United Nations
 

समाजवादी देश क्युवामाथिको संरा अमेरिका नेतृत्वको मोर्चाको झण्डै ६ दसक लामो नाकाबन्दीको सम्बन्धमा संयुक्त राष्ट्र सङ्घको महासभाको बैठकमा बिहिबारबाट २७ औं पटक छलफल भएको छ ।

यसअघिका छलफलमा जस्तै यो पटकको छलफलमा पनि बढीमा दुई देशबाहेक सम्पूर्ण सदस्यले क्युवामाथिको नाकाबन्दीको विरोधमा मतदान गर्ने लगभग निश्चित भएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

पछिल्लो २६ औं पटकको प्रस्तावमाथिको मतदानमा संरा अमेरिका र इजरायलले मात्र क्युवामाथिको नाकाबन्दीलाई निरन्तरता दिनुपर्ने पक्षमा मतदान गरेका थिए । अरू सम्पूर्ण देशले क्युवामाथिको नाकाबन्दीको विरोधमा मतदान गरेका थिए । तथापि संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेरै क्युवामाथिको नाकाबन्दीलाई निरन्तरता दिएको थियो ।

बिहिबार राष्ट्र सङ्घीय महासभा बैठकमा क्युवामाथिको नाकाबन्दीको विरोधमा मत राख्दै चिनियाँ प्रतिनिधि मा चाओसुले संयुक्त राज्य अमेरिकाले क्युवामाथिको नाकाबन्दी हटाउनुपर्ने बताउनुभयो ।

“सबै देशले आपसी समझदारी र सम्पूर्ण जनताको विकास हुने प्रक्रिया अवलम्बन गर्नुपर्छ ।”, सुरक्षा परिषद्मा चीनका स्थायी प्रतिनिधि माले भन्नुभयो ।

उहाँले अन्तर्राष्ट्रिय क्षेत्रमा कुनै समस्या भए अन्तर्राष्ट्रिय समुदाय मिलेर समाधान गर्नुपर्ने भन्दै क्युवामाथिको एकपक्षीय नाकाबन्दी फिर्ता गर्नुपर्ने धारणा राख्नुभयो ।

नाकाबन्दीका कारण क्युवाले सन् २०१७ को अप्रिलदेखि यो वर्षको मार्च महिनासम्ममा ४ अर्ब ३० करोड अमेरिकी डलर गुमाएको राष्ट्र सङ्घको प्रतिवेदनमा उल्लेख छ ।

नाकाबन्दीको विरोधमा ल्याटिन अमेरिकी तथा क्यारिबियाली देशहरूको समुदाय (सेलाक) को तर्फबाट एल साल्भाडोरका प्रतिनिधिले बोल्नुभएको थियो ।

त्यस्तै असंलग्न आन्दोलनको तर्फबाट भेनेजुयलाका प्रतिनिधिले क्युवामाथिको नाकाबन्दीको भर्त्सना गर्दै तत्काल फिर्ता गर्न माग गर्नुभयो ।

ग्रुप ७७ प्लस चीन सङ्गठनको तर्फबाट इजिप्टका प्रतिनिधिले नाकाबन्दीलाई निरन्तरता दिने प्रस्तावको विरोध गर्नुभयो ।

अफ्रिकी समूहको तर्फबाट मोरोक्काका प्रतिनिधिले क्युवाको समर्थन गर्नुभएको थियो ।

बैठकमा सिङ्गापुर, बहामास, भियतनाम, जमाइका, दक्षिण अफ्रिका, बोलिभिया, अल्जेरिया, निकरागुआ लगायतका प्रतिनिधिले अन्यायपूर्ण नाकाबन्दी अविलम्ब हटाउनुपर्ने धारणा राख्नुभएको थियो ।

महासभा बैठकमा २७ औं पटकको प्रस्तावमा छलफल चल्दै गर्दा नवनिर्वाचित क्युवाली राष्ट्रपति मागुएल डायज–कानल बाह्र दिनको विदेश भ्रमणमा जानुभएको छ । बुधबारबाट सुरू भ्रमण अन्तर्गत उहाँ रुस, प्रजग कोरिया, चीन, भियतनाम र लाओस पुग्नु हुनेछ । संयुक्त राज्य अमेरिकी साम्राज्यवादविरोधी ती देशहरूमा समाजवादी देशका नेताको भ्रमणलाई विश्वले अर्थपूर्ण मानेको छ, मजदुर अनलाइनमा खबर छ ।