काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) को अवसरमा सम्पूर्ण नेपाली महिला समुदायलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
आज ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) को उपलक्ष्यमा एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले आजको दिन मानव समुदायकै लागि ऐतिहासिक दिन भएको उल्लेख गर्नु भएको छ । अध्यक्ष प्रचण्डद्वारा जारी शुभकामना सन्देशमा, “आज विश्वभरका महिला दिदीबहिनीहरु मात्र नभई मानव समुदायकै लागि एउटा ऐतिहासिक दिन हो”, भनिएको छ ।
आठ मार्चलाई उहाँले महिलाहरुको हक र अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा साँस्कृतिक विकासका लागि आवाज बुलन्द गरिएको संघर्षको दिन भएको उल्लेख गर्दै उहाँले महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोलन लगायत परिवर्तनका सबै आन्दोलनहरूमा नेपाली महिलाहरूले अग्रमोर्चामा रहेर नेतृत्व गरेको बताउनुभएको छ ।
“महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ,” विज्ञप्तिमा अगाडि भनिएको छ,”महिलाहरुको त्यो साहस, त्याग र बलिदानीले आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका हौँ ।”
उहाँले संविधान सभाबाट बनेको नयाँ संविधानले महिलाहरुलाई धेरै हदसम्म अधिकार सम्पन्न बनाएकोमा खुसी समेत व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देशको पूर्ण पाठः
११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अर्थात ८ मार्चको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
आज विश्वभरका महिला दिदीबहिनीहरु मात्र नभई मानव समुदायकै लागि एउटा ऐतिहासिक दिन हो । महिलाहरुको हक र अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा साँस्कृतिक विकासका लागि आवाज बुलन्द गरिएको संघर्षको दिन हो ।
महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ । महिलाहरुको त्यो साहस, त्याग र बलिदानीले आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका हौँ ।
वर्तमान संविधानले महिलाहरुलाई धेरै हदसम्म अधिकार सम्पन्न बनाएकोमा खुसी व्यक्त गर्दै संवैधानिक, कानूनी र व्यवहारिकरुपमा प्राप्त अधिकारको पूर्ण कार्यान्वयन तथा थप अधिकारका लागि एक भएर लाग्ने सबैमा प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।
२५ फागुन, २०७६
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष