Parijat smriti sabha-Parijat memorial day
 

काठमाडौँ । नेपाली साहित्यका एक जाज्वल्यमान नक्षत्र तथा महान साहित्यकार पारिजातको स्मृति सभा सम्पन्न भएको छ ।

पारिजात स्मृति केन्द्रको आयोजनामा नेपाल पर्यटन विकास बोर्डको सभाहलमा नेपालका लब्ध प्रतिष्ठित साहित्यकार, लेखक, कवि, कलाकार, साहित्य अनुरागी, विश्लेषक, अनुसन्धानकर्ता तथा राजनैतिक व्यक्तित्वहरूको व्यापक उपस्थितिमा पारिजातको स्मृति सभा सम्पन्न भएको हो ।

पारिजातका अनन्य मित्र, वरिष्ठ संस्कृतिकर्मी तथा जनवादी गायक रामेशको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा पारिजातका विभिन्न कृति तथा अन्य विभिन्न विधामा विद्यावारिधि गर्नु भएका साहित्यकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

पारिजातको अर्का निकटतम मित्र तथा बौद्धिक व्यक्तित्व महेश मास्केले स्वागत मन्तव्य राख्दै साहित्यकार पारिजातको व्यक्तित्व तथा कृतित्वका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा बोल्दै वक्ता डा. बिन्दा शर्माले पारिजातका समग्र जीवन र उहाँको २१ वटा कृतिहरुका बारेमा चर्चा गर्नुभएको थियो ।

सोही कार्यक्रममा मन्तव्य राख्दै वरिष्ठ प्रगतिवादी लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलालले पारिजातभन्दा निकट आफ्नो जीवनमा अरु कुनै साहित्यकार नभएको दावी गर्नुभयो । संग्रौलाले “उहाँको जे जति सम्मान र कृतिहरुको प्रचार हुनुपर्ने हो त्यसो नभएकोमा गम्भीर चिन्ता गर्दै पारिजातको संघर्षशील विचारलाई उठाउन वर्तमानमा भैरहेको उत्पीडन, दमन, अत्याचार र बलत्कार विरुद्धको आन्दोलनलाई उठाउनै पर्छ, भन्दै, “त्यसो नगरे पारिजातलाई सम्झनुको अर्थ नरहने र केवल सरकारी लेखनदास र सरकारको भाटमात्र बाँकी रहने” विचार व्यक्त गर्नु भयो । उहाँले मन्तव्यको क्रममा सरकारी लेखनदास नभई प्रगतिवादी विचारका आधारमा साहित्य लेखन हुनुपर्नेमा जोड दिँदै अन्याय अत्यचारको विषयमा मुख नखोले लेखक, साहित्यकार, कलाकार हुनुको औचित्य नहुने तिखो टिप्पणी गर्दै “प्रगतिशील लेखक संघले सरकारको हरेका कुकृत्यको विरोधमा बोल्नु र विरोध गर्नुपर्ने” बताउनु भयो ।

कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूलाई प्रमुख अतिथि रामेश र पारिजात स्मृति केन्द्रका अध्यक्ष रायनले सम्मान गर्नुभयो । सम्मानको क्रममा ‘पारिजात सृजन सम्मान २०७५’बाट साहित्यकार आनन्ददेव भट्ट, ‘पारिजात बाल साहित्य सम्मान २०७५’बाट साहित्यकार खगेन्द्र संग्रौला, ‘पारिजात संघर्षशील नारी सम्मान २०७५’ बाट महिलाअधिकारकर्मी सरिता महर्जन र ‘पारिजात कला सम्मान २०७५’ बाट वरिष्ठ गायक तथा जनकलाकार रामकृष्ण दुवाल सम्मानित हुनुभयो ।

सम्मान प्राप्त गर्नुभएका सर्जकहरुले मन्तव्यको क्रममा खुशी व्यक्त गर्दै अझै निरन्तर परिवर्तनका खाँतिर लागिरहने उद्घोष गर्नु भयो ।

प्रमुख अतिथि तथा वरिष्ठ जनकालाकार रामेशले सरकारको रबैयाप्रति कठोर टिप्पणी गर्दै नसुध्रिए जनता, कलाकार र साहित्यकारहरू नयाँ ढंगले प्रस्तुत हुनेछन् भन्ने उदघोष गर्दै ‘पारिजात दिदी’ बोलको गीत प्रस्तुत गर्नु भएको थियो ।

पारिजातको बारेमा खगेन्द्र संग्रौलाको रचना र रायनद्धारा संगीतबद्ध गीत ‘पारिजात अपारिजता’ बोलको गीत किर्तिपुर इन्द्रेणी सांस्कृतिक परिवारले प्रस्तुति गरेको थियो भने सम्मानित जनकलाकार रामकृष्ण दुवालले ४४२ वर्ष अघिको बारमासे नेपाली लयमा पारिजातको जीवनमा आधारित गीत गाउनु भएको थियो ।

पारिजात स्मृति केन्द्रका अध्यक्ष एवम् गीतकार तथा संगीतकार रायनले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन स्नेह सायमिले गर्नु भएको थियो ।