बिहिवारदेखि अमेरिकाविरुद्ध चीनले चालेका प्रतिकारात्मक कदमहरू लागु भएका छन्। चीनको परराष्ट्र मन्त्रालय, वाणिज्य मन्त्रालय र अन्य निकायहरूले फेरि एकपटक शृङ्खलाबद्ध वक्तव्यहरू जारी गर्दै आफ्नो दृढ अडान दोहोर्याएका छन् – चीनले यी भन्सार शुल्क र व्यापार युद्ध लड्न चाहँदैन, तर तीदेखि डराएको पनि छैन । अमेरिकी सरकारको दैनिकजसो बदलिने अनियमित “जथाभावी प्रहार”को विपरीत, चीनले सदैव संयम, स्थिर र सन्तुलित प्रतिक्रिया जनाउँदै आएको छ। यसले विश्वलाई देखाएको छ कि चीन दबाब सहन सक्ने, शान्त रहन सक्ने र ठुला जिम्मेवारीहरू बहन गर्न सक्ने राष्ट्र हो।
चीनसँग विभिन्न जोखिम र चुनौतीहरूको सामना गर्ने क्षमता र आत्मविश्वास छ। अमेरिकाले लगाएको अनुचित “पारस्परिक भन्सार शुल्क”को सामना गर्दै चीनले एकातर्फ विश्व व्यापार संगठनको नियमअनुसार आवश्यक कदमहरू चालेको छ, जसले चीनका वैधानिक अधिकारहरू र हितको रक्षा गर्दै बहुपक्षीय व्यापार प्रणाली र अन्तर्राष्ट्रिय आर्थिक व्यवस्थालाई जोगाएको छ। अर्कोतर्फ चीनले “चीन-अमेरिका आर्थिक र व्यापार सम्बन्धसम्बन्धी केही मुद्दामा चीनको धारणा” शीर्षकको श्वेतपत्र जारी गरेर फेरि एकपटक अमेरिका र विश्व सामु चीन-अमेरिका आर्थिक र व्यापार सम्बन्धहरू पारस्पर लाभदायक र दुवैका लागि विजय हुने प्रकृतिका भएको स्पष्ट पारेको छ। यी समस्याहरूको उचित समाधान संवाद र परामर्शमार्फत खोजिनुपर्छ।
यसै बिच विदेशी पर्यटकहरूको किनमेल र प्रस्थानमा कर फिर्ता दिने “किनमेल गर्दा फिर्ता” नीति लागु गरिएको छ, र क्यान्टन मेलाको नामले समेत चिनिने १३७औँ चीन आयात तथा निर्यात व्यापार मेला तथा ५औँ चीन अन्तर्राष्ट्रिय उपभोक्ता उत्पादन प्रदर्शनी पनि संचालनमा छन्।
अमेरिकाद्वारा सुरू गरिएको विश्वव्यापीकरण विरुद्धको यो लहरले चिनियाँ विशाल जहाजको अविचलित मार्ग परिवर्तन गर्न सक्दैन, न त चिनियाँको समाजमा रहेको एकताबद्ध इच्छाशक्ति र सामूहिक शक्तिलाई हल्लाउन सक्छ, जहाँ सुखदुःखमा सबैले एकअर्कालाई साथ दिँदै अगाडि बढ्ने परम्परा छ। चीन “आफ्ना कामहरू आफै राम्ररी गर्न” सधैँ प्रतिबद्ध रहिआएको छ।
आन्तरिक रूपमा चीनले उच्च गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्छ, प्राविधिक नवप्रवर्तनलाई महत्त्व दिन्छ, र समस्यामा केन्द्रित भएर सुधारका कार्यलाई अघि बढाउँछ । अन्तर्राष्ट्रिय रूपमा चीन साँचो बहुपक्षीयताको अभ्यास गर्छ, उच्चस्तरको खुलापनमार्फत विश्वसँग विकासका अवसरहरूको साझेदारी गर्छ, र मानवजातिको साझा भविष्यका लागि विश्व समुदाय निर्माणमा योगदान पुर्याउँछ। चीनको अर्थतन्त्रमा पर्याप्त खेल्न सकिने ठाउँ, सशक्त आन्तरिक सम्भाव्यता र विशाल बाह्य अवसर छन् – यो तुफान र आँधीबेहरी सहनसक्ने एउटा महासागरजस्तै हो । चीनको “अन्तिमसम्मको संघर्ष” बलियो आत्मविश्वासमा आधारित छ।
