काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पको उद्धार र राहतमा प्रधानमन्त्री प्रचण्ड र नेपाल सरकारले देखाएको तदारुकताको उच्च सम्मान गर्दै प्रधानमन्त्री स्वयं घटनास्थल र पीडित जनताको बिचमा पुगिसकेर उद्धार र राहतका लागि आवश्यक स्रोत, साधन र जनशक्ति परिचालनमा खटिएको बेला प्रभावित क्षेत्रका सरकारी निकायहरूले उद्धार, अस्थायी बास र संरचना निर्माण, लगत संकलन र राहत व्यवस्थापन तथा वितरणमा खर्च गर्नुपर्ने समय प्रभावित क्षेत्रमा सेल्फी क्यामेरासहित पुगेका पाहुनाहरूको स्वागतमा खर्च गर्नुपर्ने अवस्थाको अन्त्य गराउन नेपाल सरकारसँग माग गरेको छ । भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली र शोक संतप्त परिवारजनमा समवेदना व्यक्त गर्दै महासंघले आज जारी गरेको एक प्रेस विज्ञप्तिमा सो कुरा जनाएको हो ।
नेकपा (माओवादी केन्द्र) निकट महासंघका अध्यक्ष क. चित्रबहादुर श्रेष्ठद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा २०८० कार्तिक १७ गते राति ११:४७ बजे जाजरकोट र रुकुमपश्चिमसहितका कर्णाली प्रदेशका विभिन्न किसानबाहुल्य क्षेत्रमा दिनभरि आफ्नो खेतबारीमा काम गरेर थकित भई किसानहरू र आम जनसमुदाय मस्त निद्रामा सुतेकोबेला एक्कासी जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्प र त्यसलगत्तै पटकपटक गएका पराकम्पनहरूका कारण किसानहरू र आम जनसमुदायले ठुलो जनधनको क्षति बेहोर्नुपरेको घटनाले मर्माहत बनाएको उल्लेख गर्दै भूकम्प र पराकम्पनहरूका कारण जीवन गुमाउनुभएका किसानहरू र जनसमुदायप्रति महांघको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक संतप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । प्रेस विज्ञप्तिमा भूकम्पका कारण घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
महासंघले नेपाल सरकारका प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प गएको भोलिपल्ट सबेरै सम्पूर्ण सुरक्षा निकायहरू र सरकारी निकायहरूको परिचालनसहित चिकित्सक टोली र उपचार सामग्री साथैमा लिई घटनास्थल पुगेर दुःखी किसानहरू र जनताको पीडामा सहभागी मात्र नभई आफू चढेको हेलिकोप्टरमै घाइतेहरूको उपचारको व्यवस्था गर्ने र सो हेलिकोप्टर घाइतेहरूको उद्धारका लागि छाडेर आफू नियमित उडानमार्फत काठमाडौँ फर्कने अद्वित्तीय कार्यप्रति सम्पूर्ण नेपाली किसानहरूको तर्फबाट उच्च सम्मानसहित धन्यवाद पनि ज्ञापन गरेको छ ।
महासंघले सो घटनाले संघीय लोकतान्त्रिक गणतन्त्र जनताको सर्वोत्तम व्यवस्था भएको र नेपाल सरकारका प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) अध्यक्ष क. प्रचण्ड देशका राजनेता र सम्पूर्ण नेपालीहरूका श्रेष्ठतम् अभिभावक भएको अनुभूति दिलाएको बताउँदै नेपाल सरकारले पीडितहरूको उद्धार र राहत संकलन तथा वितरणमा देखाएको तदारुकताका लागि पनि देशभरका किसानहरूको तर्फबाट हार्दिक सम्मान व्यक्त गरेको छ ।
महासंघद्वारा जारी विज्ञप्तिमा भनिएकोछ – “यो दुःखद घटनामा परी घाइते भएकाहरूको शीघ्रातिशीघ्र उपचारको व्यवस्था मिलाउन, राहत संकलन तथा वितरणमा घोषणा गरिएको एकद्वार प्रणालीलाई कडाइका साथ लागु गर्दै राहत र उद्धारको काममा तीव्रता दिन नेपाल सरकारसँग जोडदार माग गर्दछौँ । यो समय जनताको मुख्य बाली धान र कोदो भित्राउने, गहुँ, जौ, उवा लगायतका बालीहरू, प्याज, बिउ उत्पादनको मूला र विभिन्न मौसमी तथा बेमौसमी तरकारी लगाउने मौसम भएकोले किसानहरूका लागि आवश्यक कृषि सामग्री उपलब्ध गराउन र भूकम्पका कारण क्षति पुगेका किसानहरूलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न पनि हामी नेपाल सरकारसँग माग गर्दछौँ ।”
महासंघले भूकम्प प्रभावित क्षेत्रमा भइरहेको अनावश्यक भ्रमणबारे इङ्गित गर्दै “देशको प्रधानमन्त्री स्वयं घटनास्थल र पीडित जनताको बिचमा पुगिसकेर उद्धार र राहतका लागि आवश्यक स्रोत, साधन र जनशक्ति परिचालनमा खटिएको बेला जनताको पीडालाई मजाक र पीडित जनतालाई आतंकित बनाउँदै फेसबुक भिडियो तथा युट्युबमार्फत निजी आम्दानीको स्रोत बनाउन र राजनीतिक स्वार्थको साधन बनाउन लस्कर लागेर भूकम्प प्रभावित क्षेत्रमा पुग्ने र जनताको घाउमा नूनचूक छर्कने कार्य अबिलम्ब रोक्न, बरु त्यसको सट्टा भूकम्प प्रभावित क्षेत्रसम्म पुग्ने आफ्नो समय र खर्च समेत थप गरी राहत तथा उद्धार कार्यमा वास्तविक सहयोग पुराउन” सबैलाई अपिल गरेको छ ।
