काठमाडौं, लगानी सम्मेलनमा प्रस्ताव गरिएका मध्ये विभिन्न १३ वटा परियोजनामा लगानीकर्ताले इच्छा देखाएका छन् । काठमाडौंमा शुक्रबारदेखि जारी सम्मेलनमा सरकारले उर्जा, पर्यटन, उद्योग लगायत गरी झण्डै ६ दर्जन परियोजना पेश गरेको थियो ।

सम्मेलनको दोस्रो दिनसम्म १३ वटा परियोजना लगानीकर्ताले ‘आयोजना बुक’ गरेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले जानकारी दिनुभयाे । उहाँका अनुसार उर्जा, उद्योग, पर्यटन, उत्पादन क्षेत्रका विभिन्न १३ परियोजनामा लगानीको प्रस्ताव आएको छ ।

आफुहरुले कुन–कुन परियोजनामा कसले प्रस्ताव गरे भनेर विस्तृत विवरण बाहिर ल्याउने बताउँदै त्यसका लागि केही समय लाग्ने उहाँले बताउनुभयाे ।

सरकारले लगानी सम्मेलनमा ७७ वटा परियोजना प्रस्ताव गरेको छ । यसमा ५० वटा सरकारीस्तरका परियोजना छन् भने २७ वटा परियोजना निजी क्षेत्रका छन् । यी परियोजनामा विदेशी लगानी र लगानीकर्ताको खोजी गरिँदैछ ।

सम्मेलन अन्तर्गत शनिबार साँझ ५ बजेपछि प्रस्ताव गरिएका आयोजनामा लगानीकर्ताले ‘आयोजना बुकिङ’ र लगानीको प्रतिबद्धता घोषणा गर्ने बतायएकाे छ ।

सम्मेलनमा करिब एक दर्जन परियोजनाको काम अघि बढाउन विदेशी लगानीकर्तासँगै समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गर्ने तयारी रहेकाे आयाेजकले बताएकाे छ ।