मितेरीपुल (सिन्धुपाल्चोक), उत्तरी छिमेकी मुलुक चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको तातोपानी नाका बुधबारदेखि औपचारिक रुपमा खुलेको छ । गत २०७२ बैशाख १२ गतेको भूकम्पपछि बन्द रहेको यो नाका ४९ महिनापछि पुनः सञ्चालनमा आएको हो ।
चिनियाँ र नेपाली पक्षले सीमानाकामा आवश्यक पूर्वाधार निर्माण गरेपछि दुबै देशका अधिकारीको उपस्थितिमा नाका पुनः सञ्चालनमा ल्याइएको हो । सो क्रममा उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, सो क्षेत्रका सांसद अग्नी सापकोटा, शेरबहादुर तामाङ, उद्योग मन्त्रालयका अधिकारी तथा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलगायतका अधिकारीको सहभागिता रहेको थियो ।
सो क्रममा चीनबाट ऊन बोकेर आएको ४ वटा ट्रकलाई अतिसबाजीसहित रेड कार्पेटमा स्वागत गरेर नेपाल भित्र्याइएको थियो । यसैबीच नाका खुलेपछि स्थानीय तथा व्यापारी व्यवसायी खुसी देखिएका छन् । उद्घाटन कार्यक्रम स्थलमा दुवैतर्फका स्थानीयहरु झन्डा बोकेर उपस्थित भएका थिए ।
नाका खुल्ने खबरसँगै नेपाल र चीन दुवैतर्फ व्यापारी तथा व्यवसायीको चहलपहल बढेको छ । वार्षिक रु २० अर्बको आयात र रु तीन अर्ब बढीको निर्यात हुने सो नाका सञ्चालनमा आएपछि स्थानीय व्यवसायीहरु समेत उत्साहित भएका छन् ।