काठमाडौं । आफू स्वयम्ले दोस्रो तहको नेताको रूपमा नेतृत्व गरिरहेको तत्कालीन एनेकपा (माओवादी) लाई रातो स्टिकर टाँगेको घर भन्दै नयाँ पार्टी निर्माण गर्न हिँडेका डा. बाबुराम भट्टराई एकपछि अर्को गर्दै असफलताको शिकार भइरहेको बेला उनको पार्टीकी लोकप्रिय नेतृ तथा कलाकार करिष्मा मानन्धरले पार्टी परित्यागको घोषणा गरेकी छिन् ।
आफूलाई नेपाली राजनीतिको एकमात्र अब्बल खेलाडी सम्झने पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र नेपाल सरकारका बहालवाला उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम बिच चैत २३ गते एकता भएपछि निष्क्रियजस्तै रहेकी करिष्माले एकाएक राजनीतिबाट अलग हुने घोषणा गरेकी छिन् ।
तत्कालीन नयाँ शक्ति पार्टीलाई आफ्नो भेडी गोठ जस्तै एकल निर्णय र व्यक्तिगत तजबीजका आधारमा चलाउँदै आएका डा. भट्टराईको निरंकुश र ‘नरोद्निक’ प्रवृतिका विरूद्ध उनको पार्टीका पूर्वमाओवादी नेताहरूले ललितपुरमा भेला भएर उनको कार्यशैलीप्रति चेतावनीपूर्ण पत्र बुझाएका थिए । त्यसबाट झस्केका डा. भट्टराई करिष्मा मानन्धरले पार्टी परित्यागको घोषणा गरेको थाहा पाएपछि अत्यन्तै दुःखी र विक्षिप्त बनेको स्रोतको दावी छ । डा. भट्टराईले करिष्मालाई नयाँ शक्ति पार्टीका कार्यक्रमहरूमा उच्च महत्त्व दिँदै आएका थिए ।
‘मैले मौखिक रुपमा पार्टीबाट राजीनामा दिइसकेकी छु’ अभिनेत्री करिष्माले भनिन् ‘लिखित रुपमा राजीनामा दिन बाँकी रहेको छ ।’ व्यक्तिगत केही महत्त्वपूर्ण कामहरु गर्नु पर्ने भएकोले आफूलाई राजनीतिबाट अलग बनाएको करिष्माको भनाई छ ।
नेपालको चलचित्र क्षेत्रमा सदाबहार नायिकाको रुपमा परिचित करिष्मा झण्डै ४ वर्ष अघि २०७२ सालमा डा. बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीबाट राजनीतिमा होमिएकी थिइन् । उनी भर्खरै सम्पन्न एसईई परीक्षामा सहभागी भएकी थिइन र सोही कारण चर्चामा पनि थिइन् ।
नयाँ पत्रिकासँग कुराकानी गर्दै नायिका करिष्मा मानन्धरले आफूले नयाँ शक्ति पार्टीमा गएर धेरै कुरा सिकेको बताएकी छिन् । उनले नयाँ शक्ति पार्टी र फोरमको एकीकरण हुनुलाई राम्रो भन्दै “यो नयाँ पार्टीमा आफू सामेल हुनैपर्छ भन्ने नरहेको” बताएकी छिन् । उनले कुनै पनि पार्टीमा आबद्ध भएर मात्रै राजनीति नहुने भन्दै स्वतन्त्र रुपमा ललितपुर (करिष्माको क्षेत्र) बाट चुनाव लड्नसक्ने पनि उल्लेख गरेकी छिन् ।
नयाँ शक्तिको विचार विहिन राजनीतिमा आफूलाई उपयोग मात्र गरिएकोप्रति लक्षित गर्दै करिष्माले “थपडी बजाउनका लागि मात्र राजनीति नगर्ने” भन्दै “अब आफ्नो भूमिका खोज्ने” बताएकी छिन् । उनले “अब कसैको बाँसुरी बजाएर नहिँड्ने” बताउँदै डा. बाबुराम भट्टराइको पार्टी र उपेन्द्र यादवको पार्टी एकीकरणपछि बनेको नयाँ पार्टीमा सहभागी नहुने स्पष्ट पारेकी छिन् ।
करिष्माले “पदको लोभमा नलाग्दा कसैको नराम्रो कामको विरोध गर्न पनि गाह्रो नहुने” तर्क गर्दै माओवादीमा रहुञ्जेल सँधै आन्तरिक लोकतन्त्रको डम्फु बजाएर नथाक्ने डा. बाबुराम भट्टराईको स्वेच्छाचारी तथा निरंकुश प्रवृतिमाथि कटाक्ष गरेकी छिन् ।
डा. भट्टराईको जादू चल्ने र सारा नेपाली उनको पछिपछि लाग्ने परिकल्पनाका साथ खोलिएको नयाँ शक्ति पार्टी जनताबाट तिरष्कृत, शक्तिहीन र नाजुक अवस्थामा पुगेकोबेला करिष्मालाई अत्यन्तै महत्त्वका साथ कार्यक्रमहरू, प्रचार-प्रसार र अभियानहरूमा उपयोग गर्ने गरिएको थियो तर जसै पार्टी एकता हुने र शक्ति सुदृढ हुने स्थिति आयो, डा. बाबुराम भट्टराईले पत्नी हिसिला यमिलाई उपाध्यक्ष बनाए भने करिष्मालाई कुनै उल्लेख्य भूमिकामा ल्याएनन् । करिष्माको यो आक्रोष सोही कुरामा लक्षित हुनसक्ने विश्लेषकहरूको दावी छ । डा. भट्टराईले करिष्मालाई नयाँ पार्टीमा कुनै भूमिका प्रस्ताव गरेर पार्टीमा फर्काउन कोशिस गर्लान् या नगर्लान् ? आफूले मिडियामा गरेको घोषणा विपरित करिष्मा लुरू लुरू नयाँ पार्टीको कारिन्दा बन्न जालिन् वा आफ्नै अडानमा रहलिन् ? त्यो भने हेर्न बाँकी नै छ ।
केही दिन अगाडि मात्रै डा. भट्टराईको गृह जिल्ला गोरखाबाट केन्द्रीय नेताहरूसहित सयौँको संख्यामा कार्यकर्ताहरुले उनको पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका थिए भने अन्य विभिन्न जिल्लाहरूमा पनि नयाँ शक्तिका कार्यकर्ताहरू नेकपामा प्रवेश गर्ने क्रम चलेको छ।