प्रेस विज्ञप्तिको पूर्ण पाठः
यही मिति २०८० कार्तिक १७ गते राति ११:४७ बजे जाजरकोट र रुकुमपश्चिमसहितका कर्णाली प्रदेशका विभिन्न किसानबाहुल्य क्षेत्रमा दिनभरि आफ्नो खेतबारीमा काम गरेर थकित भई किसानहरू र आम जनसमुदाय मस्त निद्रामा सुतेकोबेला एक्कासी जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्प र त्यसलगत्तै पटकपटक गएका पराकम्पनहरूका कारण किसानहरू र आम जनसमुदायले ठुलो जनधनको क्षति बेहोर्नुपरेको घटनाले हामीलाई मर्माहत बनाएको छ । सो भूकम्प र पराकम्पनहरूका कारण जीवन गुमाउनुभएका किसानहरू र जनसमुदायप्रति हाम्रो संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को तर्फबाट हामी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक संतप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ । साथै, भूकम्पका कारण घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।
नेपाल सरकारका प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प गएको भोलिपल्ट सबेरै सम्पूर्ण सुरक्षा निकायहरू र सरकारी निकायहरूको परिचालनसहित चिकित्सक टोली र उपचार सामग्री साथैमा लिई घटनास्थल पुगेर दुःखी किसानहरू र जनताको पीडामा सहभागी मात्र नभई आफू चढेको हेलिकोप्टरमै घाइतेहरूको उपचारको व्यवस्था गर्ने र सो हेलिकोप्टर घाइतेहरूको उद्धारका लागि छाडेर आफू नियमित उडानमार्फत काठमाडौँ फर्कने अद्वित्तीय कार्यप्रति सम्पूर्ण नेपाली किसानहरूको तर्फबाट उच्च सम्मानसहित धन्यवाद ज्ञापन गर्दछौँ । यस घटनाले संघीय लोकतान्त्रिक गणतन्त्र जनताको सर्वोत्तम व्यवस्था भएको र नेपाल सरकारका प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) अध्यक्ष क. प्रचण्ड देशका राजनेता र सम्पूर्ण नेपालीहरूका श्रेष्ठतम् अभिभावक भएको अनुभूति दिलाएको छ । नेपाल सरकारले पीडितहरूको उद्धार र राहत संकलन तथा वितरणमा देखाएको तदारुकताका लागि पनि देशभरका किसानहरूको तर्फबाट हार्दिक सम्मान गर्दछौँ ।
हामी यो दुःखद घटनामा परी घाइते भएकाहरूको शीघ्रातिशीघ्र उपचारको व्यवस्था मिलाउन, राहत संकलन तथा वितरणमा घोषणा गरिएको एकद्वार प्रणालीलाई कडाइका साथ लागु गर्दै राहत र उद्धारको काममा तीव्रता दिन नेपाल सरकारसँग जोडदार माग गर्दछौँ । यो समय जनताको मुख्य बाली धान र कोदो भित्राउने, गहुँ, जौ, उवा लगायतका बालीहरू, प्याज, बिउ उत्पादनको मूला र विभिन्न मौसमी तथा बेमौसमी तरकारी लगाउने मौसम भएकोले किसानहरूका लागि आवश्यक कृषि सामग्री उपलब्ध गराउन र भूकम्पका कारण क्षति पुगेका किसानहरूलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न पनि हामी नेपाल सरकारसँग माग गर्दछौँ ।
देशको प्रधानमन्त्री स्वयं घटनास्थल र पीडित जनताको बिचमा पुगिसकेर उद्धार र राहतका लागि आवश्यक स्रोत, साधन र जनशक्ति परिचालनमा खटिएको बेला जनताको पीडालाई मजाक र पीडित जनतालाई आतंकित बनाउँदै फेसबुक भिडियो तथा युट्युबमार्फत निजी आम्दानीको स्रोत बनाउन र राजनीतिक स्वार्थको साधन बनाउन लस्कर लागेर भूकम्प प्रभावित क्षेत्रमा पुग्ने र जनताको घाउमा नूनचूक छर्कने कार्य अबिलम्ब रोक्न, बरु त्यसको सट्टा भूकम्प प्रभावित क्षेत्रसम्म पुग्ने आफ्नो समय र खर्च समेत थप गरी राहत तथा उद्धार कार्यमा वास्तविक सहयोग पुराउन हामी सबैलाई अपिल गर्न चाहन्छौँ । साथै, प्रभावित क्षेत्रका सरकारी निकायहरूले उद्धार, अस्थायी बास र संरचना निर्माण, लगत संकलन र राहत व्यवस्थापन तथा वितरणमा खर्च गर्नुपर्ने समय सामाजिक संजालमा जनताका दुःख बेचेर कमाउन चाहनेहरू र निजी वा राजनीतिक स्वार्थका लागि प्रभावित क्षेत्रमा सेल्फी क्यामेरासहित पुगेका पाहुनाहरूको स्वागतमा खर्च गर्नुपर्ने अवस्थाको अन्त्य गराउन पनि नेपाल सरकारसँग माग गर्दछौँ ।
हार्दिक क्रान्तिकारी अभिवादनसहित ।
चित्रबहादुर श्रेष्ठ
अध्यक्ष
मितिः २०८०/०७/२१ गते
