काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका पूर्वाधार पुर्याएर कर्णालीलाई सुगम बनाउने बताउनुभएको छ ।

डोल्पो समाजले शनिवार राजधानीमा आयोजना गरेको ल्होसार पर्वको साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कर्णालीमा रहेको पातलो बसोबासलाई एकीकृत बस्तीको रुपमा विकास गर्दै कर्णालीको विकाशमा लाग्ने बताउनुभएको हो।

कर्णालीमा बस्तीहरु पातला रहेको भन्दै प्रधान्मन्त्री ओलीले पातला बस्तीमा भौतिक सुविधा पु¥याउन अप्ठ्यारो हुने धारणा राख्नुभयो । त्यसै हुनाले यस्ता बस्तीलाइ स्थानान्तरण गरेर एककिृत बस्तीको रुपमा विकास गर्दै विद्यालय, सडक, स्वास्थ्यचौकी, यातायात, खानेपानी जस्ता आधारभुत सुबिधाहरु सबैलाई उपलब्ध गराउने उहाँको भनाई थियो । प्रधानमन्त्री ओलीले अगाडि भन्नुभयो – “त्यसपछि कर्णालीको परिचय बदलिनेछ । कर्णाली सुगम हुनेछ ।”

सुर्खेतको छिन्चु देखि डोल्पाको त्रिपुरासुन्दरीसम्मको सडकको स्तरोन्ती गरिने र डोल्पामा बाह्रै महिना यातायात सञ्चालन गरिने भन्दै उहाँले भन्नुभयो – “डोल्पा मात्र होइन कर्णालीका सबै जिल्लाका विमानस्थलहरुको पनि स्तरोन्नती गरेर कर्णालीलाई सुगम बनाइनेछ ।”