृढतापूर्वक इन्कार गर्नुहोस् । महाराणा र उनको साँगुरो शासक गुटले तपाईँहरूलाई तपाईँको जग्गाको हकबाट बञ्चित पारेका छन्, तपाईँहरू र तपाईँहरूका नातेदारहरूलाई भोकको मुखमा झोसेका छन् र अनि तपाईँहरूको अति गरिबीबाट फाइदा उठाएर आफ्नो सशस्त्र चाकरको रूपमा तपाईँहरूलाई भर्ती गरिरहेका छन् र विदेशी साम्राज्यवादीहरूलाई भरौटेको रूपमा तपाईँहरूको बेचबिखन गरिरहेका छन् । सेनामा तपाईँहरूको जीवन एक सतत् अपमान हो । आफनै भोका दाजुभाइ तथा दिदीबहिनीहरुलाई गोली हान्न इन्कार गर्नुहोस्, थिचाहा र शोषकहरूतर्फ आफ्नो सङ्गीन सोझ्याउनुहोस् र आफ्ना संघर्षरत जनताको पक्ष लिनुहोस् । यो नै मुक्तिको बाटो, सम्मानको बाटो, जीवनको बाटो हो ।
नेपालका मजदुरहरू हो !
तपाईँहरूले मार्च १९४७ का आफ्ना पहिला हडताल-संग्रामहरूको बेलामा नै आफ्नो झण्डा, विश्व सर्वहारावर्गको अन्तर्राष्ट्रिय एकताको झण्डालाई उठाउनुभएको छ । निष्कासित राणाहरू र भारतको समाजवादी नेताद्वारा समर्थित काङ्ग्रेसी नेताहरूले तपाईँहरूको वर्ग सत्रुसितको पहिलो मुठभेडप्रति विश्वासघात गरे पनि त्यो मुलुकभर फैलियो । काङ्ग्रेसी गद्दारहरूले औपचारिकरूपले हडताल बन्द गर्ने घोषणा गरिसकेपछि पनि राजधानीमा विभिन्न विभागका सरकारी कर्मचारीहरूले बाँच्नयोग्य ज्याला र कामको राम्रो अवस्थाका लागि हडताल गरे । अब एकताबद्ध तागतद्वारा आफ्नो संघर्षलाई अघि बढाउनका लागि, सबै जिल्लाहरूवाट प्रतिनिधिहरू राखी आफ्नो स्वतन्त्र मजदुर संघहरू गठन गर्नुहोस् र उक्त जीवन्त मागहरूको तत्काल पूर्तिका लागि, बाँच्नयोग्य ज्याला, आठ घण्टा कामको दिन, कामको राम्रो अवस्था, सेवाको सुरक्षा, बुढेसकालमा भत्ता, केटाकेटीहरूको निम्ति मुफ्त शिक्षा, मजदुर संघीय अधिकारहरूको कार्यान्वयनका लागि आफ्ना शक्तिहरूको परिचालन गर्नुहोस् ।
मजदुर साथीहरू हो ! एकता, संगठन र संघर्षमा हाम्रो तागत रहेको छ । नयाँ नेपाल र प्रजातान्त्रिक जीवन पद्धतिको निर्माणका लागि लाल झण्डाको नेतृत्वमा नयाँ संग्रामहरूतर्फ अघि बढ्नुहोस् ।
नेपालका श्रमजीवी किसानहरू हो !
वर्तमान सामन्ती व्यवस्थाको विरुद्ध कठोर सम्झौताहीन संघर्षबाट नै तपाईँहरूको मुक्ति हुनेछ । यस गौरवशाली संघर्षमा तपाईँहरू न कमजोर हुनुहुन्छ, न एक्लो । तपाईँहरू मुलुकमा अत्यधिक बहुसंख्यामा हुनुहुन्छ । वीरतापूर्ण मजदुरवर्ग यस संघर्षको अघिल्लो मोर्चामा उभिएको छ र नेपाल, भारत, पाकिस्तान तथा समस्त विश्वका सबै प्रजातान्त्रिक शक्तिहरु तपाईँहरूको साथमा छन् । लाल झण्डाको नेतृत्वमा मुलुकव्यापी स्तरमा आफ्नो स्वतन्त्र जनसंगठन बनाउनुहोस् र तलका मागहरू पूरा गर्न दृढ संघर्ष चलाउनुहोस् !
१. जमिन जोत्नेलाई देऊ ।
२. खेत मजदुरहरूमा पर्ती जग्गा वितरण गर ।
३. गैरकानुनी नजराना तथा बेठ-बेगारी खारेज गर ।
४. ती माग तत्काल लागु गर ।
५. खेत मजदुरहरूका लागि बाँच्नयोग्य ज्याला ।
६. पूर्ण नागरिक स्वतन्त्रता ।
नेपालका विद्यार्थी तथा जनवादी युवाहरू हो !
