Chairman Prachanda Chitwan Left Review Online dot Com
 

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले कम्युनिस्टको नाममा हिजो काम गरेका र जिवनको सबै भन्दा उर्वर समय कम्युनिस्ट आन्दोलनलाई दिएका मान्छेहरुलाई अन्त गएर चैन नहुने बताउनुभएकाे छ । बिहिबार आयाेजित एक पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले अभिभावकको नाताले बिहान रिसाएर गएका आफ्ना सन्तानहरुलाई साँझ घर फर्केर आउँदा सबै भन्दा खुशी आमाबुवालाई हुने बताउनुभयाे।

राजनीतिक आन्दोलन र कम्युनिस्ट आन्दोलनको इतिहास धेरै उतारचढावहरुले भरिएको बताउँदै उहाँले भन्नुभयाे – ‘२००६ सालमा पार्टी गठन भएदेखि, २०१९ सालदेखि पार्टी विभाजनको श्रृखलातिर जान थालेदेखि अहिले फेरि पार्टी एकताको नयाँ प्रक्रियाको थालनीसम्म आउँदा धेरै नै अनुभव नेपालमा हामीले संगालेका छौं ।’

उहाँले ती अनुभवहरुको संश्लेषण गर्दै एउटा बलियो केन्द्रको निर्माणका लागि पार्टी एकता गरेको बताउनुभयाे । अध्यक्षले भन्नुभयाे – ‘हामी यो अहिलेको राजनीतिक परिवर्तनको निम्ति, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान निमार्णको निम्ति धेरै शक्तिसँग धेरै किसिमका सहकार्य, बहस र संघर्षबाट गुज्रिएका छौं। अहिले नेपाल राष्ट्रको आवश्यकता, नेपाली जनताको चाहना विकास र समृद्धिको चाहना र नयाँ तरिकाले समाजवादको आधार निमार्ण गर्ने ऐतिहासिक आवश्यकतालाई समेत मध्यनजर गर्दै हामीले कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्ने पहल थालेका छौं।’

पार्टी एकताको काम आफैंमा धेरै ठूलो काम धेरै चुनौतिपूर्ण भएकाे र नेपालका सम्पूर्ण कम्युनिस्ट समर्थकहरु, कम्युनिस्टहरु र नेपाली जनताले एकताबाट ठूलो आशा र अपेक्षा गरेको भन्दै अध्यक्ष प्रचण्डले जनताका ती आशा र अपेक्षा पूरा गर्नका लागि सदैव लागि पर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयाे।

उहाँले एकताको मिसन अझै पूरा नभएको बताउनुभयाे । उहाँले भन्नुभयाे -‘मलाई लाग्छ यो एकताको मिसन अझै पूरा भएको छैन । अझै हामीले सम्पूर्ण कम्युनिस्टहरुलाई एकताबद्ध गर्ने, यहाँका सबै क्षेत्र र समुदायलाई एकताबद्ध गर्ने र विकास र समृद्धिको नयाँ अभियानद्धारा समाजवादको आधार तयार गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा छ। त्यसको निम्ति बाँकी रहेका साथीहरु पनि सबै यहाँ जोडिन आवश्यक छ।’

उहाँले कार्यक्रममा पार्टी प्रवेश गर्नेहरुलाई बधाई दिँदै भन्नुभयाे, ‘तपाईंहरु ब्युँझनु भयो, आउनुभयो । अब केही साथीहरु ब्युँझन बाँकी छन्। उहाँहरु पनि ब्युँझनु पर्ने हुन्छ, उहाँहरु पनि आउनुपर्ने हुन्छ । र मलाई लाग्छ ढिलो छिटो उहाँहरु पनि आउनुहुन्छ ।’

कार्यक्रममा गोरखा-काठमाडौं संयन्त्र संयोजक विश्वनाथ अधिकारी, केन्द्रीय परिषद् सदस्य भिम श्रेष्ठ, केन्द्रीय परिषद् सदस्य तथा प्रचारप्रसार विभाग सदस्य कृष्ण घिमिरे, केन्द्रीय परिषद् सदस्य तथा महिला शक्ति नेपालका केन्द्रीय सदस्य ज्ञानधरी कैनी, नैसर्गिक विद्यार्थी केन्द्रीय सदस्य ज्ञानहरि पराजुली लगायतले पार्टी प्रवेश गर्नुभएकाे थियाे ।