काठमाडौँ । बैशाख महिनामा पटकपटक आएको हावाहुरीसहितको असिनापानीको कारणले कास्कीको पोखराका विभिन्न स्थानहरूमा किसानहरूको बालीनाली र कृषिका भौतिक संरचनाहरूमा ठूलो क्षति भएको छ ।
किसानहरूले महिनौँ दिनसम्म श्रम र पसिना बगाई लहलह बनाएका तरकारी, फलफूल मात्र नभई भौतिक संरचना समेत नष्ट हुँदा किसानहरूको रु पाँच करोड ४९ लाख ५० हजार भन्दा बढीको क्षति पुगेको जनाइएको हो ।
हावाहुरीसहितको असिनापानीका कारणले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तरकारी सुपरजोन अन्तरगत निर्माण गरिएका विभिन्न भौतिक संरचनाहरू भत्केका छन् भने किसानहरूले प्लाष्टिक टनेलभित्र र बाहिर लगाएको तरकारी बाली पनि नष्ट भएको छ ।
पोखरा महानगरपालिकाले गरेको स्थलगत अध्ययनको प्रतिवेदनअनुसार पोखराका विभिन्न ७ वटा वडाहरूमा तरकारी बालीका लागि आर्थिक वर्ष २०७४/७५ निर्माण गरिएका चार स्थानका हाइटेक, चार स्थानका अस्थायी प्लाष्टिक घरसहित भित्र र खुलारूपमा किसानहरूले लगाएको तरकारी बालीमा क्षति पुगेको तरकारी सुपरजोन कार्यालय पोखराका प्रमुख वसन्त श्रेष्ठले लेफ्ट रिभ्यु अनलाइनलाई जानकारी दिए ।
हावाहुरी र असिनाले राधिका एग्रो फार्ममा हाइटेक ग्रीन हाउस उडाउँदा छ लाख, डीआर एग्रो फार्ममा दुई लाख ५० हजार, बेगखोला दिदीबहिनी कृषि फार्ममा रु चार लाख र वरपीपल एग्रोमा रु दुई लाख क्षति पुगेको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी अस्थायी प्लाष्टिक घर बालीतर्फ उजिर बुढाथोकीको चार लाख, लालप्रसाद न्यौपानेको रु एक लाख ५० हजार, विश्व सापकोटाको रु एक लाख तथा झौरीखेत कृषि सहकारी लिमिटेड अन्तरगत खुलारूपमा लगाइएको तरकारी बाली नष्ट भएको उनले बताए ।
सुपरजोन प्रमुख श्रेष्ठका अनुसार हावाहुरीसहितको असिनाको कारणले किसानहरूले व्यावसायिक रूपमा लगाएको काँक्रो, घिरौँला, लौका, साग, गाजर, काउली, मुला, बन्दा, साग, धनियाँ, सिमी, गोलभेँडा लगायतका मौसमी एवम् बेमौसमी तरकारी र फलफूल खेती नोक्सान भएको छ ।
संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालय, गण्डकी प्रदेशको कृषि विकास निर्देशनालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना व्यवस्थापन एकाई, खुमलटार र पोखरा महानगरपालिकाका असिनाप्रभावित वडा नं ५, १३, १४, १५, २६, ३२ र ३३ का वडा कार्यालयहरूमा क्षतिपूर्तिका लागि किसानहरूको मागसहित जानकारी पठाइएको कुरा पनि श्रेष्ठले बताए ।