नेपालको पहिलो राष्ट्रिय संघर्षमा तपाईँहरूले गौरवशाली भूमिका खेल्नुभएको छ र प्रशस्त रगत बगाउनुभएको छ । युवा गंगालालको अमर सहिद प्राप्तिले तपाईँहरू धेरैजनालाई नयाँ सङ्ग्राम र नयाँ बलिदानको निम्ति अभिप्रेरित गरेको छ । १९३० का एकजना वीर श्री खड्गमान अझसम्म आफ्नो आङमा सिक्री र नेलसहित जेलमा सडिरहनुभएको छ । दैनिक परिपक्व सङ्ग्रामहरूद्वारा उक्त परम्परालाई अरु उचाइमा उठाउने समय आएको छ र आह्वान गरिएको छ । आजसम्म तपाईँहरूको स्वतन्त्र लडाकु जनसंगठन नहुँदा विश्वासघाती र अवसरवादीहरूले तपाईँहरूलाई मझधारमा अलपत्र छाड्ने मौका पाएका छन् । त्यसैले तलका मागहरूको लागि लड्न आफ्नो स्वतन्त्र, लडाकु, प्रजातान्त्रिक जनसंगठन बनाउन अघि बढ्नुहोस् ।
१. सर्वसाधारण जनताका लागि पूर्ण प्रजातान्त्रिक अधिकारहरू ।
२. प्रजातान्त्रिक शिक्षा प्रणाली, मुफ्त अनिवार्य प्राथमिक शिक्षा, उच्चस्तरमा सस्तो शिक्षा ।
३. पूर्ण प्राज्ञिक अधिकारहरू ।
४. सच्चा स्वाधीनता, प्रजातन्त्र र शान्तिका लागि ।
नेपालका श्रमजीवी महिलाहरू हो !
हामी तपाईँहरूको बढ्दो संघर्ष र जुझारुपनको स्वागत गर्दछौँ । मार्च १९४७ मा बिराटनगर जुट तथा कपडा मिलहरूमा श्रमजीवी महिलाहरूले काँधमा काँध मिलाएर लडेका छन् । त्यही सालमा महिलाहरूले, महाराणाको सशस्त्र आतंकलाई हाँक दिँदै, राजनैतिक नाराहरू लगाएर काठमाडौँका सडकहरूमा प्रदर्शन गरेका छन् । जनआक्रोशको बढ्दोस्तरदेखि डराएर, राणा सरकारले बाध्य भई नगरपालिकीय प्रशासन जनताको हातमा सुम्पन पर्यो । तर निर्वाचनमा महिलाहरूलाई मतदान गर्ने अधिकारबाट बञ्चित पारियो । नेपालका श्रमजीवी महिलाहरूले चुपचाप सहेर बस्न इन्कार गरे । एउटा प्रतिनिधिमण्डल बनाएर उनीहरू प्रधानमन्त्रीको निवासस्थानतर्फ गए । त्यसबाट तपाईँहरूको लड्ने तथा अधिकार प्राप्त गर्ने अठोट देखिएको छ । सामाजिक, आर्थिक तथा राजनैतिक तेहोरो थिचोमिचोको विरूद्ध लड्न आफ्नो महिला संघ गठन गर्नुहोस् । तलका मागहरू उठाउनुहोस् र सम्झौताहीन संघर्षद्वारा त्यसलाई टेवा दिनुहोस् ।
१. समान कामको लागि समान तलब ।
२. राष्ट्रिय जीवनका सबै क्षेत्रमा समान अधिकारहरू ।
३. सुत्केरी सुविधा र केटाकेटीहरूका लागि सुरक्षित जीवन ।
४. मुफ्त शिक्षा ।
५. विदेशमा साम्रज्यवादी सेनाहरूमा रहेका हाम्रा छोरा र लोग्नेहरू फिर्ता देऊ ।
६. स्वतन्त्र, लोक जनवादी नेपाल ।
अतः नेपाल कम्युनिस्ट पार्टी श्रमजीवी जनताको विकासशील संघर्षमा सहभागी बन्ने र त्यसलाई संगठित पार्ने तथा नेतृत्व दिने र त्यसलाई विजयसम्म अघि बढाउने काममा आफूलाई समर्पित गर्दछ । यसलाई सो बाटोबाट जस्तोसुकै आतंक वा झुठो प्रचारले पनि विचलित पार्नसक्ने छैन । अन्य पुँजीवादी तथा निम्न पुँजीवादी पार्टीहरूले पहिले जनताप्रति विश्वासघात गरेका छन् र पछि पनि गर्दै रहनेछन् । तर नेपाल कम्युनिस्ट पार्टी, मजदुर वर्गको पार्टी, मार्क्सवाद-लेनिनवादको पार्टीले आँधीबेहरीमा जनताको साथ दिनेछ र यसले सच्चा स्वतन्त्रता तथा लोक जनवादको लागि संघर्षको अघिल्लो पंक्तिमा उभी लड्दै रहने प्रतिज्ञा गर्दछ । कम्युनिस्ट पार्टी शोषकहरूलाई ठोक्ने जनताको मुड्की हो । तसर्थ हामी मजदुर वर्ग र भूमिहीन तथा गरिब किसानहरूका सर्वोत्तम छोराछोरीहरुलाई र जनवादी विद्यार्थी, युवा तथा महिलाहरूलाई नेपाल कम्युनिस्ट पार्टीका जुझारु पंक्तिहरूमा सामेल हुन आह्वान गर्दछौँ किनभने एउटा बलियो, जनकम्युनिस्ट पार्टीले मात्र जनताको जनवादी क्रान्तिलाई विजयसम्म अघि बढाउन सक्दछ ।
नेपाल कम्युनिष्ट पार्टी
१५ सेप्टेम्बर, १९४९
♦











