काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि बजेट ल्याएको छ । सरकारको तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाख रुपैयाँको बजेट संघीय संसदमा प्रस्तुत गरेका छन् । बुधबार अर्थमन्त्री खतिवडाले संघीय संसदमार्फत् धेरैको अनुमानभन्दा कम आकारको बजेट सार्वजानिक गरेका हुन् ।
आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड अर्थात ६२.४ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ करोड अर्थात २६.६ प्रतिशत र वित्तिय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८८ करोड रुपैयाँ अर्थात ११ प्रतिशत बजेट विनियोजन गरिएको छ । श्रोत व्यवस्थापनतर्फ ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिइएको छ । त्यसै गरी वैदेशिक अनुदानतर्फ ५७ अर्ब ९९ करोड ५५ लाख उठाउने लक्ष्य लिइएको छ ।
कर्मचारीको तलब बढ्योः
अर्थमन्त्री खतिवडाले कर्मचारीको तलब १८ देखि २० प्रतिशतले बढाएका छन् । आगामी आर्थिक वर्षदेखि राजपत्र अनंकित कर्मचारीको तलब २० प्रतिशत र राजपत्राकिंत कर्मचारीको तलब १८ प्रतिशतले बढ्ने भएको हो ।
१ हजारले बढ्यो वृद्धभत्ताः
तत्कालिन बाम गठबन्धन तथा सत्तारुढ दलले चुनावी घोषणा पत्रमा उल्लेख गरे बमोजिमक ज्येष्ठ नागरिकको भत्ता बढेको छ । ज्येष्ठ नागरिकको भत्ता मासिक १ हजारले बढेर ३ हजार पुगेको छ भने, एकल महिलाको मासिक भत्ता एक हजारले बढेको छ ।
सांसदलाई ६ करोड बजेटः
सरकारले सांसदलाई ६ करोड रुपैंयाको दरले बजेट विनियोजन गरेको छ । विकासका कार्यक्रममा संघीय सरकारको सहभागिता गर्ने भन्दै सरकारले सांसदलाई बजेट विनियोजन गरेको हो । अत्याधिक आलोचना भइरहेको बेला सरकारले सांसदलाई बजेट विनियोजन गरेको हो । सांसदलाई ६ करोड दिनका लागि ९० अर्ब बजेट छुट्याइएको अर्थमन्त्रीले जानकारी दिए । यसअघि सरकारले ४ करोड सांसदलाई दिने गरेको थियो ।
बजेटको पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहोस् ।