हालैका दिनहरूमा युरोपेली संघ र आसियान दुवैले चीनसँग संयुक्तरूपमा बहुपक्षीयताको समर्थन र विश्व व्यापारको स्वस्थ र स्थिर विकासका लागि काम गर्ने आकांक्षा प्रकट गरेका छन्। द न्युयोर्क टाइम्सले अमेरिकाको भन्सार शुल्क “आक्रमण” र एकछिन पछि के हुन्छ भनेर आँकलन गर्न नसकिने अनिश्चित नीतिहरूको परिणामस्वरूप गरिएका हतास निर्णयहरू र विश्वव्यापी उतारचढावबाट त्रसित धेरै कम्पनीहरूका लागि चीन अहिले “थप आकर्षक विकल्प” बनेको टिप्पणी गरेको छ। धेरै कम्पनीहरूले चीनमै रहने निर्णय गरेका छन्, जुन अमेरिकाको चीनमाथि चरम दबाब दिने र “अमेरिकामा लगानी गर्न” आह्वान गर्ने उद्देश्य विपरीतको परिणाम हो । जर्मन टेलिभिजन (डच वेले) ले विज्ञहरूलाई उदृत गर्दै चीन (अरुको तुलनामा) व्यापार युद्ध थेग्न बढी सक्षम पक्ष हुनसक्ने बताएको छ ।
अमेरिकी दबाबको प्रत्युत्तरमा चीनको निरन्तर एउटै अडान रहँदै आएको छ: यदि अमेरिका संवाद चाहन्छ भने, हाम्रो ढोका खुल्ला छ, तर संवाद परस्पर सम्मान र समानताको आधारमा हुनुपर्छ। यदि अमेरिका लड्न चाहन्छ भने, हाम्रो प्रतिकार अन्तिमसम्म जारी रहनेछ।
यो आत्मविश्वास र संकल्प चिनियाँ मार्गप्रतिको प्रबल विश्वास र बहुपक्षीय व्यापार प्रणालीको रक्षाप्रतिको दृढ प्रतिबद्धताबाट उत्पन्न भएको हो । चीनले दृढतापूर्वक नियममा-आधारित बहुपक्षीय व्यापार प्रणालीको रक्षा गरिरहेको छ, व्यापार तथा लगानी उदारीकरण एवम् सहजीकरणलाई प्रवर्द्धन गरिरहेको छ, र विकास साझेदारीको “हिस्सा” विस्तार गरिरहेको छ। चीनमा उत्पन्न बढ्दो उपभोग क्षमताले “चिनियाँ माग” लाई “विश्वव्यापी अवसरहरू” मा रूपान्तरण गर्दैछ। उच्चस्तरको खुलापनप्रतिको आफ्नो प्रतिबद्धताको सम्मान गर्दै चीनले बजार सिद्धान्त, कानुनको शासन र अन्तर्राष्ट्रिय मापदण्डहरूमा आधारित विश्वस्तरको व्यावसायिक वातावरण सिर्जना गरिरहेको छ, जसले विदेशी लगानीलाई आकर्षण गर्ने बलियो चुम्बक बनाउन सफल भएको छ । “चीनप्रति आशावाद”, “चीनको वृद्धिदर अनुमानमा सुधार”, र “चीनमा थप लगानी” जस्ता शब्दहरू अन्तर्राष्ट्रिय व्यापार समुदायमा चर्चाको विषय बनेका छन्।
द न्युयोर्क टाइम्सका स्तम्भकार थोमस फ्राइडम्यानले हालै व्यापार युद्धले अमेरिकालाई “कहिल्यै नजितिने युद्ध” मा फसाएको बताएका छन् । चरम दबाबको हतियारको रूपमा भन्सार शुल्कलाई प्रयोग गर्ने अमेरिकी दादागिरीपूर्ण रणनीतिको सामुन्ने चीनले संकटहरूको सामना गर्ने आफ्नो क्षमता मात्र होइन, समयको प्रवृत्तिलाई आफ्नो पक्षमा पार्ने आफ्नो विश्वास पनि प्रदर्शन गरेको छ। यस दृष्टिले हेर्दा चीन व्यापार युद्धबाट पछि हट्ने छैन, न त उसलाई पछि हट्नुपर्ने आवश्यकता नै छ । जब आर्थिक विश्वव्यापीकरणको प्रवृत्तिलाई रोक्न संभव छैन, र मानव सभ्यताको साझा भविष्यको अवधारणाले जनहृदयमा गहिरो गरी जरा गाडेको छ, तब कुनै पनि आँधीबेहरी यो ऐतिहासिक प्रक्रियाको केवल एक फुटनोट मात्र हुनेछ।
(साभारः ग्लोबल टाइम्स सम्पादकीय, अनुवादः नहेन्द्र खड्का)











